कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

‘ओली प्रवृत्तिमा कुनै सुधार छैन, त्यसैले सम्बन्धमा सुधार हुने स्थिति छैन’ [भिडियो]

प्रचण्डलाई प्रधानमन्त्रीको अफर आएको सुन्नमा आयो, तर उहाँले पत्याइरहेको स्थिति छैन भन्ने पनि बुझ्नमा आयो
राजनीतिमा विनम्रता र सामूहिकताको भावना चाहिन्छ, तर ती कुराहरु तत्कालीन नेतृत्वमा देखिएन, त्यसैले विभाजन भएको हो 
दुई शब्द पनि बेठीक गरिएछ भनेर स्वीकार नगर्ने ? अनि त्यस्तो १० बुँदेको नाममा बनेको कागजका आधारमा कसरी मान्ने ? 
म प्रचण्डजीभन्दा फरक प्रकृतिको मानिस हो, प्रचण्डजी छिटो विश्वास गर्नु हुन्छ र छिट्टै अविश्वास गर्नु हुन्छ, म ‘टेस्ट’ गरेर मात्रै विश्वास गर्छु
हामी गठबन्धनको गीत बढ्ता गाउनतर्फ लाग्यौं, तर गठबन्धनभित्र त्यसअनुसारको इमानदारिता देखिएन

काठमाडौँ — स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा हासिल नभएपछि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तालमेलमा धोका भएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरे । यही बेला एमाले, समाजवादी र माओवादीबीच एकीकरण वा वाम गठबन्धनको प्रसंग पनि सलबलाएको छ ।

‘ओली प्रवृत्तिमा कुनै सुधार छैन, त्यसैले सम्बन्धमा सुधार हुने स्थिति छैन’ [भिडियो]

भर्खरै सम्पन्न तथा आगामी निर्वाचन, वाम गठबन्धनको सम्भावनालगायतका विषयमा कान्तिपुरका गंगा बीसी, मणि दाहाल र बबिता शर्माले नेपालसँग गरेको संवाद:

जीवनका ५० वर्ष एमालेमा रहनुभयो, डेढ दशक नेतृत्व गर्नुभयो, एमालेलाई जिताउन यसअघिका हरेक निर्वाचनमा मिहिनेत गर्नुभयो, अहिले एमालेले जित्दा दुःखी हुने र हार्दा अलिकति सान्त्वना हुने अवस्था आयो, यो चुनाव तपाईंका लागि नयाँ भयो, होइन ?

राजनीतिको कोर्स कुन हिसाबले अघि बढ्छ त्यो भन्न सकिने रहेनछ । म आफैं संस्थापक प्रमुख नेतामध्ये एक भएको पार्टी एमाले हो । मनमोहन अधिकारी, मदन भण्डारी र मेरो मूल प्रयासबाट एमाले बनेको हो । माले बन्दा सीपी र म, हामी दुई जनाको मूल प्रयासले बनेको हो । यो इतिहासको यथार्थ हो । यो सत्य कसैलाई अपच हुन सक्दछ, तीतो लाग्न सक्दछ । तीतो लागेर गर्नु के ? २०३१ साल पार्टी निर्माणको सुरुवातदेखि, क्रान्तिकारी अपिल प्रकाशित गरेको मिति २०३१ जेठ १४, त्यसभन्दा अघिदेखि गरिँदै आएको प्रयासहरूले जुन प्रकारको उचाइ हासिल गर्‍यो, त्यही आधारमा एमालेले जुन हैसियत कायम गर्‍यो, त्यसका लागि जुन भूमिका खेल्न सकें, त्यसप्रति मलाई गौरव बोध छ । तर, त्यो पार्टीले यति बेला गलत बाटो समात्यो । नेतृत्व गलत हुँदा प्राप्त भएका सबै उपलब्धिहरू समाप्त हुँदा रहेछन् । लेनिनको नेतृत्वमा रुसमा कम्युनिस्ट पार्टी अघि बढ्यो । समाजवादको स्थापना भयो । गोर्वाचोभ र यल्त्सिनको नेतृत्वमा पुगेपछि सोभियत संघको कम्युनिस्ट पार्टी धराशायी भयो । यस्तो जहाँ पनि हुन्छ । हाम्रो देशमा पनि भयो ।

