कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रत्येक पालिकामा प्राविधिक धारका दुई विद्यालय सञ्चालन गर्ने एमालेको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले सबै स्थानीय तहहरूमा कम्तीमा दुईवटा प्राविधिक धारका विद्यालय संचालन गर्ने घोषणा गरेको छ । मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा नीति कार्यान्वयन गरिने एमालेले प्रतिबद्धता जनाएको हो ।

प्रत्येक पालिकामा प्राविधिक धारका दुई विद्यालय सञ्चालन गर्ने एमालेको घोषणा

प्राविधिक धारको शिक्षाको हिस्सा ७० प्रतिशत पुर्‍याउने घोषणालाई यसपालि पनि दोहोर्‍याइएको छ । प्राविधिक तथा व्यवसायिक महाविद्यालय, वहुप्राविधिक शिक्षालयहरूको स्थापना गरिने घोषणापत्रमा उल्लेख छ । विज्ञान र प्रविधिका क्षेत्रमा विश्वस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने प्रतिष्ठानहरू स्थापना गर्ने जनाइएको छ ।

यस्तै उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गरिने एमालेको घोषणा छ । सरकारी अनुदानबाट संचालित विद्यालय, विश्वविद्यालयलाई रोजगारी केन्द्रित शिक्षामा जोड दिँदै स्तरीकरण गरिने उल्लेख छ । आगामी दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाइने घोषणा दोहोर्‍याइएको छ । जुन एमालेको २०७४ सालको पनि चुनावी घोषणा थियो ।

माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिने प्रतिबद्धता पुनः दोहोर्‍याइएको हो । एमालेसहित राजनीतिक दलहरूको २०७० अघिदेखि नै चुनावको बेलामा महत्वाकांक्षी प्रतिबद्धता गर्दै आएका छन् । ‘कुनै पनि बालबालिका आर्थिक दूरावस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नु पर्ने अवस्थाको अन्त्य गरिने छ,’ घोषणापत्रमा भनिएको छ, ‘शैक्षिक वर्षको सुरुमा विद्यालय भर्ना अभियान संचालन गरिने छ ।’

यस्तै आगामी दुई वर्षमा विद्यार्थी भर्नादर शत प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । शिक्षण पेसालाई मर्यादित बनाउँदै शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब सुविधा उपलब्ध गराउने पनि घोषणा गरिएको छ ।

विद्यालयमा योग्य शिक्षकको व्यवस्थासहित पाठ्यपुस्तक र शैक्षिक सामग्री उपलब्ध गराइने सुविधामा थप विस्तार गरिने प्रतिबद्धता घोषणा पत्रमा छ । जसअन्तर्गत निःशुल्क खाजा, पोसाक, शैक्षिक सामग्री वितरण गरिने घोषणा गरिएको हो । यस्तै विद्यालयमा नर्सको सेवा उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ ।

साथै एमालेले ५ वर्षभित्र विद्यालयका भौतिक र्पूाधार व्यवस्थिति गरिसक्ने प्रतिबद्धता जनाएको छ । ‘सबै विद्यालयमा पर्याप्त कक्षाकोठा, सुविधायुक्त फर्निचर, विज्ञान, प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउने पानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

शिक्षण संस्थालाई सूचना प्रविधिका पूर्वाधारसँग आवद्ध गरी डिजिटल शिक्षण आरम्भ गरिने पनि घोषणा गरिएको छ । शैक्षिक गुठी वा निजीस्तरमा संचालित विद्यालयमा समेत तोकिएको पूर्वाधार व्यवस्था गर्न जोड दिने साथै शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाइएको छ । विद्यालयका संचरचनाहरू अपांगतामैत्री बनाउने र दुर्गम क्षेत्रमा आवासीय शिक्षाको व्यवस्था गर्ने बाचा एमालेले पुनः दोहोर्‍याएको छ ।

जनशक्ति उत्पादनका लागि राष्ट्रिय जनशक्ति प्रोफाइल तयार गर्ने र विषयगत जनशक्तिको आकलनका आधारमा शिक्षालय र शैक्षिक कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ । विश्वविद्याहरूलाई सेन्टर अफ एक्सेलेन्सका रुपमा विकास गरिने अहिलेको सरकारको कार्यक्रमलाई पनि एमालेले आफ्नो घोषणापत्रमा समेटेको छ । नेपालमा अध्ययन, अध्यापनका लागि विदेशीहरूको आकर्षक गन्तव्यका रुपमा विकास गरिने महत्वकांक्षी प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित : कार्तिक १५, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?