राम्रो फिल्मले मानिस नराम्रो छ भन्दोरहेछ : मनोज पण्डित - कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राम्रो फिल्मले मानिस नराम्रो छ भन्दोरहेछ : मनोज पण्डित 

रीना मोक्तान

काठमाडौँ — मनोज पण्डितले फिल्म क्षेत्रमा प्रवेश गरेको २० वर्ष भयो । फिल्म 'लक्ष्य'बाट उनले आफ्नो निर्देशकीय यात्रा थालेका थिए । 'बधशाला', 'दासढुङ्गा',  'खाग'  र लघु फिल्म 'छायाँ' उनले निर्देशन गरेका फिल्महरु हुन् । उनी निर्देशित 'एक'को प्रदर्शन कोरोना महामारीका कारण पछाडि धकेलियो। अहिले उनी 'राइटर इन द मिस्ट' (कुहिरोभित्र लेखक) भन्ने फिल्मको तयारीमा छन् ।

कुनै समय उनी फिल्मको समीक्षासमेत लेख्थे । फिल्म लेखन, निर्देशनमा सक्रिय उनले हालै 'सिनेमा मन्थन' पुस्तक निकालेका छन् । उनीसँग पुस्तकका सेरोफेरोमा कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

पुस्तक लेखन कसरी सोचियो ?

फिल्म निर्माण र पुस्तक लेखन फरक प्रक्रिया होइनन् । फिल्म बनाउने सोच जसरी रहन्छ त्यसरी नै किताब लेख्ने सोच पनि निर्माण हुन्छ । अर्थात् केही समस्या छ, त्यो समस्यालाई समाधान गर्न आफूले गर्ने प्रयत्न हो यो । मलाई आफ्नै फिल्मको बुझाईमा म कुन तहमा सोच्छु, मसँग के ज्ञान छ जसको आधारमा म फिल्म बनाउँछु भन्ने प्रश्नको उपज हो पुस्तक । मैले आफैंलाई के प्रश्न गरें भने, 'मैले फिल्म त बनाउँछु तर मैले जे बनाइरहेको छु त्यो आखिर के हो त ?' भन्ने विषयमा प्रश्न राखेपछि यो पुस्तक लेखेको हुँ ।

जवाफ के पाइयो त ?

फिल्म त्यो हो जुन मानिसको अभिव्यक्ति हो । मानिसभित्र रहेका चाहना र अवधारणाको प्रतिनिधित्व रहेछ फिल्म । मानिसको अभिव्यक्ति मानिसको अध्ययनबिना सम्भव छैन भनेर मानिस र फिल्मबीचको सम्बन्धमा आधारित रहेर यो पुस्तक लेखिएको हो । त्यसैले दर्शकले पुस्तकका धेरै अंशमा मानिस पाउँछन् । फिल्मको मन्थनका साथसाथै मानिसको मन्थन पनि हो यो ।

फिल्मसँग मानिसलाई कसरी जोड्नुभयो ?

फिल्मको मुख्य कन्टेन्ट नै मानिस र मानवता हो । 'ह्यूमन भ्यालूज' हो । चेतनाको अभिव्यक्ति हो । मानिसका जीवनका घट्नाक्रमहरुको कथात्मक सञ्जाल हो । त्यो कारणले यो मानिसभन्दा फरक चिज होइन । मानिसको आवश्यकताले र मानिसकै आफ्नो प्रणालीद्वारा फिल्मको निर्माण हुने हुँदा मानिसको अध्ययन फिल्म अध्ययनका लागि आधारभूत कुरा हो भन्ने दृष्टिकोणका कारण मानिसलाई केन्द्रमा राखेर यो पुस्तक लेखेको हुँ । यो मेरो आफ्नो पेशालाई लिएर गरिएको सचेतन खोज हो । मेरो चेतनामा फिल्मका अवधारणा के रहेछन् त भनेर खोज्दा पाएका कुराहरुको संगालो हो यो । यो वास्तवमा फिल्म आफैंमा के रहेछ त ? भन्ने खोजी गर्ने क्रममा संगालिएका अभिव्यक्ति धारणाहरुको संगालो हो यो ।

विषयवस्तुको उठान कसरी गरियो, स्रोतहरुको प्रयोगबारे केही भनिदिनुस् ?

सिनेमा र मानिसबीच रहेका समानताहरुलाई साम्रगीको रुपमा संग्रहित गरेको छु । त्यो गर्दा मैले के भेट्याएँ भने मानिस र फिल्ममा विरोधाभाषको सम्बन्ध छ । मानिसले त्यो विरोधाभाषलाई अत्यन्तै सृजनशील ढंगले पुनरुत्पादन गरेको देखिन्छ ।

फिल्मसम्बन्धि नेपालमा कमै पुस्तक छन् । तपाईंको पुस्तकबाट पाठकले नयाँ के पाउँछन् त ?

