बाँदर्नी मैयाको कथा

मानिसको मौलिक जात भनेको जम्मा दुइटा हो, एउटा स्त्री र अर्को पुरुष । जात र जातीयताका अरू कुरा सर्वथा कृत्रिम हुन् । पुरुष र नारीका बीच दुर्नीवार आकर्षण नहुँदो हो त मनुष्य उहिल्यै लुप्त भइसक्थ्यो । 
प्रदीप गिरि

काठमाडौँ — प्रत्येक समाजमा दन्त्यकथा, लोककथा हुन्छन् । पुराण पनि हुन्छन् । दन्त्यकथा, लोककथा र पुराणलाई एक–अर्काको पर्याय मान्नुपर्छ भन्ने छैन । पुराणले सृष्टिको रहस्य बुझ्न खोज्छ । दन्त्यकथा र लोककथाले मानिसको व्यक्तित्व बुझ्न धेरै मद्दत गर्छ ।मैले स्कुल पढ्दा अत्यन्तै चाख मानेर पढेको पुस्तक हो, बोधविक्रम अधिकारीको ‘नेपाली दन्त्यकथा’ ।

दन्त्यकथा चाखलाग्दो हुन्छ । बालक र किशोर त्यसै झुम्मिन्छन् । त्यो संकलन मैले यसपटक फेरि खोजेँ । साझा प्रकाशनले पुन:मुद्रण गरेको त्यो पुस्तक दुर्लभ भइसकेको रहेछ । त्यो पुस्तक पोखरामा चाहिँ भेटियो ।


पहिलो कथा ‘राजकुमार दिक्पाल’को छ । आखिरी भने ‘बाँदर्नी मैया’को । बीचमा अन्य थुप्रा कथा थिए, राजा सतल सिंह, महारानी केशवत्ती, लाटो–बुङ्गो, शिशिर–वसन्त आदि । यी कथामध्ये ‘बाँदर्नी मैया’को कथा मलाई बडो घत लाग्यो ।


कथामा एउटा राजाका सात भाइ छोरा छन् । उनीहरूको बिहे गर्ने उमेर भएछ । राजाले सबै छोरालाई भनेछन्– ‘तिमीहरूले आ–आफ्नो लक्ष्यमा वाण हान । त्यो वाण जुन घरमा ठोकिन्छ, त्यसै घरको कन्यासँग तिमीहरूले अनिवार्य विवाह गर्नुपर्छ ।’


राजाको यस्तो उर्दी किन भयो ? त्यसको व्याख्या छैन । राजहठको अगाडि कसको के लाग्छ ? सातै भाइले वाण हाने । ६ भाइको वाण राजदरबार, धनाढ्य, जमिनदार, मन्त्री जस्ताका घरमा गएर लागेछ । तर कान्छो भाइको वाण भने एउटा रुखमा लाग्यो । त्यो रुखको टोड्कामा एउटी बाँदर्नी भेटिइन् । राजाले ‘तैंले यही बाँदर्नीसँग विवाह गर्नुपर्छ’ भने । कान्छो राजकुमारले आफ्नो भाग्य सम्झेर सहर्ष स्विकार्‍यो र ‘बाँदर्नी मैया’लाई विवाह गरेर ल्याइयो ।


विवाहको उपलक्ष्यमा प्रत्येक भाइले भोज दिनुपर्ने भयो । ६ भाइले आ–आफ्नो पालामा एकदमै भव्य भोज दिए । यिनीहरूको विवाह सम्भ्रान्त परिवारसँग भएको थियो । हुनेखानेकै छोरी भएपछि गतिलो भोज दिन कुनै गाह्रो थिएन । कान्छोलाई भने आपत् पर्‍यो । बाँदर्नी मैयाले कसरी भोज दिने ? के पकाउने ? के जान्ने ? कान्छा कुमार निन्याउरो भएर बसेका थिए । बाँदर्नी मैयाले लख काटिन् र भनिन्– ‘तपाईं निराश हुनु पर्दैन । म महाराजलगायत सबैलाई दंग पार्ने भोज दिन सक्छु । तपाईं भोजको सामग्रीको पनि चिन्ता नगर्नुस् । सबैको व्यवस्था गर्छु । तर म निस्केको रुखको टोड्कामा यो ‘चिनो’ लगेर हाल्दिनुस् । र एकैचोटी भोज खाने बेलामा आउनुहोला ।’