संविधान निर्माण गर्न, गणतन्त्र ल्याउन, संघीयता स्थापना गर्न, समावेशी राजनीतिलाई अवलम्बन गर्न कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेबाट मेरो र पछिल्लो समय माओवादीतर्फबाट पुष्पकमल दाहालजीको मूल भूमिका छ । यो परिवर्तन भइसकेपछि त्यसलाई जोगाउनुपर्ने, त्यसलाई अघि बढाएर लैजानुपर्ने र क्रान्तिको प्रतिफल जनताले प्राप्त गर्ने स्थितिमा संविधानलाई मिच्ने, संसद् विघटन गर्ने नीति अंगीकार गर्न थालियो । पार्टीलाई दक्षिणपन्थी भासमा लगियो । पार्टीभित्र व्यक्तिवाद, दम्भ हाबी भयो र पार्टी पद्धति भत्किएर गयो । त्यो सबै अवस्था भएपछि कम्युनिस्ट आन्दोलनलाई जोगाउन र बचाउन पार्टीलाई क्रान्तिकारी धारमा लिएर जानका लागि सबै प्रकारको विकृतिविरुद्ध जुध्नका लागि नयाँ क्रान्तिकारी पार्टीको आवश्यकता पर्‍यो । यस्तै आवश्यकता संस्थापक पुष्पलाललाई आफैंले २००६ सालमा स्थापना गरेको पार्टीबाट विद्रोह गरेको अर्को दल परेको थियो । पुष्पलालले विद्रोह गरेर पार्टीको सदस्य बनेको हामीले पनि उहाँबाट विद्रोह गर्नुपर्‍यो । अहिले फेरि त्यस्तै जिम्मेवारी पूरा गर्न हामी दृढताका साथ अघि बढिरहेका छौं ।

तपाईं जस्तो वरिष्ठ नेताले आफ्नै सक्रिय नेतृत्वमा बनेको पार्टीबाट त्यति ठूलो विद्रोह गरेपछि देशको राजनीतिले नयाँ कोर्स लिनुपर्ने हो, त्यो घटना त एउटा पानीढलोका रूपमा स्थापित हुनुपर्ने हो नि । तर एमालेबाट तपाईंहरूले विद्रोह गरेपछि एकीकृत समाजवादी नामको पार्टी बन्यो, तपाईं अध्यक्ष हुनुभयो, आलोपालो प्रणालीमा पाँच जना मन्त्री भए र २० जना स्थानीय तहका प्रमुख भए । तर तपाईंको विद्रोह राजनीतिक कोसेढुंगा बन्न सक्यो त ?

यो प्रश्नको औचित्य आफ्नो ठाउँमा होला । तर, देशमा झन्डै नयाँ हिटलरको उदय हुने स्थिति आएको थियो । त्यसबाट कसले जोगायो ? देशलाई तनावतर्फ जान सक्ने स्थितिबाट जोगाउन कसले भूमिका खेल्यो ? इतिहासले हेर्ने छ । जनताको एउटा हिस्साले पक्कै पनि बुझे । सबैलाई बुझाउन समय लाग्ने रहेछ किनभने बनेको संरचना त्यसमा आबद्ध भएका व्यक्तिहरू र उनीहरूका कारणले गर्दा सबै ठाउँमा त्यही ढंगको सन्देश छोटो समयभित्र पुग्न सकिएको छैन । तर, विद्रोह गरेर बनेका अन्य नयाँ पार्टीहरू तुलना गरेर हेर्ने हो भने हामीले निराश हुनुपर्ने अवस्था छैन । यद्यपि हामीले जति अपेक्षा गरेका थियौं, जति गर्न सकिन्थ्यो, त्यो हुन सकेको छ/छैन । त्यसका पछि हाम्रो पनि केही कमजोरी रह्यो । हामी गठबन्धनको गीत बढ्ता गाउनतर्फ लाग्यौं, गठबन्धनका घटकसँग बढी विश्वासमा लाग्यौं । तर, गठबन्धनभित्र त्यसअनुसारको इमानदारिता देखिएन ।

