केपी कमरेडबाट देश र पार्टी दुवै चलेन : नेता पन्त- कुराकानी - कान्तिपुर समाचार

केपी कमरेडबाट देश र पार्टी दुवै चलेन : नेता पन्त

बिनु सुवेदी

काठमाडौँ — पार्टीभित्रै र बाहिरबाट विरोध भएपछि दुईवटा विवादास्पद अध्‍यादेश फिर्ता लिन बाध्‍य भएका प्रधानमन्‍त्री तथा नेकपाका अध्‍यक्ष केपी शर्मा ओलीले मिलेर जान नेताहरुलाई प्रस्ताव गरेका छन् । अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् ।

स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । यसै सन्दर्भमा नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानी :

आन्तरिक विवाद चर्किएको यो बेला नेकपा कस्तो अवस्थामा छ ?

आन्तरिक रूपमा देखा परेका र सरकारमा देखा परेका समस्यालाई विधिवत ढंगबाट निकास दिएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा हामी छौं । त्यसका लागि जतिसक्दो छिटो बैठक डाक्नुपर्छ भनेर दुवै अध्यक्षलाई पत्र लेखिसकेका छौं । आज भेलामा माधव कमेरड र कार्यकारी अध्यक्ष प्रचण्ड कमरेडलाई पनि हामीले जतिसक्दो छिटो बैठक डाक्नुस् भन्यौं । पार्टीमा यत्रो बबन्डर हुँदा सचिवालयमा मात्रै छलफल गर्ने कुरा हामीलाई स्वीकार्य छैन । यो सचिवालयबाट मात्रै निर्णय गर्ने प्रक्रिया ठीक लागेको छैन । हाम्रो पत्रलाई बेवास्ता गरियो भने हामी अर्काे ढंगले अघि बढ्छौं ।

उहाँहरुको जवाफ के छ ?

बैठक डाक्न प्रचण्डले केपी कमरेडलाई भन्नुभएको रहेछ तर आज सचिवालयको बैठक डाकिएन भन्ने थाहा भयो । अब कुनै पनि आलेटाले कुराले हुँदैन, पार्टीका अत्यधिक बहुमत सदस्यको कुरा पार्टीमा देखा परेका समस्याबारे स्थायी कमिटी बैठकमा छलफल गरिनुपर्छ भन्ने छ । प्रधानमन्त्रीको कुरा पनि सुनौं भन्ने हो । प्रधानमन्त्री ओलीले सरकार र पार्टीलाई निकास दिनुपर्छ र उहाँले के निकास दिने भन्ने उहाँले नै सोच्नुपर्छ भनेका छौं । यथास्थितिमा रहेर अब अघि बढ्न सकिन्न भन्ने साथीहरुको साझा निष्कर्ष छ ।

सरकार र प्रधानमन्त्रीले के गर्नुपर्छ भन्ने यहाँको धारणा हो ?

हामी स्थायी कमिटीमा राम्ररी छलफल गर्छाैं र त्यहींबाट प्रधानमन्त्रीले एउटा निकास दिनुपर्छ भन्ने हाम्रो माग हो । पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्छ । बाहिर कराएर, एकले अर्कालाई आरोप–प्रत्यारोप गरेर समाधान निस्किन्न ।

यहाँहरूले पार्टी र सकारमा देख्नुभएको मूल समस्या के हो ?

पार्टी गतिरोधको सिकार भयो । केपी कमरेडले समय पनि दिन सक्नुभएको छैन । समय दिन सक्नुभएन भनेर धेरै आलोचना गरौं भने फेरि उहाँको स्वास्थ्यको जटिलता पनि छ । त्यही समस्याले गतिहीन ढंगले काम भइरहेको छ । न सरकारमा हाम्रो दक्षता देखिएको छ, न पार्टीको गतिहीनतालाई तोड्न सकिएको छ । यो यथास्थितिमा अब सरकार र पार्टीलाई राख्न सकिन्न । यही अवस्थामा रहिरहने हो भने पार्टीको भविष्य हुँदैन । आउने चुनावमा हामी जनताको अगाडि जान सक्दैनौं । त्यसैले यी सबै परिस्थितिलाई ध्यानमा राखेर विकल्प के हो भन्नेबारे खुलस्त छलफल हुनुपर्छ । बैठकमा जे निष्कर्ष निस्किन्छ, त्यसलाई सबैले बोकेर हिँड्नुपर्छ भन्ने हो ।

अध्यादेश प्रकरणपछि यहाँहरुले एकदम धेरै छलफल गर्नुभएको छ, छलफलमा अबको विकल्प के हुन सक्छ भनेर कुरा गर्नुभएको त होला नि ?

