'धुम्बाराहीका सोफामा झार उम्रिँदा पार्टी बलियो हुँदैन'- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'धुम्बाराहीका सोफामा झार उम्रिँदा पार्टी बलियो हुँदैन'

जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको विवाद दिनदिनै बढ्दो छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल पक्षबीच स्थायी कमिटीका निर्णय कार्यान्वयन, सरकारका कामकारबाही, कर्णाली प्रदेश सरकारको विवाद, प्रधानमन्त्री र भारतीय खुफिया एजेन्सी रअका प्रमुखबीचको भेटलगायत विषयमा विवाद बढ्दै गएको हो । 

यो विवादमा अध्यक्ष दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाललगायतले साथ दिइरहेका छन् । अध्यक्ष ओलीसमक्ष दाहाल-नेपाल पक्षले विवादित विषयमा छलफल गर्नकै लागि सचिवालय बैठक बोलाउन आग्रह गरिरहेको छ । ओलीले भने बैठक नबोलाउने अडान राख्दै आएका छन् ।

नेकपाको शीर्ष तहमा जारी यी क्रियाकलापलाई दोस्रो तहका नेताहरूले कसरी हेरिरहेका छन् ? विवाद समाधानका उपाय के हुन सक्छन् ? यिनै विषयमा नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टसँग इकान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :

नेकपाको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेर पार्टी विभाजन–उन्मुख अवस्थामा देखिन्छ । यस्तो किन भइरहेको हो ?

अन्तर्राष्ट्रिय वा देशभित्रको अभ्यासलाई हेर्ने हो भने कम्युनिस्ट पार्टी निश्चित सिद्धान्त, विधि र विचारबाट परिचालित हुने हो । यसका देश र जनताप्रति निश्चित जिम्मेवारी र कर्तव्यहरू छन् । देश–जनताप्रतिका जिम्मेवारी, वाचा र कर्तव्य पूरा गर्ने समन्दर्भमा एकताबद्ध भई विचार र विधिलाई टेकेर पार्टी सञ्चालन गर्नुपर्ने र सरकारलाई जनताका अपेक्षा पूरा गर्ने गरी पार्टीको मार्गनिर्देशनमा सञ्चालित गर्नुपर्ने आवश्यकता छ । तर, कहीँ न कहीँ हामीले विचार र विधिलाई लत्याउँदा पार्टी एकता संकटमा पर्ने अवस्था देखा परेको छ । यसमा सीमित नेता मिल्दा मिलेजस्तो देखिने र सीमित नेताका बीचमा टकराव भयो वा इगो देखा पर्‍यो, मतभेद भयो भने पनि पार्टी आन्दोलन संकटमा पर्ने अवस्था देखा परेको छ ।

अन्तर्विरोध वा पार्टीका समस्या समाधान गर्दा हामीले आत्मसात् गर्नुपर्ने पक्ष भनेको पार्टीलाई विचार र विधिमा आधारित भएर चालउनु हो । सरकारलाई पार्टीले निर्वाचनको बेलामा जे घोषणा गरेको छ त्यसअनुरुप सञ्चालन गर्नमा ध्यान दिनु हो । यसो भयो भने नेताहरूबीचको व्यक्तिगत अन्तर्विरोध, व्यक्तित्वको बीचमा देखापर्ने टकराव र इगोको समाधान खोज्न सकिन्छ । यहाँनेर भन्नैपर्ने कुरा के भने नेकपा विभाजनको कल्पना पनि गर्न सकिँदैन । कसैले प्रयत्न गर्‍यो भने पनि विभाजनको औचित्य कुनै पक्षबाट पुष्टि हुन सक्दैन । विभाजनका लागि कसैले तयारी गरिरहेको छ, तलतल गुटबन्दी गरिरहेको छ भने कार्यकर्ता र जनताबाट क्षम्य हुँदैन । विभाजन गर्न खोज्नेलाई कार्यकर्ता र जनताले क्षमा दिँदैनन् । कुनै पनि सर्त र मूल्यमा पार्टीभित्र हुर्किएका गलत संस्कार र प्रवृत्तिलाई सच्याएर पार्टी र सरकारलाई ठिक ढंगले सञ्चालन गर्नु आजको आवश्यकता हो ।देशभन्दा पार्टी ठूलो, पार्टीभन्दा गुट ठूलो, गुटभित्र पनि उपगुट र मन परेकाहरूको बीचमा रमाउने प्रवृत्तिको अन्त्य गरी योग्यता, क्षमताका आधारमा पार्टीभित्रका सबै मनोविज्ञान समेट्दै योग्यता, क्षमता र योगदानका आधारमा व्यक्तिहरूको मूल्यांकन गर्ने, जिम्मेवारी दिने र जिम्मेवारी पुरा गरे नगरेको परिणामका आधारमा थप जिम्मेवारीको व्यवस्थापन गर्ने प्रणाली जबसम्म स्थपित हुँदैन पार्टीभित्र भद्रगोल हुने कुरा अश्वाभाविक होइन ।

