२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३
अन्तर्वार्ता

'स्वतन्त्र व्यक्ति मेयर बने कसैलाई 'फेवर' गर्नुपर्दैन' [भिडियोे]

आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारीका लागि राजनीतिक दलका कार्यकर्ता नेताका घर धाउन थालिसकेका छन् । तर चुनावमा दलका मात्र उम्मेदवार हुँदैनन् । स्वतन्त्र व्यक्तिहरु पनि प्रतिस्पर्धामा उत्रन्छन् । यस्तै स्वतन्त्र उम्मेदवारीकाे तयारी गर्ने मध्येका एक हुन्- र्‍यापर बालेन शाह । काठमाडौं महानगरमा उम्मेदवारी दिने तयारीमा रहेका सिभिल इन्जिनियर शाहले 'सडक बालिका','बलिदान', 'आम नेपाली बुवा', 'मार्फाको मदिरा' ,'तिमी फूल','नेपाल हाँसेको', 'लोकल ठिटो', 'सबैलाई हतार छ', 'गोर्खाली तोफ'लगायतका र्‍यापमा प्रेमका भावना मात्रै होइन सामाजिक मुद्दा उठाएका छन् ।

'स्वतन्त्र व्यक्ति मेयर बने कसैलाई 'फेवर' गर्नुपर्दैन' [भिडियोे]

युनिक पोइट,एम्सी फ्लोसँगै सन् २००७ देखि र्‍यापमा लागेका उनी कक्षा ९ देखि नै कविता लेखेर त्यसमा र्‍याप गाउँथे ।बैंगलोरमा स्ट्रक्चरल इन्जिनियरिङ सकेका उनी र्‍यापसँगै इन्जिनियरिङ पेशामा पनि उत्तिकै सक्रिय छन् । काठमाडौंको मेयरमा उठ्न दौडधुप गरिरहेका उनै र्‍यापर/इन्जिनियर बालेन शाहसँग ई-कान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी :

र्‍याप र इन्जिनियरिङमा सक्रिय व्यक्ति अचानक कसरी मेयरमा उठ्ने सोच्नुभयो ?

हाम्रो 'हिपअप' विधालाई हामी क्रान्तिको रुप मान्छौं । हामीले पच्छ्याइरहेको अमेरिकन, युरोपियन, अफ्रिकन हिपअप नै हाम्रा स्रोत हुन्थे । मैले गाइरहेका गीतमा पनि सामाजिक,क्रान्ति, मानसिक स्वास्थ्य र यहाँ भएका विसंगतिका विषयमा छन् । गीतमार्फत विभिन्न विषयहरुमा हामीले आवाज उठाउँदै आयौं । त्यही क्रममा बोल्ने मात्र होइन अब आफैंले पनि केही गर्ने पनि हुनुपर्छ भनेर मेयर उठ्ने सोचेको हुँ । पाँच वर्षअगाडि नै सोच्न त सोचेको थिएँ । तर, त्यतिबेला पाँच वर्ष यसका लागि अभ्यास गरौं भन्ने भयो । गृहकार्य गर्न थालेको पाँच वर्ष भयो । यसपाली सहि समय हो भन्ने लाग्छ । त्यही भएर उम्मेदवारी दिने घोषणा गरेको हो ।

राजनीतिमा पार्टीको सिन्डिकेटजस्तो छ । यस्तोमा पार्टीभन्दा बाहिरको उम्मेदवारले चुनाव जित्ने संभावना कम हुन्छ नि ! काठमाडौंजस्तो ठाउँमा तपाईंकf जित्ने आधार के छन्?

