२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘राजनीतिमा लाज लाग्‍ने कुरा भइरहेको छ’

'हाम्रो देशमा कोरोनाभन्दा कुर्सी महत्त्वपूर्ण भयो । सुन्दा लाज पनि लाग्छ । यस्तो नभइदिए हुन्थ्यो भन्ने लाग्छ । भोलिपर्सि कोरोनाभन्दा खतरनाक हाम्रो राजनीति रहेछ, नेताहरु रहेछन् भनेर जनताले नसोचून् भन्ने लाग्छ ।'
जनकराज सापकोटा

कोभिड–१९ संक्रमितको संख्या थपिँदै जाँदा र आसन्न दिनहरु पनि अनिश्चित देखिँदा आमजनताले सरकारबाट आडभरोसा र थप उत्तरदायित्वपूर्ण व्यवहार खोजिरहेका छन् । सरकार र सत्तारूढ दलका शीर्ष नेताहरू भने शक्तिसंघर्षको खेलमा कुदिरहेका छन् ।

‘राजनीतिमा लाज लाग्‍ने कुरा भइरहेको छ’

लामो लकडाउनले आममान्छेमा छटपटी बढ्दै गएका बेला विषयान्तर हुने गरी राजनीतिक नेतृत्वले सुरु गरेको यस्तो शक्ति स्वार्थको खेलका कारण एउटा पेचिलो प्रश्न खडा भएको छ– के हामीले राजनीतिज्ञबाट यस्तै व्यवहार अपेक्षा गरेका थियौं ? यसै सन्दर्भमा हास्य कलाकार जोडी ‘मह’ (मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य) ले शाहीकाल र पञ्चायतमा देखिएको राजनीतिक विकृतिलाई व्यंग्य गर्दै गरेका प्रहसन र हास्यशृंखलाका भिडियो क्लिप हालैका राजनीतिक गतिविधिप्रति दिग्दारी व्यक्त गर्न प्रयोग हुन थालेका छन् ।

प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकासमेत निर्वाह गरेका मह जोडीले पछिल्लो घटनाक्रमलाई कसरी हेरेका छन् ? दुवैसँग कान्तिपुरका जनकराज सापकोटाले डिजिटल प्लेटफर्ममा गरेको कुराकानीको सम्पादित अंश :

लकडाउनमा समय कसरी बिताइराख्नुभएको छ ?

मदनकृष्ण : सुरु–सुरुमा त पिँजडामा बसेजस्तो भएको थियो । तर अहिले बानी परिसक्यो । घरकै रेकर्डिङ स्टुडियोमा नीर शाहको शब्द रहेको ‘यो मन बदल्न चाहन्नँ, यो पल बदल्न चाहन्नँ’ बोलको एउटा गीत पनि रेकर्ड गरेँ । कहिले साथीभाइसँग फोन गरेर, कहिले टिकटक हेरेर समय बिताउँछु ।

हरिवंश : सानोछँदा एकछिन चुप लागेर नबस्ने मेरो स्वभाव देखेर हजुरबाले मेरो जीउमा काउसो छर्किएको छ भन्नुहुन्थ्यो । सुनेको थिएँ, पैतालामा चक्र भएको मान्छे एकछिन बस्दैन रे । हजुरबाले खाली हिँड्याहिँड्यै गर्छ भनेर भनेर गाली गर्नुहुन्थ्यो । अहिलेको लकडाउनले के थाहा भयो भने मेरो जीउमा काउसो छरेको रैनछ, मसँग धैर्य पनि रहेछ । अब त खुल्ला कि भनेर डर लाग्न थाल्यो । खुल्यो भने त काममा जानुपर्छ । फेरि दौडिनुपर्छ । बानी बिग्रेलाजस्तो लागिराछ ।

घरभित्रै बसेर राजनीतिक गतिविधिका खबर हेर्दा सुन्दा कस्तो लागिरहेको छ ?