संसद् विघटन पनि पार्टी विभाजनको कारण हो भने, दुवै पटक सर्वोच्च अदालतले पुनःस्थापना गरिसकेको थियो । तर, पुस र जेठमा भएको संसद् विघटनका कारण अदालतबाटै सकिसकेको विषयलाई लिएर भदौमा कसरी पार्टी फुट्यो ? जबकि पार्टीभित्र पनि तपाईंसमेतले छानेका नेताहरूको कार्यदलले १० बुँदे सहमति तयार पारेको थियो । पार्टी विभाजनमा ‘अलिखित ११ बुँदा’ को भूमिका प्रमुख छ नि, होइन र ?

अदालतले एमाले र माओवादी फरक–फरक भनेर फैसला दिएपछि २०७७ फागुन २८ मा केपी ओलीले केन्द्रीय कमिटी बैठकका नाममा गुटको बैठक आयोजना गरे । केन्द्रीय कमिटीको संख्या आकाश पुर्‍याउने गरी थप्ने र निकाल्ने कामहरू भइसकेपछि एकलौटी रूपमा स्वेच्छाचारी ढंगले चल्न थाले । त्यसअघि पनि पटक–पटक लिखितम रूपमा प्रस्ताव राखेका थियौं तर २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनमा केपी ओली अध्यक्ष भएपछि जुन रूपमा पार्टी सञ्चालन गर्न थाल्नुभयो, अन्तरविरोध त्यति बेलादेखि नै चर्किंदै गयो । माओवादीसँग एकता गर्दा नै जुन प्रकारको रबैया अपनाइयो, पार्टी एकीकरण गरेपछि नै त्यही शैली देखेपछि मैले तपाईं दुई जनाको चोचोमोचो मिल्दैमा स्वीकार गरेर चल्ने मानिस म होइन भनेर प्रस्ट भनिदिएको थिएँ ।

विधि र पद्धतिका आधारमा चल्न, मापदण्डहरू तय गर्न, न्यायोचित निर्णय गर्न आवाज उठाउँदै आएको हो । यो विषयलाई प्रचण्डजीले पछि बुझ्नुभयो । तर, त्यसअघि त मलाई एक्लो पार्नका लागि (ओलीले) प्रचण्डजीको साथ लिएका थिए । प्रचण्डजीले पनि आफ्नो अध्यक्षको हैसियत खोज्न थालिसकेपछि केपी ओलीजीलाई सह्य भएन । एक म्यानमा दुई तरबार रहन सक्ने अवस्था हुँदैन भन्ने देखिन थाल्यो । ‘म समय हुँ’ भन्ने जस्तो कुरा हुन थाल्यो । तर के गर्ने ? अहंकारले आफैंलाई नाश गर्छ । राजनीतिमा विनम्रता र सामूहिकताको भावना चाहिन्छ । असली लोकतन्त्र सामूहिकता र अन्तरक्रियामा विश्वास गर्ने कम्युनिस्ट पार्टी भएकाले झनै बढी चाहिन्छ । तर, ती कुराहरू तत्कालीन नेतृत्वमा देखिएन, त्यसैले विभाजन भएको हो ।

तर, तपाईंहरूले नै हालेको रिटका आधारमा फैसला दिँदै अदालतले नै ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्‍यो । तपाईंसहितको पहलमा बनेको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेर माओवादीसँग एकीकरणभन्दा अघिका कमिटी ब्युँताउने निर्णय गरेपछि विभाजन किन आवश्यक पर्‍यो ? त्यसको कारण अर्कै हो भन्ने बुझाइ छ नि ।