फिल्म बनाउन सोच्ने व्यक्तिहरुका लागि यो पहिलो निर्देशिका पुस्तक हुनसक्छ । फिल्म त सोचको उत्पादन हो । फिल्म निर्माणको सोचको प्रारम्भमै कस्ता आयमहरु हुँदा फिल्मको उत्पादन अलि बढी अर्थपूर्ण र प्रभावकारी हुन्छ भन्ने आधारभूत निर्देशिका यसमा उपलब्ध छन् । हाम्रै जीवनका आधारभूत तत्वहरुसँग फिल्मको सम्बन्ध छ भन्ने कुराको बुझाई भयो भने दर्शकको फिल्म 'लिटरेसी'को आयाम पनि फराकिलो भएर जान्छ । त्यो हुनेबित्तिकै फिल्म छनौटमा पनि दर्शकले सृजनात्मक भूमिका खेल्छ । कस्तो फिल्म निर्माण हुन्छ समाजमा भन्ने कुराको अत्यन्तै जिम्मेवार पक्ष दर्शक हुन् । हाम्रो समाजमा दर्शकलाई अक्रियाशिल सदस्यको रुपमा मानिन्छ। तर, पुस्तकले दर्शक हुनु भनेको सबैभन्दा क्रियाशिल पाटो हो भन्छ । दर्शकको क्रियाशिलताले न केवल फिल्म क्षेत्रको भविष्य निर्माण हुन्छ, दर्शकको क्रियाशिलताले देशको राजनीति पनि निर्माण हुन्छ । त्यो कारणले गर्दा दर्शक हुनु भनेको जिम्मेवारपूर्ण छनौट प्रकृया हो । हरेक छनौटको राजनैतिक र सामाजिक अर्थ हुन्छ । दर्शकको जुन अवधारणा बनाइएको छ त्यो अवधारणामा रुपान्तरण आउने अपेक्षा छ यदि पुस्तक धेरै मानिसको हातमा पर्‍यो भने ।

दर्शक क्रियाशिल भन्नाले ?

व्यक्तिको क्रियाशिलता व्यक्तिको यथार्थसँग हुन्छ । व्यक्ति आफ्नो समस्या समाधान गर्न क्रियाशिल हुन्छ । यदि मानिससँग समस्या छैन भने कोही क्रियाशिल हुँदैन । दर्शक क्रियाशिल हुनु भनेको दर्शकले फिल्ममा प्रस्तुत हुने समस्या, समस्याको विस्तृतीकरण, समस्याको प्रमाणीकरण बुझ्न भूमिका खेल्नेबित्तिकै फिल्म निर्माण प्रकृयामा पनि बढी यथार्थपरक, संवेदनशील हुन्छ । स्रष्टाहरुले नै समाजको यथार्थपरक समस्याहरुको आत्मसात गर्ने प्रणालीको विकास हुन्छ । त्यो विकास हुनेबित्तिकै अहिलेको सोच प्रणालीमा रुपान्तरण ल्याइदिन्छ ।

तपाईंले दर्शककै विषयमा हालसम्म बनाइएका अधिकांश फिल्मले दर्शकको तालीभन्दा पनि गाली खाएको विषय पनि उठाउनु भएको छ । ती अधिकांश फिल्मले दर्शकको गाली किन खाए ?

तालीभन्दा गाली पाउनुको मूल कारण नै दर्शक के हो भन्ने अध्ययनको अभाव हो । दर्शकलाई अहिलेसम्म फिल्मकर्मीले अक्रियाशिल अस्तित्वको रुपमा लिएका छन् । उनीहरुलाई के भनिएको छ भने, मैले जे प्रस्तुत गर्छु दर्शकले त्यो स्वीकार्छन् । स्वीकार्छ भन्नुको अर्थ त दासत्व हिसाबले भनेको हो । फिल्म बनाउनेहरु मालिक र हेर्ने दर्शक दास हुन् भन्ने जुन प्रणाली छ त्यसले दर्शकलाई अन्धकारमा राखिदिन्छ । समाजका अरु पाटोले दर्शकको चेतना विकास गरेको छ । दर्शक चेतनशील छन् । धेरैजसो फिल्मले दासकै नजरले दर्शकलाई हेरेका कारण गाली पाएका हुन् । तर समाज त परिवर्तित छ । परिवर्तित दर्शकले त्यो पूरातन मान्यतालाई धेरैजसो गाली गरिरहेका छन् । जुन-जुन अवस्थामा स्रष्टाले दर्शकको चेतनामा आएको परिवर्तनलाई सम्मान गरेको अवस्था छ, त्यस्तो फिल्मले प्रशंसा पाएकै छन् । त्यसैले उनीहरुलाई मानवीय दृष्टिले हेर्नुपर्छ ।

दर्शकलाई 'भीड', 'जे पस्कियो त्यही खाने'का रुपमा फिल्मकर्मीले लिन मिल्दैन भन्न खोज्नु भएको ?