मदनकृष्ण : राजनीतिक समाचार पढ्दा खिन्न लाग्छ । यस्तो विकराल छ । सत्तापक्ष र प्रतिपक्ष सबै एकजुट भएर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेला छ । खेलाडीहरुबीच दुश्मनी भए पनि फुटबल खेल्दा सबैको ध्यान गोल गर्नतिर हुन्छ । हो, त्यसैगरी यतिबेला सबैको ध्यान कोरोना भाइरस हटाउन लाग्नुपर्ने थियो । तर यतिबेला भ्रष्टचारको कुरा सुन्नु परिराखेको छ । हरिवंश र म दुवै देशमा प्रजातन्त्र ल्याउनुपर्छ भनेर लाग्यौं । राणाकालमा पनि सत्ताका लागि लडाइँ भयो, आफू–आफू काटमार गरे । पञ्चायतकालमा पनि त्यस्तै देखियो । प्रजातन्त्र आयो भनेर दंग पर्‍यौं । तर यसमा पनि त्यस्तै पो हुन थाल्यो ।

हरिवंश : जानेर हो कि नजानेर, हामी राजनीतिबाट प्रभावित भयौं । देशमा भएका उथलपुथल र आन्दोलनमा हामीले पनि जानी–नजानी भाग लियौं । तर अहिलेको समय हेर्दा लाग्छ, हाम्रो राजनीति पहिले जहाँ थियो अहिले पनि त्यही छ । राजनीति एक स्टेप पनि अगाडि बढेको छैन । त्यो बेला पनि मान्छेको खुट्टा तान्ने प्रवृत्ति थियो । सत्तासँग त्यति नै ठूलो मोह थियो । हामीले त सत्तासँगभन्दा देशसँग मोह राख्ने नेता खोजिरहेका थियौं ।

हामीले गतिलो नेता पाएनौं भन्ने आशयको त एउटा गीत नै बनाउनुभएको थियो हैन ?

हरिवंश: ‘ईश्वर तिमीले जगत् बनायौ, चन्द्र बनायौ, सूर्य बनायौ, यति सुन्दर पृथ्वी बनायौ, पृथ्वीमै राम्रो नेपाल बनायौ... एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौ ?’ केही वर्षअघि हामीले गाएको यो गीत अहिले पनि युट्युबमा धेरैले हेरिराख्नुभएको छ । साँच्चै देशप्रति उत्तरदायित्व लिने नेताहरु हुनुहुन्छ होला । गर्न पनि खोज्नुभएको होला । तर राजनीतिक माहोल कहिले पनि सप्रेन । जहिले पनि सत्ता र कुर्सी नै सर्वोपरि हो भन्ने चेतना देखिन्छ । अहिले संसारमै कोरोनाले यति ठूलो तवाह गरिरहेका बेला, हाम्रोमा भने संसारले सुन्यो भने पनि लाज लाग्ने कुरा भइरहेछ । कोरोनासँग लड्न छाडेर हामी कुर्सीसँग लडिरहेका छौं ।

भिडियो कुराकानी हेर्नुहोस्

हाम्रो देशमा कोरोनाभन्दा कुर्सी महत्त्वपूर्ण भयो । सुन्दा लाज पनि लाग्छ । यस्तो नभइदिए हुन्थ्यो भन्ने लाग्छ । सत्बुद्धि आए हुन्थ्यो । भोलिपर्सि कोरोनाभन्दा खतरनाक हाम्रो राजनीति रहेछ, नेताहरु रहेछन् भनेर जनताले नसोचून् भन्ने लाग्छ । देशको समय मान्छेको समयजस्तो होइन । देशको एक वर्ष मान्छेको सय वर्ष बराबर हो । समय खेर गइरहेको छ । त्यसकारण उहाँहरुमा भगवान्ले सत्बुद्धि देऊन् । संसार धेरै अगाडि बढिसक्यो । हामी धेरै पछाडि छौं । हामीलाई कोरोनाको भन्दा देशकै पिर भइरहेछ ।

