कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेकपा जोगाउने हो भने पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्छ'

अहिलेसम्मको आन्दोलनका उपलब्धिलाई समाप्त गर्ने हो भने यथास्थितिको नेतृत्वलाई निरन्तरता दिँदा हुन्छ ।
पहिलो पुस्ता गएपछि दोस्रो पुस्तामा सत्ता आउने  राजतन्त्रमा मात्रै हो । नागरिकले लडेर गणतन्त्र ल्याएका छन् । हामी फेरि पनि पहिलो पुस्ताको अन्त्यपछि दोस्रो पुस्तामा नेतृत्व आउँछ भनेर राजतन्त्रको संस्कारलाई बोकेर हिँड्ने हो भने त हामीले के परिवर्तन गर्‍यौं ?
जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी सचिवालय बैठकमा प्रस्तुत गर्ने भनिएको राजनीतिक प्रतिवेदनले नेकपा विवाद फुट उन्मुख होला कि मत्थर भएर जाला भन्ने निर्क्यौल गर्ने देखिन्छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपको जवाफ कसरी देलान् र आगामी कार्यदिशा के होला भन्ने कुराको पर्खाई नेकपाभित्र व्यापक छ । 

'नेकपा जोगाउने हो भने पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्छ'

पार्टीभित्र विवाद चलिहरेकै बेला अध्यक्ष ओलीले नेतृत्वमा अर्को पुस्तालाई ल्याउनुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइलाई कतिपयले पार्टीभित्रको बहस तथा विवाद अर्कैतिर स्थानान्तरण गर्ने तुरुपका रूपमा लिएका थिए ।

तर, उक्त कुरालाई केही नेताहरूले भने सही भनिरहेका छन् र अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणको प्रस्ताव ल्याउनुपर्ने बताइरहेका छन् । पार्टी विभाजन रोक्ने अचुक अस्त्र नेतृत्व हस्तान्तरण रहेको बुझाइ स्थायी कमिटी र केन्द्रीय कमिटीका कतिपय नेताहरूमा रहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको प्रस्ताव ल्याउनुपर्छ भन्ने धारणा राख्ने नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा सांसद बिन्दा पाण्डेसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :

नेकपामा विवाद चलिरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरणको कुरा उठाएपछि बहस सुरु भएको छ । तपाईं पनि यसमा जोड दिइरहनुभएको छ, यो प्रस्ताव कार्यान्वयन हुन कति सम्भव छ ?

पार्टी जोगाउने हो भने बाटो त्यै हो । पार्टी नजोगाउने र अहिलेको नेतृत्वले आफूसँगसँगै अहिलेसम्मका आन्दोलनका उपलब्धिलाई समाप्त गर्ने हो भने यथास्थितिको नेतृत्वलाई निरन्तरता दिँदा हुन्छ ।

जुन पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भनिएको छ त्यो पुस्ता नेतृत्व लिन तयार भएको देख्नुहुन्छ ?

नेतृत्व गर्न के गाह्रो छ ? २५ वर्षको उमेरमा पुष्पलाल कामरेडले कुनै अनुभव बिना यो मुलुकमा कम्युनिस्ट पार्टीको स्थापना गरेर अगाडि बढाउनुभएको हो । त्यसपछि मदन भण्डारीले ४० वर्ष नपुग्दै महासचिव भएर चलाउनुभयो । ४२ वर्षको उमेरमा त 'जनताको बहुदलीय जनवाद' स्थापित गर्नुभयो । जुन अहिले बहसको मुद्दा बनिरहेको छ ।

अहिले नेतृत्वमा भएका नेताहरूको कुरा गर्नुहुन्छ भने अधिकांश ६५ वर्षदेखि ७० वर्षको बीचमा हुनुहुन्छ । उहाँहरू २०२७-२८ सालदेखि नेतृत्व गर्दै आउनुभएको छ । धेरै नेताहरू 'को-अर्डिनेसन केन्द्र' बनाउँदा (२०३२ साल)देखि केन्द्रीय नेतृत्वमा हुनुहुन्छ । अहिले ७० को हाराहारीमा पुगेकाहरू २०३२ सालमा कति वर्षको हुनुहुन्थ्यो ?