स्थानीय निर्वाचन भनेको कुरा त खास दलबाट हुनै नपर्ने थियो । हामीले गरिरहेको अभ्यास गलत हो । बाहिर युरोप, अमेरिका र अस्ति भर्खर सिक्किममा पनि ‍पार्टीभन्दा व्यक्तिको क्षमता हेर्ने, उसले गरिरहेका कार्यहरु कस्ता छन् भन्ने कुरालाई ध्यानमा लिएर छनौट गरिन्छ । यो संसदभन्दा फरक कुरा हो । पालिका अध्यक्षको पद भनेको राजनीति भन्दा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पूर्ण व्यवस्थापन बुझ्न सक्ने व्यक्ति चाहिन्छ । राजनीति बुझ्ने व्यक्तिलाई त्यहाँ गएर खासै फाइदा पनि छैन, त्यसले काम पनि गर्न सक्दैन । पार्टीहरुमा के हुन्छ भने पार्टीगत हिसाबमा त्यहाँको ब्यूरोक्रेट पार्टीकै कर्मचारीहरु हुन्छन् । आफ्नै पार्टीका मानिसले काम बिगार्‍यो भने त्यो पार्टीका मानिसले त्यसलाई कारबाही गर्न सक्दैन । त्यसलाई सुधार गर्न सक्दैन । अर्को पार्टीसँग त्यहाँ भिडन्त हुन्छ । त्यसैले कोही स्वतन्त्र व्यक्ति त्यहाँ पुग्यो भने उसको लागि सबै समान हुने भयो । एउटा साधारण नेपाली जनताको रुपमा उसले सबै व्यवस्थापन गर्न सक्छ । कसैलाई 'फेवर' गर्नुपर्दैन । स्वतन्त्र व्यक्ति मेयर हुन्छ भने कसैलाई जागिर लगाइदिनुपर्ने, कुनै बिजनेसम्यानलाई उसको पोलीसीमा परिवर्तन गरिदिएर उसको 'फेवर'मा लगिदिनुपर्ने हुँदैन । पालिका र समुदायको लागि धेरै राम्रा काम स्वतन्त्रबाट गएकाले बढी गर्न सक्छ जस्तो लाग्छ ।

कुनै पार्टीमा आबद्ध भएर पनि उठ्न सकिन्थ्यो होला नि ?

पार्टीमा आबद्ध हुँदा जस्तो सुकै राम्रो व्यक्तिलाई पनि काम गर्न गाह्रो हुन्छ । आफूभन्दा माथिको नेताको कुरा सुन्नपर्ने हुन्छ, उहाँहरुसँग सल्लाह सुझावबिना केही काम गर्नै सकिन्न । साथै अरु कार्यकर्ताको व्यवस्थापन पनि गरिदिनुपर्‍यो, उहाँहरुलाई जागिर लगाइदिने, धेरै कामहरु गरिदिनुपर्ने हुनाले पार्टीमा गएर स्थानीय तहमा काम गर्न सकिँदैनजस्तो लाग्छ ।

र्‍यापसँगै स्ट्रक्चरल इन्जिनियर तपाईंको पेशा हो । महानगरमा उठ्ने तपाईंका भिजन के-के छन् ?

मलाई अरुले पनि हिपअपमा लागेको, सिभिल इन्जिनियरिङ/स्ट्रक्चरल इन्जिनियरमा लागेको मान्छे किन यता भनेर हामीले पहिल्यैदेखि भन्दै आएका छन् । कुनै पनि पालिकाको बजेट अनि त्यहाँको व्यवस्थापन हेर्नुभयो भने प्राय: सिभिल इन्जिनियरिङ 'टर्मिनोलोजि'हरु हुन्छन् । त्यो चाहिँ लगभग सातै प्रदेशका लागि अस्पताल, विद्यालय, पुल, बाटो लगायत महिला बालबालिकाका लागि काम गर्दा मेयरमा सिभिलाइजेसनकै लागि काम गरिरहेको व्यक्ति उपयुक्त हुन्छ भन्ने लाग्यो । सिभिल भनेको सिभिलाइजेसनको इन्जिनियरिङ हो नि त ! त्यही हिसाबले लाग्दैछौं । एक्कासी भन्दा पनि पहिल्यैदेखि हामीले सोचिरहेको कुरा हो । सबैतिरबाट ज्ञान लिने, सल्लाह लिने हरेक क्षेत्रका कन्सल्ट्यान्टहरु हुनुहुन्छ, हरेक क्षेत्रका विज्ञहरुले बनाइदिएको रोडम्यापलाई कार्यान्वयन गर्नलाई हामी अघि बढ्दैछौं ।

भनेपछि तपाईंको पेसागत ज्ञान, सीप यता लागू गर्ने सोच्नु भएको छ ?