राजकुमारले श्रीमतीको निर्देशनअनुसार त्यही रुखको टोड्कामा उनले दिएको ‘चिनो’ राखिदिएर केही समय उतै यताउति घुमफिर गरे । साँझपख घर आउँदा छक्क परे । घर अत्यन्तै सुन्दर पाराले सजिएको थियो । थरीथरीका पकवान र भोजन थिए । भव्य भोज थियो ।


भव्यताको विस्तृत व्याख्या भने कथामा छैन । अहिले सोच्दा के लाग्छ भने अरू ६ भाइको सुन र चाँदीको थाल र कचौरा थिए होला । यी बाँदर्नी मैया प्राकृतिक परिवेशमा हुर्केकीले चिटिक्क परेको हरियो टपरी, बोहोता र दुनाहरू बनाएकी थिइन् कि । जे होस्, राजा–रानी लगायत राजकुमार र उनका श्रीमतीहरू बाँदर्नी मैयाको चाँजोपाँजो देखेर छक्क परे । त्योभन्दा पनि आश्चर्यजनक, बाँदर्नी त बाँदर्नी नै देखिएकी थिइनन् । एकदमै गतिलो, सुन्दर, परिष्कृत पोसाक लगाएर हिँडेकी थिइन् । सुषमा र सुरुचीमा सबैलाई उछिनेकी थिइन् ।


खाना–साना खाएर हिँड्ने बेलामा दाजुहरूले कान्छो राजकुमारलाई भनेछन्– ‘यो को हो ? यो त मायाविनी जस्तो छ । कतै बोक्सी त होइन ? हिजोसम्म झुस्स परेकी बाँदर्नीजस्ती, आज एकाएक यस्तो मोहिनी कसरी भइन् ? तिमीले यसको खोज–तलास गर । यसले हामीलाई छल पो गर्दै छ कि † कुनै किचकन्डी पो होकि ! तिमीले यसको भोटो (बाँदर्नीका रूपमा लगाइएको लबेदा) खोज ।’

यसरी दाजुहरूले एक भएर भाइको मनमा विषालु शंका हालिदिए । ‘शंकाले लंका डढाउँछ’ भन्ने हाम्रो उखान नै छ । अब यी कान्छा कुमारले के डढाउने हुन् ?


दिनभरको त्यत्रो कामले थकित बाँदर्नी मैया मस्त निदाइन् । शंकाग्रस्त कान्छा कुमारका मनमा खुलदुली भइरह्यो । एकाएक यसको रूप कसरी बदलियो ? यत्रो बन्दोबस्त कसरी गरिन् ? उनी रातभर घरमै खोज–तलास गर्न थाले । त्यसरी खोज–तलास गर्दै जाँदा बाँदर्नीको भोटो एउटा कुनोमा भेटियो । साँझैदेखि शंकाग्रस्त कान्छा राजकुमार पूर्वाग्रहले ग्रस्त थिए ।


केही सोच–विचारै नगरी उनले त्यो भोटोमा आगो झोसे । भोटो सल्किन थाल्यो । जति भोटो सल्किँदै गयो, उति बाँदर्नी मैया छट्पटिन थालिन् । उसलाई पोल्न पो थालेछ । त्यो पीडालाई खप्न नसकी अइया–आत्था गर्दै उफ्रिन थालिन् । ढोका फोडेर वायुवेगले कुदिन् । राजकुमार पछ्याउँदै गयो । जाँदा–जाँदा अगाडि एउटा ठूलो अजङ्गको दह रहेछ । बाँदर्नी मैया त्यसै कुण्डमा हामफालिन् । हेर्दाहेर्दै बाँदर्नी मैया अलप भइन् । कान्छा कुमार किंकर्तव्यविमुढ भए । इन्तु न चिन्तु भएर बसिरहे ।


यो बाँदर्नी मैया भनेको को हो ? कान्छा राजकुमारले बाँदर्नीको भोटो डढाउने भनेको के हो ? बाँदर्नी मैया अलप भएर कहाँ गइन् ? कहिले आउँछिन् ? कि आउँदिनन् ? यी कुरा बाँकी कथामा अवश्य थपिएको छ । तर यो कथा कहिले, कहाँ र कुन परिवेशमा कसले कल्पना गर्‍यो ?