मदनकृष्ण : एउटा राम्रो नेता दिन तिमीले किन टाउको कन्यायौं भनेर हामीले गीत गाउँदा दर्शक हाँस्थे । मलाई भने हृदयदेखि रोऊँ–रोऊँ हुन्छ । धेरैपल्ट मलाई त्यस्तो भएको छ । साँच्चै किन हामीले एउटा राम्रो नेता पाएनौं ? प्रजातन्त्र ल्याउन भनेर जनताले त्यतिका धेरै लडे । जसरी हुन्छ सत्ता छाड्दै नछाड्ने प्रवृत्ति प्रजातन्त्रवादी भन्ने र कम्युनिस्ट भन्ने दुवै पार्टीमा देखियो । कहिल्यै राम्रो दिन आएन ।

रिवंश : अब त एउटा राम्रो नेता दिन किन तिमीले टाउको कन्यायौ भनेर मात्रै पनि नहुने भयो । बहुमतका लागि त धेरै नेता चाहिने रहेछ । अब एउटा मात्रै होइन, केही राम्रा नेता दिन किन तिमीले टाउको कन्यायौ भन्नुपर्ने भयो ।

तपाईंहरुले पञ्चायतकाल र शाहीकालमा गरेका राजनीतिक व्यंग्यका भिडियो क्लिप अहिले फरक समयमा पनि काम लागिरहेको छ, यस्तो थाहा पाउँदा कस्तो लाग्छ ?

मदनकृष्ण : एकदमै दु:ख लाग्छ । देश जहाँ थियो त्यहीँ छ अहिले पनि । अझै कतिपय क्षेत्रमा त देश पहिलेभन्दा पनि पछि पुगेको छ । कतिपय ठाउँमा देश अघि बढेको पनि छ । तर जुन हिसाबले राजनीति अगाडि बढ्नुपर्ने हो त्योचाहिँ छैन । राणाकालमा पनि सत्ताकै लागि झैझगडा थियो, पञ्चायतमा पनि त्यही भयो । अहिले त झनै हामीले देखिरहेका छौं ।

हरिवंश : देशले राजनीतिक स्थायित्व खोजिरहेको छ । सबैमा सत्तामा पुग्ने र सम्मानित पदमा बस्ने लोभ हुँदा राजनीतिक स्थायित्व कहिल्यै भएन । राजनीतिक वातावरणमा देश चल्नुपर्नेमा अहिले पारिवारिक वातावरणमा देश चल्न थालेको छ । यो पाराले देश कसरी अगाडि बढ्छ भन्ने पिर लाग्छ । देशमा असाध्यै ठूलो ‘इगो प्रोब्लम’ छ जस्तो लाग्छ । सँगैसँगै संघर्ष गर्ने नेताहरुबीचमै तँ ठूलो कि म ठूलो भन्ने भयो । हामीकहाँ त सत्ता नै म्युजिकल चियरजस्तो खेल भयो । हामी जनता धेरै निराश हुन थालेका छौं । सत्ता पनि कमाउने ठूलो ठाउँ भइदियो । कमाउने र खान पाउने ठाउँमा पुगेपछि छाड्न मन नलाग्ने देखियो । हामी सबैलाई सत्बुद्धि आएर देश राम्रो होस् भनेर धेरै वर्षदेखि कामना गरेका छौं । हामीसँग योभन्दा ठूलो आकांक्षा केही पनि छैन ।

तपाईंहरुको एउटा टेलिशृंखलामा एउटा संवाद थियो, ‘अरे क्यानम भान्साकै छेउमा भएको पाइखाना त दुरुस्त राख्न सकिन्छ । ठाउँमै आची गर्ने, जहीँतहीँ नगर्ने, दिनहुँ सफा गरे त भैगो । अनि क्यानम देश पनि अच्छा बनाउन सकिन्छ ।’ यो संवाद अहिलेको सन्दर्भमा पनि काम लाग्छ ?

