कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अहिलेको नेतृत्वबाट कांग्रेस चल्दैन, परिवर्तन गर्नुपर्छ : केसी [भिडियोसहित]

कांग्रेसले जनतालाई पाँच बर्ष प्रतिपक्षमै बस्नका लागि मतादेश दिएका हुन । कहीं कतै सत्ताको माखेसाङ्लोमा रुमल्लिने, सौदाबाजी गर्ने काम भयो भने कांग्रेसका लागि त्यो आत्महत्या हुनेछ । 
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसमा महाधिवेशनको माहोल तातिँदै जान थालेको छ । बैचारिक पक्षभन्दा पनि अब आउने महाधिवेशनबाट पार्टीको सभापति को हुने भन्नेमा मुख्य संघर्ष चलेको छ । बाहिरबाट हेर्दा सभापति शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । भित्रभित्रै संस्थापन र इतरपक्षमै सभापतिको आकांक्षीहरु बढ्दै जान थालेका छन् ।

अहिलेको नेतृत्वबाट कांग्रेस चल्दैन, परिवर्तन गर्नुपर्छ : केसी [भिडियोसहित]

संस्थापन पक्षमा उपसभापति बिमलेन्द्र निधिले समेत देउवालाई चुनौती दिने गरी सभापति बन्ने इच्छा अघि बढाएका छन् । संस्थापन इतरपक्षमा आधा दर्जन बढीको आकांक्षा छ । पार्टीभित्रको यही रस्साकस्सी र नेतृत्वको होडबाजीको सेरोफेरोमा रहेर कांग्रेस नेता अर्जुननरसिंह केसीसंँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपानेले गरेको अन्तर्वार्ताको सम्पादित अंश ।

महाधिवेशनको माहोल तातिसकेको छ । अब तपाईहरुले तोकेकै मितिमा महाधिवेशन हुने अवस्थामा पुगेको हो ?

एकातिर कोरोनाको महामारी, बर्षादको समय, मंसिर–पुसको जाडोको बेला हिमाली क्षेत्रमा हुने प्रतिकुल अवस्था, यो सबैलाई हेरेरै आवश्यक परेमा फागुनको सट्टा चैत/बैशाखमा पुर्‍याउन सक्छौं भन्ने मेरो धारणा थियो । तर, जब निर्णय गर्छौ, त्यसलाई कार्यन्वयन गर्नुपर्छ । पछिल्लो कार्यतालिका पदाधिकारी बैठकमा निर्णय भएको र केन्द्रीय समितिको बैठकमा पनि सभापतिले तोकिएकै मिातिमा गर्नुपर्छ भनेर धेरैपटक भनिसकेपछि हामीले सर्वसम्मतिले स्वीकार गरेका छौं । अब मन, वचन र कर्मले तोकिएको मितिमा महाधिवेशन गराउनु पर्छ । निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले होस भनेर ध्यान केन्द्रित गर्न आवश्यक छ ।

तपाईंलाई कता–कता फागुनभित्र महाधिवेशन हुँदैन भन्ने अझै लागिरहेको हो ?

आशंका भएरै विकल्पमा जाउँ भनेर मैले भनेकै हो । तर, अफिसियल्ली नै फागुनमै हुन्छ भनिसकेपछि म विश्वस्त छु, हुनुपर्छ । निर्णय गरिसकेपछि अब बाहना खोज्न पाइन्नँ ।

तयारी कस्तो छ त ?

अहिले पनि धेरै कुरामा अलमल देख्छु । पार्टीकै संरचनाको समायोजन काम अझै १४/१५ जिल्लामा छ । क्रियाशील सदस्यताको कुरामा गम्भीररुपमा मतभेद छ । विभिन्न पार्टीबाट नेताहरु कांग्रेसमा प्रवेश गरे । प्रवेश गरेकै भरमा एउटाले भन्यो भने पाँच हजार, अर्कोले भन्यो भने दुई हजार क्रियाशील सदस्यता दिने बिषय, यस्तो हुनसक्दैन । राष्ट्रिय पहिचान बोकेका व्यक्तिहरु मध्ये सिमितलाई केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता दिइन्छ । अरु त विधानले तोकेको व्यवस्था अनुसार गाउँपालिका र वडा कार्यसमितिबाट आउने हो । अहिले पनि विधानले जे उल्लेख गरेको छ, त्यहीअनुसार हुनुपर्छ । व्यक्तिपिच्छे यति र उति संख्या दिने भन्ने कुरामा हामीलाई गम्भीर आपत्ति छ । यस्तै कारणले क्रियाशील सदस्यतामा विवाद बढ्ने हो । त्यसलाई निष्पक्ष र पारदर्शी रुपमा टुग्याउँनुपर्छ ।

भिडियाे कुराकानी :

तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहितको समूह भर्खरै कांग्रेस प्रवेश गरेको छ । यसलाई कसरी लिनु भएको छ ?

