खाडीबाट कामदार ल्याउन सकिँदैन : श्रममन्त्री यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को महामारी खाडी मुलुक र मलेसियामा पनि विस्तार हुँदा त्यहाँ कार्यरत नेपाली जोखिममा पर्न थालेका छन् । केही संक्रमित भएका छन्, कोही रोजगारी कटौतीमा पर्न थालेका छन् ।

उनीहरूको उद्धार वा राहतका विषयमा नेपालले के गर्दै छ ? श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग जनकराज सापकोटाले गरेको कुराकानी :

संक्रमणको जोखिम विस्तार भइरहेको खाडी र मलेसियामा रहेका लाखौं नेपाली कामदारका विषयमा के सोचिरहनुभएको छ ?

मन्त्रालयले यसबारे काम गरिरहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र मैले भिडियो कन्फेरेन्स र टेलिफोनमार्फत सम्बन्धित देशका दूतावास, नियोग र तत् देशका सरकारी अधिकारीसँग कुनै नेपालीले दुःख नपाउन् भनेर कुरा गरिरहेका छौं ।

के कुरा भयो ?

दूतावास र नियोगलाई रोजगारी बन्द भएको अवस्थामा कामदारलाई रोजगारदाताले नै खानेबस्ने व्यवस्था मिलाउने गरी कुरा गर्न निर्देशन दिएका छौं । सम्भव भए तलब पनि दिलाउन भनेका छौं । प्रारम्भिक चरणमा यो काम अघि बढेको छ । श्रमिकहरूलाई पनि दूतावास वा मिसनसँग सम्पर्कमा बस्ने वातावरण बनाएका छौं ।

कुनै कारणले रोजगारदाताले पाल्न सकेनन् र त्यहाँबाट छाड्नुपर्ने अवस्था आयो भने दूतावासले सेल्टर व्यवस्था गरेर नेपाली कामदारलाई खानेबस्ने व्यवस्था मिलाउने प्रक्रिया थालेका छौं । यसमा दूतावास वा कूटनीतिक मिसनले सकेनन् भने नेपाल सरकारले थप व्यवस्था मिलाउनेछ ।

नेपालभित्रै पनि केही पहल गर्नुभएको छ कि ?

मैले म्यानपावर व्यवसायीलाई बोलाएर कुरा गरेको छु । मेनपावरमार्फत समन्वय गरेर पनि रोजगारदातालाई विश्वासमा लिएर उनीहरूबाट सहयोग लिने कुरा भएको छ । कमसेकम बस्ने र खाने व्यवस्था रोजगारदाताले गर्न सक्छन् ।

साउदी अरबले केही दिनअघि मात्रै कतिपय देशका कामदारलाई चार्टर विमानमार्फत फिर्ता पठायो । त्यहाँ रहेका हाम्रा कामदारको हकमा के होला ?

साउदीले बंगालादेश, पाकिस्तानलाई पत्र नै लेखेर कामदारको व्यवस्थापनबारे कुरा गरेको छ । कतिपय देशमा कामदार फिर्ता पठाउन खोजेको छ । नेपाली कामदारलाई भने उसले अन्यको सूचीमा राखेको छ । त्यसकारण फर्काइहाल्दैन होला ।

साउदी अरबमा संक्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपाली कामदारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उच्च तहमा केही कुरा भएको छैन ?

हामीले यही अवस्थामा बाहिर बसेका नेपालीलाई ल्यायौं भने व्यवस्थापन गर्न गाह्रो हुन्छ । यसो भन्दैमा उता रहेका नेपालीलाई अनादर गरेको होइन । नेपाली जो जहाँ छन्, त्यहीँ सम्मान र सुरक्षासाथ व्यवस्थापन गर्न सजिलो छ । उनीहरूलाई यता ल्याएर राख्ने कुरामा व्यवस्थापकीय पक्ष जटिल हुन्छ, हामी सम्हाल्न सक्दैनौं ।

खाडी मुलुकमा संक्रमण बढ्दै गयो भने त्यहाँबाट कामदार फिर्ता पठाउने अवस्था देख्नुहुन्छ ?

हामीकहाँ विमान आउनै प्रतिबन्ध रहेका अवस्थामा त्यो कसरी सम्भव होला र । फर्काउनैपर्ने परिस्थिति आयो भने हामी विकल्प खोजी गर्छौं ।

कतिपय देशमा कामदार भोकै बस्नुपरेको छ । फिलिपिन्सले श्रम गन्तव्य देशमा रहेका आफ्ना नागरिकलाई खाना बाँड्न थालिसकेको छ । हाम्रो के तयारी छ ?

सारा दुनियाँले परिकल्पना नगरेको परिस्थिति आइरहेको छ । नयाँ परिस्थितिमा नयाँ हिसाबले व्यवस्थापन गर्दै जाने हो । अहिले हामीलाई देशभित्र भएका क्वारेन्टाइनमा राख्न धौधौ परिरहेका बेला विदेशमा रहेका कामदार ठूलो संख्यामा एकैचोटि आउँदा धेरै गाह्रो हुन्छ । परिआयो भने हाम्रा स्कुलका होस्टलहरूमा बेड छँदै छन् । त्यतापट्टि पनि सोच बनाएका छौं । नेपालीलाई भोकभोकै मर्न दिइने छैन ।

अहिले मन्त्रालयले नेपाली कामदार रहेकामध्ये कुनकुन देशलाई पहिलो प्राथमिकतामा राखेको छ ?

