कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्नातक शिक्षा विशेष

पाहुनाका लागि पढाइ

मुलुकभर सेवा र पर्यटनसँग सम्बन्धित २ हजार उद्योग रहेकामा कम्तीमा १३ सय स्तरीय होटल छन्, जसको क्षमता ५० हजार बेड पुगिसकेको छ भने कम्तीमा ८० हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्
सुरज कुँवर

सरकारले पाँच दशकअघि काठमाडौंको रवि भवनमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) स्थापना गर्दैगर्दा आतिथ्य सत्कार (पर्यटन र सेवा) सम्बन्धी उद्योगहरू सीमित थिए । जसमध्ये सबैजसो उद्योग काठमाडौं केन्द्रित थिए । नेपाल आएका विशिष्ट श्रेणीका पाहुना वा पर्यटकले राजधानीबाहिर जानैपर्ने भए सेना वा प्रहरीका ब्यारेक, प्रशासक वा अञ्चलाधीश कार्यालय मातहत रहने सरकारी गेस्ट हाउसमा बास बस्नुको विकल्प थिएन । जहाँ खाने, बस्ने सुविधा पाउनु पनि ठूलै विषय हुन्थ्यो ।

पाहुनाका लागि पढाइ

केन्द्रबाट जाने मध्यम वा निम्नस्तरका सरकारी/गैरसरकारी संस्थाका कर्मचारीले सदरमुकामभन्दा पर कतै बास बस्नै पर्ने भए गाउँको सबैभन्दा धनी मान्छेको घर खोज्दै बास माग्नुपर्थ्यो । एक गाउँबाट अर्को गाउँ हिँडेका सर्वसाधारणलाई गाउँलेले ‘साँझका पाहुना देउतासरह’ मानेर बास दिनुपर्थ्यो । घरमा सुत्ने ठाउँ अभाव भएकाले खाना खुवाई सार्वजनिक भवन, पाटी, पौवामा बसाउँथे । नेपालमा पर्यटकहरूको आगमन वृद्धिसँगै यो अवधारणामा बदलाव आयो । सर्वसाधारणले आतिथ्य सेवालाई नै व्यवसायमा परिणत गर्दै आम्दानीको स्रोत बनाउन थाले । त्यही व्यवसाय फैलँदै गएर आजको दिनमा आतिथ्य सत्कारबापत मुलुकको अर्थतन्त्रमा अप्रत्यक्षसमेत गरी १० प्रतिशत विदेशी मुद्राको योगदान गर्ने अवस्थामा आइपुगेको छ ।

कोरोना महामारीपछिको आर्थिक अवस्था समेट्ने गरी अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मुलुकभर झन्डै ९ हजार उद्योग सञ्चालनमा छन् । जसमध्ये सेवा र पर्यटनसँग सम्बन्धित उद्योगको संख्या २ हजार हाराहारी पुगेको छ । ८० हजार हाराहारीले रोजगारी पाएका छन् । यी उद्योगभित्र कम्तीमा १३ सय (मध्यम स्तरीयदेखि पाँचतारेसम्म) होटल छन् । जसको क्षमता ५० हजार शय्या पुगिसकेको छ । होटलबाहेक २४ क्यासिनो, ३८ सय ट्राभल एजेन्सी, २८ सय ट्रेकिङ एजेन्सी, डेढ सयभन्दा बढी र्‍याफ्टिङ तथा पर्यटक यातायात व्यवसाय विस्तार भइसकेका छन् ।


त्यस्तै, टुर/ट्रेकिङ/रिभर गाइडको संख्या २४ हजार हाराहारी पुगिसकेको छ । मुलुकभर ५३ वटा विमानस्थल भए पनि ३२ वटा नियमित सञ्चालनमा छन् । ४१ वटा मुलुकसँग हवाई सम्झौता गरेको नेपालमा २२ वटा विदेशी वायु सेवाले नियमित उडान सेवा दिइरहेका छन् ।

अहिले काठमाडौंबाहिर पनि तारे होटलको विस्तार बढ्दो छ । अहिले सरकारी गेस्ट हाउस वा सुरक्षा निकायका ब्यारेकमा बास बस्नुपर्ने बाध्यता छैन । तराई क्षेत्रदेखि समुद्री सतहबाट ४ हजार मिटरसम्मको उचाइमा पनि स्तरीय होटल सञ्चालनमा छन् । होटल नहुने स्थानमा क्याम्पिङ (टेन्ट गाड्ने) सुविधा सहज छ । सहरदेखि सहर मात्रै होइन, रात्रिकालीन र अन्तरप्रदेश उडान सुरु भएको छ । सात दशकपछि राजधानीबाहिर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

पर्यटन र सेवासँग सम्बन्धित यी सबै आयाममा द्रुत विकास र विस्तार भइरहँदा यससम्बन्धी गुणस्तरीय शिक्षा दिलाउँदै मानवस्रोत विकास गर्न ५ दशक लामो इतिहास बोकेको कलेज नाथमले केही दिनअघि राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गर्‍यो । तालिम र शैक्षिक कार्यक्रमबाट हालसम्म ५७ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको नाथमले आयोजना गरेको सम्मेलनको मुख्य उद्देश्य कोरोना महामारीसँगै केही सुस्ताएको तर लगानीका हिसाबले तीव्र गतिमा विस्तार भइरहेको पर्यटन उद्योग क्षेत्रलाई दिगो बनाउने तरिका खोज्ने, दिग्गज सरोकारवालालाई संलग्न गराई सहजीकरण गरिदिनेलगायत थियो ।