सुनिलजीको प्रवेशलाई हामीले सकारात्मक रुपमै लिएका छौं । कुनै पनि पार्टीका कोही पनि मान्छे कांग्रेसभित्र प्रवेश गर्ने कुरा जहिले पनि स्वागतयोग्य हुन्छ । उहाँको पिताजी सूर्यबहादुर थापा पञ्चायतभित्र उदार लोकतन्त्र पक्षलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । बहुदल आइसकेपछि त्यो पक्षलाई कांग्रेसले नै संयोजन गरेर लैजानुपर्ने हो । बाँकी कुनखालका स्वार्थ र सर्तहरु छन्, हामीलाई थाहा छैन । थाहा नै नदिइ जति पनि केन्द्रीय सदस्य र आमन्त्रित सदस्य राख्ने काम गलत छ । अहिले कुन मोडालिटीमा सुनिलजीहरुलाई प्रवेश गराउनु भएको हो थाहा छैन ।

बाहिर आएअनुसार सुनिल थापालाई सहमहामन्त्री दिने, पाँच जनालाई केन्द्रीय सदस्य र दुई जनालाई आमन्त्रित सदस्य दिने र बाँकीलाई महासमिति र महाधिवेशन प्रतिनिधिमा समेट्ने कुरा छ, यसप्रति तपाईको दृष्टिकोण के छ ?

पार्टीलाई विधिवत् ढंगले संचालन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जस्तो, विजयकुमार गच्छदारजीले पुरै पार्टीलाई मर्ज गराउनु भयो । त्यसका लागि एउटा मोडालिटी थियो । त्यो छुट्टै च्याप्टर हो । तर, त्यसपछि जसरी गरिएको छ, त्यो विधानविपरित छ । कांग्रेसको विधानमा कति उपसभापति हुने ? कति महामन्त्री हुने ? यी सबै चिजलाई हेर्नुपर्छ । कि त विधानका प्रावधानलाई निलम्बन गर्ने बाटोमा जानु पर्‍यो । नत्र एकपछि अर्को गर्दै विधानलाई मिच्द–मिच्दै जाने कुरामा जो भए पनि म मान्दिनँ । विजयीजीलाई उपसभापति बनाउँदा पनि म असन्तुष्ट थिएँ ।

अहिले के–के दिने भनिएको छ, हामीसँग सल्लाह भएको छैन । जे हुन्छ, विधिको शासन अन्तर्गत हुनुपर्छ । हामीले यत्रो ठूलो लोकतान्त्रिक आन्दोलन गर्‍यौं, राणासँग तिम्रो खड्का निशानले होइन, कानूनले देश चल्नुपर्छ भनेर लडाई गरौं, राजासँग पनि विधिले शासन चल्नुपर्छ भन्यौं । यत्रो ठूलो लडाईको यात्राबाट आएको पार्टी आफैंले बनाएको विधिलाई आफैंले पालना गरेन भने कति लोकतान्त्रिक हुन्छ ? कति हुँदैन हेर्नु पर्छ ।

कांग्रेसमा राप्रपा हुल्ने र पार्टीमै भएका पुराना नेतालाई कारबाही गरेर निष्कासन गर्ने काम गरियो भने पनि आलोचना भएको छ । यसले पार्टीकै पहिचान गुमाउने त होइन ?

त्यस्तो होइन । कांग्रेसले सबै शक्तिलाई संयोजन गरेर लैजान सक्नुपर्छ । त्यो शक्ति र क्षमता कांग्रेसमा छ । जहाँसम्म तीनजना साथीहरु (गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्ट) लाई ठ्याक्कै महाधिवेशनको मुखमा, महाधिवेशनको तिथी घोषणा भइसकेपछि कारबाही गरियो, यसबाट म दुखित छु ।

महाधिवेशनकै सन्दर्भ जोडौ, अबको महाधिवेशनमा कस्तोखालको नेतृत्वको चयन गर्ने दिशामा तपाईहरु हुनुहुन्छ ?