हो । दर्शक भनेको त सबैभन्दा आधारभूत कुरा हो । फिल्म त बनाइएकै दर्शकका लागि हो । दर्शकलाई कस्तो अस्तित्व मान्ने त्यो ठूलो प्रश्न हो । राम्रो फिल्मकर्मीले दर्शकलाई मानवीय दृष्टिकोणले सम्मान गर्छ । दर्शकको चेतनालई सम्मान गर्छ । कमजोर फिल्मकर्मीले दर्शकलाई केवल भीडको रुपमा देख्छ । र, उसले के सोच्छ भने दर्शकसँग छनौट र निर्णय गर्ने सामर्थ्य छैन ।

वैकल्पिक फिल्मको विषयलाई पनि जोड्नु भएको छ । के बजार केन्द्रित फिल्मकर्मीले यस्तो फिल्म बनाउन सक्छन् त ?

वैकल्पिक फिल्म भनेको सोच हो । वास्तवमा यो सैद्धान्तिक प्रणाली हो । अहिले मूलधारे फिल्ममा रमाइरहेकाहरुलाई वैकल्पिक फिल्म निर्माण गर्न अत्यन्त ठूलो त्याग गर्नुपर्ने हुन्छ । सैद्धान्तिक मान्यता त्याग गर्न तयार हुनुपर्छ । उनीहरुले वैकल्पिकलाई अंगिकार गर्न सक्दैनन् । किनकि यो त सैद्धान्तिक अवधाराणा हो । उनीहरुले फिल्मलाई हेर्ने दृष्टिकोणमात्रै होइन कि मानवीय मूल्य मान्यता, अवधारणालाई हेर्ने कुरा नै वैकल्पिक हुन्छन् । फिल्म नै वैकल्पिक भन्ने हुँदैन । वैकल्पिक बनाउन त्योसँग सामार्थ हुन्छ जसले सामाजिक मूल्य मान्यता, शक्तिसंरचनालाई प्रश्न गर्न सक्ने चिन्तनको विकास गरेको हुन्छ । वैकल्पिक भन्ने कुरा नै बजार, शक्ति, स्थापित कुराहरुको नियन्त्रणमाथि गर्ने प्रश्न हो । वैकल्पिक हुनु भनेकै विमति राख्नु हो । विद्रोह गर्नु हो । विद्रोह गर्ने, प्रश्न गर्ने सामर्थ्य बजारभित्रका मानिसमा त हुँदैन नि त । बजारले त प्रश्नलाई स्वीकार्दैन । बजारले त जेमा नाफा हुन्छ त्यसमा अगाडि बढ्छ ।

वैकल्पिक फिल्म बनाउनेहरु नेपाली फिल्म क्षेत्रमा कत्तिको छन् त ?

नेपालको फिल्ममात्र होइन कि देशमै वैकल्पिकताको विस्तारै स्थापना भइरहेको छ । वैकल्पिकताको धारणाले आफ्नो प्रश्न राख्ने ठाउँ पाइरहेका छन् । त्यसकारण नेपाली फिल्म क्षेत्रमा पनि त्यसको केही हदसम्म विकास भइरहेको म पाउँछु । एकातर्फ वैकल्पिक हुनेहरुले अर्कोतर्फ मूलधारलाई अंगालेको देखिन्छ । वैकल्पिकता त विद्रोह हो । तर हाम्रो फिल्म क्षेत्रमा त्यो विद्रोहको आवाज भने म देख्दिनँ । कहिलेकाहीँ त्यो प्रयत्न हुन्छ तर त्यो प्रश्न पनि त्यति सार्थक भइरहेको छैन । वैकल्पिकताको केही उत्साह देखिए पनि मलाई केही समयपछि यो हराउला भन्ने पनि डर छ ।

तपाईले पुस्तकमा राम्रो फिल्मले मानिसलाई नराम्रो भन्छ भन्नेबारे लेख्नु भएको छ । यो दृष्टिकोणबाट नेपाली फिल्महरु कत्तिका राम्रा छन् त ?

