कसैको सार्वभौमिकतामा धावा बोल्न पाइन्छ ? : मन्त्री अर्याल

बिनु सुवेदी

तत्कालीन अखिल नेपाल महिला संघकी सदस्यसमेत रहेकी पद्मा अर्याल २०५६ सालमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै करिब ५ सय महिलाको समूहमा मिसिएर कालापानी क्षेत्रमा पुगिन् ।

अहिले भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री रहेकी उनले २१ वर्षपछि सोही भूमि समेटेर बुधबार नेपालको नयाँ नक्सा सार्वजनिक गरिन् । नयाँ नक्सा, यसको कानुनी र अन्तर्राष्ट्रिय मान्यता, भारतसँग सरकारले अब गर्ने संवादको किसिम र सम्भावित परिणामका सन्दर्भमा मन्त्री अर्यालसँग बिनु सुवेदीले गरेको कुराकानी :

सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेको छ, यसको प्रक्रिया र पृष्ठभूमि के छ ?

लिम्पियाधुरा र त्यो भूभाग हाम्रो हो भन्ने प्रमाणहरूमध्ये एउटा सुगौली सन्धि हो । सन्धिअनुसार लिम्पियाधुराबाट बगेको काली नदी नै नेपाल नदीको सिमाना हो भनिएको छ । सुगौली सन्धिपछिका जति पनि नक्सा प्रकाशित छन्, यही आधारमा नै भएका छन् । पछिल्लो समयमा आएर लिपुलेकबाट झरेको नदी देखाइयो । दोस्रो कुरा, सुगौली सन्धिपछि नापनक्साको कुरा छ । त्यसपछिका पूरक सन्धिहरू, बेलाबखतमा आदानप्रदान भएका कूटनीतिक नोटहरू, त्यो बेला जनगणनाको रेकर्ड, त्यहाँका नागरिकले बुझाएको बालीको प्रमाण, त्यहाँका जनताले नेपालतर्फ मतदान गरेको मतदाता नामावलीलगायत ऐतिहासिक दस्ताबेजका आधारमा लिम्पियाधुरा हाम्रो हो भन्ने ‘कन्फर्म’ नै छ । नक्सा प्रकाशित गर्ने सन्दर्भमा २०२७ सालपूर्व नेपालले आफ्नो नक्सा आफैं प्रकाशित गरेन, भारतले नै गर्‍यो । त्यो बेला हामीकहाँ यस्तो नापनक्साको चलन पनि थिएन । अरूले बनाएको नक्सा हुँदा नक्सामा हाम्रो भूगोल समेटियो कि समेटिएन भन्नेमा ध्यान नपुगेको देखिन्छ जब हामीले नापनक्साको सुरुवात गर्‍यौं ।

यी हुन् लिम्पियाधुरा नेपालकै हो भन्‍ने प्रमाण

२०४५ सालमा नेपालतर्फको नापीको टिम कालापानी पुग्यो । त्यहाँ भारतको अवरोध भएपछि नाप्न सक्ने अवस्था रहेन । त्यतिबेला दुई देशका बीचमा कुरा गर्ने भन्ने भएपछि कर्मचारी फर्किएर आए । बेलाबेलामा कुरा हुने नटुंगिने भइरह्यो । हाम्रा शासकहरूका कारण कुनै डकुमेन्टमा चुक्यौं कि भनेर पनि खोज्यौं, कतै भेटिएन । प्रमाण र इतिहास हाम्रो पक्षमै छ । इतिहास हाम्रो पक्षमै भएकाले विगतदेखि हामीले यो विषय धेरैपटक उठायौं । कहिलेकाहीँ नकारात्मक कुराले सकारात्मक परिणाम ल्याउँछ भनिन्छ, वर्तमान सरकारलाई त्यो अवसर प्राप्त भयो । हाम्रो भूमि हुँदै बाटो खन्ने, उद्घाटन गर्ने कुरा हेपाहा र नकारात्मक हो, हाम्रो राष्ट्रियतामाथि धावा बोलेको हो । त्यसको विरोध त गर्‍यौं । तर यति धेरै (भारतले) खेल्नुको पछाडि के हो त ? हामीले हाम्रो भूमिलाई आफ्नो हो भनिरहने तर आफ्नो कुरा किन नहाल्ने ? यो प्रश्न उठ्यो । राजनीतिक तहमा पनि उठ्यो । सबैले हाम्रो हो, ल्याउनुपर्छ भन्ने नै भयो । हाम्रो पार्टी कमिटीमा पनि उठ्यो, प्रधानमन्त्री पनि भूमि हाम्रो हो, फिर्ता ल्याउनुपर्छ भन्ने अडानमै रहनुभयो ।

भन्नाले गत कात्तिकमा भारतले राजनीतिक नक्सा जारी गरेपछि र अहिले वैशाखमा बाटो उद्घाटन गरेपछि दबाब पर्‍यो ?

हो । साँच्चै भन्ने हो भने हाम्रो मुटु झिकेर फाल्दा कति पीडा हुन्छ, त्योभन्दा बेसी पीडा कसैले आफ्नो भूमि खोस्दा हुन्छ नि ।

खोस्न त पहिल्यैदेखि खोसेकै थियो नि, पीडा अहिले भएको हो ?