यसकाे समाधान के हुन सक्ला ?

दुई अध्यक्षहरूको हस्ताक्षरबाट पार्टी एकीकरण भएको थियो । त्यस बेला दुई प्रमुख नेताहरूको निर्णय नै सबै ठाउँमा मान्य हुने जुन प्रकारको अवस्था देखा पर्‍यो समस्याको बीजारोपण त्यहीँबाट गरियो ।

कम्युनिस्ट पार्टी भनेको त संगठन प्रणालीका आधारमा चल्नुपर्थ्यो । यसका आफ्ना निश्चित प्रणाली, पद्धति छन् । सामूहिकतामा विश्वास गर्नुपर्दछ । कमिटी प्रणालीमा नचल्ने, सामूहिकतामा विश्वास नगर्ने कम्युनिस्ट पार्टीमा अहिले यस्तो अवस्था पैदा भयो कि दुई-चारजना नेता मिल्दा पार्टी मिल्याजस्तो देखिने । दुई-चार जना नेताका स्वार्थको बीचमा टकराव भयो भने पार्टी र आन्दोलन नै अस्तव्यवस्त हुने ! यी गलत प्रवृत्ति देखा परेका छन् । यसलाई सच्याउन कम्युनिस्ट आन्दोलनले हुर्काएका राम्रा परम्परालाई अनुसरण गर्नुपर्दछ। नेतृत्वले सामूहिकतामा विश्वास राख्नुपर्दछ । विधि, पद्धतिमा टेकेर अगाडि बढ्ने कुरामा नेताहरू गम्भीर हुनुपर्छ । थाहै नपाई अन्तर्विरोध मिल्छ, के कारणले मिल्यो थाहै हुँदेन । बेलुका सबै ठीकठाक छ, बिहान उठ्दा अन्तर्विरोध देखापर्छ, त्यो पनि के कारणले भएको हो थाहा हुँदैन । देश र जनताको हितलाई अगाडि बढाउने सन्दर्भमा कहीँ अन्तर्विरोध देखा पर्‍यो भने बाहिर ल्याउनुपर्‍यो । होइन भने नेताबीचका व्यक्तिगत स्वार्थ वा टकरावले पार्टी संकटमा पर्ने अवस्था रहनु हुँदैन । यसको उपचार भनेको पार्टी र सरकारलाई विधि, पद्धतिबाट चलाउने कुरा नै हो । तर, पार्टी कमिटी निष्क्रिय, कार्यकर्ता काम नपाएर बेरोजगार र धुम्बाराहीका सोफाहरूमा झार उम्रिने अवस्था आउँदा पार्टी र आन्दोलन बलियो हुन सक्दैन ।

शीर्ष नेताहरूको मनमुटावले कमिटीका औपचारिक बैठक नै आह्वान हुन नसक्ने अवस्था देखिन्छ नि ?

