सांसदले विकास गर्छु भन्नु भ्रम छर्नु हो, स्वतन्त्रले भन्छ भने त फटाहा हो : गुरुङ- कुराकानी - कान्तिपुर समाचार

सांसदले विकास गर्छु भन्नु भ्रम छर्नु हो, स्वतन्त्रले भन्छ भने त फटाहा हो : गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकारिता अध्ययन गरेका श्री गुरुङ हस्पिटालिटी व्यवसायसँग सम्बन्धित छन् । मंसिर ४ गते हुने प्रतिनिधिभा निर्वाचनमा काठमाडौं- ५ बाट स्वतन्त्र उम्मेदवार बनेका गुरुङले विकास नभई नीति निर्माणका लागि मत माग्दै आएका छन् । गुरुङसँग उनको चुनावी अभियानको विषयमा गरिएको कुराकानी :

चुनावको सन्निकट छौं । अहिलेसम्म चुनावी अभियान संचालन गर्दाको अनुभव कस्तो रह्यो ?

एकदमै सकारात्मक प्रतिक्रिया छ । सबै साथीहरूले मलाई हौस्याइरहनु भएको छ । उर्जा दिइरहनु भएको छ । सुत्न पनि पाएको छैन, खान पनि पाएको छैन तर सबैले जुन उर्जा दिनु भएको छ, त्यसले गर्दा मलाई डोर्‍याइरहेको छ ।

चुनावी अभियानमा मानिसको प्रतिक्रिया के पाउनु भयो ? राजनीतिप्रतिको बुझाइ के रह्यो ?

मेरो बुझाइ सुरुमा हाइपोथेटिकल थियो । तर पछि फिल्डमा पुग्दा पनि अवस्था त्यस्तै रह्यो । राजनीतिक दल र राजनीतिककर्मीप्रति धेरै वितृष्णा रहेछ । स्थानीय तहको चुनावले त्यो देखाएको थियो । अहिले पनि त्यसमा खासै परिवर्तन भएको पाइन । आमजनतामा दल र राजनीतिककर्मीप्रति धारणा निरासाजनक मात्रै नभएर वितृष्णाकै तहमा रहेछ ।

पछिल्लो समयमा दलहरूको अजेण्डा मलाई चित्त बुझेको छैन । सांसदको उद्देश्य के हुनुपर्छ, सांसदको हैसियतले जे गर्नु पर्ने हो त्यो गरेको देखिएन । कुन कुन कस्तो कस्तो नीति बनाउनु पर्ने हो के गर्नुपर्ने हो र मैले के गर्न सक्छु भन्ने विभिन्न नीतिगत सुधार गर्नुपर्ने मैले देखेँ । त्यो नीतिगत सुधारको प्रयास गरिएन भने यो देश यस्तै अन्धकारमा रहिराख्ने रहेछ । संसदलाई लिकमा ल्याउनका लागि उम्मेदवारी हो ।

नीतिगत सुधारको विषय हुने भन्नुभयो । अहिले देखेको कुरामा सुधार गर्नुपर्ने विषय के के हुन् ? प्राथमिकता के हुन् ?

मैले आत्मनिर्भर नेपाल भन्ने अभियान चलाएको छु । त्यसको प्रमुख पिलरको रुपमा पर्यटन, प्रविधि, उर्जा र व्यापार भन्ने हो । पहिले सुरुमा पर्यटनलाई हेरौं अहिलेसम्म यो क्षेत्र २०३५ सालको पर्यटन ऐनको आधारमा सञ्चालन भइराखेको छ । त्यसले प्याराग्लाइडिङ रात्रीकालीन व्यवसाय, बन्जी वा केवलकार वा प्रविधि केही पनि चिन्दो रहेनछ । अहिले पनि प्रविधि नचिन्ने कुनै पनि ऐनले केही गर्न सक्दैन । अन्तर्राष्ट्रिय लगानीकर्ता मात्रै होइन स्वेदशी व्यवसायीलाई पनि राम्रोसँग चिन्दैन । त्यो ऐनलाई हामीले संशोधन नगर्ने हो भने वा त्यसमाथि बहस नगर्ने हो भने हाम्रो देश त्यतिकै गजल्टिएर बसिरहन्छ । जुन विषयमा सम्भावना छ त्यस विषयलाई हामीले छुँदै नछुने रहेछौं भन्ने लागेर म सांसद बन्न खोजेको हो ।

हाम्रोमा अधिकांश विधेयकहरू अहिलेसम्म सरकारले ल्याउँछ । निजी विधेयक शून्य बराबर छ । एक्लो स्वतन्त्र व्यक्तिले कानुन बनाउने विषय सम्भव होला ?

