कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राजावादीहरू हौसिनुमा कांग्रेसकै पनि दोष छ’

‘कम्युनिस्टले राम्रो गरेनन्, कांग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो तर कांग्रेसले पनि गर्न सकेन ।’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — संसदीय प्रणालीमा संसद् प्रतिपक्षको मानिन्छ । गत असार १८ गते सरकारले ‘हठात्’ संसद् अन्त्य गरेपछि अहिलेसम्म बैठक बोलाइएको छैन । सत्ताको तालाचाबी नेकपाको हातमा छ, सडक राजावादीहरुले लिन थालेका छन् । सरकारका कमी–कमजोरी र अकर्मण्यतालाई लिएर नेकपाभित्रै चर्को अन्तरसंघर्ष छ ।

‘राजावादीहरू हौसिनुमा कांग्रेसकै पनि दोष छ’

एक प्रकारले प्रतिपक्षको भूमिकासमेत उसैले निभाइरहेको छ । प्रमुख प्रतिपक्ष कांग्रेस भने यतिबेला न सडकमा छ न त संसद्‍मा  । केही दिनअघिसम्म उसको उपस्थिति कतै थिएन । गत बुधबार तनहुँमा भएको घटनापछि भने एकाएक केही जुर्मुराएजस्तो देखिन्छ ।

दमौलीनजिकै पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गिरफ्तार गरेपछि देशभर स्वतःस्फूर्त विरोध भयो । मंसिर २९ गते देशभर विरोध प्रदर्शनको घोषणा कांग्रेसले गरेको छ । के कांग्रेस अब जाग्न लागेको हो त ? यी र यस्तै प्रश्नमाथि केन्द्रित रहेर नेता रामचन्द्र पौडेलसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

तनहुँमा भएको घटनामा यहाँ घाइते पनि हुनुभयो । कस्तो छ अहिले स्वास्थ्य ?

कोखको करङ दुखेको छ । हाछिउँ गर्न हुन्न । लामो सास फेर्न हुन्न । जर्‍याङमर्‍याङ गर्न हुन्न ।

उक्त घटना किन भयो भन्ने लाग्छ ?

पहिल्यैदेखि जानकारी थियो, कम्युनिस्ट पार्टी सत्तामा गएपछि तिनका कार्यकर्ताले प्रशासन र पुलिसको चरम दुरुपयोग गर्छन् । यो घटना पनि त्यहाँका प्रशासन र पुलिसको चरम दुरुपयोग हो । सत्ताको उन्माद हो । हामी चुनियौं, हामीबाहेक देशमा अरू को छ र, हामी नै सबै थोक हौं, अरूको उपस्थिति किन मान्ने भन्ने प्रवृत्तिले कानुन र संविधानले गर्ने नमिल्ने काम गर्न आँट आयो । यो दुस्सहास हो ।

तनहुँमै किन यस्तो घटना घटाए होलान् त ?

कांग्रेसको प्रभाव भएको ठाउँ तोड्नु थियो । तनहुँबाट कांग्रेसलाई कसरी मेट्न सकिन्छ भन्ने सोचले काम गर्‍यो । यो अत्यन्तै ठूलो अधिनायकवादी प्रवृत्ति थियो । सर्वसत्तावादको जग बलियो बनाउन पहिला लोकतन्त्रका जग भत्काउन पर्ने भयो । त्यसको सुरुवात उनीहरूले तनहुँबाटै गरे । नियोजित हुन्थेन भने सरकारले माफी माग्न सक्थ्यो । घटनाको छानबिन गर्न सक्थ्यो । लोकतन्त्रप्रति विश्वास जगाउन सक्थ्यो । केही नगरी सरकारले दम्भ देखायो ।

तपाईंको विचारमा यो आकस्मिक घटना होइन ?

होइन । पुरानै, सर्वसत्तावादी चिन्तन र यहाँ अरू कसैले चुरीफुरी देखाउन हुन्न भन्ने सोचको परिणाम हो । हामीले बनाएको पुल, हामीले गरेको मिहिनेतको ‘रिकज्नेसन’ दिन नचाहने, समाजमा कुनै मान्यता दिन नचाहने– यो सर्वसत्तावादी सोच हो ।

तपाईंले यो घटना स्थानीय प्रशासनको चाहनाले मात्रै नभई प्रधानमन्त्री केपी ओलीको समेत संलग्नता रहेको भन्दै आउनुभएको छ । यो सत्य हो ?