हामी उठिरहेका नै थियौं, मान्छेहरूले लाठा लिएर सीमा रक्षा गर्न गएको प्रमाण आज पनि छन् । हामी पनि हिजोदेखि नै राष्ट्रियताका लागि मर्न तयार भएका मान्छे हौं । आज पनि उठ भन्यौं भने राष्ट्रियताको नारा बोकेर सारा जनता सडकमा आउनुहुन्छ । हाम्रो नसा-नसामा रगत उम्लेर आउँछ । त्यसैले हिजोको शासकको पालादेखि नै समस्या थियो नि त भन्ने प्रश्न त छ । तर अहिले इतिहासले हाम्रो काँधमा यो जिम्मेवारी सुम्पियो, हामीले हाम्रो भूमि फिर्ता ल्याउन पहलकदमी थाल्यौं ।

तपाईं स्वयं पनि कालापानी हाम्रो हुनुपर्छ भनेर ०५६ सालमा 'मार्च पास’ मा जानुभएको हो । यसो सम्झिँदा त आफ्नो भूमि आफ्नो भनेर नक्सा बनाउनै पनि २० वर्ष लाग्यो है ?

कुरा गर्ने, छोड्ने भइरह्यो । अहिले पनि म देखिरहेको छु, ती विषय टेबल गर्न बस्दा भारतको पक्षले के भन्यो, नेपालको पक्षले के भन्यो, के गरियो भन्ने पनि छ । इतिहास हेर्दा जब दुई पक्षका बीचमा छलफल गर्न परराष्ट्रस्तरको संयन्त्र बनाइयो नि, त्यो बसाइबाट के देखिन्छ भने सुस्ता र कालापानीबाहेक अन्तको समस्या समाधान गर्ने भन्ने नै देखिन्छ । ती समस्या समाधान गर्नका लागि सूर्यनाथ उपाध्यायको संयोजकत्वमा एउटा टिम बनाइएको रहेछ । उहाँहरूले प्रतिवेदन दिनुभयो । तर त्यो प्रतिवेदन कार्यान्वयनमा गएन । कुरा हुने तर ठोस रूपमा काम नहुने भइरह्यो ।

त्यही समितिले पनि लिम्पियाधुरा हाम्रो हो भनेको थियो नि ?

हो । नापी गर्ने भनेर बारम्बार बैठक भइरह्यो । तर भारत छलफलमा बसौं भन्दा हुन्छ भन्ने, टुंग्याउनुपर्छ भन्दा पन्छिने गर्‍यो । उताबाट चासो भएन । हामीले धेरै किन गर्‍यौं भने हामीसित तथ्य प्रमाणहरू यथेष्ट छन् । प्रमाणका आधारमा कुरा गर्दा भारतको त आफूले भोगचलन गर्दै आएको कुरा गुम्ने कुरा भयो नि । त्यसैले उसले ताकेता गरेन । यो नेपालको भूमि हो भन्ने त उसलाई पनि थाहा छ नि । त्यसैले अहिले प्रधानमन्त्री केपी शर्मा ओली वार्तामा बस्ने र वार्तामा बसेपछि कुरा टुंगो लगाएर उठ्ने गरी लाग्नुभएको छ । हामीले एकपछि अर्को, अर्कोपछि अर्को गर्दै ताकेता गर्दै आएका छौं । यता ‘एक्सन’ (अन्य प्रक्रिया) पनि गरिरहेका छौं । विश्वास गरौं, भूमि फिर्ता गराउने कुरामा यो सरकार अघि बढ्छ ।

वार्ताको पहल गर्नुभएको त उहिल्यैदेखि हो । गत मंसिरमै वार्ताको मिति तोकेर पत्र पठाउनुभयो । उपयुक्त समयमा वार्ता हुन्छ भनेर खबर आयो । अहिले कूटनीतिक नोट पठाउनुभयो, कोरोनाको कहर सकिएपछि वार्ता गरौंला भनेको छ भारतले । अहिले नै नक्सा जारी गर्नुको उद्देश्य भारतलाई दबाब दिनु हो ?

कसैले आफ्नो हातमा अधिकार आएका बेलामा छ्यास्स कलमले घुमाएर हाम्रो भूमि छुटाइदिन्छ भने त्यही मान्नुपर्छ भन्ने छ ? त्यही अनुमति लिएर छाप्नुपर्छ भन्ने छ ? छैन नि । अहिलेको मुख्य कुरा के हो भने, नेपालको भूमि भारतले भोगचलन गरिरहेको छ । त्यो भोगचलनका सन्दर्भमा बसेर छलफल गरेर सहमति गर्नुपर्‍यो, स्वामित्व नेपालमा आउनुपर्‍यो ।

छुटाइएको भन्नाले ? यहाँले भारतलाई भन्न खोज्नुभएको हो कि नेपाली शासकलाई नै ?

नेपालले ०३२ सालमा आफैंले पहिलोपटक नक्सा प्रकाशित गर्‍यो । त्यो नक्सामा पनि लिम्पियाधुरा छैन । त्यतिखेरका शासकले के हुँदै आएको छ भनेर हेरे, त्यहीअनुसार गरे । किनभने त्योभन्दा पहिलेको नक्सा त अरूले नै प्रकाशित गरिदिए नि । अरूले प्रकाशित गरिदिएको नक्सामा उनीहरूले छुटाइदिए ।

हाम्रै पुरानो नक्साले समेटेको कालापानीमा पनि उनीहरूको सेना बसेको धेरै समय भयो नि ?