दस बुँदामा के थियो ? केपी शर्मा ओलीले विगतमा गरेको कुनै पनि गल्तीमा पश्चताप र स्वीकार नगर्ने, बार्दलीबाट गरिएको, उफ्रिएको कुराको पश्चताप छैन । महाराजाधिराजको जस्तो आममाफी दिइन्छ भनेर घोषणा गरेको छ । दुई शब्द पनि बेठीक गरिएछ भनेर स्वीकार नगर्ने ? अनि त्यस्तो कागजका आधारमा कसरी मान्ने ? फेरि त्यो नक्कली कागज थियो । त्यस्ता कागज त त्यसभन्दा अघि नबनेका होइनन् र ? प्रचण्डजीसँग आधा–आधा कार्यकाल प्रधानमन्त्री, दुवै अध्यक्षको समान हैसियत, आलोपालो नेतृत्व बनाउने कागज नै भएको थियो । कहिले आलोपालो भएको सुन्नुभयो ? यो कागजमा अलमल्याउनका लागि रहेछ भन्ने कुरा कति पछि चाल पाउनुभयो । हामीले मनमनै भन्यौं, बल्ल फेला पर्नुभयो भनेर । त्यसअघि त उहाँहरूबीचको निकटता निकै धेरै बढेको थियो । प्रचण्डजी बिहानै बालुवाटार, बेलुकै बालुवाटार पुग्नुहुन्थ्यो । पछि जब उहाँले भोग्नुभयो, भन्न थाल्नुभयो– कस्ताको संगत गरिएछ र कस्तोको फेला परिएछ ।

हाम्रो प्रश्न के भने १० बुँदा तपाईंकै सहमतिमा तयार भयो तर त्योबाहेक तपाईंलाई अध्यक्ष बनाउने माग पेचिलो भयो भन्ने छ नि ।

मैले त्यस्तो केही कुरा गरेको थिइनँ र छैन पनि । अध्यक्ष चाहियो भनेर भनेको छैन । इमानका साथ बोल्नुपर्छ, झूटो बोल्नु हुँदैन । म त वरिष्ठ नेतामा बस्नसमेत तयार थिइनँ । तर विगतका सबै विषयलाई स्वीकार गर्न तयार हुनुपर्दथ्यो । ठ्याक्कै जेठ ३ भन्दा पहिलेको जेठ २ को अवस्थामा पुर्‍याउन पार्टीलाई तयार हुनुपर्दथ्यो । विधिका आधारमा चल्न तयार हुनुपर्दथ्यो । यसबीचमा भएका सबै काम अनुचित हो भनेर फिर्ता लिन, निर्णय लिन सक्नुपर्दथ्यो । यो केही कुराहरू भए ? उहाँहरूको मूल उद्देश्य असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभाका विषयमा फैसला गर्नुभन्दा पहिले त्यसको १२ बजेसम्म हस्ताक्षर फिर्ता भएको वक्तव्य दिनुपर्ने, त्यो कागज लिएर उहाँका मान्छेहरू जाने र सर्वोच्च अदालतको रजिस्ट्रारको हातमा पुर्‍याउने योजना थियो । राजनीतिमा लामो अनुभव भएको हुनाले परसम्म देख्ने गर्दछु । यो देशको ठुल्ठूला व्यक्तित्वसँग डिल गरेर आएको मानिस हुँ म पनि । मानिसको मनोविज्ञानदेखि लिएर उसको बानी व्यहोरासम्म विश्वका अनुभवका किताबहरू पढेर र अनुभव गरेर आएको मानिस हुँ । मलाई सजिलैसँग कसैले मूर्ख बनाउन सकिन्छ भनेर ठान्छन् भने त्यो बेकारको कुरा हो ।

बार्दलीको प्रसंग सम्झाउनुभयो, आममाफी दिइन्छ भनेको पनि दोहोर्‍याउनुभयो । माधव नेपालले अध्यक्षको चाहना राखेपछि दुई जना अध्यक्ष हुने गरी व्यवस्था गर्न ओली तयार हुनुभएको थियो तर त्यो पनि बिग्रियो भन्ने छ । विधिविधानको कुरा गर्ने तपाईंले महाधिवेशनको बीचमा अध्यक्षमा दाबी गर्न कसरी मिल्थ्यो ?

