कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
स्नातक शिक्षा विशेष

नयाँ विषयमा विद्यार्थीको चासो

गणेश राई

काठमाडौँ — उच्च शिक्षा प्रवेशको संघारमा रहेका विद्यार्थीसामु विषय छनोट निकै चुनौतीपूर्ण हुन्छ । विषय छनोट गर्दा उनीहरूलाई मुख्य चासो नयाँ र अध्ययन पूरा गरेपछि त्यसले अवसरको ढोका खोलोस् भन्ने हुन्छ । उक्त चासो सम्बोधन गर्न विद्यार्थी र अभिभावकले कलेज र विश्वविद्यालय तथा त्यहाँ पढाइने विषय र पाठ्यक्रमबारे बुझ्न लामो समय लगाउँछन् ।

नयाँ विषयमा विद्यार्थीको चासो

त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसाल सूचना प्रविधिसम्बन्धित विषयमा विद्यार्थीको चासो बढेको बताउँछन् । त्यसैले विश्वविद्यालयले स्नातक तहमा केही नयाँ विषय थपेका छन् । जसमा व्यवस्थापनतर्फ बीआईएम, शिक्षातर्फ बीआईसीटी र मानविकीतर्फ बीएसडब्लूलगायत पर्छन् ।

इन्जिनियरिङतर्फ १२ वटा विषयको पढाइ भइरहेको छ । त्यसमध्ये पछिल्लो पटक एरोस्पेस र केमिकल इन्जिनियरिङ विषय थपिएको इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन ज्ञानबहादुर थापाले भने । अहिले कक्षा ११ बाटै कानुन पढ्न पाइन्छ । स्नातक तहमा पनि त्यसैलाई निरन्तरता दिने विद्यार्थीको चाप पनि बढ्दो छ । कानुनतर्फ ५ वर्षे बीएएलएलबी र ३ वर्षे एलएलबीको पढाइ हुन्छ ।

काठमाडौं विश्वविद्यालयले विभिन्न विषयलाई अन्तर–विषयक (इन्टरडिसिप्लिनरी) र बहु–विषयक (मल्टिडिसिप्लिनरी) ढंगबाट अध्यापन गराइरहेको छ । केयू प्रवक्ता उद्धव प्याकुरेलका अनुसार हाल स्नातक तहमा फाइन आटर््स, मिडिया स्टडिज, म्युजिक, कम्युनिटी डेभलपमेन्ट, इकोनोमिक्स, ल एन्ड इकोनोमिक्स, ल एन्ड म्यानेजमेन्टलगायत विषय पढाउँदै आइएको छ । केयूले पछिल्लो पटक टनेल इन्जिनियरिङको पठनपाठन सुरु गरेको छ । जसका लागि त्यसका निम्ति धुलिखेलमा पहाड छेडेर टनेल म्युजियम नै बनाइएको छ । आर्टिफिसियल इन्टेलिजेन्सलाई पनि नयाँ विषयका रूपमा भित्र्याएको छ । ‘सरकारले माध्यमिक तहमा प्राविधिक शिक्षा लागू गरेको छ तर पढाउने जनशक्ति छैनन्,’ प्याकुरेलले भने, ‘पढाउने जनशक्तिलाई मध्यनजर गरेर ब्याचलर्स इन टेक्निकल एडुकेसन विषय सुरु गरेका छौं ।’ सिन्धुली, जनकपुर र बुटवलस्थित प्राविधिक शिक्षालयमा ती विषय पठनपाठन हुने गरेको छ ।

पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयले सञ्चालन गरिरहेका बीई, बीएससी नर्सिङ, बीएएलएलबी, होटल म्यानेजमेन्ट, बीआईएम, बीबीए, बीएचएम, बीएसडब्लूलगायत प्राविधिक विषय पढ्न विद्यार्थीको आकर्षण देखिएको छ । ‘विद्यार्थी र अभिभावकले कतिको भरपर्दो कलेज हो, जनशक्ति कस्ता छन् बुझ्नुपर्छ,’ भुसाल भन्छन्, ‘गुणस्तरका हिसाबले जतिसुकै गाली गरे पनि त्रिविका क्याम्पस विश्वसनीय छन् । तर, कक्षाकोठा मात्रै ठूलो कुरो होइन । मुख्य रोजेको विषय र त्यसलाई पढाउने शिक्षक मूल कुरो हो ।’

परामर्शदाता एवं शिक्षक निशेष

आङ्देम्बेका अनुसार संसारमा सबैभन्दा बढी व्यवस्थापनको पढाइ हुन्छ । नेपालको हकमा हस्पिटालिटी, बीआईएम, बीसीए, बीबीएजस्ता विषय चल्तीमा छन् । ‘मानविकीमा खुला विकल्पका विषय व्यावहारिक शिक्षामा आधारित नभई सैद्धान्तिक हुनाले समस्या भएको हो,’ प्राविधिक शिक्षा सबैभन्दा उपयुक्त हुने उल्लेख गर्दै आङदेम्बे भन्छन्, ‘सीटीईभीटीको उपस्थिति राम्रो देखिन्छ र त्यसको निरन्तरता हुनुपर्छ ।’ सीटीईभीटीतर्फ प्राविधिक विषयमा प्रमाणपत्र तह पास गरी उच्च शिक्षा लिने विद्यार्थी पनि धेरै हुन्छन् । उनीहरू प्रायः मेडिकल, इन्जिनियरिङ, सूचना र आईटी पढेका हुन्छन् ।

स्नातक तह पढ्ने तरखरमा रहेका विद्यार्थीले विषयबारे आफूभन्दा अघिल्लो ब्याचका विद्यार्थी, परामर्शदाता, अभिभावक र शिक्षकसँग सोधपुछ गर्न सक्छन् । कलेजको पुस्तकालय, प्रयोगशाला, चुस्त व्यवस्थापन, शिक्षण जनशक्तिको पर्याप्तताबारे बुझ्न आवश्यक रहेको विज्ञ सुझाउँछन् ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?