त्यतिखेर केही समयका लागि भनेर नेपालले १७ ठाउँमा भारतलाई बीओपी राख्न दियो । अरू सबै ठाउँमा निकालियो । तर त्यो छोडिएन । कमजोरी त्यहीँबाट भएको छ । अरू सबै हटाउने एउटा मात्रै राख्ने भनियो । त्यतिखेरै हटाउन पर्थ्यो, हटाएनन् । तिनले हटाएनन् भनेर अहिलेकाले पनि चुप लागेर बस्ने कुरा भएनन् नि । विगतका शासकले गरेको गल्तीका कारण अहिले हामीले दुःख पाएका हौं । तर पनि राज्य त अविच्छिन्न हुन पर्‍यो नि । हाम्रो रगत उम्लेको हो भने, हामी राष्ट्रवादी भावनाका हौं भने हामीले गर्नुपर्छ भनेर पहलकदमी लिइएको हो । देखाउनका लागि होइन, भूमि फिर्ता गर्नकै लागि काम थालेका हौं ।

०७५ साउनमा तपाईं भूमि व्यवस्थामन्त्री भएर आउनुभएको हो, नक्सामात्र जारी गर्न पनि २ वर्ष नै लगाउनुभयो । यत्रो धेरै समय किन लाग्यो ? केही दबाब आयो ?

भारतीय पक्षबाट वार्ता हुन्छ, वार्ता हुन्छ भनेपछि हामी पर्खिएर बस्यौं । कसैको दबाब आएको हैन, कसैको दबाबले हामीलाई छेक्नेवाला छैन ।

मन्त्रालयमा आएपछि के-के काम गर्नुभयो ?

पहिलो त, डकुमेन्ट खोज्नैतिर लागियो । केही प्रक्रिया पनि पूरा गर्नुपर्ने थियो, त्यतापट्टि पनि लाग्यौं । बैठक बारम्बार बसियो । हामीले डकुमेन्ट तयार पारेकै थियौं, नक्सा ‘रेडी’ थियो । मैले बारम्बार सबै काम भएको छ, उपयुक्त समय आएपछि नक्सा सार्वजनिक गर्छौं भनेकै थिएँ ।

नक्सा जारी गरेको आजको यो मिति, के-कति कारणले उपयुक्त समय भयो त ?

एकपछि अर्को घटना । जब हामीमाथि आपत् परेको हुन्छ, अप्ठ्यारोमा पर्छौं, त्यस्तो बेलामा एउटा/एउटा काम गर्नु भनेको त राम्रो नियत देखिएन नि । यसले एक खालको मनोवैज्ञानिक परिस्थिति सिर्जना गर्छ नि त । अब हामी चुप लागेर बस्न हुन्न, हाम्रो भूमि समेटिएको नक्सा सार्वजनिक गर्न कसैलाई सोध्न हुन्न भन्ने निष्कर्षमा पुगियो । हामीले केही अर्घेल्याइँ गरेका छैनौं, अरूको अर्घेल्याइँ पनि सहन्नौं । हाम्रा कूटनीतिक सम्बन्ध छन् । हामी मित्रराष्ट्रसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौं, बनाउँछौं पनि । मित्रता बलियो बनाउने नाममा आफ्नो भूमि नै बुझाउन सकिन्छ ? सकिन्न ।

भारतले त नेपाललाई अरू कसैले उक्साएको हो पनि भनेको छ नि ?

भारतीय सेना प्रमुख बोलेको सुनियो । त्यो नेपालको स्वाभिमानमाथि आँच आउने कुरा हो । हाम्रो स्वाभिमानमाथि आँच आउने किसिमले बोल्न पाइन्छ ? हाम्रो कूटनीतिक सम्बन्धमा हामी स्पष्ट छौं । छिमेकीसँगको सम्बन्धमा हामी स्पष्ट छौं । हामी पूर्वको कुरा गर्दा पश्चिम फर्कने, पश्चिमको कुरा गर्दा पूर्व फर्कने हो र ? हाम्रा उत्तर र दक्षिणका मुलुकसितको सम्बन्ध हाम्रो समदूरीमै छ ।

नक्सा त जारी भइहाल्यो । राजनीतिक, प्रशासनिक र पाठ्यक्रममा यही नक्सा छापिन्छ भन्नुभएको छ, त्यो होला पनि । तर भूमि कहिले फिर्ता आउँछ ?

अब कूटनीतिक वार्ता सुरु हुन्छ । टेबलमा बसाइ हुन्छ । टेबलमा बसेपछि क्रमिक ढंगले विषय टुंगिँदै जान्छन् ।

तर वार्ता त एकतर्फी हुन्न । भारतीय पक्षबाट हाम्रो वार्ता प्रस्ताव बारम्बार 'इग्नोर’ हुँदै आएको छ, भारतले नक्सा मान्य हुन्न पनि भनिसकेको छ नि ?