प्रश्नमा नै दुई कुरा आए । मैले मागेको हो कि केपी शर्मा ओलीले प्रस्ताव गरेको हो ? केपी शर्मा ओलीले प्रस्ताव राखेको हो भने त्यो नगद हो कि उधारो हो ? ओलीले माधव नेपाललाई नगदी चाहिन्छ भनेको सुन्नुभएकै होला । मैले नगदी चाहिन्छ भनेर भनेको नै हो । म यत्तिकै कसैको कुरामा पत्ता वा विश्वास गर्दिनँ । त्यो पनि मैले ‘टेस्ट’ गर्न खोजेको हो । कसैले सत्ताको दुरुपयोग गर्छ भने त्यसमाथि नियन्त्रण गरिनुपर्छ भन्ने मान्यता हो । मानिस राम्रो हुँदा त्यसले राम्रो ढंगले देश पनि चलाउँछ । मानिस नराम्रो बाटोमा हिँडेपछि त्यसले सबैलाई दुर्घटनामा धकेल्छ र निकै ठूलो दुर्घटनामा पार्छ ।

दुई अध्यक्ष हुँदा नेकपा चल्न नसकेको पृष्ठभूमिमा एमाले चल्छ भन्ने विश्वास थियो ?

म प्रचण्डजीभन्दा फरक प्रकृतिको मानिस हो । प्रचण्डजी छिटो विश्वास गर्नु हुन्छ र छिट्टै अविश्वास गर्नु हुन्छ । म ‘टेस्ट’ गरेर मात्रै विश्वास गर्छु, म र उहाँमा फरक छ । म सजिलै पत्याउँदिनँ, सजिलै गरी अविश्वास पनि गर्दिनँ । तथ्य र प्रमाण खोज्छु । तथ्य र प्रमाणबाट इमानदार देखिएको छ भने अरूले के भन्दछन् भनेर त्यो मान्दिनँ । तथ्य र प्रमाणले बेइमान देखिएको छ भने कसैको मीठो गफमा पर्दिनँ । तर, कसैले गल्ती भएको भनेर पश्चताप गर्छ भने त्यसलाई पनि ध्यानमा राख्नुपर्दछ भन्ने मान्यता राख्दछु । तर नियतवश त्यस्ता कुराहरू बारम्बार हुन्छ, शब्दमा नै तुच्छताको सीमा नाघ्छ भने सामान्य सम्बन्ध धान्न सक्दैन ।

अहिले तुच्छताको सीमा नाघिसकेको छ, त्यस्तो हो भने सम्बन्ध केका लागि ? अपमानित हुन ? गाली सुन्न ? कम्युनिस्ट पार्टीभित्र रहेको गलत प्रवृत्तिको सामु किन नतमस्तक हुनु हाम्रो नियतिमा लेखेको छ ? पहिले पनि हामी गीत गाउने गर्दथ्यौं ‘एक्ला चलो, एक्ला चलो रे’ । यदि तपाईंको कुरा पनि बुझ्दैनन् र खाँदैनन् भने पनि आत्तिने काम छैन । अघि बढ्ने हो, काम गर्ने हो । म यस्तो कुराबाट आत्तिँदै आत्तिदिनँ । मदन भण्डारीको देहावसानको बाबजुद देशव्यापी निर्माण गरेर, विस्तार गरेर आएको हो । देशका लागि केही गरौं भनेर देखाएको हो । अहिले पनि त्यही मान्यताका साथ अघि बढेको हो ।

विद्रोह गर्दा पार्टीभित्र राजनीतिमा आएका नयाँ पुस्ताको भविष्य के हुन्छ भन्ने विषयमा विचार गर्नुपर्नेमा तपाईंले आफ्नो भूमिकालाई केन्द्रमा राख्नुभयो । होइन भने सुरेन्द्र पाण्डेदेखि घनश्याम भुसाल, योगेश भट्टराई, जो उदाउँदै गरेका नेता हुन्, उनीहरूले समझदारी अपनाउँदा तपाईंले ‘एकला चलो रे’ नीति किन लिनुभयो ?