सोच आ–आफ्नो ढंगको छ । २०७४ को निर्वाचनमा कांग्रेसले त्यत्रो लज्जास्पद पराजय भोग्यो । तैपनि यथास्थितिबाट नै पार्टीलाई पुर्नस्थापना गर्न सकिन्छ भन्ने पार्टीमा एउटा दृष्टिोकोण अझै छ । यसरी चल्दैन । नीतिगत, नेतृत्वगत, संरचनागत, संस्थागत रुपबाट आमूल परिवर्तन गरी वैचारिक दृष्टिकोणबाट पार्टीलाई पुर्नजागरण गन आवश्यक छ भनिरहेका छौ । हिजो जस्तो बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद त अहिले कोही हुनुहुन्न । हामी जति छौं, समकालीन छौं । पार्टीमा सुधारसँगै सामूहिक नेतृत्व र सहमतीय पद्दतिमा अघि बढ्नुपर्छ भन्ने अहिले पनि मेरो धारणा छ । सामूहिक नेतृत्व पद्दति अहिले झन् बढ्ता अवाश्यक छ, किनकी पार्टीमा कसैले कसैलाई नेता भनेरै विश्वास गर्दै हिँड्न सक्ने स्थिति छैन । अब यथास्थितिबाट पार्टी चल्दैन । आमूल सुधारको बाटोमा जानुपर्छ ।

अहिले हाम्रो दायित्व धेरै छ । एकातिर कम्यूनिष्ट सरकार लोकतन्त्रको जामा लगाएर, संविधानाई खास्टो बनाएर विधिविहीन ढंगले एकपछि अर्को निरंकुश र एकदलीय बाटोमा गएको छ । त्यसलाई रोक्नसक्ने पार्टी कांग्रेस हो । त्यसैले स्वार्थविहीन संकल्प गरेर हामी सुधारको बाटोमा अघि बढ्नुपर्छ । त्यसका लागि नेतृत्वमा जो भए पनि सहमतिबाट अघि बढौं भन्नेमा म छु । र, म आफैं पनि सक्षम दावी गर्छु । म पनि उम्मेदवार हुँ । तर, हामी मध्ये को हुने सहमतिका साथ गरौं भन्ने पक्षमा म रहँदै आएको छु ।

अब पनि पुरानै पुस्ताले पार्टी हाँक्न सक्छ कि नयाँमा जानुपर्ने देख्नुहुन्छ ?

पुस्ता नै असफल भएको भन्ने कुरा म मान्दिनँ । हामी (पौडेल पक्षमा) ६, ७ जना जो साथीहरु छौं, मैले नै समन्वय गर्ने प्रयत्न गरेको छु । अहिले पनि गरिरहेको छु । सामूहिक नेतृत्वको प्रस्ताव गरौं, जो जेमा भए पनि तयार भउँ । एउटै उम्मेदवारमा सहमति गरौं भनेर भनिरहेको छु । हामी त्यस्तो परिस्थिति पर्दा सभापति, उपसभापति र महामन्त्रीका पाँचवटा पदाधिकारी पद छन् । संसदीय दल छ । उपनेतादेखि विभिन्न अवसर हुन्छ । दृढ मानसिकता र निस्वार्थरुपमा अघि बढौं । सबैलाई भाग पुग्छ । सबै सभापति हुनुपर्छ भन्ने छैन । जुन–जुन पदमा बसे पनि हुन्छ । त्यहाँबाट पनि हुँदैन भने, ६/७ जना स्टेरिङ कमिटिमा बसौं । पाँचै पदाधिकारीमा युवा पिढीलाई उठाउँ । मैले त्यो पनि प्रस्ताव गरेको छु । गत सोमबार बिमलेन्द्र निधिजीले यसपटक महाधिवेशनमा सर्वसम्मति गर्नुपर्‍यो भनेर एउटा प्रसंगमा भन्नु भयो । मैले यो एकदम राम्रो कुरा हो, भूतपूर्व र वर्तमान पदाधिकारीबाहेकमा सर्वसम्मत खोजौं भनेर भनें ।

त्यस्तो सम्भावना छ र ?

