कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एसईई दिन अर्को पालिकामा

हेटौंडा — मकवानपुरको एक दुर्गम पालिकाका विद्यालयका छात्रछात्रा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन अझै अर्को पालिकामा जानुपर्ने बाध्यता हट्न सकेको छैन । चैत १५ गतेदेखि सुरु हुने एसईई दिन विकट कैलाश गाउँपालिकाका विद्यार्थी छिमेकी थाहा नगरपालिका र मनहरी गाउँपालिकास्थित केन्द्रमा गएर परीक्षा दिन बाध्य छन् ।  

एसईई दिन अर्को पालिकामा

आफ्नो गाउँपालिकामा एसईईको केन्द्र नभएकाले अन्य पालिकामा गएर परीक्षा दिनु परेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए ।

परीक्षा दिनका लागि परिक्षा केन्द्र भएको स्थानमा कोठा भाडामा लिएर वा आफन्तका बसेर परीक्षा दिनुपर्ने बाध्यता उनीहरुको छ । कैलाश गाउँपालिकामा ५ वटा माध्यमिक विद्यालय छन् । ती विद्यालयका परीक्षार्थीले थाहा नगरपालिकाको जनकल्याण मावि र मनहरीको रोटरी मावि केन्द्रमा गएर परीक्षा दिनुपर्ने छ ।

कैलाशमा चेपाङ र तामाङ समुदायको बहुलता छ । विपन्न अवस्थाका परिवारको संख्या धेरै भएकाले यहाँका विद्यार्थीले बाहिर बसेर परीक्षा दिन समसया हुने गरेको छ । गत वर्ष आर्थिक अभावकै कारणले तीन जनाले एसईईमा सामेल हुन सकेका थिएनन् । ‘होम सेन्टर’ नराख्ने अवधारणाका कारणले विद्यार्थी संख्या नपुग्ने र भुगोल पनि नमिलेकाले गाउँपालिकाभरि परीक्षा केन्द्र राख्न असहज भएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले बताए ।

‘अध्यक्षलगायत पालिकाका जनप्रतिनीधिसँग परीक्षा केन्द्र राख्नका लागि पटक/पटक सल्लाह गरियो तर विकट भुगोल र होम सेन्टरका कारणले सकिएन,’ उनले भने ।

मकवानपुरका १० स्थानीय तहमध्ये कैलाशमामात्र एसईईको केन्द्र छैन । गत वर्ष राक्सिराङ गाउँपालिकामा पनि एसईईको केन्द्र थिएन । यसपाली राक्सिराङ चैनपुरस्थित प्रजा विकास माविमा परीक्षा केन्द्र राखिएको छ । मकवानपुरमा २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । एउटा केन्द्रमा कम्तीमा एक सय ५० जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

मकवानपुरका एक सय २६ विद्यालयका ६ हजार १ सय ७१ विद्यार्थी एसईईमा सहभागी हुन फारम भरेका थिए । खुलातर्फ ८४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौतमले बताए । भीमफेदी कारागारमा एक कैदी पनि परीक्षार्थी छन् । एसईईका लागि परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पठाउने कार्य भइरहेको छ । चैत १५ गतेदेखि सुरु भएर चैत २७ गते परीक्षा सकिनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।

प्रकाशित : चैत्र १०, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×