पुस्तकको सबैभन्दा महत्वपूर्ण खोजमा मैले यो अवधाराणालाई अगाडि राखेको छु । 'राम्रो फिल्मले मानिस नराम्रो छ भन्छ' वास्तवमा यो पुस्तकको सबैभन्दा ठूलो खोज हो । नेपाली फिल्मले मानिसभित्रको त्यो नराम्रोपनलाई अगाडि ल्याउन कत्तिको सफल भयो भनेर हेर्ने हो भने हामी एकदमै पछाडि छौं । हाम्रोमा त्यो साहस, इमान्दारिता, त्यो अन्वेषण नै भएको छैन । हाम्रो सामाजिक प्रणाली अझै ढोंगी छ । हामी सत्य कुरा बोल्न चाहँदैनौं । सत्य कुरुप छ । सत्यमा अत्यन्त धेरै पीडा छ । मान्छे कुरुप छ भन्न त आफूले आफैंलाई पनि कुरुप स्वीकार्न सक्नु पर्‍यो । हो त्यो विषयको आत्मस्वीकारोक्ति हाम्रो समाजले गर्न सकिरहेको छैन । यो सुन्दा विरोधाभाषी छ । यो चुरो कुरा पनि हो । मान्छेले कुनै फिल्मलाई राम्रो भन्ने आँट गर्दो रहेछ जब त्यो फिल्मले मानिसको कुरुपतालाई विश्वस्नीय ढंगले देखाउँछ । भनेपछि त मान्छे तिमी कुरुप छौ, तिमीले मावन सभ्यतालाई नास गर्छौं, प्रकृतिलाई नास गर्छौं भन्ने फिल्मलाई समाजले अन्ततगोत्वा सम्मान दिएको छ । यथार्थमा हामी नेपाली फिल्मकर्मीमा मानिसको त्यो कुरुपतालाई देखाउने आँट आएको छैन । त्यसैले हाम्रो फिल्ममेकिङ आँटिलो छैन भन्छु । एकदमै डरछेरुवा र सतही छ ।

यही अवधारणामा हेर्दा तपाईंका फिल्म कस्ता देखिन्छन् त ?

केही नेपाली फिल्मले यसको अभिव्यक्ति गरेका छन् । 'बधशाला', 'साँघुरो' र पछिल्लो समय 'आमा' । यी फिल्महरुले आँट गरे । यी फिल्मले मानिसमा कुन तहको कुरुपता छ भनेर देखाउन सवल भएका छन् । मेरा फिल्मको हकमा 'बधशाला' र 'छायाँ'ले केही हदसम्म त्यो देखाएका छन् । हाम्रोमा थोरै फिल्मले मात्र मानिसको कुरुप चरित्रलाई यथार्थपरक ढंकले देखाउन सफल भएका छन् । तीमध्ये केही फिल्मले व्यवसायिक सफलता पनि पाएका छन् ।

फिल्ममा आफूले गरेको कमजोरीको स्वीकारोक्ति (छापाबाट) लेख पनि पुस्तकमा समेट्नु भएछ । आफ्नो कमजोरी स्वीकार्ने आँट नेपाली फिल्मकर्मीमा कत्तिको देख्नु भएको छ ?

म फिल्ममा रहर भएर वा दुईचार पैसा कमाउँछु भनेर लागेको होइन । फिल्म त एकदमै शक्तिशाली माध्यम हो जसले मानव समाजलाई केही सहयोग गर्छ भनेर लागेको हुँ । यसअर्थ मैले बनाइरहेको फिल्ममाथि आफैंले विश्लेषण गर्ने मसँग उत्प्रेणा बनेको हो । म फिल्म बौद्धिक उत्पादन हो भन्ने ठान्दछु । त्यसकारण बौद्धिक प्रणालीमा समीक्षा हुन अत्यन्त आवश्यक हुन्छ । समीक्षा अरुभन्दा पनि आफ्नो फिल्मको समीक्षा गर्ने सामर्थ बढी आफैंसँग हुन्छ । त्यसैले मैले मेरो आफ्नै फिल्ममाथि समालोचना गर्दा त्यसले मलाई झन् बढी ज्ञानको उपहार दियो । म के सोच्छु भने फिल्म बनाउनु अगाडि नै विश्लेषण गर्नुपर्छ । अब बनाउने फिल्ममा म सबै पक्षलाई हेरेर विश्लेषण गर्नेछु । तर हाम्रो क्षेत्रमा आत्मालोचना गर्ने प्रयत्न धेरै कम छ ।

प्रकाशित : मंसिर १, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनामुक्त भएका प्रमोद खरेल भन्छन् : पैसा नभएर कसैले मर्न नपरोस्

'आर्थिक स्थिति कमजोर हुनेहरुलाई एकदम गाह्रो छ अहिले । यति धरौटी भएन भने भर्ना लिँदैनौं भन्ने समाचार पढ्छौं हामी । त्यो भनेको त एकदमै दु:खदायी कुरा हो । त्यस्तो नहोस् ।'
रीना मोक्तान

काठमाडौँ — गीत रेकर्डिङको काम निरन्तर थियो । स्टुडियो आउजाउ भइरहन्थ्यो । भीडभाडबाट बढी जोगिने गर्थे गायक प्रमोद खरेल । स्टुडियो जाँदै गर्दाको त्यो दिन बीचमै एकजनासँग मिटिङ पर्‍यो । मिटिङपछि बैंकको काम । तर, बैंक बन्द भएकाले काम भएन । प्रमोदले स्टुडियोतर्फ गाडीको स्टेरिङ घुमाए । त्यत्तिकैमा असहज महसुस भयो । एक्कासि शरीर तातो भयो ।

शरीरको तापक्रम नघटेपछि पीसीआर परीक्षण गराउनेबारेमा सोचे । त्यसपछि टिचिङ असप्तालमा कार्यरत नर्ससमेत रहेकी बहिनी मन्जु खरेललाई फोन गरे,'मलाई अलिकति असहज भहसुस् भो' अस्पताल आउँ कि स्टुडियो जाउँ ?’