पार्टी फुटाउने खालको छलछामको खेल धेरै भएर हामी पहिले पनि आजित थियौं । दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्छ भन्ने प्रावधान जाने–बुझेरै ल्याइएको हो । अहिले संरचना नै परिवर्तन गर्ने खालको अध्यादेश ल्याएर अरूको पार्टीमा समेत चलखेल गर्ने प्रयास भएको छ । म अहिले सबै कुरामा डिटेलमा जान्न । जे–जे कुरा बाहिर आएको छ, त्यसले राजनीतिक दलका लागि एकदमै अशोभनीय काम भयो । यस्तो अशोभनीय काम हुनु हुँदैन ।

त्यसो हुँदा प्रधानमन्त्रीलाई यहाँहरूलाई के भन्नुहुन्छ ? सच्चिने या राजीनामा दिने ?

यथास्थितिमा उहाँबाट देश र पार्टी दुवै चलेन । अरूले भन्नेभन्दा पनि देशलाई निकास दिन उहाँ नै अघि सर्नुपर्छ ।

उहाँले दिनुभएन भने के हुन्छ ?

त्यसो भयो भने कमिटीमा छलफल हुन्छ । त्योभन्दा पहिले नै पार्टी एकतालाई बलियो बनाउने गरी निकास दिने काम प्रधानमन्त्रीले गर्नुपर्छ ।

प्रकाशित : वैशाख १५, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

कुवेतमा आममाफीमा सयौं नेपाली सहभागी

राहदानी, नागरिकता र सिभिल आईडीको फोटोकपीसमेत नहुने घरेलु महिला कामदारलाई आममाफीमा सहजै सहभागी हुन कठिन
होम कार्की

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले आवासीय भिसा उल्लंघन गरी (रोजगारदाता छाडेका) बसेका नेपाली कामदारलाई आममाफी लागू हुने दुई दिनअघि मात्रै सहभागी हुन सूचना जारी गरेको छ । कुवेतले नेपालीका लागि अप्रिल २६ देखि ३० सम्म चार दिनको समय तोकेको छ ।

दूतावासले ढिलो सूचना जारी गर्नुको स्पष्ट कारण बताएको छैन । ढिलो सूचना जारी गर्दा अलेखबद्ध रूपमा घरमा काम गर्ने घरेलु कामदार समयमै आधिकारिक सूचना पाउनबाट वञ्चित भएका छन् । झन्डै ७ हजार नेपाली कामदार अलेखबद्ध (रोजगारदाता छाडेका) छन् । गत फेबु्रअरी २९ सम्म भिसाको म्याद समाप्त भएका कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउनेछन् । यसमा सहभागी हुने कामदारले जरिवाना तिर्नुपर्दैन । नेपालसम्म आउने हवाई टिकटसमेत कुवेत सरकारले नै दिन्छ । यस्ता कामदारले कुवेतमा पुन: काम गर्न जान पनि पाउनेछन् ।

कुवेत सरकारले आममाफीमा सहभागी हुने नेपाली कामदारका लागि निश्चित केन्द्र तोकेको छ । जलिब हसविया क्षेत्रमा बस्ने नेपाली पुरुष र महिला कामदारका लागि छुट्टाछुट्टै केन्द्र तोकिएको छ । पुरुषका लागि जिलिब अलसुएखको सडक नम्बर २५० स्थित नयिम बिन मसुद पुरुष स्कुलको ब्लक नम्बर ४ र महिलाका लागि जिलिब अल सुएखको सडक नम्बर २०० स्थित रुफाइदा अल अस्लामिया प्राथमिक महिला स्कुलको ब्लक नम्बर ४ मा तोकिएको छ । फर्वानिया क्षेत्रमा बस्ने पुरुष कामदार फर्वानियाको सडक नम्बर १२२ स्थित अल मुथान्ना प्राइमरी पुरुष स्कुलको ब्लक नम्बर १ मा जानुपर्नेछ । महिला कामदार फर्वानियाको सडक नम्बर ७६ स्थित फर्वानिया प्राइमरी महिला स्कुलको ब्लक नम्बर १ मा जानुपर्नेछ । दूतावासले महावुल्ला क्षेत्रमा बस्ने नेपाली कामदार जानुपर्ने केन्द्र भने अझै बताएको छैन ।

तोकिएको केन्द्रमा आवेदन दिन जाँदा २० केजीको लगेज र ७ केजीको हाते ब्यागमा अट्ने सामान मात्रै लैजान पाउनेछन् । आवेदन स्वीकृति भएको खण्डमा कुवेतले तोकेको अस्थायी आश्रय केन्द्रमा बस्न पाउनेछन् । नेपाल नआएसम्म तोकिएको आश्रय केन्द्रबाट बाहिर निस्कन पाइने छैन ।

जिलिप क्षेत्रमा बस्ने नेपाली दूतावास जानु नपर्ने

म्याद भएको सक्कली राहदानी भएका कामदार दूतावास जानुपर्दैन । उनीहरूले सीधै क्षेत्रगत हिसाबले तोकिएको केन्द्रमा गई आममाफीका लागि आवेदन दिन पाउनेछन् । जिलिप क्षेत्रमा बस्ने नेपाली कामदारले तोकिएकै केन्द्रमा ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) का लागि आवेदन दिन पाउनेछन् । जिलिप क्षेत्रमा बस्ने नेपालीले दूतावास जानुनपर्ने गरी व्यवस्था मिलाइएको छ ।