‘एकला चलो रे’ नीति होइन, मान्यता हो । एकीकृत समाजवादीमा एकसे एक युवाहरू छन् । अझै नयाँ पुस्ताका युवा छन् । पढाइमा अब्बल, पीएचडी गरेका नेताहरू, विभिन्न क्षेत्रमा खारिएका अनुभवी, पार्टीको संगठनभित्र परिचालित भएका, जनवर्गीय संगठनमा गोलबद्ध भएका व्यक्तिहरू अहिलेको महान् यात्रामा सहभागी भएका छन् । यो चौथो पुस्ता हो । हामी दोस्रो पुस्ता भयौं । त्यसपछिको तेस्रो पुस्ता थियो । अहिले त चौथो पुस्ता आयो, हामीलाई साथ दिन । त्यो निकै आसलाग्दो पुस्ता हो ।

नेपालको इतिहासमा विभाजित दल खासै प्रभावकारी हुन सकेका छैनन्, मूलधारकै दल राजनीतिमा सान्दर्भिक हुने गरेका छन् । नतिजा अपेक्षाकृत रूपमा पनि आएन भनेर तपाईंले पनि भन्नुभयो । अब पार्टी कसरी अगाडि जान्छ ?

केशरजंग रायमाझीको पार्टी मूलधारको पार्टी थियो, हराएर गयो । पुष्पलालले विद्रोह गरेको पार्टी उदायो । मोहनविक्रमजीबाट विद्रोह गरेर प्रचण्डजीको पार्टी उदायो । हाम्रो देशकै उदाहरण छ । पुष्पलालको मूल पार्टीबाट हामीले विद्रोह गरेर नेकपा एमाले बनायौं । त्यसैले इतिहास गतिशील छ । जसले सही दिशा लिएको छ, जसले क्रान्तिकारी सोचका साथ अगाडि बढ्छ र इमानदारिताको राजनीति गर्दछ, त्यसैको पार्टी फल्छ, फुल्छ र जनताले साथ दिन्छन् ।

प्रवृत्तिको कुरा गर्दा हिजो नेकपा बनाउने निर्णय दुई जना नेताबाट मात्र भयो जुन तमसुक बनेको थियो, त्यसमा दुई जना साक्षी राखिएका थिए । दुई जना मिल्ने बेलासम्म तपाईंले अघि भनेजस्तै बिहानै बालुवाटार, बेलुकै बालुवाटार । नमिलेपछि विधि र पद्धतिको कुरा आयो । पद्धति खास कहाँ छ ?

मैले त लेखेर बुझाएको थिएँ, अरू पनि नेताहरूले बुझाउनुभएको थियो । ती दस्ताबेजमा सबै विधि पद्धतिको कुरा छ । कमिटीको किन बैठक बस्दैन भनेर कुरा उठेको छ । चार–चार महिनामा बस्नुपर्ने बैठक डेढ वर्षमा बस्यो । त्यसैले जे भयो, अचानक भएको होइन । यो त पाकेपछि फतक्क गलेको हो ।

त्यो बेला नेकपाले जे निर्णय गर्थ्यो, दुई अध्यक्षबाट मात्र हुन्थ्यो । त्यो प्रवृत्तिमा गल्ती भयो भनेर दाहालले तपाईंहरूसँग भन्नुभएको छ ?