बहिनीले अस्पताल जान सुझाइन् । बहिनीसँग फोनमा गफिँदै गाडी ह्याम्स अस्पतालतर्फ मोडे । ह्याम्स नजिकै पर्ने भएकाले बहिनीले उतै जान सल्लाह दिएकी थिइन् । अस्पताल पुगेपछि शरीर झनै तातो भयो । परीक्षण गराउने ठाउँमा भीड थियो । आधा घण्टाजति कुर्नु पर्ने भयो । अस्पतालको छतमा पनि परीक्षण भइरहेको सुनेर उनी त्यतै लागे । परीक्षण गरेर सिधै घर फर्के । त्यसदिनको रेकर्डिङ पनि क्यान्सिल गरे ।

सुत्केरी पत्नी छोरी लिएर झापा गइसकेकी थिइन् । यता घरमा बुवा, आमा र छोरा बिप्रभ मात्र । गाडी राखेर सोझै आफ्नो कोठाभित्र छिरे प्रमोद । 'कोठाभित्र छिरेर ढोका लगाएँ । मलाई कोरोनाको शंका लागिसकेको थियो । कोरोना भएको रहनेछ भने त भोलि थाहा भइहाल्छ । भ'को रहेछ भने त भोलि सबैलाई सर्छ । त्यसैले रिपोर्ट कुर्दिनँ भनेर कोठाभित्र आफैलाई आइसोलेट गरें,’ असोज अन्तिम सम्झँदै भने।

बुवा ७० वर्षका, आमा ६६ । औषधि खाइरहने बुवा र आमालाई केही होला कि भन्ने चिन्ताले सजग भएर घरभित्रै थुनिए । माथिल्लो तल्लामा रहेको बुवालाई फोन गरेर शरीर तातिएकाले कोठाभित्रै बस्ने जानकारी गराए । खाना ढोकामै ल्याइदिन भनेपछि त बुवाले सोधिहालेछन्, ‘कोरोना हो ?’

सामान्य हुँदै पीसीआर परीक्षण गरे पनि नतिजा नआइसकेकाले उनले बुवालाई चिन्ता नलिन भने ।

त्यो रात शरीर कटकट दुख्न थाल्यो । दुखाइले निन्द्रा राम्ररी परेन । 'कोल्टे फेर्छु कटकट जीउ दुख्ने । कफसँगै खोकी लाग्यो । एकदम गाह्रो भएपछि एउटा सिटामोल खाएँ । खाना खाएँ अनि निदाउने प्रयास गरें,’ आइसोलेसनको पहिलो दिन सम्झन्छन् ।

बिहान उठ्दा ज्वरो कम भइसकेको थियो । शरीर उस्तै तातिरह्यो । त्यसपछि टाउको दुख्न सुरु भयो । पिनास बल्झियो । आँखा खोल्नै नसक्ने भयो । त्यतिकैमा बहिनीले रिपोर्ट पठाइन् । रिपोर्ट पोजिटिभ आएको रहेछ । त्यसपछि तनाव थपियो । ‘पहिला कोरोना त हो भन्ने लाग्थ्यो । तर आफैलाई लागेपछि एकदमै डर लाग्यो । यति जोगिँदा पनि मलाई कोरोना लाग्यो भन्ने भयो,’ पोजिटिभ नतिजा आउँदाको अनुभव सुनाए ।

उनी स्टुडियोको हेडफोन चलाउँथेनन् । आफ्नो छुट्टै हेडफोन प्रयोग गर्थे रेकर्डिङमा पनि । स्टुडियो पुग्नासाथ हातमा स्यानिटाजर लगाउँथे। साबुन पानी भेटेसम्म प्रयोग गर्थे । घर पुग्नासाथ लगाएको लुगा बाथरुममा राख्ने दैनिकी बन्न थालेको थियो । बजारबाट ल्याएको तरकारी घाममा सुकाएर तातो पानीले धुएर मात्र पकाउने गर्थे । यतिका सावधानी अपनाउँदा पनि कोरोना लाग्यो भन्ने कुराले थप पिरल्यो ।

बुवाआमा पनि चिन्तित । उनीहरु चिन्ता लुकाएर हँसिलो मुहार बनाउँथे । तर, प्रमोद पढिहाल्थे आमा बुवाका अनुहार । छोरा बिप्रभ झ्याम्मिन आउलान् भनेर आफू कोठाभित्रै रहेको थाहा नदिने सल्लाह गरे । बुवा आमालाई नै ख्याल राख्न लगाए । परिवारको अगाडि बलियो प्रस्तुत भए पनि मनमा पीर अझै थियो । बहिनीले त्यही मनोविज्ञान बुझेर सिटी भ्यालु (साइकल थ्रेसहोल्ड) ३० रहेको भन्दै नआत्तिन सल्लाह दिइन् ।