नयाँ वर्गको निर्माण यिनीहरू (नेकपा) ले गरिरहेका छन् । कम्युनिस्ट कार्यकर्ताहरूको नयाँ वर्गको जन्म नेपालमा गरिँदै छ । तिनले जे भन्यो, माथि प्रधानमन्त्रीले पनि त्यही सुन्ने, प्रशासनको उच्च तहबाट त्यही कुरा मानिदिने, माथिबाट आदेश दिने काम भएको छ । तलकाको शक्ति र क्षमताबाट मात्रै यो भएको होइन । माथिल्लो शक्तिको इसारा, निर्देशनबिना ममाथि हमला हुन सम्भवै थिएन ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

मैले अर्घेलो गरेको भए, कानुन र विधान तोडेको भए, समाजको कुभलो हुने काम गरेको भए स्थानीय प्रशासनले आँट्दो हो । केही नराम्रो भएको ठाउँमा पनि सरकार बल प्रयोग गर्न पुग्यो, त्यो तलको निर्देशनले मात्रै सम्भव थिएन । मैले सुने र पाएको सूचनाअनुसार माथिल्लो तहबाटै यो काम भएको छ ।

घटना भइसकेपछि प्रधानमन्त्री केपी ओलीले फोन गरेर कुनै प्रतिक्रिया जनाउनुभएन ?

गर्नुभएन । उहाँका निकटकाले पनि गर्नुभएन । नेकपाका महासचिव, केपी ओलीको नजिक रहेका विष्णु पौडेल मेरो नजिक पनि थिए, मलाई दाइ, दाइ भन्थे । उनी र ओलीनिकट कसैको पनि मलाई टेलिफोन र सहानुभूति आएन । प्रचण्ड र माधव नेपालहरूले भने मलाई फोन गर्नुभएको थियो ।

सडकमा राजावादीको प्रदर्शन भइरहेको छ । त्यहाँ कतै अवरोध भएन । कतै निषेधाज्ञा पनि लगाइएन । तपाईं सहभागी कार्यक्रममा चाहिँ निषेधाज्ञा लगाउनुपर्नाको कारण के थियो ?

कम्युनिस्ट पार्टीको सरकार र कम्युनिस्ट पार्टीको हातमा लोकतन्त्र सुरक्षित छैन भन्नुको कारण नै त्यही हो । परिवर्तनलाई जोगाउनेतिर अहिलेको सरकारको चिन्ता देखिएन । यिनीहरूको क्रियाक्रलाप र भ्रष्ट चरित्रले गर्दा लोकतन्त्रविरोधीलाई मलजल मिल्यो । जनतामा बढेको असन्तुष्टिलाई गलत बाटोतर्फ, प्रतिगमनतर्फ फर्काउने अवसर दिन थालियो । यो गम्भीर प्रश्न हो । त्यसैकारण पनि मैले दमौलीमा पछाडि हट्न हुन्न, अगाडि बढ्ने हो ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य सञ्चालनको जिम्मेवारी पाएकाहरूबाट भएका कमजोरी, व्यवहार र आचरणबाट जनतामा छाएको निराशाको फल व्यवस्थालाई पछाडि लाने, उल्टाउने होइन । संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । समाजवाद प्रवेशको चरणमा हामी छौं । अहिलेको संविधान हामी सबैले बनाएका हौं । म पनि समाजवादको दर्शनलाई विश्वास गर्ने मान्छे हुनाले समाजवाद उन्मुख भनेर लेख्ने कुरामा मेरो र कांग्रेसको योगदान छ ।

समाजवाद उन्मुख व्यवस्थामा प्रवेश गरिसकेको नेपाल अब पछाडि फर्कन सक्दैन । समाजवादीको स्वर्ग भविष्यमा हुन्छ । प्रतिक्रियावादीको स्वर्ग अतीतमा हुन्छ । त्यसकारण अतीततिर फर्कने होइन । पुरानो चिन्ता बोक्ने होइन । २१ औं शताब्दी र नयाँ सभ्यताको विकासमा मुलुक अघि बढ्छ । कांग्रेसले राष्ट्र, लोकतन्त्र र परिवर्तनलाई जोगाउने दायित्व लिनुपर्छ । हाम्रो पार्टीले यसविरुद्ध प्रदर्शन गर्ने भनेर निर्णय लिइसकेको छ ।

सांकेतिक रूपमा एक दिनको प्रदर्शन गरेर लोकतन्त्र बच्छ त ?