नेताहरूका बीचमा जति संवाद सघन भयो त्यति सहज रूपमा अन्तर्विरोध समाधान हुने सम्भावना बढ्छ । यस कारण संवादलाई हरेक नेताले सघन बनाउनै पर्छ । पहिलोपटक यस्तो ठूलो जनमत प्राप्त गर्ने कम्युनिस्ट पार्टीले जिम्मेवारी पूरा गर्नबाट चुकेर संवादहीनताको अवस्था ल्याउन हुँदैन । यस कारण संवाद त अगाडि बढाउनुपर्छ । समस्याको समाधान गर्ने सन्दर्भमा जहाँजहाँबाट जुन मात्रामा कमजोरी रहेका छन् तिनलाई सच्याएर अगाडि बढ्नुपर्छ । फेरि पनि अमूक नेताहरू मिल्दा मिलेजस्तो हुने, अमूक नेताहरूको बीचमा मनमुटाव हुँदा पार्टी र आन्दोलनमा संकट पैदा हुने कुरा नै बेठिक हो । एकातिर नेताहरूमा परस्पर विश्वासको संकट छ, अर्कोतिर आत्माकेन्द्रित र व्यक्तिकेन्द्रित प्रवृत्ति देखा परेको छ । जबसम्म देश र जनताको हितलाई शिरमा राखेर समस्या समाधानका लागि प्रयत्न गर्ने, छलफल गर्ने, पार्टी र सरकार सञ्चालन गर्ने कुरामा केन्द्रित हुँदैनौं तबसम्म यस्ता कुराहरू दोहोरिने अवस्था रहन्छन् ।

नेकपा र नेकपा नेतृत्वको सरकारले देश र जनताको हितमा काम गरिरहेको छैन भन्न खोज्नुभएको हो ?

नेकपा निर्माण गर्दा हामीले देश र जनताप्रति केही प्रतिबद्धता गरेका थियौं । बिनालक्ष्य, उद्देश्य पार्टी निर्माण गरेका होइनौं । बहुमत प्राप्त गर्नका लागि पनि पार्टीले जनतामाझ वाचा गरेको छ । ती वाचा पूरा गर्न पार्टी र सरकारले इमानदारीसाथ काम गर्नुपर्छ । जनतामाझ गरेका वाचा पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । अहिलेका कमजोरीहरूलाई सच्याएर नयाँ ढंगले, नयाँ उचाइबाट जनतामा आशा जगाउने, जनताका अपेक्षा पूरा गर्ने र कार्यकर्तामा एकता पैदा गराउने हिसाबले हामी अगाडि बढ्नुपर्छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी सिद्धान्तका रूपमा तत्कालीन एमालेको विचारधारा जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा लाग्न निर्देशन दिएपछिको अवस्थालाई कसरी लिनुभएको छ ?

तत्कालीन एमाले र माओवादीका बीच विचारधारामा जहाँनिर अन्तर थियो त्यसमा एक रुपता नहुँदै पार्टी एकता सम्पन्न भयो । पूर्वएमालेले आत्मसात् गरेको विचार र पूर्वमाओवादीले आत्मसात् गरेको विचारको बहस आउँदो महाधिवेशनमा गर्ने र महाधिवेशनले निरुपण गर्ने गरी त्यसलाई थाती राखेर पार्टी एकता भएको हो । अन्तर्विरोधका र टुंगिन बाँकी रहेका विषय महाधिवेशनमा छलफल गरेर अगाडि बढ्नुपर्छ । यसबीच ती कुराहरूलाई विवादको विषय बनाउनु उपयुक्त हुँदैन । कम्युनिस्ट पार्टी र आन्दोलनलाई बलियो बनाउन पार्टी प्रणाली र कमिटीका संस्थागत फैसलाका आधारमा चल्नुपर्छ । आउँदो महाधिवेशनसम्म टुंगो लाग्न बाँकी रहेका विषयलाई थाती राखेर देश र जनताप्रतिका प्रतिबद्धतामा ध्यान दिन जरुरी छ ।