सम्भावना हुने नहुने आफ्नो ठाउँमा छ । म हरेक पक्षमा खुला छु । यो पक्षमा खुला हुँदाहुँदै आ–आफ्नो पक्षमा शक्ति प्रदर्शन गर्ने हो भने म पनि तयार छु । भलै, मैले गुट बनाइन । जिल्लातिर साना गुट त भए होला, रामशरणजी र मेरो एकीकृत भावना भइसकेपछि त्यो पनि कम भएको छ । तैपनि अलिअलि होला । देशव्यापी रुपमा मैले कुन व्यक्ति कुन पक्षको भनेर भन्दा पनि यसको कति क्षमता र योग्यता छ भनेर नै हेरें । त्यसैले अर्जुननरसिंह केसीको समूह भनेर नदेखिएको होला तर व्यक्तिगतरुपमा मेरो देशव्यापी रुपमा भएका सम्बन्धलाई परीक्षण गरेर हेर्न सक्छु, त्यतिबेला को कति पानीमा छ भनेर म पनि चुनाव लडेर देखाउन सक्छु ।

बाहिरबाट हेर्दा पार्टीका तीनवटा गुट सक्रिय देखिन्छन् । यी गुटका काम अहिले एकले अर्कोलाई खुइल्याउनेमा केन्द्रीत छ । यस्तोबीचबाट कस्तो खालको नेतृत्वको आशा गर्न सकिन्छ ?

यो खुइल्याउने प्रवृति एकदमै गलत छ । एकले अर्कोसँग वैचारिक द्वन्द्व गर्छ भने म त्यसलाई हार्दिक स्वागत गर्छु । लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रकृया हो । विभिन्न विचारको घर्षण र द्वन्द्वबाट निस्कने उपज हो । त्यसैले आ–आफ्ना विचार राख्नेलाई अन्यथा लिन हुन्न । यथास्थितवादी सोच राख्नेहरुले पनि अहिलेको विकल्प छैन भन्ने सोच्नु भएको होला, म यसको सुधार हुनुपर्छ भन्ने व्यक्ति हुँ । यथास्थितिबाट अब पार्टी चल्दैन । जहाँसम्म कृष्णप्रसाद सिटौलाको समूहको कुरा छ, सिटौलाजी यथास्थितिको विरोधी हुन् । अहिले विभिन्न कारणले अलग देखिए पनि हामी अन्ततः एकै ठाउँमा हुन्छौं भन्ने कुरामा विश्वस्त छु ।

तपाईको भावना पहिलो र दोस्रो भन्दा पनि तेस्रो पुस्तामा नेतृत्व जाँदा राम्रो हुन्छ भन्ने हो ?

त्यसका निम्ति पनि म खुला छु । तर, जान सक्छ कि सक्दैन म भन्न सक्दिनँ । किनभने, यो पार्टीको संस्था र संस्कृतिचाहिँ ‘जेरिनटोक्रेसी’ अर्थात् वृद्धतन्त्रमा आधारित छ ।

१३ औं महाधिवेशनमा तपाईं आफै गगन थापासंँग भिड्नु भयो, कसरी युवा पुस्ताको नेतृत्व आउने आशा गर्ने ?

त्यतिबेला लडाईदिएँ । अब, मैले त्यसलाई बिर्सिसकेको छु । बिर्सेको च्याप्टरतिर फर्कन चाहन्नँ । मैले त अहिले होइन, जुनबेला भर्खरै पार्टी हारेर समीक्षाको बैठक बस्दै थियो, त्यो बेला भनेको थिएँ– हारको पहिलो जिम्मेवारी नेतृत्वको हिसाबले सभापतिको हो । दोस्रो, जिम्मेबारी बोक्नुपर्ने मान्छे महामन्त्री शशांक कोइराला हुन् । तेस्रो जिम्मेवारी बोक्नुपर्नेहरु पदाधिकारी र पदाधिकारीजस्तै भएर बस्ने रामचन्द्र पौडेल हुन् । चौथो जिम्मेवारी बोक्नेहरु मजस्तै संसदीय समितिमा रहेका सदस्यहरु छन् । यसलाई लाज नमानी कमजोरी महसुस गरौं र आमकार्यकर्तामाझ जाउँ । गल्ती पुनरावृत्ति गर्दैनौं भनेर जाउँ ।

