२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

'बाघको बङ्गारा' को वर्ल्ड प्रिमियर गर्दै किम्फ सुरु

काठमाडौँ — हेर्ने कथा टिमले बनाएको मौरी काढ्ने डकुमेन्ट्री 'बाघको बङ्गारा'को वर्ल्ड प्रिमियर गर्दै २० औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सुरु भएको छ । जाजरकोटको अक्करे भीरमा मौरी काढ्न पुग्नेहरूको यात्रालाई डकुमेन्ट्रीमा देखाइएको छ ।  

'बाघको बङ्गारा' को वर्ल्ड प्रिमियर गर्दै किम्फ सुरु

बुधबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको महोत्सवमा उपस्थितलाई स्वागत गर्दै आयोजक बसन्त थापाले किम्फले यति लामो यात्रा गर्नेबारे आफूले यसअघि नसोचेको बताए । 'किम्फ सुरु गर्दा यति लामा यात्रा गरिएला भन्ने सोचेका थिएनौं । तर, आज हामी २०औं संस्करण मनाउँदै छौं । थाहा छैन, अब कति अगाडि जान सकिएला । हरेक पटक महोत्सव गर्दा थुप्रै चुनौतीहरूको सामना गर्नुपरिरहने हुन्छ,' थापाले भने, 'म काठमाडौं महानगरपालिकाका मेयर यो कार्यक्रममा आउनुहोला भन्ने आशा गर्दै थिएँ । उहाँ आउनुभएको भए काठमाडौंलाई सांस्कृतिक हब बनाउनुपर्छ भनेर भन्ने थिएँ ।'

'सस्टेनेबल समिट्स' को नारा बोकेर मंसिर २२ देखि सुरु भएको किम्फमा ३० देशका ५५ फिल्म देखाइनेछन् । अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले बनाएको फिल्म 'फ्लाई फ्रम एभरेस्ट' मार्फत किम्फको समापन गरिनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, इन्सेस्नट रेन स्टुडियोका किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना ली फेस्टिभलका निर्णायक हुन् । दुई वर्षपछि भौतिक रुपले आयोजना भएको किम्फको पहिलो दिन बलिउड निर्देशक एवं महोत्सवका प्रमुख अतिथि प्रकाश झा अभिनीत 'मट्टोकी साइकिल' को विशेष प्रदर्शन हुनेछ । मंसिर २६ सम्म आयोजना हुने महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । कोभिड महामारीको समयमा किम्फका अठारौं र उन्नाइसौं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् । नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइने बताइएको छ । इसिमोड सदस्य मुलुकबाट छानिएका उत्कृष्ट फिल्मले 'बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर प्राप्त गर्नेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले 'किम्फ अडियन्स अवार्ड' मार्फत ५० हजार रुपैयाँ पाउने बताइएको छ ।

कथाबिनाका फिल्महरू बनिरहेका छन् : प्रकाश झा

महोत्सव उद्घाटनका दिन प्रमुख अतिथि प्रकाश झा र शेखर खरेलबीच अन्तरक्रिया पनि भयो । ‘तपाईं अहिले फिचर फिल्म छाडेर वेभ सिरिजतिर व्यस्त हुनुहुन्छ, किन ?’ भन्ने खरेलको प्रश्नको जवाफमा झाले आफूलाई कथा भन्ने हरेक पाटोहरूमा रमाउन मन लाग्ने बताए ।

'सायद समयसँगै म अगाडि बढिरहेको छु । म कथा भन्न रुचाउँछु, कथा भन्ने फरक पाटाहरुमा रमाउँछु । कथाहरु खोज्ने, पात्रहरु खोज्ने, आख्यान सिर्जना गर्न, चुनौतीहरूबीच आफूलाई भन्न मन लागेको कुरा भन्न मन पर्छ । अभिनय होस् या निर्देशन‚ म सबै गर्न रुचाउँछु । त्यसैले म आफ्नो अगाडि जे आउँछ त्यही गरिरहेको हुन्छु,' निर्देशक झाले भने, 'अन्तिमपटक मैले निर्देशन गरेको परीक्षा महामारीले गर्दा ओटीटीमा प्रदर्शन भयो । त्यसपछि मेरो अगाडि आएको वेभ सिरिजहरूमा काम गर्दै छु । सायद २०२३ को अन्तिमतिर मेरो फिचर फिल्म देख्नुहुनेछ । अहिलेलाई म काम गर्नमै रमाइरहेको छु ।'

अन्तरक्रियाकै क्रममा बलिउडमा पछिल्लो समय कथा भन्नेभन्दा पनि 'प्रोजेक्ट' गर्ने होडबाजीले कथाबिनाका फिल्म बन्न थालेको पनि उनले बताए ।

'हामी दुई कारणले फिल्म बनाउँछौं । एक त हामसँग कथा भएपछि त्यसलाई सुनाउन हामी फिल्म बनाउँछौं । तर, अर्को कारण के हो भने पैसा कमाउनका लागि फिल्म बनाउँछौं । जब तपाईं फिल्मबाट पैसा कमाउने सोच्नुहुन्छ, त्यो फिल्ममा व्यावसायिक पक्षका कुराहरु घुसाउनुहुन्छ । स्टार, लोकेसन, इमोसनका कुराहरु हाल्नुहुन्छ,' उनले भने, 'अहिले भारतमा थुप्रै प्रोजेक्टहरूको लाइनअप देखिन्छ, जसमा कथा छैन । उनीहरू दक्षिण भारतका फिल्मको रिमेक बनाउँदै छन् । उनीहरु केवल प्रोजेक्ट गर्न चाहन्छन् ।'

प्रकाश नेपाली फिल्मकर्मीले सीता, गौतम बुद्ध, हिमालका कथाहरू भन्नुपर्ने बताउँछन् । 'इतिहास, सामाजिक, राजनीतिक कथाहरूमा नेपाली फिल्मकर्मीले कथा भन्न सक्छन् । मधेसीका कथाहरू लेख्न सक्छन् । कुनै नेपाली फिल्मकर्मी यस्तो विषयमा लिएर मकहाँ आउँछन् भने उनीहरूसँग काम गर्न पनि तयार छु,' उनले भने ।

प्रकाशित : मंसिर २२, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?