प्रत्येक समाजमा लामो समयदेखि विभिन्न जाति र प्रजातिहरूको बिहेवारी भइराखेका छन् । चीनलगायत देशहरूमा बाँदर्नी मैयाहरूको यस्तै मिल्दोजुल्दो कथा छ । कुनै तथाकथित ‘सभ्य’ राजपुत्रले सिकार खेल्न जाँदा त्यहीँ कुनै उद्दाम प्रकृतिकी छोरीसँग प्रेममा पर्नु आफैमा अनौठो होइन । मानिसको मौलिक जात भनेको जम्मा दुइटा हो, एउटा स्त्री र अर्को पुरुष ।


जात र जातीयताका अरू कुरा सर्वथा कृत्रिम हुन् । पुरुष र नारीका बीच दुर्नीवार आकर्षणले सृष्टि चलेको छ । यो आकर्षण नहुँदो हो त मनुष्य उहिल्यै लुप्त भइसक्थ्यो । तर यो सब बिर्सिएर यता आएर हाम्रो समाजमा जाति र वर्गका आधारमा पूर्वाग्रह उत्पन्न भएको छ । बाँदर्नी मैयाको कथा यसतर्फको संकेत पनि हो ।


हाम्रो समाज बाहुन, क्षत्री, ठकुरी, राई, गुरुङ, मगर, मधेसी, पहाडे आदि विभिन्न पहिचानमा बाँडिएको छ । यिनीहरूबीच अन्तरजातीय विवाह पनि भएको छ । यस्ता विवाहले समाजलाई अगाडि बढाएको छ । तर पनि यस्तो विवाह सधैं शंका र विरोधको सिकार भएको छ । स्वयम् मेरो परिवारमा एक होइन, अनेक अन्तरजातीय विवाह भएका थिए ।


मेरी एक ज्याआमा गुरुङ्नी हुनुहुन्थ्यो, बडो शालिन स्वभाव तथा दक्ष व्यक्तित्वकी श्वामिनी हुनुहुन्थ्यो । मेरा परपितामह कुलदीप गिरीले जीवनको वास्तविक संस्कार उनैबाट प्राप्त गर्नुभयो । तर ती महिलालाई आफ्नो मूलघर भने पुर्‍याउन सक्नुभएन । यस्ता तथाकथित अनमेल विवाहमा बाँदर्नी मैयाको कथाको पूर्वाभास थियो कि ?


बाँदर्नी मैयाको कथामा विविध सांस्कृतिक सम्मिश्रणको झल्को पाइन्छ । यो बाहेक पनि परम्परागत समाजमा बुहारीलाई पूर्वाग्रहका साथ हेर्ने अनुभव पनि भेटिन्छ । बुहारीको नियति बुझ्न ‘रूपमती’ पढ्नु पर्दैन । आफ्नो घरमा पुलपुलिएर हुर्केकी छोरी जब बुहारीको भूमिकामा जान्छिन्, उनको दशा के हुन्छ ? बुहारीबारे नेपाली समाजमा उखान छ– नौली बुहारीको नौपुला घाँस, बस्दै जाँदा जगल्टाको नाश । हाम्रो समाजमा बुहारीको नियति एउटा र छोरीको नियति अर्को हुन्छ । छोरी पवित्र हुन्छे ।


