कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘विज्ञानको उत्कृष्ट नतिजा अन्तर्राष्ट्रिय सहकार्यबाटै आउँछ’

काठमाडौँ — रोयल बोटानिकल गार्डेन इडिनवर्गको मुख्य फ्लोराका प्रमुख हुन्व-वरिष्ठ वनस्पतिविद् मार्क वाटसन् । वनस्पतिको वर्गीकरण, ट्याक्सोनोमी,जैविक विविधताको क्षेत्रमा विश्व विख्यात वनस्पतिविद् रहेका वाटसनले फ्लोरा अफ भुटान,फ्लोरा अफ चाइना लेखनका पनि सक्रिय भूमिका खेलेका छन् ।

‘विज्ञानको उत्कृष्ट नतिजा अन्तर्राष्ट्रिय सहकार्यबाटै आउँछ’

२३ वर्षअघि देखि सुरु भएको ‘फ्लोरा अफ नेपाल’का उनी प्रधान सम्पादक समेत हुन् । वनस्पतिको इन्साइक्लोपोडिया भनेर चिनिने ‘फ्लोरा अफ नेपाल’ १० वटा अंकमा प्रकासन गर्ने भनिएको छ तर हालसम्म एउटा मात्रै अंक प्रकासित भएको छ । नेपाल आएका वाटसनसँग फ्लोरा लेखन र नेपालका वनस्पतिको बारेमा केन्द्रित भएर ईकान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी:

नेपालको फ्लोरा अफ नेपाल लेखन कार्य सुरु भएको तीन दशक भइसक्यो अझै सम्पन्न भएको छैन किन होला ?

मेरो विचारमा फ्लोरा लेखन निकै नै कठिन किसिमको काम हो । यसका लागि धेरै तथ्यांक, विभिन्न विशेषज्ञ चाहिन्छ । वनस्पतिविद्हरुको क्षमता अभिवृद्धि गरिनुपर्छ । फ्लोरा अफ नेपालको लेखन कार्य सन् २०००देखि सुरु भयो । हामीले फ्लोरा लखेनका लागि क्षमता अभिवृद्धि तालिम दिएका छौं ।

अहिलेसम्म फ्लोराको सम्बन्धमा भएका केही काम अनलाइनमा पनि हालिएको छ । नेपाली वनस्पतिविदहरुले अहिले काम गरिरहेका छन् । यो जुलाईमा नेपालको तर्फबाट पनि भएका केही कामलाई अनलाइन भर्सनमा हालिएको छ । अहिले फ्लोरा लेखनको कार्यले गति लिन थालेको छ ।

फ्लोरा अफ नेपालका १० वटै अंक कहिले निस्किएला ?

म अहिले नै यही मितिभित्र सम्पन्न हुन्छ भन्न सक्ने अवस्थामा छैन । यसका लागि स्रोत साधन र दक्ष जनशक्तिको आवश्यकता पर्छ । यदि धेरै वनस्पतिविद्हरु लेखनमा सहभागी भए भने अलिक छिटो होला । हामीले कोसिस पनि गरेका छौं ।

तर,यो लेखन कार्य छिटै हुने खालको पनि हैन । फलोरा अफ थाइलेन्डको कुरा गरौं,बनाउन धेरै वर्ष लाग्यो । यो आजको भोली नै तयार हुन सक्ने हैन । तपाईंले मानिसलाई तालिम दिनुपर्छ,अध्ययन गर्नुपर्छ । यो लेखेर मात्रै हुँदैन,सम्पादन पनि गर्नुपर्छ ।

फ्लोरा लेखनका लागि अब नयाँ पुस्ताको पनि प्रतिनिधत्व चाहिन्छ । उनीहरुलाई पनि यसमा सामेल गराउन सकिन्छ । तपाईंले सोध्नुभएको प्रश्न सामान्य छ तर यसको जवाफ नै जटिल छ । त्यसैले म यही मितिमा सम्पन्न हुन्छ भन्न सक्ने अवस्थामा छैन ।

भनेपछि फ्लोरा अफ नेपालको लेखन सम्पन्न हुन अझै दशक लाग्छ ?

अबको ३ दशकमा पनि सम्पन्न हुन्छ भन्नेमा म निश्चित छैन । यो कार्यलाई राम्रो र गुणस्तरीय बनाउनका लागि मिहिनेत लाग्छ, छिटै गरेर कम गुणस्तरको बनाउनु हुँदैन । फ्लोराको प्रिन्टेड इडिसनलाई प्रोडक्टको रुपमा मानिसहरु लिन्छन् तर यो तयार गर्नका लागि बनाइने फिल्ड गाइड्स, अन्य जानकारीमूलक तथ्यहरु हुन्छन् । त्यसैले यसलाई एउटा प्रिन्टेड वस्तु बनाउनेका लागि भन्दा पनि ज्ञान र जानकारीको दायराको हिसाबले पनि हेरिनुपर्छ ।

फ्लोरा लेखनका मुख्य चुनौती के छन् ?