मलाई त्यस्तो लाग्दैन । किन लाग्दैन भने, यत्रो ठूलो मुलुक उसको आकांक्षा एक खालको छ । विश्वमै एक खालको वर्चस्व जमाउने भनेर अगाडि बढेको मुलुक आफ्नो छिमेकी मुलुकको यत्ति टुक्रा जमिनमा अल्झिएर बस्न हुन्छ ? त्यो त भारतका लागि नै प्रत्युत्पादक हुन्छ । जवहरलाल नेहरूको पथ बेठीक भयो भन्नेहरू आज त्यही बाटोमा हिँड्छन् र ? मोदीको त आफ्नै पथ हुन्छ होला नि । मोदी मोदीकै पथमा हिँड्ने कि जवहरलाल नेहरूको पथमा हिँड्ने ? यो आजको यक्ष प्रश्न हो । त्यसैले मलाई विश्वास छ, मोदी मोदीकै पथमा हिँड्नुपर्छ । आज नेपालीका मनमा भारतप्रतिको नकारात्मक भावना पैदा भएको छ । त्यो नेपालका लागि हैन, भारतकै लागि नोक्सानको विषय हो नि । कसैको सार्वभौमिकतामा धावा बोल्न पाइन्छ ? हरेक मुलुक स्वतन्त्र छन्, हस्तक्षेप गर्न पाइँदैन भन्ने अनि हस्तक्षेप गर्ने ? यो कुनै अन्तर्राष्ट्रिय मान्यता होइन । यूएनको बडापत्रमा लेखिएको कुरा भारतले मान्न पर्दैन ?

मान्नुपर्छ भन्ने हाम्रो मान्यता होला । तर भारतले वर्षौंदेखि हाम्रो भूमि कब्जा गरिरहेको त सत्य हो नि ?

त्यसैले भारत जुन ढंगले आइराखेको छ, त्यो गलत छ । आफैंमा आत्मनिर्भर मुलुकले अर्को मुलुकलाई पेल्ने कुराले विश्वसामु पनि छवि राम्रो हुँदैन । छलफल बहस हुँदै जाँदा विश्वभर नै यो ‘इस्यु’ पुग्छ नि । त्यसले भारतलाई नोक्सान पुग्छ । त्यसैले भारतले छिटोभन्दा छिटो वार्तामा सरिक भएर समस्याको समाधान गर्नुपर्छ । नेपाली भूमि फिर्ता गरिदिनुपर्छ । त्योभन्दा अर्को उपाय भारतसँग छँदै छैन ।

अहिले वार्ताको कुनै पहल गर्नुभएको छ ?

परराष्ट्र मन्त्रालयमार्फत भइरहेको छ ।

राष्ट्र्रिय सीमा फेरबदलको कुरा राष्ट्रप्रमुखबाट अनुमोदन हुनुपर्छ भन्ने पनि कुरा आएका छन् । अहिले मन्त्रिपरिषद्ले जुन निर्णय गरेर नक्सा जारी गरेको छ, यो त राजनीतिक निर्णय हो । यसको कानुनी, अन्तर्राष्ट्रिय मान्यता के हुन्छ भन्ने कुरा पनि त उठ्लान् नि हैन ?

अब जान्छ नि । हिजो जे थियो, गयो, अब जे छ, त्यो जान्छ । हामी प्रक्रिया थाल्छौं ।

सन् २०१५ मा भारत र चीनबीच भएको सम्झौताअनुसार नै त्यहाँ व्यापारिक नाका बनाउने भनेर बाटो खनिएको भनिएको छ । यही हिसाबमा लिपुलेकको विषय नेपाल र भारतको मात्रै त रहेन । चिनियाँ पक्षसँगको संवाद कसरी अघि बढिरहेछ ?

चीनसँग यो घटनापछि नेपालले कुरा गरिसक्यो । नेपालले असहमति जनाउँदा चीनसँग पनि जनाएको हो । जतिखेर चीन र भारतका बीचमा हस्ताक्षर भयो, त्यतिखेरै नेपालले असहमति छ भनेर चीनलाई भनेकै हो । त्यतिखेरै चीनले राजनीतिकभन्दा पनि व्यापारसित जोडिएको कुरा हो, बसेर छलफल गर्न सकिन्छ, भूमिका विषयमा भने तपार्इंहरू दुई देशको कुरा हो, हामी प्रवेश गर्न चाहँदैनौं भन्यो । आज भूमिका विषयमा चीनसित कुरा गर्न परेन । व्यापारिक नाकासित जोडिएको कुरामा छलफल हुन सक्छ, त्यसमा चीन तयार छ ।

संविधानको अनुसूचीमा भएको निसाना छाप परिवर्तन गर्नुपर्ने होला, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, त्यो प्रक्रिया कहिले सुरु हुन्छ ?

संविधानको अनुसूची ३ फेर्छौं । हामीले निसाना छापका लागि संविधान संशोधन गर्छौं भनेर प्रधानमन्त्रीज्यूले संसद्मा सम्बोधनका क्रममा भन्नुभएको छ । छिट्टै त्यो प्रक्रिया थाल्छौं ।

यही बजेट अधिवेशनमै ?

अहिले नै हुन्छ ।

संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ, अरू दलको सहयोग पाइन्छ भन्ने अपेक्षा छ ?

अहिले भूगोल हाम्रो हो भनेर सबैले बोल्ने, संसद्मा गएपछि सही कसले गर्दो रहेनछ, हेरौं न ।

कतै-कतै त विरोधका स्वर सुनिएका छन् नि ? भारतसँग कसरी लड्ने, भारतले फेरि नाकाबन्दी लगायो भने कसो गर्ने भन्ने तर्क त यहाँको पार्टीमा आन्तरिक बैठक हुँदा आएकै हुन् नि, हैन र ?

हाम्रो भूमि समेटेर नक्सा प्रकाशित गर्दा भारतले नाकाबन्दी लगाए भ्याकुर खाएर बसिन्छ । बसेका हैनन् र जनता हिजो ? पार्टीको केन्द्रीय कमिटीले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने भनेर गत माघमै निर्णय गरेको छ । नेकपाभित्र कुनै समस्या छैन । अरूतिर पनि यस्तो समस्या छ जस्तो लाग्दैन । अब एकाधलाई त्यस्तो लागेको छ भने पनि थाहा भइहाल्छ नि । त्यसमा अलमलिएर किन बसिरहनु ?