उसको बारेमा कुनै नकारात्मक कुरा सोच्न सकिँदैन । बुहारीका बारेमा सकारात्मक कुरा सोच्न गाह्रो छ । तसर्थ बाँदर जातिकी छोरी, पहिरनसमेत बेग्लै भएको एक्कासी नयाँ घरमा आउँदा त्यस घरमा चल्दै आएको चलनबारे केही थाहा हुँदैन । खानाको परिकार, भोजनको स्वाद आदि केही थाहा हुँदैन । तर उसले देखेको–सिकेको भोजन यहाँ मान्य हुँदैन । चोखो र बिटुलो अलग–अलग छन् । गर्न हुने र नहुने कुरा बेग्लै छन् । ‘पानी खानु मूलको बिहे गर्नु कुलको’ भन्ने हाम्रो समाजमा उखानै छ । यो कथा यस उखानका विरुद्ध उभिएको छ ।


रुखको टोड्काबाट ल्याइएकी बाँदर्नी मैयाको योग्यता, सीप, बनाएको परिकार, लुगाफाटो राजपरिवारमा स्वीकृत भएन । उनको उपहास भयो । उनको योग्यता शंकास्पद भयो । उनलाई बोक्सी र परचक्री भनियो, राम्रो नजरले हेरिएन । त्यतिले नपुगेर उनको भोटोसमेत डढाइयो । अर्को शब्दमा भन्दा उनको परिचय, अस्मिता, पहिचान नै नष्ट पारियो । नयाँ परिचय, अस्मिता, पहिचान थोपर्ने कोसिस गरियो । उनलाई लुगा फेर्न विवश गराइयो,बोली परिवर्तन गराइयो । प्रत्येक नौली बुहारीले नयाँ घरमा जाँदा, खासगरी विभिन्न सांस्कृतिक परिवेशभएको घरमा जाँदा यो भोगेको हुनुपर्छ । निश्चय पनि कथाकारले यो कथा कथ्दा नयाँ बुहारीको नियतिलाई ध्यानमा राखेको थियो ।


तत्काल कथाकारले अनुभूतिजन्य एउटा अर्को कुरो लेखेको छ । दाजुहरूले उचाले होला । तर एउटै ओछ्यान सुत्दै आएकी त्यत्रो योग्यता भएकी श्रीमतीलाई ‘तिमीले कसरी यत्रो चमत्कार गर्‍यौ’ भनेर नसोधी उनको भोटो खोज्ने र डढाउने काम किन गर्‍यो, त्यो कान्छो कुमारले ? अनेकन कथाकारले पति र पत्नीको यस किसिमको गलतफहमीका बारेमा कथा लेखेका छन् । शेक्सपियरको प्रसिद्ध नाटक ‘ओथेलो’ यस्तै शंकामा आधारित छ । यता आएर ‘ओथेलो’को हिन्दी रूपान्तरणको सिनेमा पनि बनिसकेको छ– ओमकारा । कान्छो कुमार लगभग ओमकारा हुन पुग्यो ।


बाँदर्नी मैयाको कथाको दोस्रो भागले पति र पत्नीको सम्बन्धका विषयमा टिप्पणी गरेको छ । हाम्रो विवाहको एउटा खास किसिमको परिपाटी छ । विवाहमा मन्त्र पढिन्छ । बाँदर्नी मैयासँग औपचारिक रूपले विवाह भयो–भएन लेखेको छैन । तर राजाको दरबारमा आइसकेपछि भयो होला । विवाहको मन्त्र पनि पढियो होला । विवाह मण्डपमा वर–वधुले सातखेप अग्निको प्रतिक्षणा गर्दा मन्त्र पढिन्छ । त्यस्ता मन्त्रमा पारस्परिक विश्वास, आजीवनको मैत्रीको प्रतिज्ञा सामेल रहन्छन् ।


विवाहमा बेहुला–बेहुलीलाई बीचमा गाँठो पारेर एउटा कपडाद्वारा बाँधिन्छ । त्यसरी गाँठो पार्नुको अर्थ हो, अब तिमीहरू दुई दिशामा जान खोज्यौ भने यो गाँठो झन् कसिन्छ । हामीबीच कुनै कुरा लुकाइनेछैन । आजैदेखि मेरो सम्पत्ति तिम्रो र तिम्रो सम्पत्ति मेरो हो आदि तर यो राजकुमारले आफ्नी पत्नीलाई तिम्रो वास्तविक रहस्य के हो भनेर सोध्न पनि भ्याएन ।