हरिवंश : अहिले पनि राजनीतिक खिचातानी एक इन्च पनि घटेको छैन । हामी दुईले सहकार्य थालेको ४० वर्षमा धेरै राजनीतिक परिवर्तन भयो । तर राजनीतिको मनोवृत्ति खासै धेरै बदलिएन । उतिबेला पनि सत्ताका लागि धेरै लुछाचुडी हुन्थ्यौ । आज पनि हामी त्यही घुमिरहेका छौं ।

मदनकृष्ण : नेताहरुमा निरंकुशपना देखियो । कुर्सीका लागि जे पनि गर्ने । जस्तोसुकै इज्जत गए पनि मतलब छैन । पैसा खर्च भए पनि मतलब छैन । सरकारी कार्यालयमा सानो काम लिएर जाँदा केही न केही नटक्रयाईकन काम नै नबन्ने भएको छ । भ्रष्टाचारको जरा माथि नै छ । त्यसलाई प्रश्रय दिने काम माथिबाट भइरहेको छ । संवैधानिक अंगहरु बलियो हुनुपथ्र्यो । न्यायाधीश र प्रधानन्यायाधीश र अख्तियारजस्ता ठाउँमा कोही पनि सरकारका गोटी हुनु हुँदैनथ्यो । आफूले मन परेको मान्छेलाई ती ठाउँमा राख्दा ती मान्छे सरकारप्रति बफादार हुन्छन् । अनि, न भ्रष्टाचार नियन्त्रण हुन्छ, न अख्तियार दुरुपयोग रोकिन्छ । जुन–जुन काम नहोस् भन्छौं, त्यही–त्यही भइरहेको छ ।

हामीले तपाईंहरुसँग कुराकानी थाल्नुअघि पाठकबाट पनि प्रश्न मागेका थियौं । फेसबुकमा केबी रानाले मदनबहादुर–हरिबहादुर टेलीसिरियलमा हरीबहादुर भन्ने पात्रले उटपट्याङ, फटाहा, जालझेल, स्वार्थी भूमिका निर्वाह गरेको सन्दर्भ जोड्दै लेखेका छन्, ‘मलाई अहिलेका नेताहरु त्यही हरिबहादुरजस्तो लाग्दै छ ।’ के भन्नुहुन्छ ?

मदनकृष्ण : जनता आफ्नै किसिमका छन् तर नेताहरुमा भने हरिबहादुर प्रवृत्ति बढ्दै छ ।

हरिवंश : हरिबहादुर प्रवृत्तिको नेतृत्व त हामीले भोग्दै आएका छौं । तर हरिबहादुर सत्तामा पुग्न सकेको छैन । हरिबहादुर असफल राजनीति गर्ने मान्छे हो । ऊ कही पनि सफल भएन । जे गरे पनि हरिबहादुर कत्तै पनि मिल्न नसक्ने र जे गरे पनि बिगार्ने पात्र हो । यहाँ त हरिबहादुरभन्दा धेरै गुणा नराम्रो मन भएका मान्छे सत्तामा भएकाले यस्तो भएको होलाजस्तो लाग्छ । हरिबहादुर त एउटा अबोध मान्छे हो । उसले आफूलाई खुब चलाख भन्ठान्छ तर हरेक पाइलामा लडिरहन्छ । उसले कमाउन सकेन । परिवार पनि राम्रोसँग राख्न सकेन । सम्पत्ति जोगाउन सकेन ।

हरिबहादुरजस्तो भएको भए त देशले सुख पाउँथ्यो होला । किनभने हरिबहादुरले केही पनि कमाएन । गुमायो मात्रै । हरिबहादुरभन्दा खतरनाक प्रवृत्ति देशमा छ । हरिबहादुर भनेको एउटा छुल्याहमुल्याह प्रवृत्ति न हो । कुरा लगाउने, बजाउने, जुधाउने पात्र न हो । हरिबहादुरभन्दा धेरै आपराधि दिमाग भएका मान्छे सत्ता नजिक–नजिक पुगेका छन् ।

