कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वायुसेवा निगमलाई प्रयोगशाला बनाउनु हुँदैन : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ — नेपालको अर्थतन्त्रनैं उथलपुथल पार्ने लक्ष्यसहित २० लाख पर्यटक भित्र्याउन भम्रण वर्ष २०२० अभियान सुरु गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निकै उत्साही देखिन्थे ।

वायुसेवा निगमलाई प्रयोगशाला बनाउनु हुँदैन : पर्यटनमन्त्री भट्टराई

तर, भम्रण वर्ष घोषणा गरेको महिना नबित्दै यसैबेला मकवानपुरको दामनस्थित एक रिसोर्टमा निसासिएर ८ भारतीय पर्यटकको भएको मृत्यु र अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका चार कोरियाली र तीन नेपालीसहित ७ जना बेपत्ता हुदाँ पर्यटन क्षेत्रमा सरोकार राख्नेहरु झस्किएका छन् । यसैबेला प्रधानमन्त्री केपी शर्मा ओलीले १६ महिनाअघि नियुक्त गरेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिनु, पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा ढिलाइ हुनपुग्दा सबैको चासो ‘आशालाग्दा’ भनिएका पर्यटनमन्त्री योगेश भट्टराईतर्फ मोडिएको छ । यिनै विषयमा मन्त्री भट्टराईसँग इकान्तिपुरका संवाददाता सुरज कुँवरले संक्षिप्त कुराकानी गरेका छन् ।


अन्नपूर्ण पदयात्रामा हराइरहेका कोरियाली पर्यटकसहित नेपालीको खोजीमा सरकारले के गर्दै छ ?

हराइरहेका ७ जनाको खोजीका लागि नेपाली सेनासहित टोली परिचालन गरिएको छ । तर पत्ता लगाउन सकिएको छैन । त्यसमा सरकारको तर्फबाटै खासै त्यस्तो ठूलो कमजोरी छैन । एउटा कमजोरी मौसम पूर्वानुमानको हो । यसबारे जानकारी भएन । नेपालको जलवायु पूर्वानुमान गाह्रो छ । भोलि सफा हुन्छ भनेको दिन भारी वर्षा हुन्छ । झन हिमाली भेगमा पूर्वानुमान अत्यन्तै ग्राहो छ । अब हामीले मुख्य पर्यटकीयस्थलमा सूचना केन्द्र राख्नुपर्छ । रेस्पोन्सिबल टुरिजमको अवधारणा हिसाबले पनि त्यो काम गर्नैपर्छ । यसमा उर्जा मन्त्रालय लगायतका विभिन्न मन्त्रालय जोडिएका छन् । अब हामीले मौसमको सूचना प्रणालीलाई मजबुत बनाउनैपर्छ । हाम्रो भिजिलेन्स बढाउनुपर्छ ।


दामनको एक रिसोर्टमा ८ जना भारतीय पर्यटकको निसासिएर भएको मृत्युको घटनालाई कसरी लिनु भएको छ ?

दामनको घटना निकै गम्भीर छ । उनीहरुले चाहिने जति कोठा बुक गरेको थिए । एउटै कोठामा ८/८ जना किन सुते ? किन सुताइए ? रिसोर्ट व्यवस्थापनकातर्फबाट कुनै कमजोरी भएको पो छ की ? यसबारे छानविन गर्न पर्यटन विभागका निर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । कहीँ कारवाही गर्ने विषयवस्तु भएमा कारवाही हुन्छ । १५ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिवेदन प्राप्तभएपछि मन्त्रालयले तदारुकता लिन्छ ।


नेपाल वायुसेवा निगमलाई 'वाउ' नेपाल वायुसेवा निगम बनाउने तपाईंको योजना अघि सरेकै बेला कार्यकारी अध्यक्षले राजीनामा दिनुभयो । अब निगम कसरी अघि बढ्छ ?

अब नेपाल वायुसेवा निगमलाई प्रयोगशाला बनाउनु हुँदैन । विभिन्न मान्छे ल्याएर भर्ती केन्द्र बनाउने प्रयोगशाला बनाउनु राम्रो होइन । अब नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गर्छौं । प्रधानमन्त्रीसँग राय/सल्लाह लिएर उपयुक्त व्यक्ति छनौट गर्छौं ।


नेपाल पर्यटन बोर्डको सिइओ नियुक्तिमा पनि ढिलाइ भइरहेको छ नि ?

नेपाल पर्यटन बोर्डको आफ्नै नियमावली छ । यसको निर्णय गर्ने अधिकार सञ्चालक समितिमा छ । यसै समितिले सिइओ छनौट गर्न सिफारिस समिति बनायो । त्यसमा १९ जनाको निवेदन पर्‍यो । दुई जनाको योग्यता नपुगेर फालिए । बाँकी रहे १७ । तीमध्येबाट ९ जना छानिए । त्यसपछि विज्ञ समूहसहितले तीन जना छान्यो । उक्त समितिले तीन जनाको नाम प्रस्ताव गरेको छ । अब बोर्डको सञ्चालक समितिले तीन जनामध्येबाट एक जनालाई छनौट गर्ने छ । नाम अल्फाबेटिकल अर्डरबाट सिफारिस भएका छन् । जस्को डकुमेन्ट राम्रो छ । जसको प्रस्तुति राम्रो छ । त्यसमध्येबाट उत्कृष्ट सिइओका लागि छानिने छ । बिहीबारसम्म राष्ट्रियसभाको चुनावको आचारसंहिता छ । त्यसलाई ध्यान दिइएको हो ।


नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कार्यमा के छ प्रगति ?

नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायी निकाय बनाउन तयार पारिएको ऐनको मस्यौदा मन्त्रिपरिषदको विधेयक समितिबाट पास भएर मन्त्रिपरिषद पुगेको छ । एक साताभित्र यो संसद्मा‌ दर्ता हुँदैछ ।


समयमै निर्माण सम्पन्न हुन नसकेको भैरहवा विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ ?

२०१९ डिस्सेम्बरमा सकिनुपर्ने तर ठेकेदारको आन्तरिक समस्याका कारण सकिएन । अब २०२० मार्चसम्मको समय थपेका छौं । कामको प्रगति हेर्दा गलत दिशामा छैन । काम भइ रहेको छ । मार्चसम्म जुनसुकै हालतमा निर्माण सम्पन्न गर्छौं । अर्को दुई/तीन महिनाको तयारीमा विमानस्थल सञ्चालन गरिने छ । पूर्व तयारीका काम सुरु भइसके । अध्यागमन, भन्सार, सुरक्षा, क्वारेन्टाइनको काम सुरु भइसक्यो ।


पार्टीमा दुईवटा अध्यक्ष भएकाले तपाईंलाई काम गर्न गाह्रो परेको हो ?

पार्टीमा ज्यादा अन्डरस्यान्डिङ बनाउनुपर्छ । त्यहाँ झगडा नहोस् । समझदारी नबिग्रियोस भन्ने कुरामा ध्यान दिने हो । मुलतः क्याविनेट प्रणाली भएकाले मैले नेतृत्वको हिसाबले प्रधानमन्त्रीसँग सेयर गर्छु । साथै पार्टी अध्यक्ष लगायत अन्य नेतालाई पनि बिफ्रिङ गर्ने गरेको छु ।


बाहिर तपाईंलाई अप्ठेरो छ भन्ने सुनिन्छ नि ?

त्यस्तो अप्ठेरो केही परेको छैन ।

प्रकाशित : माघ ९, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?