तपाईंलाई दबाब त निकै आएको होला है ?

दबाबसबाब केही छैन । दबाब आए पनि म डराउने हैन ।

गाह्रो त पक्कै भयो होला ?

काम गर्दा गाह्रो हुने, प्रक्रिया पुर्‍याउन गाह्रो हुने एउटा कुरा हो । कसैका दबाबले म डराउँदा नि डराउन्न, पछि हट्दा नि हट्दिनँ । जीवन रहन्छ कि रहन्न भन्ने ठूलो कुरा हैन, छाला जोगाउने भन्ने कुरो ठूलो हैन । अहिले जिम्मेवारीमा भएका बेला के गरियो भन्ने कुरा ठूलो हो । यो त मेरा लागि ठूलो अवसर हो ।

०५६ सालमा जसरी 'मार्चपास’ मा जानुभयो, अहिले नक्सा जारी गर्ने बेला जिम्मेवारीमा हुनुहुन्छ । तपाईंका लागि त एउटा संयोग पनि जुर्‍यो है ?

हो, त्यतिखेर अखिल नेपाल महिला संघका हामी ५ सय जना मार्चपासमा गयौं । त्यो बेला हामी आँखाबाट आँसु झार्दै गएका हौं । महाकाली नदीका साना-साना ढुंगा खल्तीमा हालेर आएका हौं हामी । आजको दिनमा मलाई एकदम धेरै सन्तुष्टि मिलेको छ । त्यो बेला कस्तो अवस्थामा गइयो, कति पीडाबोधका साथ हामी फर्कियौं । भारतीय पुलिसले जाइझम्टी गरेर फर्कायो । हामी माथितर्फ जाने त ‘चान्स’ नै थिएन, जहाँ पुग्यौं, कष्ट सहेर फर्कियौं ।

यहाँ आएर नक्सा जारी गर्ने गरी खोजीनिती गर्दा त्यतिखेर दार्चुलाको सीमामा भेटेका नागरिकलाई पनि सम्झिनुभयो होला नि ?

हामीले तल किनारतिरका मान्छेसँग भेटेका थियौं । उनीहरूको पीडा छ नि । आफ्नो जमिनबाट आउन-जान नपाइने खालको समस्या छ । आफ्नो राज्यको उपस्थिति छैन । अहिले म यहाँ तपाईंसँग कुरा गर्दा पनि मेरा आँखा वरिपरि त्यहीँका जनताको तस्बिर नाचिरहेको छ । मैले उनीहरूलाई सम्झिरहेकी छु ।

तर नक्सा जारी गर्नु त केवल प्रस्थान बिन्दुमात्र त हो नि ?

नक्सा जारी भयो, सरकारले बीओपी लगेर राखिसक्यो । अब कूटनीति वार्ताबाट प्रशासनिक पहुँच अघि बढाउँछौं । जनतालाई सहुलियत दिन्छौं । त्यसका लागि भारतसँग वार्ता जरुरी छ । प्रकाशित : जेष्ठ ८, २०७७ ०९:३३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी संक्रमणको उच्‍च जोखिममा

हालसम्म कोरोनासँगको लडाइँको अग्रमोर्चामा खटिएका दुई चिकित्सकसहित १० स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र सेनाका २ जना पनि संक्रमित भइसकेका छन् ।
मातृका दाहाल, अतुल मिश्र

काठमाडौँ — कोरोना भाइरस रोग (कोभिड–१९) को बढी जोखिममा स्वास्थ्यकर्मी परेका छन् । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन् । स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी, सञ्चारकर्मी र सवारी चालकहरू जोखिममा देखिएका छन् ।

‘हालसम्म कोरोनासँगको लडाइँको अग्रमोर्चामा खटिएका २ जना चिकित्सकसहित १० स्वास्थ्यकर्मीमा संक्रमण देखिइसकेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘हाम्रा सबै चिकित्सक र चिकित्साकर्मी आफ्नो ज्यान दाउमा लगाएर दिन रात खटिइरहेका छन् ।’ बुधबार थप १ जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ । मंंगलबार कपिलवस्तुलगायत तराईका विभिन्न जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका १ जनामा संक्रमण देखिएको थियो ।

इन्टरनेसनल काउन्सिल अफ नर्स (आईसीएन) को तथ्यांकअनुसार विश्वभर करिब ९० हजार स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन् । करिब २ सय ६० भन्दा बढी नर्सले यो महामारीमा आफ्नो ज्यान गुमाएका छन् । आईसीएनद्वारा जारी यो तथ्यांक मात्र ३० मुलुकको घटनामा आधारित छ । ‘यसले के देखाउँछ भने कोरोनाको प्रयोगशाला प्रमाणित केसमध्ये औसतमा करिब ६ प्रतिशत स्वास्थ्यकर्मीका हुन्,’ कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.संगीता मिश्र भन्छिन्, ‘नेपालमा कूल संक्रमितमध्ये करिब ३ प्रतिशत स्वास्थ्यकर्मी छन् भने परीक्षणको दायरा बढ्दा यो प्रतिशत झन् बढ्न सक्छ ।’