एक दिनको सन्देश पनि धेरै ठूलो हुन्छ । त्यसैबाट अघि बढ्छौं । भ्रष्टाचार, विकृति, पक्षपात र कुशासनविरुद्ध हामी छिट्टै आन्दोलनमा जान्छौं ।

लोकतन्त्र सुरक्षित छैन भनेर बारम्बार भन्नुभयो । सुरक्षित नभएको नेकपा पार्टीबाट कि सरकारको नेतृत्व लिने व्यक्तिबाट हो ?

केपी ओली एउटा निमित्त मात्रै हुन् । त्यहाँ (नेकपा) एउटा सर्वसत्तावादी प्रवृत्ति हाबी छ । अरू नेताहरू (माधव–प्रचण्ड) को कुरा त लिबरल नै देखिन्छ । अर्घेलो ओलीको देखिन्छ । सर्वसत्तावादी प्रवृतिबाट ओली हौसिएका छन् । यो प्रवृत्ति मेटिनुपर्छ ।

त्यस्तो प्रवृत्तिविरुद्ध त नेकपाभित्रै चर्को अन्तरसंघर्ष चलेकै छ नि ?

प्रवृत्तिविरुद्ध हो कि आ–आफ्नो सत्ताको भागबण्डाका लागि हो, त्यो त उहाँहरूले बताउनुहोला । उहाँहरूसँग मैले सानैदेखि संगत गरेको छु । जेलमा बस्दा पनि मेरा तर्क र शास्त्रार्थ हुन्थे । बाहिरका राजनीतिक मञ्च र संविधान बनाउँदाका बखतका बैठकमा पनि फेस गर्थें ।

तपाईंले एक ठाउँमा प्रधानमन्त्री केपी ओली १४ वर्ष लोकतन्त्रका लागि नभएर व्यक्ति हत्यामा जेल परेका भनेर भन्नुभएको थियो । तपाईंको दाबी सही हो ?

२०२८ सालमा कांग्रेसले भोगेकै हो । झापा घटना घट्नुअघि म त्यहीँ पुगेको थिएँ । प्रजातन्त्रमा विश्वास गर्नेहरू त्यतिखेर पनि थिए । पञ्चायतसँग लडिरहेका मान्छेहरू थिए । त्यही बेलामा हाम्रा साथीहरू मेची काण्डमा जेल परिरहेका थिए । लोकतन्त्रवादी जति थिए सन्त्रस्त र आतंकित थिए । त्यस घटनाले राज्यलाई भन्दा कांग्रेसलाई आतंकित गरेको थियो । लोकतन्त्रवादी र लोकतान्त्रिक चिन्तनलाई आतंकित गराएको थियो । उहाँहरूले (कम्युनिस्ट नेताहरू) जुन घटना घटाउनुभयो, त्यसको अवशेष अहिले पनि छ ।

त्यसलाई लिएर बडा लोकतन्त्रवादी भन्ने गरिन्छ । अरुले पत्याए पनि, मैले पत्याउन सक्दिनँ । किसनुजी भन्नुहुन्थ्यो– लोकतन्त्रको जमाना हो । कम्युनिस्टहरू सुध्रिऊन् । युरोपमा पनि सारा कम्युनिस्ट सुध्रिएर युरोकम्युनिजम भनेर उदारवाद, लोकतन्त्र र बहुलवादतिर गए । यहाँको कम्युनिस्टलाई पनि त्यतैतिर लैजान सकिन्छ भन्ने मेरो धारणा हो । धेरै कोसिस पनि भएको हो ।

जनमत मान्न खोजेको जस्तो पनि गर्ने, नमान्न खोजेको जस्तो पनि देखाउने प्रवृत्ति कम्युनिस्ट पार्टीमा छ । मौका पाएपछि प्रजातन्त्रवादी भनेका देशद्रोही, गद्दार, प्रतिक्रियावादी हुन् भनेर झम्टिन आइहाल्ने प्रवृत्ति छ । मार्क्स, लेनिन, माओत्सेतुङको जमानाले पलट खाइसकेको छ । अब सुध्रिएर जानुपर्छ, त्यसका लागि कम्युनिस्ट नेता, कार्यकर्तामा परिवर्तन होस् भन्ने मेरो चाहना छ तर मौका पर्दा झम्टिन आइहाल्ने प्रवृत्ति पनि छ ।

सडकमा राजावादीहरूको प्रदर्शनलाई कसरी नियाल्नुभएको छ त ?

सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको हो । सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजावादीले मुन्टो उठाउन पाएका छन् । जनताको असन्तोषलाई पुँजीकृत गर्ने मौका छोपेका छन् तर टिकाउ हुँदैन । कांग्रेस मौन बसेकाले पनि यस्तो भएको हो ।

यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष कांग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला कांग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन् । कांग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो तर कांग्रेसले पनि गर्न सकेन ।

सत्तामा नेकपा छ । प्रतिपक्ष पनि नेकपाभित्रै छ । सडकमा राजावादी छन् । कांग्रेसको स्थान कहाँ हो त अहिले ?

हो, त्यही चिन्तामा म पनि थिएँ । राजनीतिक दर्शन कस्तो हुने ? विकासको मोडल कस्तो हुने ? समाजवादलाई कसरी व्यवहारमा उतार्ने भनेर मैले कान्तिपुरमै धेरै विचारात्मक लेख लेखें तर विचारले मात्रै हुँदो रहनेछ । तलाउमा एउटा ढुंगा फालिदियो भने छाल उत्पन्न गराउँछ । त्यसैले केही न केही ‘एक्सन’ गर्नुपर्छ भन्ने सोच मलाई आएको थियो ।

यो घटना (तनहुँमा भएको गिरफ्तारी) घट्छ भन्ने मलाई पूर्वाभाष थियो तर पनि म दब्दिनँ, जोखिम मोल्छु भनेर पुल उद्घाटनमा जाने निर्णय लिएको थिएँ । इन्टेलिजेन्सका अधिकारीमार्फत सरकारलाई सन्देश पनि दिएको थिएँ । मलाई धेरै नहेप, तनहुँबाटै म सत्याग्रह गर्न सक्छु भनेर मैले उनीहरूलाई भनेको समेत थिएँ ।

कांग्रेसले राष्ट्रिय राजनीतिबाट आफ्नो सान्दर्भिकता गुमाउन थालेको त होइन भन्ने चिन्ता पार्टीभित्रैबाट प्रकट हुन थालेको छ नि ?

कांग्रेस सुध्रिनुपर्छ । समाजलाई लोकतान्त्रीकरण गर्ने मिसनलाई कांग्रेसले बुझ्नुपर्छ । यो पार्टी केका लागि स्थापना भयो ? यसको मिसन के थियो ? सबैले मनन गर्नुपर्छ । अहिले कांग्रेसलाई लक्ष्यबाट विचलित गर्न खोजिएको छ । जनतामा अन्योल र देशले बाटो बिराएको अहिलेको यथास्थिति अवस्था हो । कांग्रेसले बाटो देखाउने र जनतालाई अन्योलबाट हटाउने जिम्मेवारी छ । आचरण र व्यवहारबाट कांग्रेसलाई आमजनतामा आशा जगाउनुपर्छ ।

तपाईंमाथि घटना नभएको भए त कांग्रेस सुतेकै सुतै अवस्थामा हुन्थ्यो होला है ?

हो, कांग्रेस पक्कै पनि सुतेकै थियो । मेरो अन्तरङ्ग साथीहरूलाई यसरी हुँदैन, ‘एक्सन’ मा जानुपर्छ भनेर मैले पहिल्यैदेखि भन्दै आएको थिएँ । नभन्दै तनहुँको सन्दर्भ आयो । यसलाई कांग्रेस बिउँझाउने अवसरका रूपमा उपयोग गर्नुपर्छ । लोकतन्त्रको पक्षमा जनताको मतलाई सशक्त रूपमा अघि बढाउने प्रयास गर्नुपर्छ । बीपी, गणेशमान, किसनुजीको सोच के थियो ? राणा शासन, पञ्चायत र अधिनायकवादविरुद्ध संघर्ष गर्दा कुन भिजन र मिसनका साथ उहाँहरू लाग्नुभएको थियो ?

