१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘मप्रति जनताको ठूलो भरोसा छ’

काठमाडौँ — पूर्वकमलरी शान्ता चौधरी दोस्रोपटक प्रत्यक्ष चुनावी मैदानमा छिन् । २०६४ मा समानुपातिक सांसद् भएर प्राकृतिक स्रोत साधन समितिकी सभापति भइन् । २०७४ मा समानुपातिक सांसद् भएर नेकपाको सचेतक भइन् । २०७० मा दाङ–२ बाट प्रत्यक्ष निर्वाचन लडेकी चौधरी कााग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् ।

‘मप्रति जनताको ठूलो भरोसा छ’

यसपटक उनी आफ्नै पूर्वसहकर्मी मेटमणि चौधरी र गंगा चौधरी सत्गौवासँग दाङ–१ बाट प्रतिस्पर्धा गरिरहेकी छन् । १८ वर्षको कमलरी जीवनबाट मुक्ति पाएर राजनीतिमा प्रवेश गरेकी चौधरीले ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तकसमेत लेखेकी छन् । हाल एमाले केन्द्रीय सदस्य रहेकी चौधरीसँग कान्तिपुरका लागि दुर्गालाल केसीले गरेको अन्तर्वार्ता :

चुनावी प्रचारप्रसार अभियान कस्तो चलिरहेको छ ?

मतदाताको घरदैलोमा जाने, उहाँहरूका कुरा सुन्ने र हाम्रा एजेण्डाहरू प्रस्तुत गर्ने काम भैरहेको छ । जनतालाई मतदानमा सहभागी हुन अनुरोध गर्दै चुनावी प्रचारप्रसार अभियान व्यापक बनाइरहेका छौं । मतदातामा राम्रो उत्साह छ । जनतामा विकास र समृद्धिको अपेक्षा छ । सुशासन र भ्रष्टाचारमुक्त समाजको आवश्यकता औँल्याउनुभएको छ । जनताले आफ्नो दैनिक जीवनसँग जोडिएका समस्याहरू पनि राखिरहनुभएको छ । उपेक्षित, उत्पिडित र पछाडि पारिएको समुदायले राज्यको ध्यानाकर्षण खोजेका छन् । नेताहरूले आफ्नो कुरा सुनिदिनुपर्‍यो भन्ने सुझाव छ ।

जनताको बीचमा के कस्ता एजेन्डा लिएर जानुभएको छ ?

जनातको समस्या र सवाल नै हाम्रो एजेन्डा हो । समृद्ध नेपाल, सुखी नेपालीको भावनाअनुसार काम गर्नेगरी प्रतिबद्धतापत्र तयार पारेका छौं । स्वस्थ, सुन्दर र व्यवस्थित प्रदेश राजधानीसहितको आधुनिक देउखुरी सहरको एजेन्डा नै मेरो पहिलो प्राथमिकता हो । देउखुरी उपत्यकामा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयलाई उच्च प्राथमिकता दिएको छु । आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकास गरी समाज रुपान्तरण गर्ने र जनतालाई सुखी तथा खुसी बनाउने नीति तथा कार्यक्रमहरू लिएर गएका छौं । शैक्षिक गुणस्तर वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच, उद्यम विकास र जिल्लामै रोजगारी सिर्जना गरी युवाहरूको विदेश पलायन रोक्ने योजना छ । देउखुरी क्षेत्रलाई बाढीबाट सुरक्षा, विपद् व्यवस्थापन, तटबन्ध र कृषिमा आधुनिकीकरण, व्यावसायिक कृषिलाई प्रोत्साहन, महिला सशक्तीकरण, पिछडिएको समुदायलाई राज्यको मूलधारमा पहुँच वृद्धि तथा सुकुम्बासी, मुक्तकमैया, कमलरीको उचित पुन:स्थापनाजस्ता विषयलाई एजेन्डा बनाएको छु ।