कम्युनिस्ट आन्दोलनमा ४ दशकसम्म बिताइसकेकाहरू पहिलो पुस्ताभन्दा ठीक पछाडि छन् । उनीहरूले नेतृत्व गर्न सक्दैनन् भनेर उहाँहरूले सोच्नुहुन्न ।

एकजना ९० वर्षको बुढी आमाले ६२ वर्षको छोरो राति ९ बजेसम्म नआउँदा लट्ठी टेकेर करेसामा पुग्नुभएको थियो रे ! 'अनि कहाँ हिँड्नुभएको आमा यस्तो राति हुँदा ?' भन्दा 'तँ कहाँ हराइस् भनेर खोज्न आएको बाबु' भन्नुहुन्थ्यो रे । अहिलेको दोस्रो पुस्तालाई नेतृत्व गर्न सक्षम छ भनेर उहाँहरूले नदेख्नु भनेको त त्यै बुढी आमाको कथाजस्तै हुन्छ । ५ दशकसम्म केन्द्रीय तहमा बसेर नेतृत्व दिनुभएका कामरेडहरू नै सचिवालय तहमा हुनुहुन्छ । त्यसैले ६५ वर्ष उमेर भएका जति पनि कामरेडहरू हुनुहुन्छ उहाँहरू सम्मानित भएर बस्नुपर्छ । अहिलेसम्म गरेको योगदानलाई संरक्षण गर्ने हिसाबबाट अनुभव सेयर गर्ने, नयाँ पिँढीलाई उत्साहित गर्ने र नयाँ पिँढीले दायाँबायाँ गर्न थाल्यो भने विगतको अनुभवका आधारमा आन्दोलन यसरी जानुपर्छ र यसरी टिक्नुपर्छ । राजनीतिक आन्दोलन भनेको 'प्रोजेक्ट' चलाएको जस्तो होइन, यसले समय लिन्छ । धैर्यता, निरन्तरता हुनुपर्छ, गतिशीलता, शीर्जनशीलता हुनुपर्छ भनेर सम्झाउने हो । कार्यकारी नेतृत्वमा उहाँहरूभन्दा पछाडिको पुस्तालाई नै दौडाउनुपर्छ ।

प्रधानमन्त्री ओलीले 'भर्खर युवा भइरहेको छुँ कि जस्तो फिलिङ भइरहेको छ, जुँगा पनि काला काला आउन लागेका छन्' भन्नुभएको र उपाध्यक्ष वामदेव गौतमले दाङ पुगेर 'अझै ३० वर्षका युवाहरूसँग लड्न सक्छु' भनेर दिएका अभिव्यक्ति पनि चर्चामा छन् । यी अभिव्यक्ति र पार्टीमा नेतृत्व हस्तान्तरणको कुरालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

त्यो अभिव्यक्ति दिन थाल्नु भनेकै 'म कमजोर भएँ' भन्ने भित्री फिलिङ हो । जो मान्छे 'बुढो भए, बिस्मृतितिर जान थालें, कमजोर हुन थालें' भन्ने सोच्छ उसले 'म तँ जत्तिको बलियो छुँ' भनेर अभिव्यक्ति दिन्छ । उहाँहरूले जे अभिव्यक्ति दिइराख्नुभएको छ त्यसले उहाँहरू गल्दै जानुभएको संकेत गरेको छ । पछिल्ला पुस्ताले नपत्याउलान् है भनेर त्यो खालको अभिव्यक्ति दिन थाल्नुभएको हो ।

नेकपाको विवाद फुटको संघारतिर देखिन्छ । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी हो कि झैँ देखिन्छ । यसलाई रोक्न नेतृत्व लिन तयार छ भनिएको दोस्रो पुस्ताले के गरिरहेको छ ?

कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याएका नेताहरूले सम्मानित ठाउँमा पुगेर जुन अभिव्यक्ति, बानी, व्यवहारहरू देखाउँदै हुनुहुन्छ त्यो नदेखाउनुस् । तपाईंहरूले अहिलेसम्म कमाएको सम्मान र इज्जतलाई कम्तिमा जोगाउनुस् भनिरहेका छन् दोस्रो पुस्ताले । जुन तहको अभिव्यक्ति र संस्कार देखाउँदै हुनुहुन्छ त्यसले तपाईंहरूको त्यो स्तरलाई कायम राख्दैन है भनेर खबरदारी गर्दै हुनुहुन्छ ।