बाँदर्नी मैया अलप भएपछि कान्छो राजकुमार खुबै यत्रतत्र भौंतारियो । धेरै दिनपछि एउटा जोगी भेटिए । ती जोगीलाई राजकुमारले आफ्नो इतिवृत्तान्त सुनायो । जोगीले भनेछ– ‘सबै समाजको नियम–कानुन बेग्लाबेग्लै हुन्छ । तिमीले भनेको बाँदर्नीको आफ्नै जाति–प्रजाति छ । बिस्तारै सबै ठीक भएर जान्थ्यो । आत्तिएर उनको भोटो डढाउनेतिर लागेछौ । तिमीले ठूलो गल्ती गर्‍यौ ।’

राजकुमारले चित्कार्दै जोगीलाई भनेछ– ‘म तिनलाई कसरी भेट्न सक्छु ? आफ्नो प्रायश्चित्त कसरी गरूँ ?’


जोगीले भनेछ– ‘तिनी आफ्नो बाउ–आमाकहाँ छिन् । आगाले जलेर मर्ने र बाँच्ने दोसाँधमा छिन् । यो मलम तिनको जीउमा लगाइदियौ भने तिनी पहिलेजस्तै स्वस्थ हुन्छिन् तर त्यहाँ जान एकदमै असम्भव छ ।’


तर कथामा असम्भव फेरि सम्भव हुन्छ । एउटा अर्को जोगीले उनलाई उड्ने खराउ दिए । अर्काले लड्ने तलबार दिए । यस्तै विभिन्न अप्रत्यासित ठहर र बहरबाट राजकुमारले सहायता पाए । ग्रिक दन्त्यकथामा साइकी र एफ्रोदितको कथा छ । सासू–बुहारी भएका ती महिलाद्वयको पेचापेच छ । सासूको पेलानमा परेकी बुहारीलाई कमिला, चराचुरुङ्गी र खोलानालासमेतले सघाउँछन् । नेपाली दन्त्यकथामा भने जोगीहरूको बाक्लो उपस्थिति छ । जे होस्, राजकुमारले आफ्नी पत्नीलाई फेरि फिर्ता पायो ।


विवाहमा भनेजति दाइजो नल्याएकामा मट्टितेल हालेर डढाइएका बुहारी आज पनि हाम्रो समाजमा सुनिन्छ–देखिन्छ । यस्तै महिलाको अवस्थामा बाँदर्नी मैया पुगेकी थिइन् । एकातिर बाँदर्नी मैयाको पोलिएकोभोटोले दाइजो र इज्जतका अभावमा पोलिएका नवविवाहितातिर संकेत गर्छ । अर्कोतिर मनुष्यको जीवनमा चमत्कार हुन्छ भन्ने मान्यता र उदाहरणले कथालाई सुखान्त बनाउँछ ।


प्रत्येक दन्त्यकथा कुनै न कुनै रूपमा चमत्कारमा विश्वास गर्छ । तथाकथित वैज्ञानिक युगमा हामीलाई चमत्कारमा विश्वास छैन, आस्था पनि छैन । तर मानवजाति चमत्कार र आस्थाबिना जीवित रहन सक्छ ? जीवित भए पनि जाग्रत रहन सक्छ ? बाँदर्नी मैयाको कथाले यस्ता प्रश्नलाई उठाएको छ ।


बोधविक्रम अधिकारी यस कथाका संकलक मात्र रहनुभएको हुन सक्छ । यस्ता कथा हरेक संस्कृतिमा पाइन्छन् । बाँदर्नी मैयाको यो कथा चिनी लोककथामा पनि केही फरकका साथ भेटिन्छ तर बोधविक्रम अधिकारीले मेरो सिंगो पुस्तालाई अत्यन्त सरस शैलीमा यो कथा पढाउनुभयो । उहाँको गुन तिरिनसक्नु छ । प्रकाशित : माघ ५, २०७५ ०९:३७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मैले देखेको छाउ