स्रोत साधनको कमी नै मुख्य चुनौती हो । नेपाली वनस्पतिविद्हरुका लागि पहिलाभन्दा अहिले सजिलो भएको छ । वनस्पतिको स्पेसिमेन,पुराना लिटरेचर र अन्तर्राष्ट्रिय विज्ञहरुसँग जोडिन सहज भइको छ । डिजिटलाइज्ड स्पेसिमेन, पुराना लिटरेचरहरु पनि अहिले अनलाइनमा पाइन्छन् । पहिलाभन्दा अहिले केही सहज भएको छ ।

वनस्पति विभागले भर्खरैदेखि फ्लोरा अफ नेपाल प्रकासनका लागि भनेर योजना बनाएर अगाडि बढाएको छ ।

फ्लोरा लेखनको जिम्मेवारी लिएका अन्तर्राष्ट्रिय संस्थाहरुको भूमिका कमजोर देखिएको छ नि ?

मेरो विचारमा राष्ट्रियस्तरको फ्लोरालाई लेखनलाई लिड गर्ने भनेकै त्यही राष्ट्रले हो । यसका लागि राष्ट्रले अन्तर्राष्ट्रिय साझेदार गर्न सक्छ । तर यसको नेतृत्वकर्ता सम्बन्धित मुलुक नै हुनुपर्छ ।

नेपालका वनस्पतिविद्हरुले हामीलाई सहयोग मागेपछि २० वर्षदेखि साझेदारी गर्दै आएका छौं । हामीसँगको साझेदारीबाट जानेका कुराहरु आदनप्रदान भएको छ । नेपालको सरकारी निकायबाट वनस्पतिविद्हरुले थालेको कामलाई सघाउने हिसाबले स्रोत सुनिश्चिता गरिदिनु सकरात्मक कुरा हो । नयाँ सोच,जाँगरले नेपाल सरकारले यो कार्य सम्पन्न गर्नका लागि चासो दिनु धेरै नै राम्रो हो ।

नेपालका वनस्पतिविद्हरु तपाईंहरुको सहयोग बिना नै फ्लोरा अफ नेपाल लेख्न सक्षम छैनन् र ?

सबै विज्ञान अन्तर्राष्ट्रिय हुनुपर्छ । हामीले यूकेमा गर्ने अनुसन्धान हाम्रो लागि मात्रै हुँदैन, विश्वभरका वनस्पतिविद्हरुका लागि हुन्छ । हामीले विश्वका धेरै वैज्ञानिकहरुसँग सहकार्य गरेका हुन्छौं । विज्ञानको उत्कृष्ट नतिजा अन्तर्राष्ट्रिय सहकार्यबाटै आउँछ ।

नेपाली वनस्पतिविद्हरुले फ्लोरा लेख्न सक्षम नै छन् । तर, उनीहरुले गरेको उक्त काम कतिको क्वालिटी छ र अन्तर्राष्ट्रिय स्तरको छ भन्ने सवाल मुख्य हो । वैज्ञानिक सहकार्य कुनै एउटा सानो दायरामा हैन, धेरैको सहकार्य हुन जरुरी छ ।

फ्लोरा अफ थाइलेन्ड लेखनका लागि पनि अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहभागिता छ । लेखन कार्य सहज गराउनका लागि थाइलेन्डका धेरै वनस्पतिविद्हरुलाई तालिम र प्रशिक्षण दिइएको छ ।

नेपालका वनस्पतिले विश्वमा हुने अनुसन्धानलाई के–कस्ता योगदान दिएका छन् ?

नेपालका वनस्पतिले विश्वलाई धेरै नै योगदान गरेका छन् । नेपालका वनस्पति बुझ्नु भनेको हिमालय क्षेत्रको जैविक विविधताको आधारभूत कुरा बुझ्नु हो । नेपालमा जडिबुटीजन्य, आर्थिक महत्व बोकेको, व्यपारिक,जैविक विविधताको महत्व बोकेका धेरै ने वनस्पतिहरु छन् । नेपालको भूगोल सानो छ तर यहाँ पाइने वनस्पतिको विविधता भूगोलको भन्दा १० गुणा बढीले छ । यहाँको वनस्पतिको अध्ययनले यिनीहरुको फैलावट,इतिहासबारे पनि थाहा हुन्छ ।

विश्वमा अहिले वनस्पतिमा अनुसन्धान गर्नेहरुको संख्या घट्दो छ । यही बेला विश्व जैविक विविधताको संकटको सामाना गरिरहेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

विश्वमा अहिले वनस्पतिका अध्येताहरुको संख्या घट्दो अवस्थामा छ । यदि तपाईं युरोपका विश्वविद्यालयहरु हेर्नुहुन्छ भने पनि वनस्पतिमा अध्ययन गर्नेहरुको संख्या घट्दो छ । धेरै नै मानिसहरुलाई सामान्य अवस्थामा तालिम दिइएको छ तर वनस्पतिको ट्याक्सोनोमीमा विज्ञता हासिल गर्नेहरु कम छन् । रोयल बोटानिकल गोर्डेन इडिनवर्गमा यसअघि १० जना विद्यार्थीहरु वनस्पति अध्ययन गर्ने हुन्थे, यसपालि ३० जना पुग्ने अवस्था देखिएको छ । यो तथ्यांकले के पनि देखाउँछ भने विश्वमा अहिले वनस्पतिविद्हरुको आवश्यकता औंल्याएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?