हो । उदाहरण लिउँ न, स्वास्थ्यलाई नै हेर्ने हो भने हरेक वार्डमा आधारभूत स्वास्थ्य क्लिनिकहरु छैनन् । त्यहाँबाट डाक्टर, नर्स र ल्याब टेक्निसियन राखेर आधारभूत जाँच गराउने, प्राथमिक उपचार दिने हाम्रो योजना छ । ठूल्ठूला रोग लाग्नु अगाडि नै स्क्रिनिङ गरेर रोकथाममा लाग्न सकियोस् । शिक्षामा पनि अहिले १ देखि ८ कक्षा पालिकाकै अधिकारमा राखेको छ ।त्यसैले पाठ्यक्रम कस्तो बनायो भने हाम्रो पौराणिक विद्या पनि विद्यार्थीहरुले सिक्न सक्नेछन् र हाम्रो साँस्कृतिक सम्पदा पनि बुझ्न पाउँछन्, साथै मौलिक शिक्षासँगै प्रविधिको प्रयोगमा पनि उच्चस्तरको प्रविधिमा युरोप अमेरिका टोकियोमा कसरी पढाइ हुन्छ भन्ने कुरासँग पनि कनेक्ट गराएर अगाडि बढ्ने सोचेका छौं । उपत्यका भनेको आफैंमा मन्दिर र सम्पदाहरुको सहर हो । यो सहरमा बसिसकेपछि यो ठाउँको मुल्य मान्यता बुझाउन सक्ने भयो भने विद्यार्थीमा संस्कार पनि विकास हुन्छ । अर्को त प्रविधिको हिसाबले पनि उच्चस्तरीय हुन्छ भन्ने लाग्छ ।

महानगरले चलाउने क्लिनिकहरुमा सामान्य औषधिसमेत पाइँदैन । आम मानिस, गरिबले त स्वास्थ्य क्षेत्रमा राम्रो सेवा नै पाइरहेका छैनन् नि । यो क्षेत्रमा तपाईंको के भिजन छ ?

हरेक वार्ड-वार्ड क्लिनिक राख्ने भनेका छौं । अस्पतालमा प्राय नीतिगत भ्रष्टाचार भन्ने कि भ्रष्टाचार नै, कुनै पनि कम्पनीका औषधिहरु अथवा टेन्डर प्रोसेसबाट ल्याइने औषधिमा राम्रो निगरानी नभएर यो समस्या आएको जस्तो लाग्छ । किनभने जुन कम्पनीको फेवरमा हुन्छ त्यहाँको सुपरिटेन्डेन्ट हुन्छ, त्यही सिन्डिकेट तोड्नका लागि एउटा राम्रो निगरानीको व्यवस्थापन हुन जरुरी छ । त्यो कुरालाई राम्ररी हेर्ने, सोचिदिने व्यक्ति माथिल्लो तहमा बसिदियो भने यी सुविधाहरु अझै राम्रा हुँदै जान्छन् । साथै अमेरिका, युरोपको परिक्षा दिएर विदेश जान पर्खिरहेका डाक्टरहरुलाई पनि बाँधेर राख्नलाई उहाँहरुको तलब सुविधा बढाउने, स्वास्थ्य सुरक्षा दिने उनीहरुका बालबालिका पढाउन सकिन्छ ।

काठमाडौं महानगरपालिकामा स्वास्थ्य र शिक्षा डिभिजन छ । सरकारी विद्यालय महानगरले नै चलाउने हो । सरकारी विद्यालयको शिक्षण प्रणाली राम्रो छैन । नीजि विद्यालय महंगा छन् । नीजिविद्यालयमा सजिलो पहुँच र सरकारी विद्यालयको शिक्षण प्रणालीमा अप्ग्रेड गर्ने योजना के छन् ?

