कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मैले मन्त्रिपरिषद्‍मा गएर गर्ने काम सबभन्दा महत्त्वपूर्ण’

‘५ हजार भोट बदर नभएको भए त म सोझै आउने थिएँ । खासमा त्यो चुनाव मैले हारेको हैन ।’
बिनु सुवेदी

काठमाडौँ — फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्ने बताएसँगै केही दिनमा वामदेव गौतमले राष्ट्रिय सभाको यात्रा गर्ने निश्चित भएको छ ।२०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् ।

‘मैले मन्त्रिपरिषद्‍मा गएर गर्ने काम सबभन्दा महत्त्वपूर्ण’

निर्वाचन हारे पनि सांसद र मन्त्री बन्ने नेपाली राजनीतिभित्र वर्षौंदेखि हुर्किइरहेको विकृतिको शृंखलामा फेरि नयाँ अध्याय थपिन लागेको हो । यसै सन्दर्भमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतमसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

अन्ततः तपाईं संसद्‍मा जाने निर्णय भयो, यो निर्णयलाई कसरी लिनुभएको छ ?

आगामी दिनमा मैले गर्ने कामबाट यो निर्णय कति उपयुक्त थियो भन्ने सावित हुन्छ । राष्ट्रिय सभामा मनोनयन गर्ने सर्वसम्मत निर्णय पार्टीले गत फागुन १४ गते गरेको थियो, त्यो निर्णय कार्यान्वयन गर्नुपर्छ भनेर हामीले ६ महिनादेखि प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भनेका थियौं । विभिन्न कारणले त्यो लम्बिएर गयो । आज निर्णय भएको छ । यो कति महत्त्वपूर्ण छ भनेर मैले कामबाट देखाउनुपर्छ ।

भविष्यमा देखाउने काम के हुन्छ ?

के हुन्छ भन्ने त प्रधानमन्त्रीले बुझ्ने कुरा हुन्छ ।

तपाईंको योजना पनि त छ होला नि ?

राष्ट्रिय सभामा मात्रै सदस्य भएर बसेँ भने मेरो खासै त्यति ठूलो भूमिका हुँदैन । राष्ट्रिय सभा सदस्य भइसकेपछि मन्त्रिपरिषद्मा गएर मैले गर्ने कामहरू नै सबभन्दा महत्त्वपूर्ण हुन्छन् । त्यसमा मैले के अवसर पाउँछु, मैले कति राम्रो काम गर्न सक्छु, त्यसले हाम्रो देशको समस्या समाधान गर्न कति महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने सम्बन्धमा त्यसबेला नै भन्न सकिन्छ ।

भन्नाले अबको बाटो भनेको सरकारमा जाने नै हो ?

अहिले नै भन्न सकिन्न । सरकारमा जाने–नजाने भन्ने त प्रधानमन्त्रीकै विषय हुन्छ ।

प्रधानमन्त्रीसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्नुभएको छ ?

अहिलेसम्म छैन ।

प्रतिनिधिसभामा पराजित भएपछि ५ वर्ष पनि कुर्न नसकेर तपाईं र तपाईंको पार्टी नेकपाले जनमतको कदर नगरेको टिप्पणी भइरहेको छ नि ?

मैले बर्दियामा ४४ हजार ६९ मत प्राप्त गरेँ तर मेरो नाममा परेको ५ हजार भोट बदर भयो । बदर नभएको भए त म सोझै आउने थिएँ । खासमा त्यो चुनाव मैले हारेको हैन । तर जुन प्रणाली अवलम्बन गरेका छौं, त्यसले गर्दा हारेको देखियो । हाम्रा मतदातालाई स्पष्ट पारेको भए ४९ हजार भोट ल्याएर मैले त्यतिखेरै जित्ने स्थिति हो । त्यहाँ हाम्रो कमजोरी भयो । विद्युतीय प्रणाली भएको भए म उतिखेरै प्रतिनिधिसभामा आइसक्थेँ । त्यसकारण परिबन्धले भनौं या प्राविधिक त्रुटिले म हारेको देखियो । अब हराउन जोसुकै लागे पनि हारेको हैन भन्ने मैले महसुस गरेको छु ।

तपाईंलाई उपाध्यक्ष बनाउन पनि नेकपाले विधान संशोधन गर्‍यो, अलि अघि प्रधानमन्त्री बनाउन भन्दै संविधान संशोधनको बहस नै चल्यो, अहिले राष्ट्रिय सभामा ल्यायो ? तपाईंको के गुणका कारण हो पार्टीले यति धेरै माया गरेको ?

मेरो भूमिका पार्टीले कहाँ देख्छ र कुन जिम्मेवारी पाउँदा मैले राम्रो भूमिका निभाउन सक्छु भन्ने हो । अब मेरो अगाडिको भूमिका के हुन्छ भन्ने पनि मैले जिम्मेवारी के पाउँछु भन्नेमा आधारित हुन्छ । प्रधानमन्त्रीले मेरो भूमिका कहाँ देख्नुहुन्छ, त्यहाँ उहाँले लैजानुभयो र जिम्मा दिनुभयो भने अनि म राष्ट्रिय सभामा गएर के भयो भन्ने कुरा त्यहाँ पुष्टि गर्छु । अब राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति त सकारात्मक भूमिका नै हुन्छ । तर राष्ट्रिय सभामा जाँदैमा सबकुछ हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रकाशित : भाद्र १९, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?