सामाजिक सञ्जालमार्फत विमल सुन्दासले तपाईंहरुलाई कोरोनाको कहर ठूलो हो कि राजनीतिको फोहोर ठूलो हो भनेर सोध्नुभएको छ ।

हरिवंश : कोरोनाले त एकाध वर्ष दु:ख देला । यो अस्थायी हो । भ्रष्टाचार भनेको स्थायी हो । कोरोनालाई जित्न सजिलो छ । भ्रष्टचारलाई जित्न गाह्रो छ । हाम्रो जस्तो देशमा कोरोनाभन्दा भ्रष्टचार खतरनाक रोग भएर आएको छ । यो पछिसम्म रहिरहला भन्ने छ । कोरोनासँग लुकेर पनि बस्न सकिन्छ । भ्रष्टचारसँग त लुकेर पनि बस्न सकिँदैन । संयमता अपनाएर हिँड्यौं भने कोरोनाबाट बच्न सकिएला । तर भ्रष्टाचार त नेताको हातमा छ ।

मदनकृष्ण : भ्रष्टचारको एउटै भ्याक्सिन भनेको इमानदारी हो । तर यस्तो भ्याक्सिन कसैले लिन खोजेनन् ।

हरिवंश : नेपालले अब भ्रष्टाचारको भ्याक्सिन बनाउनुपर्‍यो ।

पीआर बरालले ट्वीटरमा सोध्नुभएको छ, ‘तपाईंहरु २०६२/६३ को आन्दोलनमा राजाविरुद्ध सक्रियतापूर्वक लाग्नुभयो । आजको राजनीतिले सयौं राजा जन्माएको देख्दा त्यसबेला गल्ती भएछ भन्ने लाग्दैन ?

हरिवंश : हिजो त्यसरी लाग्नु गल्ती हुँदै होइन । अब पछाडि फर्केर हेर्नुभन्दा पनि अगाडि हेर्नुपर्छ । राजनीतिमा भएका विकृतिलाई हाम्रो पुस्ताले नसके पनि आउने पुस्ताले धकेलेर बगाउँछजस्तो लाग्छ । राजनीतिको विकल्प राजनीति नै भएकाले यसलाई सपार्दै लानुपर्छ । पछाडि फर्केर नहेरौं ।

मदनकृष्ण : हामी धर्म, जात, भाषा र राजनीति र आफ्नै बुद्धिका कारणले विभाजित भएका छौं । यतिबेला यो भाइरसले भाषा, धर्म, जात, सम्पत्ति, इगो केही पनि होइन भन्ने शिक्षा दिएको छ । तर त्यसलाई मनन गर्न सक्नुपर्‍यो । यसो गरे राजनीतिले राम्रो रूप लिन्थ्यो कि †

राजीव अधिकारीले फेसबुकमा लेखेका छन्, ‘मह जोडी हामीले चिनेजानेदेखि कहिल्यै झगडा नगरी एकै ठाउँमा देखिन्छन् । सधैं कसरी यसैगरी मिलेर अघि बढ्ने भनेर नेताहरुलाई सिकाइदिनुपर्‍यो ।