काठमाडौंमा लगभग ९१ वटा सरकारी विद्यालय छन् जुन महानगरले संचालन गर्दै आएको छ । तर कतिपय ठाउँमा नजिक-नजिकै ३/४ विद्यालय छन् । कतै विद्यार्थी थोरै होलान्, कतै शिक्षक । त्यस्ता विद्यालयलाई मर्ज गरेर शिक्षकहरुलाई अपग्रेड गर्न शिक्षण प्रणाली राम्रो भएको जापानजस्तो देशमा तालिम दिन पठाएर कसरी विद्यार्थीलाई व्यवस्थित र नयाँ तरिकाले पढाउन सकिन्छ त भन्नेतिर हाम्रो ध्यान छ । अब विद्यार्थीलाई एकदमै पेलाएर, पढ्न मात्रै लगाएर उनीहरुको विकास हुँदैन । विद्यार्थीलाई कम समय पढाएर गुणात्मक शिक्षा दिने, उनीहरुको अतिरिक्त क्रियाकलापमा ध्यान दिन लगाउने गर्नुपर्छ । अहिले धेरै आत्महत्याका मुद्दा बढिरहेका छन् । किन त? उनीहरुले हार्न नजानेर हो नि ! त्यसैले विद्यार्थीहरुलाई खेलकुदमा संलग्न गराएर उनीहरुको शारीरिक, मानसिक विकासमा टेवा पुर्‍याउन सकिन्छ । संगीत सिकाउन सकिन्छ । कुनै पनि विद्यार्थीलाई संगीत सिकाउँदा कुलतमा फस्ने संभावना कम हुन्छ भन्ने भनाइ नै छन् नि ! यस्ता कुराहरुलाई विकास गर्दै जाने हो । अर्को त नीजि विद्यालयमा अभिभावकले तिरिरहेको शुल्कबारे अडिट लिन लगाउने अथवा विद्यालयले पनि विभिन्न शिर्षकमा उठाइरहेको शुल्कबारे निगरानी गर्ने निकाय हुनुपर्छ । हामीले अर्को त शिक्षा र स्वास्थ्य व्यापार गर्ने थलो होइन भनेर पनि बुझाउनुपर्छ । अभिभावकहरुले त्यही महंगो शुल्कलाई अन्य व्यापारमा पनि लगाउन सक्ने भए जसले रोजगारी पनि सिर्जना बढ्ने भयो । हामी कन्सल्ट्यान्टहरुको आइडिया बैंक अवधारणा पनि बनाउँदैछौं । भक्तपुर नगरपालिकामा ४ सय ५० जना वार्षिक रुपमा प्राविधिकहरु ट्रेन भएर निस्कन्छन् । त्यस्तो हामीले पनि सोचेका छौं । हाम्रो मौलिक सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन तालिम दिएर उहाँहरुलाई सजिलै महिनाको १ लाखदेखि २ लाख कमाउने वातावरण सिर्जना गर्न सकिन्छ । कपाल काट्ने नाइहरुले भारतमा २ देखि ३ प्रतिशत रेमिट्यान्स लैजानुहुन्छ । हामीले देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्‍यौं भने त्यही रेमिट्यान्सलाई बाहिर जानबाट रोक्न सक्छौं नि ।

सहर अव्यवस्थित छ । यो अव्यवस्थित सहरलाई व्यवस्थित गर्ने नयाँ अवधारणा के छन् । यो सहरमा विकास गर्ने क्रममा सांस्कृतिक सम्पदा मासिने कार्य भयो भने अवरोध/विरोध सुरु हुन्छ । यस्तोमा विकास कसरी कर्ने ?