राहदानी साथमा नभएकाले मात्रै ट्राभल डकुमेन्ट बनाउनुपर्नेछ । त्यसका लागि सक्कली नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आईडी नभएका तर फोटोकपी भएकाहरुले चार प्रति फोटोसहित केन्द्रमा जानुपर्नेछ ।

कुनै कागज नभएकाको हकमा भने फिंगर प्रिन्टका आधारमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट प्राप्त गरेर मात्र चार प्रति पासपोर्ट साइज फोटोसहित ट्राभल डकुमेन्टका लागि सोही स्थानमै आवेदन दिन सकिने नेपाली दूतावासले जनाएको छ । साथमा कागजात नभएका कामदारले भने आममाफी प्रक्रियामा सहज रूपमा सहभागी हुन कठिन देखिएको छ ।

जिलिब हसविया क्षेत्रबाहेकका स्थानमा बस्ने कागजात भएका नेपाली कामदार भने ट्राभल डकुमेन्ट बनाउन नेपाली दूतावास जानुपर्नेछ । परिचय खुल्ने सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आईडीको फोटोकपीसमेत नभएका नेपाली कामदारले कुवेतको दजिजस्थित जनेरल इभिडेन्स डिपार्टमेन्टबाट रिपोर्ट लिएर गएपछि मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नेछ ।

‘कुनै कागजात नभएका घरेलु कामदारको हकमा यो प्रावधानले कठिन बनाइदियो । कमसेकम दूतावासले यस्तो संवेदनशील बेलामा यस प्रक्रियाबारे पहिला नै सूचना जारी गरेको भए घरेलु कामदार सम्बन्धित विभागमा जाने समय हुन्थ्यो, अब यो चार दिनमा कसरी सम्भव छ,’ नेपाल ट्ेरड युनियन महासंघ (जिफन्ट) को कुवेतस्थित संयोजक गणेश रावतले कान्तिपुरलाई भने, ‘समयमा सूचना जारी नहुँदा घरफिर्ती प्रक्रियामा सहभागी हुन पाउने नेपालीलाई कठिन भएको छ ।’

कुन क्षेत्रमा बस्ने नेपाली कहिले दूतावास जाने ?

दूतावासले जिलिब हसविया क्षेत्रमा बस्नेबाहेकका नेपालीका लागि फरक–फरक समय तोकेको छ । फर्वानिया, खैतान, सुएख, रिगाई र कुवेत सिटीमा बस्ने नेपालीका लागि वैशाख १३ (अप्रिल २५), फाहाहिल, मंगाफ र फिन्तास बस्ने नेपालीका लागि वैशाख १४ (अप्रिल २६), ओफ्रा, अवदली, जाहरा, सालमिया र हवालीमा बस्ने नेपालीका लागि वैशाख १५ (२७ अप्रिल) को मिति तोकिएको छ ।

यो क्षेत्रबाहेकका नेपालीका लागि वैशाख १६ देखि १८ (२८—३० अप्रिल) को मिति तोकिएको छ । महाबुल्ला क्षेत्रमा बस्ने नेपालीहरूका लागि छुट्टै सूचना प्रकाशित नभएकाले सम्भवत: दूतावासले यो दुई दिनका लागि छुट्याएको हुन सक्छ । ‘कुवेतले आममाफी तोकेको समय र दूतावासले ट्राभल डकुमेन्ट जारी गर्ने समय एकै समय पर्‍यो । यो दूतावासको ठूलो कमजोरी र लापरबाही हो । नागरिकलाई सेवा दिने यो तरिका ठीक भएन । कुवेतले एक महिना अगाडि नै नेपालीका लागि अप्रिलको २६—३० तारिख भनेर छुट्याइसकेको थियो । दूतावासले यो दिनमा नेपालीलाई तयारी अवस्थामा राख्नका लागि २६ अप्रिलअगाडि नै ट्राभल डकुमेन्ट जारी गरिसक्नुपथ्र्यो,’ रावतले भने, ‘अब दूतावासमा सेवाग्राहीको भीड बढ्ने सम्भावना छ । जसले सेवा प्रवाहमा असर पर्ने स्थिति देख्छु ।’

थप ६ नेपाली संक्रमित

कुवेतमा शनिबार थप ७ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुवेतमा संक्रमित नेपालीको सख्या ४२ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो । पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ । शनिबार मात्रै ६ नेपालीसहित २ सय ७८ जनामा नयाँ संक्रमण देखिएको हो । हालसम्म संक्रमितको संख्या २ हजार ८ सय ९२ पुगेको छ । जसमा सबैभन्दा बढी भारतीय कामदार छन् ।

कुवेतस्थित नेपाली दूतावासमा शनिबार ट्राभल डकुमेन्ट बनाउन गएका नेपाली कामदार । दूतावासले शनिबारबाट आममाफीमा सहभागी हुन इच्छुकलाई ट्राभल डकुमेन्ट जारी गर्न थालेको हो । तस्बिर सौजन्य : सुजन केसी

प्रकाशित : वैशाख १५, २०७७ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×