उहाँले पनि सुरुमा बुझ्नु भएन, पछि बुझ्न थाल्नुभयो । उहाँले बैठकमा जोड दिन थाल्नुभयो । उहाँले बैठकको माग गर्दा पनि बैठक नगर्ने । बैठक बोलाइपाऊँ भनेर हामी सचिवालयका पाँच जनाले सही गरेर बुझाएका थियौं । चिठी बुझाउँदाको जवाफ पनि सुनेका छौं– ‘अँ, चिठी मैले हेरें । तोक लगाउँला ।’ सरकारी चिठी हो र तोक लगाउन ? त्यो पुराना कुरा सम्झिनसक्नु छ ।

पुराना विषय कति सान्दर्भिक छन् भने फेरि वाम गठबन्धनको चर्चा आएको छ । एकीकृत समाजवादी र एमाले एक ठाउँमा हुने, माओवादीलाई पनि मिलाउने । सके एकीकरण, नभए गठबन्धन हुने सम्भावना कति छ ?

सबैभन्दा पहिले समस्याका कारण के हुन्, यो खोज्नुपर्‍यो । एउटा विश्वासको वातावरण बनाउनुपर्‍यो । र, यो कोर्सलाई पनि एउटा बिन्दुमा राखेर हेर्नुपर्‍यो । अहिले हाम्रैसमेत सहभागितामा गठबन्धन सरकार छ । यो सरकार कायम रहनुपर्‍यो । कि गठबन्धन भत्काउन खोजेको हो ? अबको निर्वाचनसम्म यो गठबन्धन कायम रहन्छ । चुनाव सम्पन्न नभएसम्म यो सरकारको आयु रहन्छ । सन्तुिष्ट छैन, उता पनि सन्तुष्टि छैन । संसार त्यति सहज छैन । जहाँ–जहाँ जुन–जुन समस्या छन्, ती समस्यालाई केलाउँदै, हल गर्दै हामी अगाडि बढ्नुपर्छ । जे–जे बेठीक कुराहरू भएका छन्, ती कुरालाई सुधारेर अगाडि जानुपर्छ ।

वाम गठबन्धनको सम्भावना कति छ त ?

वामपन्थीहरू एक ठाउँ त उभिनै पर्छ । माओवादी केन्द्र वामपन्थी नै हो । उपेन्द्रजीको पार्टी पनि वामपन्थी नै हो । मोहन वैद्यजीहरूको पार्टी पनि वामपन्थी हो । नेमकिपा वामपन्थी नै हो ।

एमाले नि ?

केपी ओलीको नेतृत्वमा रहेको एमाले गम्भीर विचलनमा परेको छ । ओली प्रवृत्तिमा कुनै सुधार आएको छैन, त्यसैले हाम्रो सम्बन्धमा सुधार हुने लक्षण देखिएको छैन । हामी आफ्नो पार्टीलाई बलियो बनाएर अगाडि बढ्न चाहन्छौं । जनताको सेवामा समर्पित हुन चाहन्छौं ।

वाम दललाई एक बनाउन ‘अन्डरकरेन्ट’ प्रयास भइरहेको विषय छ, छँदै छ, तपाईंकै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जसलाई तपाईंहरूले सम्मानित नेता मान्नुभएको छ, उहाँले नै अब एकीकरण अपरिहार्य हो भनेर सार्वजनिक रूपमै बोल्नुभएको छ नि ।

उहाँले कहाँ भन्नुभएको छ, थाहा छैन । हाम्रो पार्टीभित्र बैठकमा यो विषय आएको छैन । हामी हाम्रो पार्टीलाई बलियो बनाउँछौं । पार्टीलाई विस्तार गर्छौं । हाम्रा कार्यकर्ताले भनिरहेका छन् कि समय कम भयो चुनावका बेला । तर, यसका बाबजुद पनि जति विस्तार भएका थियौं, अझ अगाडि बढ्ने आधार प्रदान गरेको छ ।

तर, पार्टी एकीकरण अथवा गठबन्धनका लागि र खास गरेर प्रधानमन्त्रीको अफर आएको छ भनेर तपाईं र प्रचण्डले सार्वजनिक रूपमा भन्नुभएको छ । त्यो अफरका विषयमा यहाँहरूले सोचिराख्नुभएको छ कि छैन ?