सबैभन्दा बढी प्रभाव साउदी अरब र संयुक्त अरब इमिरेट्समा देखिएको छ । बहराइनमा पनि समस्या देखिन थालेको छ । कतार र मलेसियामा समस्या चर्किसकेको छैन । हामीले कूटनीतिक च्यानलमार्फत समस्या बुझ्न प्रयोग गरिरहेका छौं ।

समस्या लम्बिँदै गयो भने के गर्ने ?

यस विषयमा सिंगो सरकार नै चिन्तित छ । बरु कोरियाको श्रम स्वीकृति लिएर बसेका दुई सय कामदार त्यहाँ जान तयार छन् । अहिले कोरियामा अवस्था सहज बन्दै गएको छ । त्यसैले हामी त्यहाँ पठाउने वातावरण बनाउँदै छौं ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख ४, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

धादिङमा बाहिरी जिल्लाबाट ढुवानीमा रोक  

हरिहरसिंह राठौर

धादिङ — खाद्यान्न ढुवानीका नाममा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले लकडाउन थप कडा पारेको छ । प्रशासनले बिहीबार बाहिरी जिल्लाबाट हुने तरकारी, फलफूल र खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

सदरमुकामनजिकैको ज्वालामुखीमा र्‍यापिड टेस्टमा एक जनामा कोरोना पोजिटिभ देखिएको र दैनिक उपभोग्य वस्तुको खरिदविक्रीका नाममा लापरबाही बढ्न थालेकाले कडाइ गरिएको प्रजिअ अस्मान तामाङले बताए । बुधबारसम्म दैनिक दुईपटक खोल्न दिइएका तरकारी र खाद्यान्न पसल पनि बिहीबारबाट बन्द गरिएका छन् । मोटरसाइकलसमेत चल्न दिइएका छैनन् ।

जिल्ला उद्योग वाणिज्य संघसहितको जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलन नदिन वैशाख ४ देखि १० गतेसम्मलाई ढुवानीमा प्रतिबन्ध लगाएको हो ।

वाणिज्य संघले सदरमुकाममा १७ हजार बोरा चामल मौज्दात रहेको र आन्तरिक उत्पादनबाटै सस्तोमा तरकारी उपलब्ध गराउन सकिने जनाएपछि रोक लगाइएको प्रजिअ तामाङले बताए ।

यसअघि धादिङका विभिन्न संकलन केन्द्रबाट काठमाडौं गएको तरकारी फेरि धादिङबेंसी ल्याइने गरेको छ भने तराईका जिल्लाबाट पनि ढुवानी हुँदै आएको थियो । जिल्लामै उत्पादित तरकारी विक्री नभएर किसान मर्कामा परेका बेला यहीँ खपत गर्न सके सबैको भलो हुने वाणिज्य संघ अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

भीडभाड बढेकै कारण बैंक तथा वित्तीय संस्था खोल्न पनि रोक लगाइएको छ । औषधि पसल पनि सुरक्षाका सम्पूर्ण उपाय अपनाएर मात्र खोल्न आग्रह गरिएको छ ।

बिरामी नबोकेको भन्दै एम्बुलेन्स तोडफोड

ज्वालामुखी–३ अमराईमा बुधबार राति स्वास्थ्य सामग्री बोकेको एम्बुलेन्स तोडफोड भएको छ । आरडीटीमा पोजिटिभ देखिएका ज्वालामुखीकै २७ वर्षीय युवकलाई अस्पताल लैजान नमानेको आरोपमा स्थानीयले एम्बुलेन्स तोडफोड गरेका हुन् ।

मैदी स्वास्थ्य चौकीद्वारा सञ्चालित बा२झ २७२५ नम्बरको एम्बुलेन्स बुधबार अन्य बिरामी काठमाडौं पुर्‍याई ज्वालामुखी स्वास्थ्य केन्द्रका संयोजक सुरज श्रेष्ठले सञ्चालन गरेको मेडिकल हलका लागि औषधि लिएर फर्कंदै थियो ।

युवकका आफन्तले चालक कृष्णप्रसाद श्रेष्ठलाई घेरा हाली व्यक्तिगत सामान बोकेको तर बिरामी बोक्न नमानेको आरोप लगाउँदै एम्बुलेन्समा ढुंगा हानेका थिए ।

मंगलबार आरडीटीमा पोजिटिभ देखिएका दक्षिण कोरियाबाट आएका ती युवकलाई ज्वालामुखी गाउँपालिकाका कुनै पनि एम्बुलेन्सले बोक्न नमानेपछि आफैं मोटरसाइकल चलाएर जिल्ला अस्पताल गएका थिए ।

प्रकाशित : वैशाख ४, २०७७ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×