गरिबी, अशिक्षा जहाँ छ, त्यहाँ देवता ज्यादै कडा हुन्छन् ।
प्रगति राई

काठमाडौँ — म पूर्वको मानिस । पश्चिम जानु दक्षिण अफ्रिका जानुजत्तिकै गाह्रो । नौलो ठाउँ जानु साहस निक्कै चाहिँदो रहेछ । नयाँ उपन्यास ‘थाँक्रा’को धरातल पश्चिम कुनै स्थानको बनाउन मैले पश्चिम जानैपर्‍यो । महिला अधिकारबारे सुदूर पश्चिमको संस्कारले बाँधिएका महिलाहरूबारे नबुझी कसरी लेख्नु ? छाउप्रथा किन बाँचिरहन्छ ? कैयौं किशोरीको ज्यान गइसक्दा पनि त्यहाँका वासिन्दा किन यसैलाई मान्दै आइरहेका छन् ? बालविवाह अझै किन छ ?

काठमाडौं पढ्ने जित महराले बैतडीकोआफ्नो घरमा खाने–बस्ने मिलाए । गाइड उनकै भाइ मान महरा जुराइदिए । हामी छब्बिस घन्टाको बसयात्रापछि बैतडी सतबाँझ चौर पुग्याैं, साँझको पाँच बजेतिर । मलाई होटलमा छोडेर गाइड बेपत्ता भए । रातको दस बजेसम्म आएनन् । निङलासैनी रेडियोका सञ्चालक सीपी लोहियाले यतै बस्नुस् भने । होटलवाला दीपक साउदले पनि बिहान म सुर्नया पुग्नसक्ने व्यवस्था मिलाइदिन्छु भने । तर म मानिन । रातसाँझ गरेर भए पनि जाने नै भएँ ।

रातको एघार बजे ‘हिँड्न तयार हुनु’ भन्ने फोन आयो । मन–मनमा अनेक कुतर्क उब्जियो– ‘मेरो गाइडलाई बदमासहरूले किनिसकेछन्, जिपचालक र सहायक भएर मलाई एकान्तमा केही गर्नेवाला छन् । तर म पनि कम तयारीमा छैन । कि वार कि पार ।’

लगेजमा भएको दापवाला छुरी पर्सनल ब्यागमा सारेंँ । सजिलो लुगा लगाएँ । मोबाइल भित्री गोजीमा लुकाएँ र मनमनै फाइटको रिहर्सल गरेंँ– ‘एउटालाई घाँटीमा, अर्कोलाई पेटमा अनि अर्कोलाई जाँङमा छुरी हानेर लडाउँछु । अनि आफै जिप हाँकेर पुलिस थाना आत्मसमर्पण गर्न जान्छु ।’

जिप आयो । लु जाऔं भन्दै गाइड झोला उठाउन आयो । बाहिर हेरेंँ, जिपको छेउमा एक गर्भिनी, एक बालक र सलले पुरै मुख छोपेकी युवती जिप चढ्न तयार भए । ‘पाहुना, बेहुली र गर्भिनी अगाडि सिटमा बस्ने’ भन्दै एक पुरुष जिपबाट फुत्त झरे । अघिसम्मको मेरो कुविचार आफैंलाई लाज लागेर ठूलो आन्द्राको सबैभन्दा मुनि लुकाएँ । ताकि छिट्टै निष्काशन भएर जाइजाओस् । रातको एक बजे जित महराको घर बरायल लेकडाँडा पुगियो । बरायलमा कस्तुरी महरा, रामकी बरायलमा बिनिता राई अनि मुस्याचौरमा तृप्ति बैनी र बैतडी सरदरमुकाममा सरस्वती नेपालीको साथले तीनहप्ते बसाइ सहज भयो । त्यसक्रममा मैले छाउ प्रथाका कारण पाएँ : एक, महिनावारी समयमा सेफ्टी प्याड प्रयोग नगर्नु । दुई, गाईवस्तु घरमा राख्नाले मानिसलाई बस्ने ठाउँ प्रशस्त नपुग्नु । तीन, शिक्षा, विज्ञान र विकासबाट विमुख रहनु ।

