कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
स्नातक शिक्षा विशेष

उच्च शिक्षाको उडान

मुलुकभर १२ विश्वविद्यालय सञ्चालनमा, प्रदेशमा पनि स्थापनाको लहर, विदेशी सम्बन्धन प्राप्त ८४ कलेजमा स्नातक तहको अध्यापन
सुदीप कैनी

काठमाडौँ — उच्च शिक्षाको इतिहास नेपालमा करिब सय वर्ष पुरानो मात्रै छ । वि.सं. १९७५ मा त्रिचन्द्र क्याम्पस स्थापनासँगै मुलुक उच्च शिक्षातर्फ लम्किएको हो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय खुलेयता १२ वटा विश्वविद्यालय सञ्चालनमा आइसकेका छन् । केही थपिने क्रममा छन् भने प्रादेशिक विश्वविद्यालय स्थापनाको लहर नै चलेको छ ।

उच्च शिक्षाको उडान

विद्यालय तह पार गरेपछि विद्यार्थीले उच्च शिक्षामा स्नातक (ब्याचलर) तहमा भर्ना हुन पाउँछन् । श्रम बजारमा आवश्यक जनशक्ति तयार पार्ने र ज्ञान सँगसँगै सीप सिकाउने स्नातक तहका पाठ्यक्रमका लक्ष्य छन् । त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम, कृषि तथा वन विज्ञान, लुम्बिनी, नेपाल संस्कृत, नेपाल खुला र राजर्षि जनक, योगमाया आयुर्वेद विश्वविद्यालयले स्नातक पठनपाठन गराउँछन् ।

मदन भण्डारी विज्ञान तथा प्रविधि, गण्डकी, मनमोहन प्राविधिक, मधेस प्रादेशिक विश्वविद्यालयले पनि अध्यापन थाल्ने तरखर गर्दै छन् । यीबाहेक केही स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि चिकित्सा विधाको पढाइ हुन्छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका करिब ८४ वटा कलेजले पनि स्नातक तह अध्यापन गराइरहेका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा उच्च शिक्षामा साढे ५ लाखभन्दा बढी विद्यार्थी पढिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक छ । तीमध्ये त्रिविमा ४ लाख २२ हजार, काठमाडौंमा १६ हजार ९ सय, पूर्वाञ्चलमा ४८ हजार ८ सय, पोखरामा ३२ हजार ४ सय, सुदूरपश्चिममा १३ हजार ८ सय, मध्यपश्चिममा ८ हजार ६ सय, नेपाल संस्कृतमा ३ हजार, कृषि तथा वन विज्ञानमा साढे ४ हजार, खुला र लुम्बिनी बौद्धमा १/१ हजार, राजर्षि जनकमा ४ सय विद्यार्थी अध्ययरत छन् । ५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे ३ हजार विद्यार्थी छन् । उच्च शिक्षा पढ्नेमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिवि र २३ प्रतिशत अन्य विश्वविद्यालयमा अध्ययन गर्ने विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । विदेशी सम्बन्धनका कलेजमा करिब २० हजार विद्यार्थीले विभिन्न विषय पढ्ने मन्त्रालयको उच्च शिक्षा शाखाले जनाएको छ ।

त्रिविमा ५ अध्ययन संस्थान र ४ संकाय छन् । चिकित्सा, इन्जिनियरिङ, विज्ञान र प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान अध्ययन संस्थान हुन् भने व्यवस्थापन, कानुन, मानविकी तथा सामाजिक विज्ञानको संकाय सञ्चालनमा छ । यी विषय पढाइ हुने मुलुकभर ६४ आंगिक र १ हजारभन्दा बढी निजी क्याम्पस छन् ।

कक्षा १० सम्म रहेको विद्यालय शिक्षालाई कक्षा १२ सम्म कायम गरिएपछि स्नातक तहको पढाइ पनि ३ वर्षेबाट ४ वर्षे बनाइएको छ । सेमेस्टर प्रणालीमा सबैजसो विश्वविद्यालयले जोड दिँदै आएका छन् । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले विद्यार्थी आकर्षण गर्न विश्वविद्यालयलाई प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउँदै लगिएको दाबी गरे । क्याम्पसहरूमा अनुसन्धान इकाई खडा गरी शिक्षक विद्यार्थीलाई पठनपाठन सँगै लघु अनुसन्धानमा समेत केन्द्रित गरिएको उनको भनाइ छ ।