काठमाडौंको विकास गर्नलाई काठमाडौंको व्यवस्थापन बुझेर साध्य छैन । यहाँको पुरातत्व, सम्पदा,संस्कृति नबुझी विकास गर्न गाह्रो हुन्छ । उदाहरणको रुपमा हामी आकाशे पुल बनाउने सोच्छौं तर त्यसमा कुनै जात्रामा रथ लगिरहने बाटो छेकिने हो कि त्यसमा ध्यान दिनुपर्ने हुन्छ । जस्तै इट्टाका पूरानो बाटोहरुले मर्मत संभार गर्न सजिलो थियो । म हिँड्ने इट्टाका बाटोहरुले पानी पनि सोस्थ्यो । ती बाटाहरु ढलानमा परिणत भए । पानीको लेभल घट्दै गयो । पानी आउने स्रोतहरुलाई हामीले थुन्दै गयौं । सहर अव्यवस्थित रुपमा विकास भएको छ । काठमाडौं उपत्यकामा खाली ठाउँ कत्ति हुनुपर्थ्यो ? सिमसारमा घर बनाउनु हुन्थ्यो ? त्यतिबेला दिगो विकासका यी सवालमा विकास गर्नेहरुले सोचिदिएनन् । सायद त्यतिबेला यस्तो अवधारणा पनि थिएन होला । त्यो भएर सहर अव्यवस्थित भएको छ । ३० वर्ष अगाडि नै ८ आनाभन्दा कम जग्गामा घर बनाउन पाइँदैन भन्ने नियम आइदिएको भए अगाडि(फ्रन्ट यार्ड) र पछाडि(ब्याक यार्ड)मा पानी सोस्ने ठाउँहरु हुन्थ्यो । अब हामी कुनै पनि घरले बोरिङ गर्छ भने त्यसमा आकाशबाट परेको पानी हार्वेस्ट गरेर रिजार्ज गर्ने पिट पनि बनाउनुपर्छ भन्ने नियमहरुमा ल्याउन सक्छौं । खाली स्थानहरुमा जहाँ अहिले भटाभट सरकारी भवन बनिरहेका छन् ती व्यवस्थित छैनन् । हामीले ल्यान्ड पुलिङ गरेर हुन्छ कि उचित मुआब्जा दिएर हुन्छ त्यो खाली ठाउँलाई व्यवस्थित गर्नुपर्छ । अहिले खेल्ने ठाउँ, गार्डेनहरु छैनन् । कुनै पनि राष्ट्र विकसित छ कि छैन भन्ने कुरा त्यहाँ भएको ठूला भवन र भ्यु टावरले जनाउँदैन । त्यो ठाउँमा कति पार्कहरु छन्, बालबालिका खेल्ने ठाउँ कति छन्, त्यहाँ सार्वजनिक शौचालयहरु कति छन् त्यसले दर्शाउँछ । हामी त्यही धारणामा जान्छौं । दिगो विकास चाहिँ हुनुपर्‍यो ।

अहिले त भ्यु टावरलाई नै विकासको रुपमा लिइरहेका छन् है ?

हो नि ! हजारौं भ्यु टावर रहेछन् देशमा । स्थानीय निर्वाचन पछाडि यो बितेको ५ वर्षमा बजेट कहाँ सक्काउने भयो ।कमिसनको खेलले गर्दा सिमेन्ट फ्याक्ट्री धेरै भए । डाँडाका टुप्पामा भ्यु टावर बनाएका छन् । डाँडाको टुप्पो त पहिल्यै भ्यु टावर हुन् भइसके नि ! अव्यवस्थित विकास भनेको यही हो । ती स्थानहरुमा पैसा खर्च गर्नुभन्दा त्यहाँ बालबालिका खेल्न सकिने पार्कहरु, स्पोर्ट्स सेन्टर निर्माण गर्न सकिन्थ्यो । सार्वजनिक शौचालय बनाउन सकिन्थ्यो । त्यतातिर ध्यान गएन भनौं न ।

मूलधारे राजनीति दलले युवाहरुलाई त्यति पत्याइरहेका हुँदैनन् । मतदाता युवा छन् । उनीहरुले परम्परागत व्यक्तिहरुलाई नै भोट दिन् हुन् । किन युवा नेतृत्वलाई ती मतदाताले विश्वास गर्दैनन् । के कुरामा कमी छ?

खासमा युवा नेतृत्वमा आउनै खोज्दैनन् । नेपालमा युवा उमेरका मतदाता ७० प्रतिशत छन् । ४० भन्दा मुनिका ७० प्रतिशतले नै भन्ने हुन्- 'बुढाहरुले दुख दिए' । उनीहरु आफैं आउन चाहँदैनन् । युवाहरु 'नो भोट'सिस्टम ल्याउने कुरा गर्छन् । त्यसको साटो आफैँमाझ भएको योग्य व्यक्ति उठाउने हो नि, कसैलाई उठाउन मन छैन भने आफैं अगाडि आउने हो । सायद पहिला योग्य युवाहरु आइदिएनन् । यो पटक हामी बेस्ट अप्सन दिँदैछौं । सायद जित्ने आधार यो पनि हो । हामीले अहिले पनि 'म युवा हुँ'त्यसैले मलाई भोट दिनुपर्छ भनेका छैनौं । म इन्जिनियर वा कलाकार हुँ भनेर भोट मागेको छैन । तर सम्पूर्ण तवरले यो काम गर्न सक्ने क्षमता छ कि छैन भनेर भोट दिने हो । म भन्दा कोही सक्षम व्यक्ति ७० नाघेको आउँछ मैले पनि सपोर्ट दिनैपर्‍यो । हाम्रो उद्देश्य भनेको काठमाडौंलाई विकास गर्ने हो आफूलाई विकास गर्ने होइन । म त अहिले पनि २/३ वटा पेसामा छु । मैले त त्यो ठाउँमा गर्न सक्ने व्यक्ति नपाएर आफैं जान खोजेको हुँ नि ! त्यो ठाउँमा राम्रो व्यक्ति पहिल्यै आइदिएको भए हामीलाई सजिलो पनि हुन्थ्यो । पार्टीले पनि एउटा सक्षम व्यक्ति ल्याइदिनुपर्‍यो भन्ने हाम्रो कुरा हो । नेपालभरि यो स्थानीय निर्वाचनलाई निर्दलीय नै बनाउन हामीले बारम्बार भनिरहेका छौं । यो सुरुवात पनि भइरहेको छ ।