सेफ्टी प्याडको प्रयोग
गाउँ नजिकका पसलमा सेनेटरी प्याड बेच्न राखेको कतै पाइएन । नबिक्ने भएकाले पसलमा नराख्दा रहेछन् । एकैघरमा धेरैजना महिला भएकाले महिनैपिच्छे प्याडकै लागि तीन–चार सय खर्च गर्न सम्भव छैन । रगतलाई खुल्ला बग्न दिनु त राम्रै हो, तर व्यवस्थापनमा समस्या हुन्छ । दिनमा दुई–तीन पाउन्ड रगत बग्छ । कसैको त्योभन्दा धेर । बजारे प्याडले धान्दैन । तीन/चार घन्टाको फरकमा प्याड फेर्नुपर्ने । प्याडै नलगाउँदा कहीं नगई एकैठाउँ बसिरहनुपर्ने बाध्यता आउँछ । विद्यालय यसैले महिनामा पाँच दिन छुट्छ । नुहाउने कोठा छैन । धारामा नुहाए धारै रातो, खोलामा नुहाए खोलै । रातो आतङ्कबाट बच्न रातमा नुहाउनुपर्छ । गर्मीमा ठिकै छ, जाडोमा एकैचोटी चार दिनमा नुहाउने । दुर्गन्ध फैलिने भएकाले पनि छुट्टै बस्नुपर्ने ।

बस्ने ठाउँ नपुग्नु
कुख्रा, बाख्रा, खरायो आदिले घरका कोठाचोटा भर्छन् । बचेको कोठामा चेलाचेली बालबच्चा, वृद्धवृद्धा बस्नुपर्ने भएकाले चोखोनितो, छोइछिटोमा धेरै ध्यान दिनुपर्ने । यस्तो अवस्थामा रगत चुहाउँदै हिँड्न मिलेन । यसैले गाईभैंसीबस्ने कोठामा बस्दा भैंसी नरिसाउने र बिरामी पनि नहुने भएकाले रजस्वला अवस्थामागोठमा बस्दारहेछन् ।

शिक्षा, विज्ञान र विकासबाट विमुख
गाउँमा पढाइ कम छ । त्यसमाथि महिला । जो पढेका छन्, उनीहरूलाई अन्धविश्वासले धेरै चाप्न सक्दैन । कम पढेका वा नपढेकालाई नै हो, अन्धविश्वासले गधा बनाउने/भारी बोकाउने । शिक्षिका, स्वास्थ्यकर्मी महिलाले रजस्वला अवस्थामा साविककै ओछ्यानमा सुते पनि देवता रिसाउँदैन । गरिब, अशिक्षा जहाँ छ, त्यहाँ देवता ज्यादै कडा हुन्छन् ।

यसर्थ कानुनले छाउगोठ भत्काउनुपूर्व चर्पी अनिवार्य गरेजस्तै नुहाउने कोठा र महिलाका लागि सुरक्षित कोठा अनिवार्य गर्नु जरुरी छ । जबसम्म गाउँ–गाउँमा शिक्षा र विकास पुग्दैन, तबसम्म यसैगरी महिलाहरू गोठमा बस्न बाध्य हुनेछन् । मैले एक स्वास्थ्यकर्मीलाई गिज्याएँ, ‘तपाईंले छुँदा त कोही बिरामी हुँदैन रहेछन् ।’ तिनले हाँसेर भनिन्, ‘म पर सरेको थाहा पाए भने बिरामी हुन्छन् । म पर सरेको कसैलाई भन्दिन ।’

बालविवाह कायम रहनुमा मैले दुई कारण पाएँ । पहिलो, छोरीमाथि अभिभावकले कुनै सपना नदेख्नु । दोस्रो, महिलाले घरगृहस्थ सम्हालेको बाहेक अरू काम गरेको उदाहरण नदेखिनु ।

