२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

'उपत्यकामा पहिलोपटक स्थानीय तह जित्यौं अब सांसद पनि जित्छौं'

बाहिरबाट डलर ल्याएर होइन आँफैले कमाएको रकमबाट खर्च गरेर काम गरेको हुँ । यो क्षेत्रमा मात्रै होइन देशको विभिन्न दुर्गम क्षेत्रमा पुगेर पनि काम गरेको छु । घरमै बस्न सक्थे होला तर युवा र महिलाहरुको पीडा देख्दा मनले मानेन त्यसैले उम्मेदवारी दिएको हुँ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं-२ को भूगोल चुनावको समयमा सँधै चर्चामा रहने गरेको छ । त्यही क्षेत्रमा २० राजनीतिक दल र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । २०४८ साल यताको चुनाव एक पटकको उपचुनाव बाहेक यो भूगोलमा धेरै एमालेले जित्दै आएको छ ।

'उपत्यकामा पहिलोपटक स्थानीय तह जित्यौं अब सांसद पनि जित्छौं'

यो क्षेत्रमा राप्रपाको तर्फबाट उम्मेदवार रहेकी कुन्ती पोखरेल (३५ वर्ष)सँग गरिएको संक्षिप्त कुराकानी :

चुनाव अभियान कसरी सञ्चालन भइरहेको छ ?

चुनावी अभियान तीव्र रुपमा अघि बढेको छ । अहिले घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । आम मतदाताले राम्रो प्रतिक्रिया देखाउनु भएको छ र सद्भाव व्यक्त गर्नुभएको छ । प्रत्येक घरका जहाँ उहाँहरु उत्साहित हुने गर्नु भएको छ । एउटा परिवर्तन ल्याउनुपर्छ र नयाँ अनुहारलाई मत दिनुपर्छ भन्ने उहाँहरुको भनाइ छ । राप्रपाले यस निर्वाचन क्षेत्रमा मेयर पनि जितेको हो । अहिले यहाँ (जहरसिंह पौवा) सहित क्षेत्र रहेको नगरपालिकामा हामीले जितेको हो पनि । त्यसले यस क्षेत्रमा राम्रो परिणाम आउने अपेक्षा गरेको छु । अहिले मुख्य रुपमा घरदैलो कार्यक्रम र त्यसको समीक्षाका लागि दैनिक जस्तो बैठक र कार्यकर्ता परिचालन भइरहेको छ ।

तपाईंका के-के एजेण्डाहरु रहेका छन् ?

पहिलो नम्बर भनेको भ्रष्टाचार विरोधी अभियान हो । भ्रष्टाचारलाई निर्मुल बनाउने नै अभियान छ । दोस्रो विषय भनेको समग्र क्षेत्रको विकासको विषय हो । यो मन्त्रालयहरुसँग जोडिएको ठाउँ भएपनि विकासको दृष्टिले निकै पछि रहेको छ । जहरसिंह पौवातिर हेर्नु भयो त्यो झनै स्पष्ट हुन्छ । कोटेश्वर, पेप्सीकोलासहित समग्रमा क्षेत्रमा खानेपानीको अभाव रहेको छ । सांसदको प्रमुख काम विकास भन्दा पनि नीति निर्माण गर्ने हो तर नीति निर्माणसँगै विकास पनि हेर्नुपर्ने आवश्यकता छ, बजेट कहाँ छ के छ र कुन ठाउँमा आवश्यक छ भनेर हेर्ने हो । विकासको मुद्दाका लागि केन्द्रित रहेको छु ।

राजनीतिमा युवाको हस्तक्षेप र रोजगारी सिर्जनाको विषय अर्को हो । युवा पलायन रोक्ने विषय हो । महिला, वृद्धवृद्धा, बालबालिका र समाजमा पिछडिएका वर्गहरुका लागि आवश्यक पर्ने सामाजिक सुरक्षाको विषय पनि मैले लिएको छु ।

दुई नम्बर क्षेत्रमा रहेको ऐतिहािसक मठ मन्दिर धरोहर, पाटीपौवाहरुको संरक्षण पनि मेरो एजेण्डा रहेको छ । त्यो विषयलाई राम्रोसँग उठाएको छु किनभने पशुपतिको फूलबारी दुई नम्बर क्षेत्रमा रहेको छ । साँखु शालीनदीलाई पर्यटकीय क्षेत्र बनाउनु पर्छ । त्यहाँ वर्षको एकपटक मेला लाग्छ, त्यसलाई १२ महिना मेला लाग्ने क्षेत्र बनाउन सकिन्छ । त्यहाँ पुग्दा हिमालको मुनी बसेको जस्तो महशुस हुन्छ यस्तो राम्रो दृश्य छ । सूर्योदयदेखि सूर्यास्तसम्म एकदमै राम्रो दृश्य देखिन्छ । बाटो मात्रै प्रयोग गर्न पाइयो भने सबै मानिस यतै घुम्न आउँछन् ।