सभापतिजीलाई भनें– मैले तपाईलाई भोट दिएको हो । तपाईले पार्टीको सुधारका लागि नेतृत्व लिनुहोस् भने । सक्नु हुन्न भने बरिष्ठ नेताले गर्नुहोस् । तपाईंहरु कसैले गर्न सक्नु हुन्न भने, सातजना युवाहरुलाई दिउँ । त्यतिबेला सातजना युवाको एउटा दस्तावेज पनि पार्टी बैठकमा आएको थियो । तिनै युवाहरुलाई पनि भनें– तपाईंहरु यो दाइ र उ दाइ भनेर अल्झिने हो भने काम छैन । नत्र नेतृत्वका लागि अघि बढ्नुहोस् । युवा नेतृत्वलाई अघि बढाउने कुरालाई त मैले विकल्पका रुपमा उठाइरहेकै छु । ७० बर्षमाथिका सबै संरक्षक भएर बस्ने प्रस्ताव पार्टीमा आए त्यसमा पनि म तयार छु । होइन, प्रतिस्पर्धा गर्ने भन्ने हो भने प्रतिस्पर्धाका लागि पनि तयार छु ।

त्यस्तो प्रस्ताव तपाईं आफैंले लगे हुन्न ?

लगे पनि हुन्छ । पारित नहुने कुरा भयो । यसअघि धेरै साथीहरुले उठाइसक्नु भएको छ । मीनेन्द्रजी, गगनजीले धेरै उठाउनु भएको छ । अहिले मैले लगे पनि पारित हुन्न ।

तपाईहरुको कुरा सुन्दा वर्तमान नेतृत्व असफल भयो, अब नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने आवाज आइरहेको छ । गुटको बैठक पनि यही उद्देश्यका लागि बसिराखेको छ । साँच्चै नेतृत्व परिवर्तन गर्ने स्थितिमा तपाईहरु पुग्नु भएको हो त ?

हामीहरु यो पार्टीभित्र आमूल सुधार गर्नुपर्छ भनेरै अघि बढेका छौं । नेतृत्व नीतिगत र कार्यशैलीगत सबै दृष्टिले परिवर्तन हुनुपर्छ भन्नेमा हामी छौं । व्यक्तिगत रुपमा कोहीसँग दुश्मनी छैन ।

अहिले जुन स्थितिबाट चलेको छ, त्यो नेतृत्वबाट पार्टीमा सुधार हुन सक्दैन । देश अत्यन्तै ठूलो अर्न्तराष्ट्रिय द्वन्द्वको चपेटामा छ । त्यसले गम्भीर परिणामहरु निम्ताउन सक्छ । त्यसलाई नियन्त्रणका लागि उत्तर, दक्षिण, युरोप, अमेरिकासँगको सन्तुलन गर्न आवश्यक छ । त्यसका लागि नेपालभित्रका विभिन्न जातजाति, भाषा, भाषीहरुबीचको सन्तुलन गर्नुपर्छ । त्यसका लागि सक्षम कांग्रेस नै छ । मुलुकमा आइपर्नसक्ने संभावित दूर्घटनाबाट मुलुकलाई र लोकतन्त्रलाई बचाउन कांग्रेसले सक्छ । त्यसका लागि अहिलेको नेतृत्वमा कमजोरी छ । चौधौ महाधिवशेनले सच्चाउनु पर्छ । सबै नसच्चिए पनि चौधौं अधिवेशनबाट धेरै कुरा सच्चिन्छ भन्नेमा म विश्वस्त छु ।

वर्तमान सभापति देउवालाई चूनौती दिन तपाईंहरुको समूहबाट ठ्याक्कै को हुन्छ उम्मेदवार भन्नु न ?

अहिल्यै भन्न सकिन्नँ । यो कुरा अहिल्यै नसोध्नुहोस् । न मै हुन्छु । सबैलाई संयोजन पनि गरेको छु, सबैसँग समान दूरी पनि छ । मलाई किन नगर्ने ? अथवा को हुने ? समन्वय गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ । समन्वय गर्दा जो पनि हुनसक्छ ।

