कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उच्च शिक्षाको अनुभव...

काठमाडौँ — उच्च शिक्षाको अनुभव...

उच्च शिक्षाको अनुभव...

अहिलेका विद्यार्थी विदेशिने रहरले पढ्छन्रा

  • मेश्वर अधिकारी

पूर्वनिर्देशक, त्रिवि व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र

०४४/४५ सालताका स्नातक गर्दा अवसरका बारेमा सोचिन्थ्यो । नेपालमै बसेर खोज अनुसन्धान गर्ने वा शिक्षक बन्ने भन्ने विकल्प हुन्थ्यो । पाठ्यपुस्तकबाहेकको पढाइमा पनि विशेष लगाब रहन्थ्यो । अहिलेका विद्यार्थीलाई पढ्न उपयुक्त वातावरण र सुविधा पनि छ । तर, उनीहरू नेपालमा भविष्य देखेरभन्दा पनि विदेशिने रहरमै पढ्ने गरेको देखिन्छ । हाम्रो शैक्षिकस्तरको अवनतिको सुरुवात ०२८/२९ सालबाट भएको हो । त्यही बेलाबाट नेपालका बारेमा पढाइ हुन छाडेको हो । अहिले विद्यार्थीहरू नेपालको भूगोल, इतिहास वा राजनीतिक प्रणालीबारेमा पढ्दैनन् । पढे पनि कक्षा चढ्नु मात्र ध्येय हुन्छ । नेपालकै बारेमा थाहा नभएपछि यहाँ बस्ने कुरा पनि भएन । अंग्रेजी पढ्नु हुँदैन भनेको होइन, पढ्नुपर्छ तर अर्काको बारेमा मात्रै पढ्यौं । हामीले नेपालमै प्रगति गर्न नसक्ने होइन, तर क्षेत्रगत रूपमा आवश्यक जनशक्तिको संख्या, सम्भावना र चुनौतीबारे अध्ययन नै हुँदैन । न त समयानुकूल पाठ्यक्रममै सुधार आइरहेको छ ।

पढाइ र अर्थतन्त्रबीचको दूरी राज्यले चिर्न सक्नुपर्छ

  • रेसु अर्याल ढुंगाना

शिक्षा सल्लाहकार, काठमाडौं महानगर

मैले १० कक्षासम्मको अध्ययन नेपालमै र त्यसपछि भारत, स्वाजिल्यान्ड हुँदै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेको हुँ । २ दशकयता शिक्षा क्षेत्रमै अनुभव बटुलेर अहिले नेपालमै छु । नेपाली युवाहरूमा विदेशिने या यहीं बसेर पढ्ने दुवै खालको सोच पाउँछु । मूल प्रश्न धेरै युवाहरूमा हाम्रो उच्च शिक्षाले भविष्यमा आत्मनिर्भर वा रोजगारीको ग्यारेन्टी गर्दैन भन्ने परेको छ । जसका कारण पढ्नकै लागि विदेशिने क्रम उच्च भएको हो । चिकित्साशास्त्र, इन्जिनियरिङलगायत विषयमा स्वदेशकै पढाइलाई विद्यार्थीले विश्वास गरेको देखिन्छ । अर्थतन्त्रसँग जोडिने प्रकारको पढाइ विस्तार हुँदै गएको छ । त्यसमा पनि सेवा तथा व्यवस्थापनसम्बन्धी विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ । तर, सबैलाई चिन्ता पढाइ सकेपछि स्वदेशमै काम पाइन्छ त भन्ने नै हो । हाम्रो उद्योग क्षेत्र कमजोर हुँदा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौं । हाम्रो पढाइ र अर्थतन्त्रबीच देखिएको दूरीलाई राज्यले चिर्न सक्नुपर्छ । अर्कोतर्फ हाम्रा विश्वविद्यालय र कलेजहरू राजनीति गर्ने थलो हुँदा पनि समस्या भइरहेको छ । यही माहोलले गर्दा पनि नेपालभित्र पढ्ने कुरालाई दुरुत्साहन गरिरहेको छ ।

व्यावहारिक अध्यापनको शैली भित्र्याउन सकेनौं

  • हेमु काफ्ले

निर्देशक, काठमाडौं इन्स्टिच्युट अफ अप्लाइड साइन्स

त्रिचन्द्र कलेजमा २ वर्षे स्नातक तहको अन्तिम ब्याचको विद्यार्थी हुँ । नेपालमा हुँदा पढाइ यस्तै होला जस्तो लाग्थ्यो । नोट लेखाउनु नै पढाइ हो भन्ने बुझाइ थियो । विद्यार्थीले बुझोस् भन्दा पनि कण्ठस्थ गरोस् भन्ने शिक्षकको ध्यान हुन्थ्यो । तर, स्नातकोत्तर गर्न विदेश गएपछि थाहा भयो, पढाउनु भनेको त बुझाउनु पो रहेछ । जाँच पनि फरक प्रकारको हुन्थ्यो, नेपालको जस्तो लामो–लामो उत्तर लेख्नु पर्दैनथ्यो, वस्तुगत प्रश्न हुन्थे । जुनसुकै विषयमा उच्च तहको शिक्षा हासिल गरेपछि त्यसलाई समाजमा कसरी प्रयोग र रूपान्तरण गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । तर, अझैसम्म पनि व्यावहारिक अध्यापनको शैली भित्र्याउन सकेका छैनौं । हाम्रोमा समस्या भनेको विषयवस्तुमा आधारभूत ज्ञानको निकै अभाव रहेको अनुभव हुन्छ । अहिले विद्यार्थीलाई शिक्षकले पढाएको विषयमा मात्रै सीमित हुनु पर्दैन । विद्यार्थी आफैंले अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम पढ्न सक्छन् । त्यो अवसर हामीले नेपालमा बस्दा पाएनौं । अहिले अवसर त छ तर विद्यार्थीहरू अल्छी हुँदै गएका छन् ।

प्रस्तुति : मणि दाहाल

प्रकाशित : भाद्र २६, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?