अहिले दोस्रो पुस्ता भनेको स्थायी कमिटीमा रहेकाहरू नै हुन् । उहाँहरूले आँटै गरेर तपाईंहरू अब अभिभावकत्व लिनुस् र नेतृत्व हामी गर्छौं भनेर उहाँहरू जान सक्नुभएको स्थिति भने हैन । केही दिन पहिले मात्रै एकजना सचिवालय सदस्यको अन्तर्वार्ता सुन्दै थिएँ । 'नयाँ पुस्ताले आँट गर्न पर्‍यो नि !' भन्ने तहमा उहाँले भन्नुभएको थियो । यसको अर्थ पहिलो पुस्ताले धम्क्याउँदै छ । हामी तयार छौं भनेर दोस्रो पुस्ता भनिसक्ने स्थितिमा पुगेको छैन । दोस्रो पुस्ताले जुन दिनसम्म भन्नुहुन्न त्यो दिनसम्म पहिलो पुस्ताले हामीभन्दा पछाडिको पुस्ता नेतृत्व गर्न तयार भयो, सक्षम छ भनेर बुझ्नुहुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले, पार्टी, आन्दोलन, उपलब्धि जोगाउने र जनताले गरेको मतको कदर गर्ने हो भने अब अहिलेको सचिवालय भन्दा ठिक पछाडिको पुस्ताले योजनाबद्ध हिसाबले नेतृत्व लिनुपर्छ ।

९ जनाको पुच्छर समातेर जुन दिनसम्म दोस्रो पुस्ताका नेता लागिराख्नुहुन्छ त्यसले उहाँहरूलाई पनि राम्रो गर्दैन र आन्दोलनलाई त झनै राम्रो गर्दैन । जनताको अपेक्षा र भावनालाई सम्मान गर्ने हो भने दोस्रो पुस्ताले अब आउने स्थायी कमिटी बैठकमा अहिलेको सचिवालयलाई कसरी सम्मानपूर्वक राख्ने र त्यसपछाडि कार्यकारी अधिकार कुन विधिबाट पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने भन्ने सामूहिक योजना लिएर जानुपर्छ । त्यो हिसाबबाट उहाँहरू जानुभएन भने उहाँहरूले नेतृत्व लिने क्षमता र आम नागरिकमा आशा बाँड्नुहुन्न ।

अब दोस्रो पुस्ताले सामूहिक प्रस्ताव लिएर स्थायी कमिटी बैठकमा जानुपर्छ र स-सम्मान अहिलेको सचिवालय पुस्तालाई राख्ने र उहाँहरूका अनुभव कसरी लिने तथा कार्यकारी अधिकारमा कसरी दौडिने भन्ने योजना बनाउनुपर्छ ।

तपाईंले स्थायी कमिटीका नेताहरूले सचिवालयको झगडा निमिट्यान्न पार्न र पार्टीलाई अगाडि बढाउने नेतृत्व लिन प्रस्ताव लिनुपर्छ भनिरहँदा स्थायी कमिटी सदस्यहरू नै सचिवालयका नेताहरूको झगडामा पछाडिबाट साथ दिइरहनुभएको पनि यथार्थ हो नि ?

दोस्रो पुस्ताका नेताहरूलाई नागरिक र कार्यकर्ताले हेरिरहेका छन् । अहिले जे गरिरहनुभएको छ त्यो गतिविधिलाई कार्यकर्ताले राम्रो मानिरहेका छैनन् भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ । काठमाडौं उपत्यकामा बस्ने, मन पराउनेका बीचमा मात्रै जाने, उनका मात्रै कुरा सुन्ने, वास्तवमा नागरिक र तलका सदस्यले के अनुभूति गरिरहेका छन् भन्ने खालको कुरामा ध्यान नदिने हो भने भोलि पार्टी अहिले शंका गरेको स्थितिमा नै पुग्यो भने 'न रहे बास न बजे बाँसुरी' हुन्छ भन्ने दोस्रो पुस्ताको नेतृत्वले पनि बुझ्नुपर्छ । पहिलो पुस्ताले पनि दोस्रो पुस्तालाई साथ दिनुपर्छ । हैन भने पार्टी र राज्यको नेतृत्व लिएर पनि चलाइहालियो अब हाम्रो पुस्ताले पाउने यत्ति नै हो र यो भन्दा पछाडिको पुस्ताले जे सुकै गरोस् भनेर ध्वांसात्मक किसिमले सोच्नुपर्‍यो । यो नेतृत्वले त्यसरी सोच्छ भन्ने कल्पना पन गर्न सकिन्न ।