पहिलो प्रस्तावकले समर्थन पनि पाउनु पर्‍यो । राम्रो होमवर्क गरेर प्रस्ताव बनाएको छ भने समर्थन पाइन्छ भन्ने विश्वास छ । अहिले अवस्थामा बहुमत पुर्‍याउनका लागि ४-५ वटा दलको समर्थन चाहिन्छ । ४-५ वटा दलको समर्थन पाइहाल्छु । मुख्य विषय भनेको मेरो प्रोडक्ट राम्रो हुनुपर्‍यो । मेरो प्रस्ताव देश र जनताको हकहितका लागि छ भने समर्थन पाइ नै हाल्छु ठूलो कुरा हुन्छ जस्तो लाग्दैन । मेरो चुनाव चिह्न पनि क्यामेरा हो । 'क्यामेरा'लाई क्यामेराको साथ पनि छ ।

क्यामेराको साथ भनेको के हो ?

मिडियाको समर्थन ।

राजनीतिक दल र नेताहरूप्रति असन्तुष्टी रहेको बताउनुभयो । के कारणले यस्तो अवस्था सुरु भयो भन्ने लाग्छ ?

देशको अवस्था सबैले देखेकै छौं । यहाँ सरकारी सेवा लिन जाँदा होस् वा बाहिर निस्कँदा पनि निरास हुनुपर्ने अवस्था छ । अहिले आर्थिक मन्दी छ, व्यापार व्यवसायहरू बर्बाद भएका छन् । सबै यस्तो संकटमा पर्दा पनि राजनीतिककर्मीहरूको खासै कुनै सहानुभूति पनि छैन र नीतिगत सम्बोधन पनि छैन । मानिसमा त्यसै फ्रस्टेसन छँदै छ ।

पहिले संविधान बनेपछि सबै कुरा राम्रो हुन्छ भनियो । संविधान बनेपछि शान्ति आउला, शान्तिपछि समृद्धि आउला भन्ने थियो । सबैले राम्रो संविधान बनाउनेमा ध्यान दिए । संविधान बनेपछि देशको प्रगति हुन्छ भन्ने आशा गरेका थियौं । संविधान बन्यो तर त्यही राजनीतिमा गिजोलिएको गिजोलिएकै भयो । त्यसले होपलेस बनायो । संविधान निर्माणपछि बबाल हुन्छ भनेको त्यो पनि भएन बर्बादतर्फ गयौं। यो ५ वर्ष पर्खिने हो भने झनै बर्बाद होला । राजनीतिक दल आफ्नो उद्देश्यबाट बाहिर जाँदा निरासा भएको हो ।

तपाईंको निर्वाचन क्षेत्र हाँडी गाउँदेखि झोरसम्म छ । आफ्नो निर्वाचन क्षेत्रको विकासबारे योजना के छ ?

एउटा संसादले विकासको बारेमा कुरा गर्नु भनेको भ्रम छर्नु हो । दलको सांसद छैन स्वतन्त्रमात्रै छ भने त झनै फटाहा कुरा हो । किनभने म सरकारमा जाने सम्भावना निकै न्युन छ । सांसदको पहिलो प्राथमिकता नीति निर्माण गर्ने हो । त्यसैले मैले नीति निर्माणको मात्रै कुरा गर्छु ।

सांसद विकास कोषको व्यवस्था छ तर त्यसमा मैले एक्लैले गर्ने होइन । त्यसमा समिति बन्छ त्यसले निर्णय गर्छ । त्यसै कारण भ्रम छर्ने काम साथीहरूले नबुझिकन गर्दैछन् । म त नीति निर्माण मात्रै बनाउँछु । मैले साथीभाइलाई पनि मैले वर्ग, समुदाय वा यस क्षेत्रको विकास गर्न आएको होइन, देशको समग्र विकासको नीति बनाउन आएको हो भनेको छु। यदि संसदको उम्मेदवारले विकास गर्छ भनेर भोट दिँदै हुनुहुन्छ भने तपाईं पनि भ्रममा पर्दै हुनुहुन्छ भनेर सिधै भन्दिन्छु ।

अन्यको भन्दा फरक अजेण्डा देखिन्छ । मतदाताको प्रतिक्रिया के हुने गरेको छ ?

अहिले मानिसहरूले बुझ्नु भएको छ, म प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी हो भनेर।

स्वतन्त्र भएर पनि प्रतिस्पर्धी हुनुहुन्छ । कुनै दलले उम्मेदवार हुन प्रस्वात गरेका थिए ?

