कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरका सीडीओ भन्छन्- 'निषेधाज्ञा उल्लंघन गरेर उच्छृङ्खल समूहले अराजकता निम्त्याए'

कर्फ्यु लगाउनु पर्ने अवस्था छैन 

काठमाडौँ — उपत्यकामा जारी निषधाज्ञा अवज्ञा गर्दै बिहीबार पुल्चोकमा जात्रा सञ्चालन गरिएपछि युवा समूह र सुरक्षाकर्मीबीच झडप भयो । झडपमा केही प्रदर्शनकारी र ४ प्रहरी घाइते भए ।

ललितपुरका सीडीओ भन्छन्- 'निषेधाज्ञा उल्लंघन गरेर उच्छृङ्खल समूहले अराजकता निम्त्याए'

एकातिर संक्रमण नियन्त्रणका लागि आममानिसलाई घरबाहिर निस्कन दिइएको छैन भने अर्कातिर रथ सञ्चालनका लागि भिड जम्मा हुँदा पनि प्रशासनले सुइको नपाउनु वा स‌ंयोजन हुन नसक्नु स्वयं प्रशासनकै लापबाही र हेलचेक्राइँ मानिएको छ । निषेधाज्ञाका बेला कसरी जात्रा सञ्चालन गर्ने समूह जम्मा भए ? प्रशासन र प्रहरीले किन बेलैमा जानकारी पाएन ? यसै सन्दर्भमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसँग कान्तिपुरकर्मी मातृका दाहालले गरेको संक्षिप्त कुराकानी :

प्रशासनको आदेश विपरित जात्रामा यतिधेरै भिड कसरी जम्मा भयो ?

उपत्यकाका तीनवटै प्रशासनले कोरोना महामारी विरुद्ध भदौ ३ गतेबाटै निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बस्तु तथा सेवा र अनुमतिबाहेकका कुनै पनि कामकारबाही गर्न पाइँदैन । तर बिहीबार बिहानैबाट प्रशासनको आदेशविपरित उत्शृङखल समूह जम्मा भएर हाललाई स्थगन गरिएको रातो मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गर्ने तयारीमा जुटेका रहेछन् । यसमा स्थानीयको साथ र समर्थन थिएन । प्रहरीले थाहा पाउने बितिक्कै यसलाई रोक्यो । रोक्ने क्रममा झडपको स्थिति पनि आयो । प्रशासन यो घटनाप्रति संवेदनशील र सजग बनेको छ ।

सर्वसाधारणलाई हिँडडुल गर्न निषेध छ तर मानिस त धेरै नै जम्मा भए त ?

विगतमा जात्रा/महोत्सव आयोजना गर्दै आएका गुठी र स्थानीय समुदाय महामारीका कारण यसपटक स्थगनकै पक्षमा थिए । तर एउटा समूह नै सक्रिय भएको रहेछ । जो उपत्यकाका विभिन्न स्थानमा आन्दोलन र भिडभाड गरेर स्थितिलाई भड्काउन उद्दत छ । त्यस्ता गतिविधि नियन्त्रणमा लिन्छौं । खोकनामा होस् वा वालुवाटार क्षेत्र वा पुल्चोककमा जात्रा सञ्चालन, यही समूह सक्रिय भएको देखियो । त्यस्ता समूहका गतिविधि पूर्ण रुपमा निस्तेज पारिन्छ ।

ललितपुर महानगरका मेयर, ज्यापू समाजलगायतसँग के–के छलफल भयो ?

महामारीका बेला भिडभाड गर्ने पक्षमा उहाँहरु नै हुनुहुन्न । मेयरसाब आफैं जिल्ला कोभिड–संकट व्यवस्थापन केन्द्रको सदस्य हुनुहुन्छ । ज्यापु समाजका प्रतिनिधिहरु पनि यस घटनाप्रति दुःखी हुनुहुन्छ । अर्को कुरा जात्रा/महोत्सव, आन्दोलन वा विरोधका जुनसुकै गतिविधि गर्दा प्रशासन र प्रहरीलाई जानकारी गराइन्छ । तर मत्स्येन्द्रनाथको जात्रामा यस्तो कुनै सहमति लिने वा जानकारी गराउने केही भएन । यो त स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार लगाइएको निषेधाज्ञाको पनि उल्लंघन हो । निषेधित आदेशमा जात्रा/महोत्सव, भिडभाडलगायत कुनैपनि गतिविधि गर्न पाइदैन । गरेको खण्डमा दण्डको भागिदार हुनुपर्ने छ ।

निषेधाज्ञा पालना गर्न नसक्नु तपाईहरुको कमजोरी होइन ?

कमीकमजोरी को–कसको भयो भन्दा पनि हामीले स्थिति नियन्त्रणमा लिइसकेका छौं । जनस्वास्थ्यमा खलल पार्ने उत्शृङखल समूहका गतिविधि नियन्त्रणमा आइसकेको छ । यस्ता गतिविधि अब दोहोरिदैन । यसप्रति सचेत छौं ।

यो घटनापछि कर्फ्यु लगाइँदैछ भन्ने पनि सुनियो ?

अहिले यसै पनि निषेधाज्ञा छ । अत्यावश्यक कामबाहेक कोही पनि बाहिर घुमफिर गर्न पाउँदैनन् । यद्यपि कर्फ्यु स्थिति हेरेर लगाउन सकिने कुरा हो । अहिले नै यसमा जानुपर्ने अवस्था छैन ।

प्रकाशित : भाद्र १८, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?