हामी लोकतान्त्रिक प्रक्रियामा जाने पार्टीले निर्वाचन पनि हेर्नुपर्छ । अबको डेढ वर्षमा हामी निर्वाचनमा जाँदैछौं । यो रडाकोले खुब जनताले मन पराएका छन् र 'सूर्यभित्र हँसिया हथौडा'को चुनाव चिह्नमा भोट हाल्छन् भनेर सोच्ने हो भने जनतालाई नागरिक हुन् भनेर देख्नुभएको छैन । जनता फेरि पनि नागरिक भइसकेका छैनन्, त्योभन्दा पछाडि नै छन् भन्ने मानसिकता राख्ने हो भने ठूलो गल्ती हुनेछ । भूल हुनेछ ।

अहिलेको दोस्रो पुस्ता भनिएका नेताहरू पहिलो पुस्ताको शेषपछि स्वतः हामीमा नेतृत्व आउँछ भनेर पर्खिरहेको पो हो कि ?

त्यसोभए राजतन्त्र किन फालेको ? त्यो त राजतन्त्रमा हो नि, पहिलो पुस्ता गएपछि दोस्रो पुस्तामा सत्ता आउने । त्यत्रो लडेर नागरिकले गणतन्त्र ल्याएका छन् । हामी फेरि पनि पहिलो पुस्ताको अन्त्यपछि दोस्रो पुस्तामा नेतृत्व आउँछ भनेर राजतन्त्रको संस्कारलाई बोकेर हिँड्ने हो भने त हामीले के परिवर्तन गर्‍यौं ?

एउटा कुराले अहिले पनि झस्का लाग्छ कि फलानो-फलानो व्यक्ति पदमा पुगे, फलानो बाँकी छ । यो राणा शासन हो ? राणा शासनमा पो जेठो, माइलो, साइँलो, काँइलो, कान्छोको पालो सकिएपछि बल्ल छोरा पिँढीमा जाने अनि छोरा पिँढीमा पनि त्यै खालको हुन्थ्यो । एउटा पुस्ताबाट नेतृत्व एकपल्ट निस्किने हो । त्यसपछि नेतृत्व अर्को पुस्ताको आउनुपर्‍यो । नेपालका राजनीतिक दलहरूमा प्रवेशद्वार छ, बाहिर निस्किने बाटो छैन । कोठामा त एउटा ठाउँबाट हावा आउने अर्कोबाट बाहिरिने एंगल मिलेन भने स्वस्‍थकर हुँदैन भने पार्टीहरूमा त झ्याल नै छैन, ढोका मात्रै छ । त्यसले त गुम्सिहाल्छ । अब हामीले प्रणाली बसाल्नुपर्‍यो । अहिले हामीकहाँ प्रवेशद्वार छ तर बहिर्गमनको बाटो छैन । दलमा प्रवेशद्वार राख्ने र बाहिर निस्किने ठाउँ जुनदिनसम्म हुँदैन त्यो दिनसम्म यो दुषितताको अन्त्य हुँदैन । नेकपामा मात्रै होइन सबै दलमा यो समस्या छ । एउटा पार्टीमात्रै सुध्रिएर हुँदैन । यदि मुलुकको राजनीति स्वच्छ बनाउने हो प्रमुख राजनीतिक दलहरूभित्र स्वस्थता हुन जरुरी छ । प्रवेश गर्ने र बाहिरिने ढोका सबैतिर हुन जरुरी छ । यसका लागि आवश्यक पर्छ भने राष्ट्रिय कानुन बनाउनुपर्छ ।

सचिवालय अर्थात् अहिले राज्य र पार्टीको नेतृत्वमा रहेकाहरूलाई 'तपाईंहरू विश्राम लिनुस्' भन्दा त्यसो भन्नेहरूलाई कारबाही होला नि ?

लाभ र हानी नहेरी ठीकलाई ठीक र बेठिकलाई बेठिक भन्ने कि नभन्ने ? यो कुरालाई लाभ र हानीसँग जोड्नु हुन्न । अहिले पनि सचिवालयमा जे खालको समस्या देखिएको छ त्यसमा कमजोरी एउटा पक्षको मात्रै छैन । कमजोरी दुई भने दुई वा तीन भने तीनैवटा पक्षको होला । तर त्यो कमजोरीलाई समाधान गर्ने तरिका अहिले नेतृत्वले जे अपनाइरहेको छ त्यो गलत हो । यो तरिकाबाट समस्याको समाधान गर्न सकिन्न ।

मान्छे भएपछि कमजोरी सबैमा हुन्छ भन्ने खालको स्वीकार गर्नुपर्‍यो र मभित्र पनि कमजोरी होला भनेर, त्यसमा पनि मार्क्सवादीहरूले त झन् आफूलाई खोतल्नुपर्छ । अरुमा मात्रै कमजोरी खोज्ने अनि सबल पक्ष आफूमा मात्रै देख्ने जुन स्थिति बनेको छ यसले हामीलाई अहिलेको स्थितिमा पुर्‍याएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमा नेतृत्व हस्तान्तरणको कुरा छैन । अध्यक्ष ओलीले गरेको नेतृत्व हस्तान्तरणको कुरा उहाँले ल्याउने प्रस्तावमा आउला ?