खानेपानी तथा सरसफाइ, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको विकासका लागि हामीले काम गर्नेछौं । १५ शय्याको लमही अस्पताललाई विशेषज्ञ सेवासहितको एक सय शय्याको अस्पतालको रुपमा स्तर वृद्धि गर्ने र सोही स्थानमा रहेको ट्रमा सेन्टरको निर्माण छिटै सम्पन्न गरी सञ्चालनमा ल्याउने एजेन्डा छन् । गढवा र लमहीको सर्पदंश सेवा केन्द्रलाई विशेषज्ञसहित स्तरोन्नति गर्ने, गढवा, सिसहनिया, राजपुरमा सञ्चालित स्वास्थ्य चौकीहरूको स्तरवृद्धि गरी ५० शय्याको अस्पताल निर्माण गर्ने एजेन्डा छ । भूमिहीन किसानलाई भूमिको मालिक बनाउने, बसोबासको आधारमा जग्गाको लालपुर्जा वितरण गर्ने र नाका क्षेत्रमा सन्तुलित विकासका योजनाहरू अघि सार्ने संकल्प गरेका छौं ।

लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन सबै उम्मेदवारको चुनावी एजेन्डा बनेको छ । के यो जनताको मुख्य चिन्ताको विषय हो ?

एमाले महासचिव शंकर पोख्रेल मुख्यमन्त्री भएको बेला उहाँकै नेतृत्वमा राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी तोकियो । त्यसपछि बनेको गठबन्धन सरकारले त्यसको कार्यान्वयनलाई महत्त्व दिन सकेन । अब त्यो राजधानी कार्यान्वयनको जिम्मेवारी हाम्रो काँधमा छ । राजधानीले यहाँ थुप्रै अवसरहरूको सिर्जना गरेको छ । यसले जिल्लाको विकासमा ठूलो भूमिका खेल्छ । राजधानी हुँदा विकासका संरचनाहरू तयार हुन्छन् । जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायतका सुविधाहरू नजिकै पाउन सक्छन् । व्यवस्थित सहरीकरणको विकास हुन्छ । त्यसैले यो विषय जनताको चासो र चिन्ताको विषय हो ।

राजनीतिक रुपमा हामी बलियो हुन सकेनौं भने यहाँ तोकिएको राजधानी कार्यान्वयन नहुन पनि सक्छ । नेतृत्व तहमा हामी भएनौं भने राजधानी कार्यान्वयन जटिल बन्न सक्छ । त्यसकारण राजधानी कार्यान्वयन यहाँका लागि महत्त्वपूर्ण विषय हो । अहिले नेतृत्व चयन गर्दा ध्यान पुगेन भने दाङले पाएको उपलब्धि पनि गुम्न सक्छ ।

चुनावको बेला धेरै एजेन्डा प्रस्तुत गर्ने तर पूरा नगर्ने प्रवृत्ति छ । तपाईंका एजेन्डालाई जनताले कसरी पत्याउने ?

म यो क्षेत्रको मुहार फेर्न निर्वाचनमा होमिएको छु । मैले गर्न नसकिने कुरा बोलको छैन । जनतालाई झुटो आश्वासन बाँड्दिनँ । गर्न सकिने काम सबै मेरा एजेन्डा हुन् । देउखुरी उपत्यकामा पर्ने राप्ती नदी र अन्य खोलाहरूमा बृहत् तटबन्ध गरेर बस्ती बसाउने योजना छ । विगतमा पनि मैले बोलेका कुराहरू पूरा गर्दै आएको छु । म इमानदारिताको राजनीति गर्दै आएको छु । जनताले मेरो कामका आधारमा विश्वास गर्नुहुनेछ ।

तपाईंका प्रतिस्पर्धीहरू एकातिर सत्ता गठबन्धनका उम्मेदवार छन् भने अर्कोतिर तपाईंको पार्टी छाडेर पनि उम्मेदवारी दिएका छन् । यस्तो बेला निर्वाचन जित्ने आधारहरू के के देख्नुभएको छ ?

म १८ वर्ष अर्काको घरमा कमलरी बसेको हुँ । जनताका सबै पीडा थाहा छ । संसद्मा रहँदा सधैं आवाज उठाइरहें । कमैया, कम्लरी तथा पछाडि परेको समुदायको राज्यको मूलधारमा पहुँच पुग्नुपर्छ भनेर आवाज उठाउँदै आएको छु, जसको प्रतिफल अहिले सुधारोन्मुख अवस्थामा छ । चुनाव जित्ने गतिलो आधार भनेकै जनताको मत हो । म जनताकै बीचमा रहेर काम गरेको छु । मप्रति मतदाताको ठूलो भरोसा छ । अर्काे आधार भनेको पार्टी हो, संगठन हो । जनमत र पार्टी बलियो भएका कारण म निर्वाचन जित्नेमा ढुक्क छु ।

प्रकाशित : मंसिर १, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?