त्यस्तै, काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकल साइन्सेज, व्यवस्थापन, मानविकी, कानुन, इन्जिनियरिङ, विज्ञान, शिक्षा संकायका स्कुलहरू सञ्चालनमा छन् । केयूले एक सयभन्दा बढी कार्यक्रमको पठनपाठन गराउँछ । उसका आंगिक र निजी गरी २३ वटा क्याम्पस छन् । त्रिवि र केयूपछि विद्यार्थीको आकर्षण पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा देखिन्छ । पूर्वाञ्चलले १ सय १७ निजी र आंगिक कलेजमा इन्जिनियरिङ, व्यवस्थापन, फाइन आर्ट्स, शिक्षा, विज्ञान र कानुन संकायमा पठनपाठन गराउँदै आएको छ । संकायभित्र विभिन्न विषय छनोट गरेर अध्ययन गर्ने व्यवस्था विश्वविद्यालयहरूले गरेका छन् ।

पोखरा विश्वविद्यालयका व्यवस्थापन, मानविकी, विज्ञान तथा प्रविधि, इन्जिनिरिङ, मेडिकल साइन्सेज संकायमा १४ वटा कार्यक्रम सञ्चालनमा छन् । ५८ सम्बन्धन र ४ आफ्नै गरी उसका ६२ क्याम्पस छन् । आफ्ना १६ क्याम्पसमा ६ संकायमा ५० कार्यक्रम सञ्चालन गरेको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ । उसले मानविकी तथा सामाजिक विज्ञान, विज्ञान प्रविधि, शिक्षा, व्यवस्थापन संकायमा पठनपाठन गराइरहेको छ । साधारण धारबाट सुरु भएको नेपालको उच्च शिक्षा क्रमशः व्यावसायिक र विज्ञान तथा प्रविधि धारतर्फ ढल्कँदै गएको जानकारहरू बताउँछन् ।

कृषि तथा वन विज्ञान, संस्कृत र लुम्बिनी बौद्धबाहेक अन्य विश्वविद्यालय बहुविषयक हुन् । यद्यपि यी विश्वविद्यालयले पनि विद्यार्थी अभावमा अन्य विषयको कक्षा सञ्चालन गर्न थालेका छन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा कृषि, पशु विज्ञान, भेटरिनेरी तथा फिसनेरी र वन विज्ञानका ३ संकाय सञ्चालन गर्दै आएको छ ।

संस्कृतले १८ क्याम्पसमा संस्कृत, आयुर्वेद पढाउँछ भने लुम्बिनी बौद्धले ६ क्याम्पसमा बौद्ध दर्शनका विषय पठनपाठन गराउँदै आएको छ । दूर र अनलाइन माध्यमबाट खुला विश्वविद्यालयले विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानुन, सामाजिक शास्त्र तथा शिक्षा संकायको पढाइरहेको छ । राजर्षि जनक विश्वविद्यालयमा विज्ञान प्रविधि, मानविकी तथा सामाजिक विज्ञान र व्यवस्थापन संकायको पढाइ हुन्छ ।

विश्वविद्यालयहरूले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, समाजशास्त्र विषयलाई समायोजन गरेर पढाउने अवधारणा अघि सारिरहेका छन् । केयू उपकुलपति भोला थापाले विद्यार्थीको रुचि, आवश्कताअनुसार विश्वस्तरीय विषय र नयाँ पाठ्यक्रम विकास गरेकाले स्वेदशमै अध्ययन गर्न विद्यार्थीलाई सुझाए । विश्वविद्यालयहरू सिर्जना र अनुसन्धानमा पनि जुट्न थालेकाले विद्यार्थीले यहीं सन्तुष्टि पाउने उनको दाबी छ ।

नयाँ विषयभन्दा पनि पढाइपछिको कामका लागि विद्यार्थी विदेश जान उत्साहित देखिएको शिक्षा मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलले बताए । त्रिवि प्राध्यापक सुशान आचार्य पनि अब पढ्नकै लागि विदेश जानुपर्ने अवस्था नरहेको बताउँछिन् । अध्ययनपछि पेसा, व्यवसाय, रोजगार बन्न समस्या रहेकाले विद्यार्थी निराश भएर बाहिर जाने गरेको उनको बुझाइ छ । नेपालमै एमबीबीएस, नर्सिङ, इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, आईटीजस्ता विषय पढेकाहरूले अन्तर्राष्ट्रिय बजारमा समेत सजिलै काम पाउँछन् 

यो वर्ष १ लाख ७४ हजार ५ सय ९८ जना परीक्षार्थी स्नातक तहमा भर्ना हुन योग्य भएका छन् । दुई विषयमा मात्रै नन ग्रेडिङमा परेका १ लाख ३० हजार ८ सय ७८ परीक्षार्थीले असोज ३० र ३१ मा हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्रकाशित : भाद्र २६, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?