साथी किरण केसीले अक्सिमिटर र थर्मोमिटर ल्याइदिए । अक्सिमिटरमा श्वासप्रस्वास हेर्न पनि सिकाइदिए । ‘९० तल भयो भने अस्पताल भर्ना भइहाल्नुपर्छ । माथि भयो भने आत्तिनु पर्दैन भनेको थियो । म चेक गरिरहन्थें । मेरो ९२/९५ देखाइरहन्थ्यो,’ उनले भने ।

दोस्रो दिन मुख गन्हाउन सुरु भयो । एकदमै धेरै कफ आउन थाल्यो । अमेरिकामा रहेका साथी डाक्टर मनिष बसिष्ठसँग सम्पर्क गरे । मनिषले अमेरिकामा हजारौं कोभिड बिरामीलाई उपचार गरेको अनुभव बटुलेका छन् भन्ने उनलाई थाहा थियो । उनी आफ्नो शरीरको तापक्रप नाप्दै मनिषलाई पठाउँथे । मनिषले पनि धेरै तनाव नलिन भन्दै प्रोत्साहन दिन्थे । उनी 'कूल' बन्न खोज्थे तर एकदमै टाउको दुख्दा छटपटिन्थे ।

कोठाभित्र थुनिएसँगै परिवारसँग भौतिक दूरी बढ्यो । आमाबुवामाथि भान्सामा खानेकुरा पकाएर प्रमोदको ढोकामा राखिदिन्थे । अनुहारमा मास्क, फेससिल्ड र हातमा ग्लोभ्स लगाएर बुवा खाना पुर्‍याउन आउँथे । बुवा फर्किसकेपछि मात्र उनी खाना भित्र ल्याएर खान्थे । खाएको भाँडा(प्लास्टिक) बार्दलीबाट तल फाल्थे ।

दोस्रो तल्लाको कोठालाई आइसोलेसन बनाएका थिए प्रमोदले । छोरा संक्रमित भएसँगै बुवाआमाको दैनिकी पनि परिवर्तन हुन थाल्यो । दिउँसो अन्य कोठामा समय बिताए पनि राति आमाबुवा दोस्रो तल्लाकै अर्को कोठामा सुत्न आउथे । सबेरै पाँच बजे उठेर माथि तल्लामा जान्थे ।

केही दिनअघि गीत रेकर्डिङ गर्ने क्रममा स्टुडियोमा प्रमोद खरेल

वृद्ध बुवाआमालाई संक्रमण होला भनेर पत्नीको भाइ उमेश सिटौला तेस्रो दिन उनको हेरचाह गर्न आइपुगे । होटल म्यानेजमेन्ट अध्ययनरत उमेश खान पकाउनमा माहिर । बिरामीलाई दिनुपर्ने पौष्टिक आहार सबै जानेका । 'उपयुक्त खानेकुराहरु बनाएर खुवायो उमेशले । उसले धेरै नै हेरविचार गरिदियो । थकान, कमजोर हुँदा खानेकुरा मिलाएर खुवायो,' आइसोलेसनका खान्कीबारे सुनाए,'कुखुरा र खसीको सुप मैले बढी पिएँ । च्याउको सुप पनि । दाल एकदम मनपर्छ, दाल खाएँ । धेरै त झोल पदार्थ खाएँ ।'

त्यो चौथो रात…

आइसोलेसनको चौथौ दिन श्वास फेर्न निकै समस्या भयो । 'यता फर्कन्छु सास फेर्न गाह्रो हुन्छ । उता फर्कन्छु त्यस्तै,' बिर्सनै नसक्ने दिन सम्झे । श्वास फेर्न धेरै नै समस्या भएपछि बहिनीलाई फोन गरेर 'एम्बुलेन्स स्ट्याण्डबाई' राख्न भने । जसरी पनि एउटा बेड अस्पतालमा आफ्ना लागि तयार पार्न भने । 'फोन तेरो रिङमा राख जतिबेला पनि मेरो फोन आउन सक्छ भनें बहिनीलाई । बहिनीले उता डाक्टरसँग कुरा गरिछन् । गाह्रो भयो भने अस्पताल आउन भनिन्,' आफूलाई गाह्रो हुँदाको दिन सम्झे,'कोठामा एक्लै थिएँ । थाहा थियो मलाई कसैले अस्पताल पुर्‍याउन सक्दैन भनेर । उमेशलाई भन्ने अवस्था थिएन ।'

श्वास फेर्न धेरै नै समस्या भएपछि आईसीयू सम्झे । प्लाज्माथेरापी पो आवश्यक पर्ला कि ! मन धेरैतिर डुल्यो । दिमागमा कतै मर्छु कि भन्ने लाग्यो । आमा बुवालाई केही भनेनन् । सास फेर्न संघर्ष गरिरहेकै बेला ध्यान अर्कोतिर तानियो । 'बाहिर कसैलाई थाहा दिएको थिएन । सामाजिक सञ्जालमा कतै भनेको थिएन । धेरै गाह्रो भयो भने जानकारी गराउनुपर्छ भन्ने पनि भएको थियो,'उनले भने ।