महाधिवेशनको तयारीको सिलसिलामा विभाग गठन गर्ने, संयोजक बनाउने र सदस्यहरु मनोनयन गर्ने काम भइरहेको छ । यसमा तपाईहरुको बिरोध किन ? अहिलेसम्मको पार्टीभित्रको परम्परा, मान्यता, लोकतन्त्रको आधारभूत मान्यता पनि महाधिवेशनको कार्यतालिका घोषणा भइसकेपछि महाधिवेशन प्रयोजनबाहेक कुनै पनि संयन्त्र बनाउन पाइन्न । विभागहरु पनि २८ बाट ४७ पुर्‍याइएको छ । महासमिति बैठकले विधान पारित गरेको मसी सुक्न नपाउँदै विभाग बढाइयो । अर्कोतिर अधिवेशन तय भइसकेपछि विभिन्न मनोनयन र संयन्त्र निर्माणको कुरा अहिले भइरहेको छ, यो लोकतान्त्रिक प्रचलन, मान्यता, सिद्धान्त र आदर्शलाई हेर्ने हो भने आचारसंहिता विपरित छ । अर्कोतिर विधानमा पनि ६ महिनाभित्र गठन गर्नुपर्ने बिषय हो । अहिले यो कार्यसमिति वैधानिक कार्यकाल सकिएर एक बर्षको समय थपेको पाँच महिना पूरा हुन लागिसकेको छ । तत्कालीन सभापति सुशील कोइरालाले तीन वर्षमा विभाग गठन गर्दा अवैधानिक भयो भनेर अहिलेकै सभापतिले नमानेको ताजा इतिहास छ । उहाँले तीन वर्षमा गर्नु भएको हो । अहिले त कार्यकाल सकिएपछि, महाधिवेशन घोषणा भइसकेपछि गरिएको छ । त्यसैले यो आचारसंहिता विपरित छ भन्ने हाम्रो मान्यता हो ।

तपाईहरु विधानको कुरा गर्नुहुन्छ । तर, भागबण्डा मिल्दा विधान मिल्काईदिने, नमिल्दा मात्रै विधानको कुरा गर्ने कुरा कति उचित हो ?

त्यो गलत हो । व्यक्तिगत रुपमा मैले असहमति जनाउँदै आएको छु । सहमति विधिभित्र हुनुपर्छ । विधिबाहिर खोज्नु हुन्न । सहमतिले विधि परिवर्तन गर्न सकिन्छ । विधि तोड्न पाइन्न । जे भएको छ, त्यो गलत हो । त्यसको जिम्मेबार म पनि छु ।

राजनीतिक दलहरु यतिबेला आन्तरिक शक्ति संघर्षमा फँसेको छ । प्रतिपक्षमा रहेको कांग्रेसले पनि राष्ट्रिय एजेण्डा उठाउन सकेको छैन । बाहिरबाट भनिँदैछ कि कांग्रेस राष्ट्रिय राजनीतिमा असान्दर्भिक हुन लागेको छ । के साँच्चै यस्तै परिस्थिति निर्माण भएको हो ?

राष्ट्रिय राजनीतिबाट कांग्रेस असान्दर्भिक भएका दिनमा यो देशमा प्रजातन्त्र रहँदैन । असान्दर्भिक भएको छैन । हामीले प्रमुख प्रतिपक्षको रुपमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौं । कमजोरी भएका छन् । ठुला भ्रष्टाचारका मुद्दा आए । कान्डैकान्ड सरकारले मच्चाएको छ । त्यसलाई जति सशक्त र जीवन्त रुपमा उठाउनु पर्ने हो । त्यो हुन सकेको छैन । संसद र जनस्तरमा हामीले यी मुद्दालाई सशक्त रुपमा उठाउन सकेका छैनौं । तर, नउठाएकैचाहिँ होइन । जुन तहमा उठाउनु पर्ने हो सकिएको छैन । यसलाई प्रभावकारी बनाउनु पर्छ । अहिले कोभिड–१९ बाट सकिएन । त्यसअघि आन्तरिकरुपमै रुमल्लिएका छौं । कांग्रेसले जनतालाई पाँच बर्ष प्रतिपक्षमै बस्नका लागि मतादेश दिएका हुन् । कहींकतै सत्ताको माखेसाङ्लोमा रुमल्निे, सौदाबाजी गर्ने काम भयो भने कांग्रेसका लागि आत्महत्या हुन्छ ।

सत्ताकोमाखे साङ्लोमा अल्झेका कारण कांग्रेस प्रतिपक्षीय भूमिकामा कमजोर भएको हो भन्ने तपाईको निष्कर्ष हो ?

निष्कर्ष नै होइन । तर, अल्झिन हुन्न भन्ने हो ।

प्रकाशित : श्रावण १५, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?