अहिले आएर हेर्दा कांग्रेसकै साथीहरू अलमलिएको पाउँछु । यसको खास चुरो लोकतान्त्रिक समाजवादको गन्तव्य हो । बीपी, गणेशमान, कृष्णप्रसादले भन्न खोजेको पनि त्यही हो । नित्सेको होइन रुसोको दर्शन, बुद्ध, व्यास, मार्क्स र वेदले पनि भन्न खोजेको कुरा मान्छेभित्रको आत्माको स्वतन्त्रता हो । आवरणमा धुलोमैलो ढाकिएको छ । पर्दा खुल्नुपर्छ । त्यो ऐतिहासिक जिम्मेवारी कांग्रेसले पूरा गर्न सक्नुपर्छ ।

अब कांग्रेसले लिने बाटो के हुन्छ त ?

प्रजातान्त्रिक समाजवादलाई विचारको रूपमा अघि बढाउने, आचरण र व्यवहार सुधार्ने, संगठन बलियो बनाउने र जनतलाई कन्भिन्स गर्ने कांग्रेसको बाटो हो ।

कांग्रेसको मैदान नै कुन हो भन्ने अन्योल छ नि ?

सडक पनि कांग्रेसले लिनुपर्छ । सदनमा पनि घन्काउनुपर्छ । हामीले जनता, राष्ट्र र परिवर्तनको नेतृत्व गर्ने हो, गर्नुपर्छ ।

तपाईंले यसो भनिराख्दा सभापति शेरबहादुर देउवाले नेकपा विभाजित भएमा केपी ओलीसँगै मिलेर नयाँ समीकरण बनाउन खोजेको भनेर चर्चासमेत हुने गरेको छ नि ?

त्यस्तो लोभलालचमा पार्टी पर्नुहुन्न । सत्ताका लागि म जन्मिएको होइन । कांग्रेस सत्तामा हुँदा पनि म विरुद्धमा थिएँ । जेल परेका दिनबाट म कांग्रेसमा लागेको मान्छे हो । कम्युनिस्टहरूको चाला देखिसकेपछि यिनीहरू सिद्धान्तवादी होइनन् भन्ने लाग्यो । कांग्रेस नै ठीक छ भनेर म लागेको हुँ ।

नेकपा फुटिहाल्यो भने कांग्रेस सरकारमा जाने गरी समीकरण त बन्ला नि ?

समीकरणको चिन्तामा कांग्रेस लाग्न हुन्न । सत्ताको खेल धेरै भयो । सत्ताको खेलकै कारण देशमा यस्तो विकृति आएको हो । विकृतिबाट राजनीतिलाई माथि उठाउनुपर्छ । राजनीतिलाई सम्मानित दर्जामा लैजानुपर्छ । यो देशमा रानजीति अपमानित भएको छ । राजनीति गर्नेजति सबै लुच्चा, छुच्चा र लफंगाहरूको जमघट हो भनेर नकारात्मक धारणा बन्यो । राजनीति समाज सञ्चालन गर्ने विधि हो । सत्तामा मात्रै झुन्डिरहने, कताबाट सत्तामा पुग्न सकिन्छ भनेर लाग्ने होइन । समाजलाई बाटो देखाउने र प्रणालीमा ढाल्ने काम राजनीतिले गर्नुपर्छ ।

सभापति देउवाले नेकपाभित्र अन्तरसंघर्ष चुलिएकै बेला प्रधानमन्त्री ओलीसँग गुपचुप रूपमा भेट्नुभएको कुराले त तरंग ल्याउने काम गरेको छ नि ?

सभापतिजीलाई सत्तासँगको ज्यादा हिमचिम राम्रो भएन भनेर मैले बारम्बार सुझाव दिने गरेको छु । विपक्षी दलको नेताको हैसियतले संवैधानिक परिषद्मा भाग लिनुपर्ने हुन्छ । ढिक ढंगले आयोग बनून्, संविधानलाई चरितार्थ गर्ने चरित्र भएका मान्छेहरूको आयोग बनोस् भनेर जोड दिनुपर्छ, प्रतिपक्षले आफ्नो पार्टीले के प्राप्त गर्ने भन्ने सोच्नुहुन्न भन्दै सभापतिलाई सम्झाउँदै आएको छु ।

कम्युनिस्ट फुट्ने पनि होइनन्, जुट्ने पनि होइनन् । गरी खाने पार्टी नै होइन । देशलाई सही नेतृत्व दिन पनि सक्दैनन् । संविधान निर्माणका बखतका बारम्बारका बैठकमा प्रचण्ड, माधव, झलनाथ, केपी ओलीजीलाई सधैं भन्थें– तपाईंहरू आफैं अन्योलमा हुँदा देश पनि अन्योलमा पर्‍यो भनेर । अहिलेसम्म पनि उहाँहरू अन्योलमै हुनुहुन्छ, देशलाई कहाँ लैजाने हो भन्ने प्रस्ट छैन ।

नेकपा फुट्ला र कांग्रेस सत्तामा जाला भन्ने यहाँलाई विश्वास छैन ?