म कसैको राडारमा पनि परिनँ । पत्रकारिता पढेकोले पनि होला घटनाक्रम अब्जर्भेसन गरिराख्थेँ । व्यापार व्यवसाय गर्ने व्यक्तिलाई राजनीतिक रुपमा खासै हेर्दा पनि हर्दैनन् । फेसबुकमा लेखिराख्थेँ । कतिपयले यो सहरको युवा फुर्ति लगाउँछ भनेर पनि सोच्थे होलान् । यसलाई ज्ञान छैन, यसले देश बुझ्दैन भनेर पनि भन्थे होलान् । तर उहाँहरूले भुलेको कुरा भनेको म संखुवासभाको भीर पाखामा जन्मिएर लाजिम्पाटमा हुर्किएर दरबारमार्गमा व्यापार व्यवसाय गरिरहेको देशलाई नजिकबाट चिन्ने मान्छे हुँ । म संघर्ष गरेर आएको हुँ, सेल्फ मेड म्यान हुँ । भद्रपुरदेखि महेन्द्रनगरसम्म कार्यक्रमको आयोजना गरेको छु । विभिन्न मानिससँग सहकार्य गरेको छु । त्यस प्रकारको ज्ञान छ भनेर साथीहरूले आकलन गरेका छैनन् ।

काठमाडौैं- ५ मा स्वतन्त्रको भीड छ । एक जना मात्रै भएको भए चुनावी परिणामलाई फरक पार्थ्यो भन्ने लाग्छ कि लाग्दैन ?

लाग्छ । आवश्यक हो भनेर हामीले कतिपटक पहल पनि गर्‍यौं । यो लोकतान्त्रिक अभ्यास हो हामीले सम्मान गर्नुपर्छ । कसैले उम्मेदवारी दिँदा मैले उहाँहरूप्रति रिसिवी राख्ने, वितृष्णा गर्ने, इर्श्या राख्ने कुरा पनि भएन । अहिले मतदाताहरूले धेरै विकल्पहरू भेट्नु भएको छ । छुट्याउनुहोस्, चिन्नुहोस्, अध्ययन गर्नुहोस् र भोट दिनुहोस् । बजारमा टन्न प्रोडक्टहरू छन् भने राम्रो प्रोडक्ट चुन्ने अवसर पाउनु भएको छ । ५ मिनेट खर्च गर्नुभयो भने बेस्ट को हो भनेर चिनिहाल्नु हुन्छ ।

राजनीति कुन रुपमा भइरहेको छ नेपालमा ?

राजनीतिज्ञहरूले नेपालीको दिमागमा देश विकास गर्ने नेताहरू नै हुन् भनेर मस्तिष्कमा भरिदिएका छन् । हामी पनि देश नेताहरूले बनाइहाल्छ भनेर अल्छे भयौं । देशको विकास निजी क्षेत्रले गर्ने हो । संसदको काम नीति निर्माण र सरकारको काम सहजिकरण गर्ने हो । सेवा दिने हो । समस्या त्यही भइदियो ।

विकासको मापन कसरी गर्ने ? सहरीकरणलाई पनि विकास मानिन्छ । भौतिक पूर्वाधारलाई आधार ठान्ने गरिएको छ । एक सय तल्लाको पाँच वटा गगनचुम्बी भवनहरू देख्यौं भने हामी त्यसलाई विकास मान्छौं । त्यस्तो भवनहरू प्राय: निजी कम्पनीले बनाउँछ । जो विषयको जरो बुझ्न आवश्यक छ । सरकारले सहजिकरण मात्रै गर्ने हो । सरकारप्रति विश्वास हुन्थ्यो र गर्नसक्ने भयो भने नेता र कर्मचारीप्रति यत्रो वितृष्णा हुने नै थिएन । यत्रो कर्मचारी पालेर पनि कुनै काम भएको जस्तो लाग्दैन । यो सेवा चुस्त दुरुस्त नीति क्षेत्रले दिन सक्ला । अझ सुपथ मूल्य सहज रुपमा दिन सक्छ । जनताको कर पनि नखाइकन ।

प्रकाशित : कार्तिक ३०, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

मूल्यवृद्धि ८.५ प्रतिशत

कान्तिपुर संवाददाता

काठमाडौँ — गत असोज महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४.२६ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको असोजमा यस्तो मूल्यवृद्धिदर ४.२४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ८.८५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य वृद्धिदर १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुल्यवृद्धि २१.१५ प्रतिशत, स्वास्थ्यको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि ८.५० प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×