अध्यक्ष तथा प्रधानमन्त्रीको प्रतिवेदनमा नेतृत्व हस्तान्तरणको प्रताव आउनुपर्छ भन्ने हो । उहाँले समस्याको समाधान गर्ने हो भने कार्यकारी अध्यक्षले जे लेखेर दिनुभएको छ त्यसमा परीक्षाको जवाफजस्तो लेख्ने होइन । निकासको जवाफ लेख्नुपर्छ । निकासको जवाफ भनेको जनता र कार्यकर्ताले अपेक्षा गरेको कुरालाई सम्बोधन गर्नेगरी आउनुपर्छ । अहिले माथिको नेतृत्वले के बुझे हुन्छ भने केन्द्रीय कमिटीका सदस्यहरू अथवा त्योभन्दा तल प्रदेश र पालिकासम्मका सदस्यहरू वा सांसदहरू उहाँहरूले भनेजस्तो सर्लक्क यस्तो गर् भन्दा यस्तै र उस्तो गर् भन्दा उस्तै गर्ने, तीनवटा नेताले भनेको पंक्तिमा लामबद्ध लाग्ने वाला छैनन् । तल्लो तहका नेता, कार्यकर्ता पनि अनुभव र विवेक बोकेरै आएका छन् ।

हामीले भविष्य बनाउन कति सक्छौं तर नबिगार्न हाम्रो एक मतले पनि काम गर्छ भन्ने केन्द्रीय सदस्य र सांसदहरूले अनुभूति गरेरै बस्नुभएको छ । त्यसैले केन्द्रीय सदस्य र सांसदहरूको बलमा जनताको अभिमतमाथि खेलवाड हुनको लागि साथ दिनुहुन्छ भन्ने मलाई लाग्दैन ।

पार्टी र राज्यसत्तामा रमाइरहेको पहिलो पुस्ताले नेतृत्व हस्तान्तरण गर्ने सम्भावना छ ?

हस्तान्तरण गर्न तयार हुनुभएन भने अघि पनि भने कि यो पार्टी र आन्दोलन अन्त्य हुन्छ । आन्दोलनकै अन्त्य भएर नयाँ पुस्ताले नयाँ शिराबाट सुरु गर्ने दिन आउन सक्छ । मैले भन्ने गरेको छु पुष्पलालले बनाएको पार्टी हाम्रा यी नेताहरूलाई काम लागेन । अहिलेका यी नेताहरू र हामी मिलेर बनाएको पार्टी भोलीको पुस्ताका लागि काम लाग्ने छैन ।

अहिलेको समस्याको समाधान भनेको अहिलेको कार्यकारी अधिकार हस्तान्तरण गरेर जनतामा आशा जगाउने हो । समस्याको समाधान नेता मिल्ने मात्रै कुरा होइन । उहाँहरू जतिसुकै अब मिल्नोस् कि झगडा गर्नुस्, भनिन्छ नि हात्ती मिल्दा पनि र झगडा गर्दा पनि नास हुने दुबोको हो, उहाँहरू मिल्नुभयो भने पनि विवाद यो तहमा पुगेपछि जनतामा उत्साह जगाउने अवस्था देखिन्न । झगडा गरेर त उत्साह हुने कुरै छैन ।

अलिकति पनि जनतालाई आशा, अपेक्षा, उत्साह जगाउने हो भने पहिलो पुस्ताले सम्मानित भएर बस्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हो । दोस्रो पुस्तालाई जनता र कार्यकर्ताले पर्ख र हेरको समय दिन्छ । त्यो समयमा राम्रोसँग एउटा 'गियर' परिवर्तन गरेर भएपनि निर्वाचनका बेलासम्म उत्साह जागेको छ भन्ने पारेर जान सकिन्छ र यो मुलुकलाई समृद्धिको बाटोमा लैजाने अवसर मिल्छ ।

प्रकाशित : मंसिर १२, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?