अर्कोतिर, अहिले पनि पार्टीभित्र बेग्लाबेग्लै खालका मनोविज्ञान छन् । पूर्वएमालेभित्र हामी महाधिवेशनमा फरक प्यानल बनाएर निर्वाचनको अभ्यास गरेकाको मनोविज्ञान छ । पूर्वएमाले र पूर्वमाओवादी एकताअगाडि बेग्लाबेग्लै अभ्यासद्वारा एकीकरणमा आएका छन् । यो सबै कुरालाई ध्यानमा राखेर फरक मनोविज्ञानलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । को पात्र कति बेला कुन पदमा पुग्छ वा पुग्दैन भन्नुभन्दा पनि फरक मनोविज्ञानलाई समेटेर सन्तुलन कायम गर्नुपर्ने आवश्यकता छ । अहिले सन्तुलन बिगारिरहेका छौँ । यसले पनि कतिपय अवस्थामा समस्या उत्पन्न भएका छन् । हामीले सावधानी अपनाएनौं भने कसैले कल्पना नगरेको दुःखदायी संकट आउन सक्छ । आग्रह र पूर्वाग्रहभन्दा माथि रहेर कमिटीका बैठकहरूमा समस्यामाथि गम्भीरताका साथ छलफल गरौं । कमी कहाँ छ र सम्बोधन गर्नुपर्ने आवश्यकता के हो भन्ने बारे छलफल गर्‍यौं भने समाधान मिल्छ । पार्टीलाई बलियो बनाउन सकिन्छ । हामी यसमै चुकेका छौं । समस्या आयो भने अँध्यारो कोठामा बसेर दुई-चार जना नेताहरूबीचको छलफलबाट समाधान खोज्न थाल्छौं । फेरि पनि हामीले कमिटीका सोचहरूलाई, संस्थागत निर्णयहरूलाई त्यति धेरै विश्वास गर्दैनौं । यसकारण पनि समस्या समाधान गर्ने थलो भनेको कमिटी नै हो ।

पार्टीलाई एक ढिक्का बनाएर लैजानेभन्दा पनि अध्यक्षद्वय र वरिष्ठ नेताका क्रियाकलाप आ-आफ्नै किसिमले अगाडि बढिरहेको देखिन्छ नि ?

पार्टीलाई अमूक नेताहरूको चाहनामा मात्रै अगाडि बढाउने जुन प्रवृत्ति देखा परेको छ यसबाट मुक्त गरेर कमिटी प्रणालीका आधारमा अगाडि बढ्न जरुरी छ । यसरी नै समस्याको समाधान हुन्छ । त्यसो भएन भने यो आन्दोलनभित्र धेरै चुलाहरू बल्ने सम्भावना देखिन्छ ।

कुनै एकाध व्यक्तिले निर्माण गरेको यो पार्टी होइन भन्ने कुरा सबैले बुझ्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा लाखौं कार्यकर्ताहरूको महत्त्वपूर्ण योगदान छ । लाखौं जनताको सहयोग र समर्थनले हामी यहाँ आइपुगेका छौं । हामीले के बिर्सिन हुँदैन भने अहिले पदमा नरहेका कतिपय नेता-कार्यकर्तालले पनि कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । हजारौं कार्यकर्ताहरूको त्याग र बलिदानीले हामी यो ठाउँमा आइपुगेका छौँ । व्यक्तिगत स्वार्थलाई भन्दा पार्टी र देशको स्वार्थलाई माथि राख्ने इमानदार कार्यकर्ता हुँदैनथिए भने हाम्रो आन्दोलन यहाँसम्म पुग्ने थिएन । बाहिरबाट हेर्ने र हामीलाई नै पनि हामी पदमा बसेका मान्छे नै सबै चिज हौं भन्ने महसुस हुनसक्छ । हामी नै दुनियाँका योग्य व्यक्ति हौं, हाम्रै कारणले अहिले यहाँ पुगेका हौँ भन्ने लाग्न सक्छ । म स्थायी कमिटीमा छु र बेलाबेला राजकीय जिम्मेवारी पाएको छु, मलाई पनि त्यस्तो भ्रम हुन सक्छ । पार्टीमा निष्ठाका साथ लागेर आफ्ना सम्पूर्ण चाहना बलिदानी गरेर योगदान गर्ने हजारौं कार्यकर्ताहरूको योगदानमा उपलब्धि मिलेको हो । विधि र मान्यतालाई आत्मसात् गरेनन् भने जुनसुकै पार्टीको पनि अस्तित्व जोगिन गाह्रो हुन्छ ।

सरकार गठनदेखि पटक-पटक मन्त्री परिवर्तन हुँदा स्थिरताको अनुभूति भएन भन्ने कुरा उठ्न थालेको छ । एकल बहुमत रहेको नेकपाले चुनावमा वाचा गरेअनुसार जनमत प्राप्त गर्दा पनि स्थिरता दिन सकेन भनिन्छ नि ?