'श्वास फेर्न सक्छु' भन्ने हिम्मत राखेर आँखा बन्द गरे । यस्तै छटपटीबीच निन्द्रा परेछ, २ बजे ब्युझिँदा मात्र चाल पाए । असहज अनुभव हुँदाहुँदै त्यो रात बल्ल कट्यो ।

भोलिपल्ट डाक्टर अमृत पोख्रेल उनलाई भेट्न निवासमै आइपुगे । सोझै आइसोलेसनमा बस्दै गरेको कोठाभित्र पसे । तपाईं बाहिरै बस्नुस् भनेर प्रमोदले आग्रह गर्दा अम्रितले भनेका थिए 'कोरोना त त्यसरी सर्ने नै होइन नि । तपाईं मेरो नजिक आएर खोक्नु भयो, मैले मेरो हात त्यतिकै नाक र मुखमा लगें भने पो सर्छ ।'

बन्द कोठामा पाँच दिनपछि कसैलाई देख्दा थप ऊर्जा मिल्ने नै भयो । अमृतले उनको प्रेसर नापे । आधा घण्टा परामर्श दिए । प्रोत्साहन गरे । 'यति सकारात्मक बनाइदिनु भयो कि बेलुकी ज्वरो आएन । टाउको दुख्न कम भयो । मन चंगा भयो,' उनी सुनाउँछन्, 'म बिरामी भएँ । मर्छु कि भन्ने मनोवैज्ञानिक तनावले पनि बिरामी भइँदो रहेछ । तर उहाँले मलाई मनोवैज्ञानिक रुपले परामर्श दिनुभयो । उहाँले मलाई भेटेर जानु भएपछि मलाई त केही हुँदैन रहेछ भन्ने अनुभव भयो ।'

डाक्टर अमृतसँग भेटेपछि उनले सकारात्मक सोच्न थाले । बिस्तारै ज्वरो कम हुँदै गयो । ८ औं दिनबाट आफू निको हुँदै गएको अनुभव गरे । खोकीले छोडेको थिएन । ९ औं दिनमा बार्दलीबाट बाहिरको दृश्य नियाल्दै थिए, उनको आँखा आफ्नो गाडीमा पुग्यो । त्यहाँ छोरा बिप्रभ ढल्केर बसेका थिए । छोराले परिवारलाई सम्झेर गाडी छेउ न्यास्रो अनुहार पारेको देखेपछि प्रमोदको मन कटक्क खायो । 'आमा पनि देखेन, मलाई पनि देखेन । गाडी मात्र यहाँ छ भन्ने सोच्दो हो । एकदमै नरमाइलो लाग्यो त्यो देखेर । मैले उसलाई आवाज दिएँ । मलाई देखेर उ रोयो,' आइसोलेसनका तीता क्षण सम्झिन्छन्,'बुवाले उसलाई लिएर जानुभो' । म तल उ रोएको सुन्थे । न उसलाई फकाउन जान सक्थें न भेट्न जान सकिन्छ । एकदमै टाढा भएको अनुभव भयो ।'

कोरोना संक्रमण भएर आफ्नो सन्तानबाट टाढिने अभिभावकलाई यसको खास अनुभव हुने उनी बताउँछन् । उनले त्यो नरमाइलो क्षणलाई सानो डायरीमा टिपेका पनि छन् । भोलिपल्टै उमेशसँग उनलाई झापा पठाइदिएँ ।

दिन काट्न उनले गितार बजाउन खोज्थे । तर, मुड आउँथेन । फोनमा कसैले ‍बोल्यो भने पनि झर्को लाग्ने । आइसोलेसनमा बस्दा धेरैको फोन उनले उठाएनन् । मेसेन्जरमा आएका म्यासेजको प्रतिक्रिया सामान्य बनेर दिन्थे । आइसोलेसनमा उनले आईपीएल हेर्न कहिल्यै छुटाएनन् । उनी क्रिकेटका क्रेजी फ्यान । टिभीमा हेर्न गाह्रो हुँदा मोबाइलमै पनि आईपीएल हेर्थे । दुईवटा खेल हुँदा त रातको ११ बजेसम्म हेर्थे । आँखा दुखे पनि सहन्थे । आइसोलेसनको १४ दिनसम्म पनि उनले क्रिकेट हेरेर समय काटे । बाहिर निस्कने खुबै मन हुन्थ्यो । तर आफूलाई सम्हाले । दिन गन्दै बसेका क्षण अझै पनि सम्झन्छन् उनी ।