राष्ट्र र राष्ट्रियताका लागि मेरो उम्मेदवारी हो । केन्द्रीय विषय नै यही हो । नीति निर्माण तहमा पुगेर युवा वर्गका लागि काम गर्ने चाहाना हो । उद्योगधन्धाहरु एकदमै सुचारु बन्द नहुने प्रकारको हुनुपर्छ । यसले युवा पलायनलाई रोक्छ । हामीसँग अलिअलि भएको उद्योगधन्धा पनि बन्द गर्ने अवस्थामा छ । मैले उद्यमी साथै समाजसेवाको काम गर्दै आएको हुँ । उद्यमको समस्या के हो भन्ने पनि जानकारी छ । त्यसका समाधानका उपायहरु मसँग छन् ।

अहिलेसम्मको चुनावी परिणाम हेर्दा राप्रपाले खासै उपलब्धी हासिल गरेको छैन । तपाईंले आफ्नो क्षेत्रमा जित्छु भन्ने आधार के हुन्?

म जीतको नजिक छु । उम्मेदवारहरुको सूची हेर्दा नै थाहा हुन्छ । संसद्मा पुगेकाले के गरेका छन् र संसद्नै नभएपनि कुन्ती पोखरेलले के गरेको छ ? जनताले हेरेका छन् । स्थानीय चुनावमा पनि हाम्रो राम्रो प्रदर्शन भयो । शंखरापुर नगरपालिकामा जितिसकेका छौं । उपत्यकामा पहिलो पटक जितेको हो, अब सांसद पनि जित्छौं । स्थानीय तह जित्नेहरुले जसरी यो ६ महिनामा काम गर्नुभएको छ त्यसले गर्दा पनि राप्रपाप्रति आकर्षण बढेको छ । शिक्षा, स्वास्थ्य, समाजकल्याणको क्षेत्रमा कस्तो काम गरेको छ त्यो हेर्दा हुन्छ । ११ कक्षा सम्म शिक्षा फ्री छ, स्वास्थ्य फ्री छ र वृद्धावृद्धाका लागि पनि कामहरु पनि भैराखेका छन् । हामीले शंखरापुर जितिसकेका छौं ।

म आँफै पनि समाजसेवी हुँ । दशौं वर्ष मैले यस क्षेत्रमा काम गरेको छु । कामको अनुभवी पनि हो। एनजीओमार्फत पनि काम गरेको छु । त्यस रकम बाहिरबाट डलर ल्याएर होइन आँफैले कमाएको रकमबाट खर्च गरेर काम गरेको हुँ । यो क्षेत्रमा मात्रै होइन देशको विभिन्न दुर्गम क्षेत्रमा पुगेर पनि काम गरेको छु । घरमै बस्न सक्थे होला तर युवा र महिलाहरुको पीडा देख्दा मनले मानेन त्यसैले उम्मेदवारी दिन आएको हुँ ।

आन्तरिक रुपमा मूल्याकंन गर्नु भएको होला । यसपटकको चुनावमा कति मत ल्याए जितिन्छ भन्ने लाग्छ ?

मेरो प्रतिस्पर्धी नै मैले देखेको छैन । मत लिएपछि कोही पनि आउनु हुन्न भन्ने छ । यसअघि भोट पाएपछि ५ वर्ष गायब हुने गरेको देखिन्छ । अर्कोतर्फ गठबन्धनको उम्मेदवार बाहिरबाट ल्याइएको हो । पहिले जुन क्षेत्रबाट जित्नु भएको थियो त्यहाँ विकास गरेको भए त्यहीबाट उठ्नु हुन्थ्यो होला । त्यो क्षेत्रबाट भागेर यहाँ आउनु पर्थेन । यहाँबाट जितेर पनि नभाग्ने ग्यारेन्टी छैन । जनताले अन्य उम्मेदवार देखेका छैनन् । मतदाताले अन्य उम्मेदवारलाई विश्वास गरेको र मैले काम गरेको आधारले पनि मेरो प्रतिस्पर्धामा कोही छ जस्तो लाग्दैन । मैले कहिले पनि गफ गरेर हिँडिन, मिडियामा गएर बोलिन र काम गरे । जुन कुरा अहिले मतदाताले अनुमोदन गर्नुहुन्छ ।

प्रकाशित : कार्तिक २२, २०७९ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?