मन्त्री फेरिने, नफेरिने कुरातिर म जान्नँ । पूर्वमन्त्री भएकाले पनि मन्त्री फेरिने कुरा गर्न शोभनीय हुँदैन । मुख्य कुरा के हो भने सरकारलाई निर्वाचन घोषणापत्रका आधारमा परिचालन गर्नुपर्छ । नेकपाको निर्वाचन घोषणापत्रमा जे उल्लेख गरेका छौं र जनतामाझ जे वाचा गरेका छौं, त्यसलाई पूरा गर्नका लागि इमानदार प्रयत्न गर्नुपर्छ । त्यो भयो कि भएन वा कति गर्नुपर्छ भन्ने समीक्षा गर्नका लागि पार्टी कमिटी बैठकहरू नै आवश्यक पर्छन् । अर्को निर्वाचन आउन दुई वर्ष बाँकी छ । हामीले सच्याउनुपर्ने के हो ? कहाँनेर कमी भयो भन्ने समीक्षा गर्न समय छ । तर, यतातर्फ हाम्रो ध्यान अलि कम गएको छ ।

पार्टी शीर्ष नेतृत्वमा यति धेरै विवाद हुँदासमेत दोस्रो तहका नेताहरूले एकताका लागि हस्तक्षेपकारी भूमिका नखेलेको भन्ने आवाज पनि सुनिन्छ नि ?

हामीले पहिलो पुस्ताका नेताहरूलाई विधिमा ल्याउने हो । पार्टीलाई पार्टीजस्तो बनाउने हरेक कुरालाई कमिटीमा छलफल गरेर, निष्कर्षमा पुर्‍याएर व्यवहारमा उतार्ने गरी जुन ढंगले हामी दोस्रो तहका भनिएका व्यक्तिहरूबाट दबाब र प्रभाव हुनुपर्ने हो, त्यसमा कमी देखिन्छ । हामीले फरक ढंगले भूमिका निर्वाह गर्न जरुरी छ ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको दाबी गर्दै आउनुभएको छ । उहाँले भन्नुभएजस्तै स्थिति हाे र ?

यसबारे मलाई कुनै सूचना छैन । यसरी शीर्ष तहबाटै विषयवस्तुहरूलाई संवेदनशील बनाउने अभिव्यक्ति किन आइरहेका छन्, थाहा छैन । नेकपाको नेतृत्वबाट जनताले संविधानको कार्यान्वयनमार्फत जीवनमा रुपान्तरण खोजिरहेका छन् । जुन ढंगले पार्टीभित्र र राजनीतिमा द्वन्द्व देखा परेको छ, जनताका अपेक्षा पूरा गर्न नसकेको अवस्था छ, यसले जनतामा निराशा पैदा हुने खतरा बढेको छ । राजनीतिले आशा जगाउनुपर्छ, सपना देखाउनुपर्छ र समाज रुपान्तरणको अगुवाइ गर्नुपर्छ तर परिस्थिति जनतालाई निराश बनाउने गरी अगाडि बढेको छ । यो देश, जनता र कम्युनिस्ट आन्दोलनका लागि दुःखदायी कुरा हो । हामीले जनताप्रति जवाफदेही भएर पार्टी र सरकार सञ्चालन गर्न सकेनौं भने दुनियाँका धेरै मुलुकका कम्युनिस्ट आन्दोलनमा देखा परेका दुर्भाग्यपूर्ण संकट नेपालमा नदोहोरिएला भन्न सकिन्न ।

प्रकाशित : कार्तिक २३, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटारमा ओली–नेपाल छलफलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद गरेका छन् । वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री ओलीले संवादका लागि बालुवाटार बोलाएका र उनीहरुबीच छलफल भइरहेको छ ।

छलफलमा नेपालले आफुनिकट मानिने नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि लिएर गएका छन् ।

बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै शनिबार बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए ।

शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । त्यसको अर्कोदिन ओलीले छलफलका लागि बोलाएको नेपालनिकट एक नेताले बताए ।

यस अघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन् ।

पार्टीभित्र अल्पमतको सामना गरिरहेका अ‍ोलीले ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन् ।

त्यसअगाडि साउन ९ मा पनि प्रधानमन्त्री ओलीले नेता नेपालसँग छलफल गरेका थिए । पार्टीभित्र आफुमाथि दबाब बढ्दा ओलीले वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै पनि भेट गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्:

प्रकाशित : कार्तिक २३, २०७७ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×