'मलाई पाँच दिन एकदम गाह्रो हुन्छ भनिएको थियो । मलाई पाँच दिन कटाउन पाए कस्तो हुन्छ भन्ने थियो । सात दिन अझै जोखिम हुन्छ भन्थे । कहिले सात दिन कट्ला भन्ने भयो । ८ औं दिनबाट फ्रेस हुन्छ भन्ने पनि सुनेको थिएँ । ८ दिन कट्दा ओहो ! ८ दिन कट्यो,' दिन गन्दै बस्दाको क्षण सम्झिए उनले,'ओहो ! १० दिन कट्यो । अब त सर्दैन रे । १४ औं दिनमा त वाह !आज १४ दिन भनेर बिहानै ब्युउँझें ।'

अरुबेला ६ बजे ब्युँझने उनको त्यस दिन पाँच बजे उठे । १४ दिनपछि कोरोना सर्दैन भनिन्छ । उनले त्यसदिन मज्जाले कोठा सफा गरे । स्यानिटाइजर छरे । प्रयोग गरेका सामानहरु छतमा लगे । १ घण्टा लगाएर सरसफाइ गरे । थाकेनन्, निको भएँ भन्ने ऊर्जा थियो । नुहाएर भान्सामा पहिलो पटक आमाबुवासँग सँगै बसेर खाना खाए । तर मनमा कोरोना सर्छ कि! भन्ने डर थियो । 'मनमा डर कायमै थियो । सर्‍यो भने तनाव हुन्छ भनेर भान्सामा पनि पर दूरी बनाएर खाना खाएँ । १४ दिनपछि भाइरस सर्ने सम्भावना कम छ भन्नुभएको थियो,' उनले भने ।

उनले कोरोनाबारे सम्पर्कमा आएका केही साथिलाई बाहेक अरुलाई भनेका थिएनन् । संगीतकार र रेकर्डिस्टहरुलाई १/२ दिन भन्दै रेकर्डिङको मिति पछाडि धकेल्दै आइसोलेसनमा बसेका थिए । १५ औं दिनमा भने रेकर्डिङ राखे । शरीर कमजोर भए पनि 'रेकर्डिङ गर्छु' भन्ने उनलाई लागेको थियो । काम गरियो भने आत्मबल बढ्छ भन्ने भयो । रेकर्डिङ राम्रै भयो । कोरोना नतिजा नआइ रेकर्डिङ गर्दै हिँडेकामा कतिलाई चित्त नबुझ्न सक्छ भनेर उनले परीक्षण गराए । फूलपातीको दिन उनको नतिजा नेगिटिभ आयो । टीकाको दिन पत्नी लिन झापा हिँडे प्रमोद । अहिले उनी काममा फर्किसकेका छन् ।

दशैंका बेला झापाको पृथ्वीनगरस्थित आफूले एसएलसी दिएको विद्यालय अगाडि प्रमोद खरेल

धेरैलाई प्रमोद कोरोना संक्रमित भएर निको भएको थाहै छैन । यसबारे उनले खासै सार्वजनिक गरेनन् । किन उनले यो कुरा गोप्य राखे त ?

'पाँच महिना अगाडि नानी जन्मँदा एकदमै पीडा भयो । जन्मेको २ मिनटमै एनआईसीयूमा राखेर बचाए बच्चालाई । नानीलाई घर फिर्ता ल्याएको १० दिनपछि पत्नीलाई स्ट्रोक भयो । १२ बजे राति अस्पताल लगेर उसलाई पनि बचाएको हो,' उनले भने, 'उनीहरुको बारेमा मैले मिडियामा पनि बोलें । यत्ति धेरै नमिठा क्षण बाँडिसकें मेरो फ्यान, दर्शक र शुभचिन्तकसँग । अब मैले मेरो पनि दु:ख कत्ति देखाउने भन्ने भयो । धेरै दु:ख नदेखाउँ होला । पहिला मै निको हुन्छु । डटेर सामना गर्छु । बरु निको भएर भन्छु भन्ने विचार आयो ।'

प्रमोद अहिले झनै सचेत भएर काम गर्छन् । अझै मनमा संक्रमण हुने डर छ । उनी सबैलाई सचेत रहन आग्रह गर्छन् । सामान्य ज्वरो भन्दै लापर्बाही नगर्न पनि अनुरोध गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार गराउन सकून् भन्ने प्रार्थना गर्छन् उनी, 'आर्थिक स्थिति कमजोर हुनेहरुलाई एकदम गाह्रो छ अहिले । यति धरौटी भएन भने भर्ना लिँदैनौं भन्ने समाचार पढ्छौं हामी । त्यो भनेको त एकदमै दु:खदायी कुरा हो । त्यस्तो नहोस् । अरु रोग लाग्दा त औषधि छ, उपचार हुन्छ । बिरामीलाई गाह्रो भएर अस्पताल पुग्दा उसको उपचार हुनुपर्छ । पैसा नभएर कसैले मर्न नपरोस् ।'

सबै तस्बिर : प्रमोद खरेलको फेसबुकबाट

प्रकाशित : कार्तिक २७, २०७७ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×