नेपालको शासन प्रणाली अनुसार स्थानीय तह भनेको सामान्य जनताले पनि सेवासुविधा पाउने ठाउँ हो । तर यहाँ विवाह दर्ता, जन्मदर्ता र नागरिकतासमेत पाउन झन्झट छ । तल्लो तहकै सेवासुविधाको वितरण राम्रो छैन । पूर्वाधार र सेवासुविधाको वितरणसम्बन्धि भिजन के छ ?

फेरि उदाहरण जोड्न चाहन्छु । यहिँ ललितपुर वडा १० मा वडाअध्यक्ष हुनुहुन्छ- नरशिंह व्यन्जनकार । उहाँ ८३ वर्षको हुनुहुन्छ । उहाँ लगातार ५० वर्षदेखि स्वतन्त्र रुपले जित्दै आउनु भएको छ । उहाँ जन्मदर्ता, विवाह दर्ता घरमै पुर्‍याइदिनुहुन्छ । ८३ वर्षीया उहाँले गर्न सक्नु भएको छ भने काठमाडौं महानगरपालिका अथवा अरु ठाउँमा किन गर्न सक्दैन भन्ने कुरा हो । हामीले फर्म अनलाइनबाटै भर्न लगाउने र त्यसको डेलिभरी प्रणाली पनि विकास गर्नुपर्छ भन्ने लाग्छ । त्यो गर्न पनि सकिन्छ । हिजो मात्रै पञ्जाबको निर्वाचनमा आम आदमी पार्टीले घर-घरमा रासन डेलिभर गराउने भने । त्यो कुरा नेपालले पनि पच्छ्याउन सक्छ । राम्रो कुराको नक्कल गर्न सकियो नि ! यो सडक विभागको काम हो, विधुत् को काम हो भन्छन् । तर स्थानीय वडा अध्यक्षले त्यसको कोर्डिनेसन त गरिदिनुपर्‍यो नि ।

सरकारको नीतिमा सरकारका कामलाई प्रविधिमैत्री बनाउने भन्ने छ । तर अझै पनि सरकारी कार्यालयमा पुरानै ढड्डा देखिन्छन् । प्रविधिमैत्री बनाउनेबारे तपाईंको धारणा के छ ?

पूरानै सोच भएका व्यक्तिहरुलाई नयाँ प्रविधि आयो भने के होला भन्ने डर छ । सबै पेमेन्ट अनलाइन भयो भने भ्रष्टाचार रोकिन्छ नि! त्यो भ्रष्टाचार रोकिन्छ भनेर पनि डराइरहेका हुन्छन् । न्यूजिल्यान्ड र अष्ट्रेलियामा मालपोत सेयर मार्केटजस्तै अनलाइन हुन्छ । एउटा क्लिकमा कित्ता किनबेच गर्न सकिन्छ । नेपालमा सबैभन्दा भष्ट्राचार हुने ठाउँ नै मालपोत हो ।

महानगरको आम्दानी सबैभन्दा बढी छ । त्यसको प्रयोग असल तरिकाले भएको छैन । फोहोर व्यवस्थापन समेत व्यवस्थित ढंगले भएको छैन । तपाईं मेयर बन्नुभयो भने यसमा परिवर्तन आउला त ?