नाथम जस्तै अहिले काठमाडौंमा कम्तीमा तीन दर्जन होटल व्यवस्थापनबारे स्नातक अध्यापन गराउने निजी कलेज सञ्चालनमा छन् । नाथम पनि आफ्नो सेवा विस्तार गर्दै राजधानीबाहिरका तीन सहरमा पुग्दै छ । विज्ञान र व्यवस्थापन संकाय मात्रै राम्रो भन्ने सोच भएको समाजमा अभिभावकहरू माध्यमिक तह सकेका आफ्ना सन्तानलाई खुलेर आतिथ्यताबारेको सीपमूलक शिक्षा अध्ययन गराइरहेका छन् ।

सरकारी कलेज नाथमपछि निजी क्षेत्रको लगानीमा २२ वर्षअघि काठमाडौं, नयाँबानेश्वरमा कान्तिपुर इन्टरनेसनल कलेज खुल्यो । कलेजका सदस्य सचिव प्रतापराज जोशी त्यसबेला होटल व्यवस्थापन (एचएम) पढ्नेहरू भान्से वा वेटर हुन्छन् भन्ने आममानिसको धारणा अहिले बदलिएको बताउँछन् । ‘विशेषगरी श्रमबजारमा गएका अभिभावकले होटल व्यवस्थापन विषयको महत्त्व बुझे,’ उनले भने, ‘जब अभिभावकहरू बिनासीप विदेशमा सस्तो श्रम मूल्यमा काम गर्दै गए, अनि उनीहरूले थाहा पाए यो विषयको महत्त्व । अहिले नेपालमा यो विषय पढाउनेमा धेरैजसो नेपालबाहिर गएका अभिभावकहरू भेटिन्छन् ।’

९० प्रतिशत तालिममा आधारित व्यावहारिक सिकाइ भएको र जागिर तथा आफ्नै व्यवसाय थाल्न पनि सहज हुने भएकाले यो विषयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो रहेको उनले बताए । कान्तिपुरले स्नातक तहमा होटल व्यवस्थापन (बीएचएम) बाहेक ब्याचुलर अफ हस्पिटालिटी एन्ड क्याटरिङ म्यानेजमेन्ट (बीएचसीएम) पनि पढाउँदै आइरहेको छ । क्याटरिङ म्यानेजमेन्ट विषय अन्तर्राष्ट्रिय उडान, क्रुजलाइन (पानीजहाज), क्यासिनो आदि क्षेत्रसँग आधारित छ ।

ज्ञानेश्वरमा रहेको इन्टरनेसनल स्कुल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई अतिथि सत्कार शिक्षामा विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने अग्रणी कलेजको सूचीमा पर्छ । अस्ट्रियाको साल्जबर्ग विश्वविद्यालयको सम्बन्धन लिएको आईएसटीकी प्राचार्य सम्झना बस्नेत ६० प्रतिशत व्यवस्थापन र ४० प्रतिशत व्यावहारिक सिकाइबाट जनशक्ति उत्पादन गरिरहेको बताउँछिन् । ‘युरोपको पाठ्यक्रम हो । हरेक २/२ वर्षमा हामी यसलाई पुनरावलोकन गर्छौं,’ उनले भनिन्, ‘अहिलेको होटल व्यवस्थापनको पाठ्यक्रम कुनै एक मुलुकमा मात्रै नभई विश्वभर लागू हुने भएकाले विद्यार्थीहरूले सबै जान्नुपर्ने हुन्छ ।’

अरू कलेजले चार वर्षमा पूरा गराउँदै आइरहेको होटल व्यवस्थापनको पढाइ आईएसटीले ३ वर्षमै सकाउँछ । ‘यो कोर्समा विद्यार्थीलाई एक वर्ष बोनस त मिल्छ नै,’ उनले भनिन्, ‘हामीले उत्पादन गरेका विद्यार्थी होटल, रेस्टुरेन्टमा मात्रै केन्द्रित होइन, अहिले अस्पताल, बैंकसहित अन्य कर्पोरेट क्षेत्रमा अब्बल देखिरहेका छन् । कारण हाम्रो कोर्स समयसापेक्ष छ ।’

पर्यटक चहलपहल हुने हिमाली भेगमा परम्परागत होटल वा लज सञ्चालन गर्दै आइरहेका अभिभावक हुन् वा मधेसमा होटल व्यवसाय गर्नेहरूले, अहिले उनीहरू नयाँ पुस्तालाई व्यवसाय हस्तान्तरण गर्न पनि होटल व्यवस्थापन अनिवार्य पढाइरहेका बताउँछिन् उनी । एसईईपछि सीटीईभीटीले पनि होटल व्यवस्थापनको ३ वर्षे कक्षा पढाउँछ । यसमा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?