हरिवंश : हामीभन्दा राजनीति धेरै जेठो हो । त्यसैले राजनीतिले हामीबाट सिक्ने कुरै आएन । फेरि हामी त्यति ठूला मान्छे होइनौं । हामीबाट राजनीतिले सिक्नुपर्छ भन्ने होइन । बरु राजनीतिबाट हामीले सिक्न पाए हुन्थ्योजस्तो लाग्छ । हामीलाई लाग्छ, मिलेर काम गर्दा धेरैथोक पाइन्छ । नमिलेर काम गर्दा केही पनि पाइँदैन । मिलेर काम गरिदिए नेताहरु अमर बन्नुहुन्थ्यो । उहाँहरुको सालिक बन्थ्यो । हुन त हिजोआज जसले पनि भनसुन गरेर, मिलाएर भए पनि सालिक बनाइहाल्छन् । कार्यकर्ताले नभए आफ्नो पक्षकाले भए पनि सालिक बनाउँछन् । तर राम्रो काम गर्ने नेताको सालिकलाई जनताले मनदेखि सम्झेर ढोग्थे । नेपालीले फलानो नेता सम्झिँदा गर्व लाग्छ भन्ने गरी आफूलाई बनाउने मौका नेताहरुलाई अझै छ ।

मदनकृष्ण : हाम्रो एकताबाट राजनीतिले सिकेन के भन्नु † मान्छेहरु कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड विचारका हुन्छन् । हरिवंश र मेरो पनि अनुहार र जात मिल्दैन । न हाइट मिल्छ । तर राष्ट्रियता मिल्छ । देश मिल्छ । स्वभाव बेग्लै छ तर सिद्धान्त मिल्छ । काम गर्ने बाटो एउटै छ । दुई फरक प्रकृतिका छौं । तर हामी एकअर्कालाई बुझ्ने प्रयास गर्छौं । मेरो कुरा उसले सहन्छ । उसको कुरा मैले सहन्छु । हामी मिलेर काम गरेकाले नै आममान्छेले हामीलाई माया गरेका हुन् । एकले अर्कालाई बेवास्ता गर्‍यौं भने जनताले हामीलाई एकैछिनमा मन पराउन छाड्छन् । हामी एक्लाएक्ला कोही होइनौं । मिलेर काम गर्न गाह्रो पनि छ । तँभन्दा म ठूलो हो भनेर नसम्झिने हो भने सजिलो छ । सहकार्यमा इमानदार हुन पैसामा लोभी हुनु हुँदैन । तर राजनीति गर्नेहरु पैसामा कोही इमानदार देखिएनन् । पैसा भयो भने जहाँ खसे पनि टिपिहाल्ने । मुखैले टिपिहाल्ने । त्यही भएर बिग्रेको हो ।

कतिपयले भन्ने गरेका छन्, हामीले जनताको स्तरअनुसारको नेता पाएका हौं । कतिपयले नेता उस्तै भएर जनता त्यस्ता भएका हुन् पनि भन्ने गर्छन् ? तपाईंहरूलाई के लाग्छ ?

मदनकृष्ण : जनता कहिल्यै खराब हुँदैनन् । जनता त समयअनुसार परिवर्तन हुँदै जान्छन् । गइरहेका पनि छन् ।

हरिवंश : जनताले यो हुन्छ कि त्यो हुन्छ कि भनेर प्रयोग गरेको गर्‍यै छन् । पञ्चायत भने, बहुदल आएपछि पनि कहिले कांग्रेसलाई, कहिले कम्युनिस्टलाई बहुमत दिए । त्यो पनि भएन । गणतन्त्र ल्याएपछि हुन्छ कि गणतन्त्र नै ल्याए । गणतन्त्रमा पनि जनताले दुई/तीनथरीलाई प्रयोग गरिसके । मलाई जनताले म्यान्डेट दिएर पठाएका छन् र देश नै सर्वोपरि हो भनेर नेताले सोचे पो जनता खुसी हुन्थे । राजनीतिको जग बिग्रियो भने भोलि न कांग्रेसले शासन गर्न पाउँछ, न कम्युनिस्टले न मधेसवादी दलले । नेपाली जनताले बेला–बेला आफ्नो निर्णय बदलेका छन् । विकल्प सोचेका पनि छन् । जनता त एकदमै सचेत छन् । देशलाई माया पनि गर्छन् ।

प्रकाशित : वैशाख २३, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?