डा.मिश्रका अनुसार कोसी कोभिड उपचार केन्द्रमा बुधबार ३ जना कोभिड संक्रमित स्वास्थ्यकर्मी भर्ना भएका छन् । सोमबार पनि १ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणपछि भर्ना भए ।

शान्ति सुरक्षालगायत संक्रमण नियन्त्रणको विभिन्न मोर्चामा खटिएका सुरक्षाकर्मी बढी जोखिममा छन् । उनीहरू आवश्यक सुरक्षा सामग्रीबिना ड्युटीमा खटिने भएकाले जोखिमा परेका हुन् । कोरोनासम्बन्धी रिपोर्टिङ गर्दा ६ जना सञ्चारकर्मी संक्रमित भएका छन् । खाद्यान्न, अत्यावश्यक सामग्री, पेट्रोलियम पदार्थलगायतका ढुवानी गर्ने बाहनका चालक कोरोनाको संक्रमणको जोखिममा छन् । हालसम्म ७ जना चालकमा यो रोग देखिएको छ । जनप्रतिनिधि, नेताको असुरक्षित जनसम्पर्कले गर्दा कोरोनाको जोखिममा देखिएका छन् ।

पेसागत हिसावले चिकित्साकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र चालकहरु कोरोना संक्रमणमा अन्य व्यवसायको दाँजोमा बढी जोखिममा देखिए पनि विदेशबाट आउनेहरुले आफ्नो निकट सम्पर्कमा आएकालाई सबैभन्दा बढी रोग सारेका छन् । ‘विदेशबाट आउनेहरु मुख्य रूपमा भारतबाट आउनेहरुले क्वारेन्टाइनमा रहँदा उनीहरुसँगै रहेका र निकट सम्पर्कमा आएका सबैभन्दा बढी संक्रमित भएको देखिएको छ,’ डा.अधिकारीले भने, ‘स्वास्थ्यकर्मीका परिवारका सदस्यमा संक्रमण देखिएको छ ।’ धनकुटामा संक्रमित नर्सको परिवारलाई संक्रमण सरेको मंगलबार पुष्टि भयो । ‘जस्तोसुकै व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), सावधानी अपनाए पनि महामारीको अवस्थामा संक्रमणवाट शतप्रतिशत मुक्त रहने ग्यारेन्टी हुँदैन,’ डा.अधिकारी भन्छन्, ‘यो कुरा सबै स्वास्थ्यकर्मीलाई थाहा भए पनि उहाँहरु स्वेच्छाले जनताको स्वास्थ्य सेवामा खटिनुभएको हो, आमनेपालीले उहाँहरुको मनोबल उच्च राख्न सघाउनुपर्छ ।’

नेपालीको स्वास्थ्य, सुरक्षा, सूचना, खाद्यलगायत दैनिक आवश्यकता सहज बनाउने क्रममा संक्रमणमा परिरहेकाहरुलाई विभेद नगरी उच्च मनोबल कायम राख्न सबैले सघाउनुपर्ने आवश्यकता देखिएको छ ।

१२ जना सुरक्षाकर्मी संक्रमित

लकडाउन कार्यान्वयन गराउन अग्रभागमा खटिएका सुरक्षाकर्मीहरुमा नै कोरोना संक्रमण देखिन थालेपछि फिल्डमा संख्यात्मक उपस्थिति घटाइएको छ । फिल्डमा कम जनशक्ति परिचालन गर्ने र खटिएका जनशक्तिलाई कार्यावधि बढाउने गरी सुरक्षा प्रवन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन दिएका हुन् ।

दुवै सुरक्षा निकायको पत्राचारपछि सम्बन्धित युनिटका प्रमुखहरुले काममा बाहेक बाहिर ननिस्कन सुरक्षाकर्मीलाई आदेश दिएका छन् । मातहत युनिटलाई नै उच्च जोखिम, जोखिम र सामान्य विभाजन गरेर त्यहा कार्यरत फौजको कोरोना परीक्षण थालिएको पनि जानकारी दिएका छन् । खटिएका जनशक्तिहरुलाई फिल्डमा सुरक्षा जाँच र लकडाउन कार्यान्वयनका क्रममा अर्को पक्षसग ‘भौतिक दूरी’ कायम राख्न पनि भनिएको छ ।

बुधबार मात्रै महानगरीय प्रहरी वृत्त कालिमाटीअन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरी मुख्यालयले देशभर तैनाथ जनशक्तिलाई आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम गर्न भनेको हो । संक्रमण हुनेमा फिल्डमा खटिँदै आएका प्रहरी नायब निरीक्षक र १ जना जवान छन् । दुवैलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । हाल कालिमाटी कार्यालय नै सिल गरेर स्वास्थ्य जाँच अघि बढाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार कालिमाटीबाट भइरहेका शान्तिसुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धान तथा नियन्त्रणका कामकारबाही नजिकैका युनिट तथा आवश्यकताअनुसार काठमाडौं परिसरबाटै हुने गरी व्यवस्था गरिएको छ ।