त्यसको कुनै आशमा म छैन । देशलाई सही बाटो देखाउने काम कांग्रेसले गर्नुपर्छ । आफैंले नेतृत्व दिएर, आफ्नै विचार, संगठनको आडमा अघि बढ्ने हो । नेकपा फुटेर सत्तामा जाउँला भन्ने सानातिना सोचमा हामी लाग्न हुन्न ।

प्रसंग बदलौं, पार्टी महाधिवेशनको तयारी कहाँ पुगेको छ ?

कांग्रेसमा पनि सुधार आवश्यक छ । प्रजातान्त्रिक बाटोबाटै यो पार्टीमा सुधार गर्नुपर्छ । लोकतन्त्रका दुइटा खम्बा विधिको शासन र आवधिक निर्वाचन हो । अमेरिकामा हेर्नुहोस् त, हरेक चार वर्षमा २० जनवरीका दिन नयाँ निर्वाचित राष्ट्रपतिको शपथ हुन्छ । प्रजातान्त्रिक मुलुकमा आवधिक निर्वाचनमा तलमाथि पर्दैन । पर्न हुन्न ।

विश्व महाव्याधिका बीच, स्वयं राष्ट्रपतिलाई कोरोना संक्रमण हुँदासमेत अमेरिकाले चुनाव सम्पन्न गरायो । त्यहीं बिहारमा भयो । पार्टीमा पनि आवधिक निर्वाचन प्रजातन्त्रको आधार हो । अहिले पार्टीभित्र यही कुरामा मेरो बहस भइरहेको छ । तीन वर्षअघिदेखि नै अधिवेशनको कार्यतालिका बनाउनुपर्छ भन्दै आएँ, हाम्रै साथीहरूले बुझ्नुभएन अथवा बुझ पचाउनुभयो । परिणाम आज पार्टी संकटमा छ । सामान्य अवस्थामा असाधारण परिस्थिति भनेर चार वर्ष कार्यकाललाई एक वर्ष बढाइयो । आज पाँच वर्षमा पनि अधिवेशन गर्दै छैनौं ।

अब कहिले हुन्छ त महाधिवेशन ?

क्रियाशील सदस्यता चाँडै टुंग्याऔं भनेर मैले जोड दिँदै आएको छु । सदस्यता टुंगिनासाथ डेढ महिनाभित्रमा तलदेखि माथिसम्मको अधिवेशन हुन सक्छ । केही समस्या छैन तर क्रियाशील सदस्यतामै झ्याङ्गलो हालिदिएका छन्, एकथरी नेताहरूले । जिल्ला–जिल्लामा समस्या बनाइएको छ । त्यसलाई तोडेर अघि बढौं भन्नेमा मेरो जोड छ ।

आगामी फागुनभित्र नहुने त करिब निश्चितजस्तै भयो होइन ?

मंसिर मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाउन सकेमा फागुन ७ गते सजिलै केन्द्रको महाधिवेशन गर्न सकिन्छ । टुंगो लागेन भने दुई–चार दिन पर जान सक्छ ।

नेतृत्वबाट आगामी भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन खोजिएको चर्चा छ नि ?

त्यस्तो प्रस्ताव आयो भने भयानक खतरा हुन्छ । त्यो बेलामा पनि भएन भने पार्टी विधान त खत्तम हुन्छ नै, संविधानले दिएको प्रावधान पनि खत्तम हुन्छ । भयंकर अराजकता हुन्छ । त्यसपछि पार्टी सकिँदैन ? अर्को विषय, समयमै महाधिवेशन गर्न जोड दिनुको कारण आउँदै गरेको स्थानीय र आमनिर्वाचन पनि हो । अधिवेशन टुंग्याएर घरभित्रका झगडा टुंगाई एक भएर जनतामाझ जान हामीलाई समय चाहिन्छ । त्यो समय नदिन खोजिएको छ । यसले पार्टीलाई अहित गर्छ ।

पार्टीभित्र तपाईंहरूले उठाएको १६ बुँदे विरोधका विषय अब समाधान भएको हो ?