छोरीमाथि सपना
‘बाइस चेली (छोरी) भए पनि एक चेलो (छोरा) चाहिन्छ’ समाजमा यस्तो नारा छ । अनि छोरीलाई कुनै अधिकार छैन । दबाब पनि छैन । उनीहरूलाई स्कुल जान पनि कर गरिन्न । लोग्नेको घर जानुपर्ने भएकाले । पढेर जागिर खाम्ला छैन, कहीँ जाम्ला छैन । घर नजिकको स्कुलमा जति पढाइ हुन्छ, त्यति पढ्ने हो । त्यसैले अधिकांशको पढाइ दस कक्षासम्म र अहिले प्लस टु आएकाले त्यहाँसम्म छ । त्यसपछि विवाह गर्ने । सामाजिक नियम अनुसार छोरीहरूले तेह्र वर्षदेखि सोह्र वर्षसम्ममा विवाह गरिसक्नु पर्छ । नत्र गाउँछिमेकले ‘अबिका’ (बिक्न नसकेको) नाम राख्ने चलन छ ।

विवाहयोग्य उमेर नभई कानुन विरुद्ध भागेर विवाह गर्ने चलन छ । भागेर विवाह गर्नु किशोरीको इच्छा नभएर समाजको आदेश हो । माइती बसेर समय बर्बाद गर्नुभन्दा विवाह गरेर बेलैमा छोरा जन्माउनु, छोरो नभए जन्मिने छोरीहरूलाई छिटछिटो जन्माएर छोरा जन्मिने पालो कुर्नु महिलाको प्रमुख दायित्व हो । अनि ती अनावश्यक जन्मिएका छोरीहरू छिट्टै विवाह गरेर गइदिए घर पनि खाली हुने भएकाले बालविवाह विरुद्धको कानुन नकाम भएको छ । जन्मघरमा छोरीलाई अर्काको सम्पत्ति ठान्नु र कर्मघरमा बुहारीलाई अर्काको सन्तान ठानेर परको व्यवहार गर्नु नेपालभरिकै चलन हो । यद्यपि किरात संस्कारमा चाहिँ अलिक खुकुलो छ ।
महिलाले अरू काम गरेको उदाहरण कैयौं अवरोध परास्त गरेर औंलामा गन्न सकिने महिला केही स्थानमा पुगेका छन् । ती पनि अल्पमतमा परेर निर्णयविहीन छन् । कति असल कामका उदाहरणभन्दा पनि दु:खका चित्र बनेका छन् । राजनीतिकर्मीले सांस्कृतिक परिवर्तनको कुरै उठाउँदैनन् । यस्तो जोखिम मोल्नु चुनावमा हारको खाता खोल्नु हो । राजनीतिको स्तर माथि भए पनि सांस्कृतिक परिवर्तन हुन निकै गाह्रो छ ।

आफन्त, अग्रज, वारिपारि सबै महिलाले आखिर लोग्नेको घर नै त सम्हालेर जीवन बिताएका छन् । किशोरीहरूले पनि त्यही सिको गर्ने हो । समाजका लागि, देशका लागि अनि मातापिताका लागि काम गर्नु चेलीको कर्तव्य हो । मजदुरी गरेर होस् कि व्यापार, आर्थिक भार पुरुष एक्लैले बोक्नुपर्छ ।

विकासले छुँदै गरेको स्थानतिर भने यस्ता घटनामा केही कमी आएको छ । त्यही सुर्नया गाउँपालिकामा एक पुरुष दुई छोरीहरूमा सन्तुष्ट छन् । ती दुई छोरीको स्वास्थ्य र उच्चशिक्षा अभिभावकको कर्तव्य हो भन्ने उनले बुझेका छन् । बजारको नजिक बस्ने किशोरीले रजस्वला अवधिमा पूजा गर्नु बाहेक अरू काम छोड्दैनन् । आशा गर्न सकिन्छ कि राज्यले कानुनभन्दा पहिले गाउँ–गाउँमा विकास पुर्‍याउनेछ । शिक्षा र विकासले नै मानिसलाई धार्मिक कानुनसँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।

प्रकाशित : माघ ५, २०७५ ०९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×