‘कोरोना भाइरसको जोखिमका बाबजुद जिम्मेवारी निर्बाह गर्नु हाम्रो कर्तव्य हो, त्यहीअनुसार काम गरिरहेका छौं,’ डीआईजी पोखरेलले कान्तिपुरसँग भने, ‘संक्रमण देखिएकालाई उपचारका लागि पठाइसकेका छौं, अन्यको पनि स्वास्थ्य परीक्षण भइरहेको छ ।’ स्वास्थ्य परीक्षणबाट नेगेटिभ रिपोर्ट आएकाहरु पुन जिम्मेवारीमा फर्किने भन्दै केही व्यक्तिमा संक्रमण देखिँदैमा आम नागरिकको सुरक्षा र लकडाउन कार्यान्वयनमा कुनै असर नपुग्ने उनले बताए । उनका अनुसार फिल्डमा आवश्यकताअनुसार मात्रै जनशक्ति खटाउने र व्यारेकमा बस्दा पनि स्वास्थ्य सावधानीलाई मुख्य प्राथमिकतामा राख्न निर्देशन दिइएको छ ।

कालिमाटीस्थित जनपद प्रहरी र ट्राफिक प्रहरी वृत्त नै सिल गरेर डीएसपीसहित २ सय १४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा रहेका सबै जनाको केही दिन भित्रै पीसीआर परीक्षण हुने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘स्वास्थ्य परीक्षणबाट आउने रिपोर्टका आधारमा नियमित कामकारबाही अघि बढाइनेछ,’ उनले भने । काठमाडौंमा २, धनकुटा र बारामा १/१ तथा कपिलवस्तुमा २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १/१ जना सशस्त्र प्रहरीलाई संक्रमण देखिएको छ भने २ नम्बर प्रदेशअन्तर्गत तैनाथ नेपाली सेनाका एक उच्च अधिकारीसहित २ जनामा संक्रमण पुष्टि भइसकेको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले थप स्वास्थ्य सावधानी अपनाएर जनशक्तिलाई परिचालन गरिएको बताए । उनका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि फिल्डमा आवश्यकभन्दा बढी जनशक्ति नखटाउन पनि निर्देशन दिइएको छ । ‘बरु रोटेसनका आधारमा जिम्मेवारीको दायरा बढाउने, ‘वर्क लोड’ थप्ने गरी जनशक्ति परिचालन गर्न सजिलो देखियो,’ उनले भने, ‘१० जनाले गर्ने काम ४/५ जनालाई दिएर जोखिम कम गर्न सकिन्छ, संक्रमण नियन्त्रणका लागि यो पनि एउटा आधार बन्न सक्छ ।’ सशस्त्र र नेपाल प्रहरीका ८० हजारभन्दा बढी जनशक्ति कोभिड–१९ विरुद्धको प्रतिकार्य योजनाअन्तर्गत फिल्डमा खटिएका छन् । बुधबार नै सशस्त्र प्रहरीको १ नम्बर प्रदेशस्थित बराह बाहिनीअन्तर्गत रही सुनसरीस्थित सीमावर्ती क्षेत्रमा तैनाथ एक सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि कोसी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले संक्रमणबाट बच्न सबैभन्दा उपयुक्त विकल्प सामाजिक दूरी कायम नै भएको बताए । ‘सुरक्षाकर्मी पनि संक्रमणबाट मुक्त छैनन्,’ उनले भने, ‘तैपनि आत्तिनुपर्ने केही छैन, आवश्यक सावधानी अपनाएर काम गरे महामारीविरुद्ध जुध्न सकिन्छ ।’ संक्रमणको जोखिम बढ्दै जाँदा कामको बोझ पनि स्वाभाविक रूपमा बढ्दै जान सक्ने भएर सोहीअनुसार फिल्डमा खटिनेको ‘रोटेसन’ अवधि बढाउन सकिने र त्यसबारे फिल्डकै अफिसरलाई जिम्मा दिइएको उनले बताए । सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले आन्तरिक काममा खटिएकालाई फिल्डमा खटाएर फिल्डका र शंकास्पद क्षेत्रका फौजलाई सेल्फ क्वारेन्टाइनमा राख्ने गरी पनि खाका बनाएको बताए । खासगरी भारतीय सीमावर्ती जिल्लामा खटिएका सुरक्षाकर्मी उच्च जोखिममा छन् ।

मास परीक्षण गर्न सकिँदैन : सीसीएमसी

सुरक्षाकर्मीहरुमा नै कोरोना संक्रमण देखिएपछि देशभरका ब्यारेकमा रहेका प्रहरी तथा सशस्त्र प्रहरीमा ‘मास स्केल’ मा पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने प्रस्ताव सुरक्षा प्रमुखहरुले गरेका छन् । सामूहिक र संगठित रूपमा बस्ने फौजमा १ जनालाई संक्रमण देखिए, त्यो अन्यमा पनि सर्न सक्ने भन्दै यस्तो परीक्षणको प्रस्ताव गरिएको हो । तर कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बैठक तथा सचिवालयका अधिकारीले मास स्केलमा परीक्षण गर्ने क्षमता सरकारसग नभएको भन्दै जोखिमका आधारमा मात्रै परीक्षण गर्न सकिने जवाफ दिएका छन् । जोखिमको मूल्यांकन गरेर मात्रै परीक्षण गर्नुपर्ने धारणा बैठकमा आएको उच्च स्रोतले जानकारी दियो ।