यस्ता कुराहरू विगतमा पनि भोगिसकेका छौं । ११ बजे एक जनालाई प्रधानमन्त्री, १ बजे अर्कोलाई प्रधानमन्त्री र ४ बजे अर्कोलाई प्रधानमन्त्री भनेर पटक–पटक भनिसकेको छ । त्यस कारण त्यस्तो कुनै कुराको अर्थ छैन । को–कसलाई कहाँ–कहाँ आएको छ, उहाँहरूले जवाफ दिने विषय हो । यस्ताको कुरामा हल्लाको पछि किन लाग्ने ?

माओवादी अध्यक्ष दाहाल त तरंगित हुनुभएको जस्तो देखिन्छ नि, निहुँ खोज्यो भने कांग्रेसलाई पनि ठेगान लगाउने हो भनेर बोल्नुभयो नि । तपाईंहरूबीचमा यो विषयमा परामर्श भएको छैन ?

होइन, उहाँलाई प्रधानमन्त्रीको अफर आएको सुन्नमा आयो । तर, उहाँले पत्याइरहेको स्थिति छैन भन्ने पनि बुझ्नमा आयो ।

माओवादी अध्यक्षको एउटा राजनीतिक शैली, छवि, प्रवृत्ति छ । कुनै पनि बेला प्रचण्ड र केपी ओली मिलेर तपाईंलाई ‘सरप्राइज’ दिने सम्भावना पनि रहन्छ नि ? त्यतातर्फ पनि ध्यान दिनुभएको छ कि छैन ?

चिताउँदै नचिताएको कुरा पनि हुन्छ नि । तर, यो घर (पार्टी कार्यालय) भूकम्पले भत्कायो भने । त्यस कारण हेर्दै जाऔं । कुनै पनि कुराको ठेक्का नलिऔं । तर, म सम्भावना देख्दिनँ ।

त्यस्तो अफर तपाईंहरूलाई संयुक्त रूपमा वा अलग–अलग आयो भने अहिलेको सत्ता गठबन्धन के होला भन्ने प्रश्न त छ नि ?

गठबन्धन केही पनि हुँदैन । आऊने चुनावसम्म गठबन्धन कायम रहन्छ ।

र, अन्तिममा, रसियाले युत्रेनमाथि आक्रमण गरेपछि सरकारले विज्ञप्ति जारी गर्‍यो । त्यसमा प्रतिपक्षी मात्र होइन, सरकारमा सहभागी तपाईंहरूको पनि असन्तुष्टि रह्यो । अमेरिकी उपमन्त्री आएर तिब्बतीयनहरूलाई प्रत्यक्ष भेट्नुभयो, त्यसमा पनि तपाईंहरूको असन्तुष्टि रह्यो । परराष्ट्र नीति के हुने भन्ने विषयमा सत्ता साझेदारबीचमा पनि समझदारी देखिँदैन, आपसमा कस्तो छलफल भइरहेको छ ?

नेपाल राष्ट्रले जुन परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ, त्यसमा हामी दृढताका साथ अगाडि बढ्छौं । हामी अन्तर्राष्ट्रिय कुनै गठबन्धनमा सामेल हुँदैनौं । छिमेकीको मनमा शंका/उपशंका उत्पन्न हुने गरी कुनै पनि गतिविधि नेपालमा हुन हुँदैन । यसको सुनिश्चितता गर्नुपर्छ । यसमा त्रुटि भएका छन् भने सुधार गर्नुपर्छ । नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ छ भन्ने सन्देश दिनुपर्छ । त्यो नै नेपालको हितमा छ, नेपाली जनताको हितमा छ ।

पार्टीले किन मन्त्री फेरबदल गर्‍यो ?

सरकारको निर्माणका बेला ६ महिनाका लागि एक सेट र त्यसपछि अर्को सेट पठाउने निर्णय भएको थियो । त्यो निर्णयलाई अहिले कार्यान्वयन गरिएको हो । फिर्ता आउने मन्त्रीलाई कारबाही गरिएको होइन । पूर्ववत् निर्णय मात्र कार्यान्वयन गरिएको हो ।

प्रकाशित : जेष्ठ २३, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?