फोहोर व्यवस्थापनको सबैभन्दा सजिलो कुरा २५ वर्ष अगाडि नै कान्तिपुर भन्ने सिरियलमा देखाइसकेको छ । सरकारले फोहोर व्यवस्थापनमा २ किसिमको ट्रक घरमा ल्याइदिनुपर्‍यो । एउटा कुहिने र नकुहिने । अर्गानिक फोहोरलाई मलको रुपमा विकास गरेर छेउका मलको उत्पादन कमी भएको ठाउँमा बेच्ने सकिन्छ । प्लास्टिकजन्य फोहोरहरुलाई बाटो पिच गर्न प्रयोग गर्न सकिन्छ । हामी इन्जिनियरहरु के भन्छौं भने – संसारमा फोहोर भन्ने कुरै हुँदैन । त्यो फोहोर कुनै कुराको लागि कच्चा पदार्थ हुन सक्छ । त्यसलाई अन्य पदार्थमा रुपान्तरण गर्ने त हो । त्यसलाई डम्पिङ भन्दा पनि कुनै पदार्थ रुपान्तरण गरेर लान सकिन्छ । त्यो एकदमै सजिलो उपाय हो । त्यसमा ३ देखि ४ अर्ब खर्च लाग्छ ।

तपाईंले मेयरमा उठ्ने घोषणा गरेसँगै ८ वर्षअगाडि र्‍याप ब्याटलमा दिनुभएको स्त्रीद्वेशी विचारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । तपाईं हिजोआज महिला सेफ्टीको कुरा गर्दै हिँड्नुहुन्छ ?

र्‍याप ब्याटल भनेको छुट्टै विधा हो । ‍हामीकहाँ बिहेघरमा रत्यौली खेलिन्छ । त्यो निश्चित समुहमा हुन्छ । र्‍याप ब्याटल पनि अमेरिकामा जस्तो थियो त्यसलाई ठ्याक्कै नक्कल गर्दा त्यस्तो भयो । त्यसलाई फिल्मको रुपमा लिउँ न । फिल्ममा नाना पाटेकर, सुनील थापाले भिलेनको भूमिका निभाउँछन् । वास्तविक जीवनमा उनीहरुको चरित्र भिलेनको हुँदैन । गीतमा त्यस्तो विचार आएको छैन । अब त्यो विधा नै फरक हो । त्यसैले त्यसको आधारमा ब्याटल गर्ने र्‍यापरलाई न्याय गर्नुहुँदैन भन्ने लाग्छ । यो कुरालाई पछि बुझ्दै गयौं । पहिला त उमेर पनि त्यस्तै थियो । त्यसले मानिसमा नकरात्मक असर पार्ला भनेर मैले पछि त्यो कुरालाई अभ्यास गरिन । जति भने पनि त्यसलाई मानिसले मजाकको रुपमा लिँदैनन् । त्यसले निश्चित समूहको चित्त दुखाउँदो रहेछ नि त । अहिले हामीले 'नेपहपको श्रीपेज'मा त्यस्ता कुराहरुलाई निषेध गरेका छौं ।

अहिलेको काम गर्ने नेता र काम गर्ने प्रणालीमा के-के सुधार आवश्यक छ ?

पहिलाका नेतालाई सुध्रिन कतिको गाह्रो/सजिलो छ त्यो आफ्नो ठाउँमा छ । मानिस सुरुमा असल हुन जरुरी छ । मानिस असल भयो भने बल्ल देश सुधार हुन्छ । नेताहरु असल नभएसम्म यो देशमा केही कुराको आशा पनि नगर्दा हुन्छ । त्यो चरित्रमा सुधार आउनुपर्‍यो । भ्रष्टाचारको लामो लर्को लागेको छ यहाँ, न भ्रष्टाचार गर्नेहरुले त्यो पैसा आफूले उपयोग गर्न पाउनुहुन्छ । विदेशमा कुन बैंकमा लगेर थन्काउनु भएको छ उहाँहरु बितिसकेपछि उहाँहरुका छोराछोरीले पनि पाउन सक्ने होइन भन्ने कुरा सायद उहाँहरुले बुझ्नु भएन । त्यसैले भ्रष्टाचार गर्नुभयो । असल भएर लाग्यो भने अब नयाँ आउने पिढींका नेताहरुले केही राम्रो गर्न सक्नुहुन्छ ।

प्रकाशित : चैत्र १६, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?