नाका व्यवस्थित नहुँदा जोखिम

सरकारले कोभिड–१९ विरुद्ध प्रतिकार्य योजना बनाउदा फिल्डमा सुरक्षाकर्मीसगै स्वास्थ्यकर्मीसहित ‘प्यासेन्ट रिसिभिङ टिम’ (पीआरटी) परिचालन गर्ने भनेको थियो । तर त्यसअनुसार न पीआरटी गठन भयो, न फिल्डमा ओहोर दोहोर गर्नेको स्वास्थ्य जाँच नै । जसको असर पछिल्लो समय संक्रमण तीव्र गतिमा बढ्दो छ । ३५ लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानीमा झनै सुरक्षा सावधानी कमजोर देखिएको छ । मुख्यत: जगाती (भक्तपुर), नागढुंगा/थानकोट र फर्पिङ नाकाबाट भित्रिने मालबाहक सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छैन । राजधानीमा मात्रै यी नाकाबाट दैनिक १ हजारभन्दा बढी मालबाहक सवारी ओहोरदोहोर गर्छन् । भारतबाट भित्रिने इन्धन, खाद्यान्न तथा फलफूलसहितका सवारी साधनमा कमजोर स्वास्थ्य जाँचले जोखिम झनै बढाएको छ ।

गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहबाट बारम्बार निर्देशन र निर्णय गरिए पनि यी नाका हुँदै भित्रिने सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण ज्वरो नाप्ने थर्मल गनमा मात्रै सीमित छ । यस्तो जाँच सुरक्षाकर्मीले नै गर्दै आएका छन् । यसले झनै जोखिम बढाएको फिल्डमा खटिएका एक प्रहरीले बताए । राजधानी प्रवेश गर्ने नाकामा ‘अन द स्पट’ आरडीटी किटबाट परीक्षण गर्ने निर्णय पटकपटक भएका छन् । अझ यी स्थानमा एम्बुलेन्स र प्यासेन्स रिसिभिङ टिम पनि तयारी हालतमा राख्ने भनिएकोमा अहिलेसम्म त्यस्तो सावधानी अपनाइएको छैन ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मालबाहक सवारीसाधन तथा त्यसमा आएका चालक तथा सहचालकको जाँच प्रक्रियामा आवश्यक निर्णयका लागि स्वास्थ्य मन्त्रालय र अन्य निकायलाई निर्णय लिन भनिसकिएको बताए । ‘मन्त्रालयबाट निर्णय पनि भएका छन्,’ उनले भने, ‘अझ भारतबाट मालबाहक सवारीमा आएका चालक तथा सहचालकको स्वास्थ्य जाँचमा त झनै बढी ध्यान दिनुपर्ने देखिन्छ ।’ उपत्यकास्थित तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संययुक्त बैठकले प्रमुख नाकामा कम्तीमा स्वास्थ्यकर्मीसहितको टोली खटाएर ठाउँको ठाउँ आरडीटी परीक्षण गर्नुपर्ने सुझाव उच्च स्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टरमा पठाएको थियो । तर दुवै संयन्त्रले यसबारे निर्णय लिएका छैनन् ।

कसरी सुरक्षित रहने ?

हाल सुरक्षाकर्मी, अन्य पेसाका व्यक्ति संक्रमित हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक भएको विज्ञको सुझाव छ । काम गर्दा कम्तीमा १ मिटरभन्दा टाढा रहेर कुरा गर्ने, मास्क लगाइराख्ने, घरबाहिर बेलाबेलामा सेनिटाइजर हातमा लगाएर सावधानी अपनाउनुपर्ने डा.अधिकारी बताए । सञ्चारकर्मीले सकेसम्म भीडमा गएर समाचार संकलन नगर्ने, टेलिफोन, श्रव्यदृश्यलगायतका ‘भर्चुअल’ माध्यम उपयोग गर्ने, क्वारेन्टाइनभित्र नगई बाहिरबाटै अनुगमन गर्ने, क्वारेन्टाइनभित्र जानैपर्ने अवस्था आए व्यक्तिगत सुरक्षा उपकरण उपयोग गर्नुपर्ने उनको भनाइ छ । अत्यावश्यक सेवामा खटिएर आफू जुनसुकै बेला संक्रमित हुन सक्ने जोखिममा रहेकाहरुले घर परिवार, निकट सम्पर्कमा हुँदा सवाधानी अपनाउनुपर्ने सल्लाह डा.अधिकारीले दिए ।

कोरोनाको संक्रमण हाल बढ्दो क्रममा छ । बिहीबार बिहानसम्म मुलुकमा ४ सय ४४ जना संक्रमितसँगै २ जनाको मृत्युसमेत भइसकेको छ । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेहरुको दर १० प्रतिशत देखिएको छ । यो संक्रमणले हुने मृत्यु दर ०.४६ प्रतिशत छ । हाल यो रोगले २५ वर्षीय पुरुषको समेत मृत्यु भएको छ भने ८१ वर्षीया हजुरआमामा समेत खासै लक्षण नदेखिएर आफैं रोग निको भएको अवस्था छ । ‘कोरोना भाइरसबाट लडन सक्ने क्षमता कुन व्यक्तिमा छ, कसमा छैन भन्ने कुरा बाहिरी स्वास्थ्य हेरेर थाहा पाइन्न,’ डा.अधिकारीले भने, ‘सम्भव भएसम्म सबै नेपालीले हाल संक्रमणवाट जोगिने उपाय अपनाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित करिब ८० प्रतिशतमा कुनै लक्षण देखिँदैन वा धेरै कम लक्षण देखिन्छ । वृद्ध, मुटुको समस्या, उच्च रक्तचाप, अंग प्रत्यारोपण गराएकाहरु, क्यान्सर रोगी, फोक्सोको समस्या, विभिन्न प्रकारका दीर्घरोगीहरु बढी सतर्क हुनुपर्छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०९:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×