सभापतिजी म गर्छु–गर्छु भन्नुहुन्छ । उहाँभन्दा तलका दोस्रो तहका साथीहरूले झ्याङ्लो थाप्नुभएको छ । अनाआवश्यक झ्याङ्लो थापेर अल्मलाउने काम भएको छ । अझै पनि मिलिसकेको छैन । केन्द्रीय कार्यसमिति बैठक राखेर मिलाएर जाने कुरा भएको छ । शनिबार बूढानीलकण्ठमा बसेको बैठकको सहमति पनि यही हो ।

नेतृत्वको आकांक्षी तपाईं पनि हुनुहुन्छ । तयारी कस्तो गरिरहनुभएको छ ?

नेतृत्वका बारेमा अहिले मैले सोचिरहेको छैन । पार्टीको अधिवेशनका बारेमा सोचेको छु । प्रक्रियाबाट नयाँ नेतृत्व आओस् । पार्टीको चाहना, कार्यकर्ता, देशको आवश्यकताअनुसारको नेतृत्व आउनुपर्छ । आफ्नो इच्छालाई लाद्ने कुरा कसैले नगरौं । चाहना सबैलाई छ । छ भन्दैमा आफ्नो चाहना मात्रै सबै चिज होइन । अहिलेका आवश्यकता, वस्तुगत अवस्था के हो ? त्यो पनि हेरौं । ओरल्ली, मोरल्ली र पोलिटिकल्ली नेकपालाई चुनौती दिन सक्ने नेतृत्व कांग्रेसका लागि आवश्यक छ ।

तपाईंको समूहमा नेतृत्वको आकांक्षी धेरै भएर मिलाउन नसकेपछि यस्तो धारणा राख्नुभएको हो ?

मिलाउन नसकिएको छैन । को हुने भन्नेबारेमा टेस्ट गरिएकै छैन । क्रियाशील सदस्यताको टुंगो लागेपछि छलफल हुन्छ ।

महाधिवेशनको मुखमा कांग्रेसमा पुस्तान्तरणको मुद्दा तातो बहस बन्ने गरेको छ । यो कत्तिको सम्भव छ ?

यो चलिरहने कुरा हो । वास्तविकता होइन । गिरिजाबाबु, किसनुजीलाई संन्यास लिनुहोस् भनेर हामीले पनि भनेका थियौं । त्यो कुरा लागू हुन सकेन । अहिले पनि चाहना नयाँहरूलाई छ । यसलाई म नराम्रो भन्दिनँ । नेतृत्व भनेको समय, परिस्थितिले बनाउने हो । कांग्रेस सानोतिनो पार्टी होइन । सिंगो राष्ट्रले मान्ने नेता कांग्रेसको सभापति हुनुपर्छ ।

पहिलो पुस्ताले छाडिदिएर नेतृत्व हस्तान्तरण हुन सक्दैन ?

छोड्ने र हस्तान्तरण गर्ने कुरा आवश्यकताअनुसार हुन्छ । कहिलेकाहीँ परिस्थिति यस्तो हुन्छ कि नयाँ मान्छे पनि नेतृत्वमा आउन सक्छ । भारतकै उदाहरण दिन्छु । यहीँ पनि भन्दै आएको छु, धुलोबाट उठेर आएको प्रतिभालाई म पनि स्वागत गर्न तयार छु । पार्टीलाई योभन्दा गतिशील, सम्मानित, सशक्त बनाउन सक्ने हामीभन्दा नयाँ पुस्ता सक्षम छ भने किन निषेध हुने ? अवसर सबैले पाउनुपर्छ । यसको अर्थ आमकार्यकर्ताको चाहना ठूलो कुरो हो । नेता त्यसै बन्ने होइन । कार्यकर्ताको रोजाइ पनि हुनुपर्छ । नेता भनेको कसैले दिएर र लिएर हुने होइन ।

उमेरले पनि तपाईंहरु पाको भइसक्नुभयो, अब छाडिदिए हुन्न ?

अमेरिकामा ७५ वर्षका डोनाल्ड ट्रम्पलाई ७८ वर्षका बाइडेनले जितिदिए । के अमेरिकाका सबै बुद्धु छन् ? बेवकुफ हुन् ? उमेरको कुरा मुद्दा नै होइन ।

प्रकाशित : मंसिर २३, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?