कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश खोज्दै जाने यात्रा : 'थ्री कन्ट्री, वान मदर'

शरणार्थीले भोगेका विगत, बाँचेको वर्तमान अनि आशा गरेको भविष्य'थ्री कन्ट्री वान मदर'मा प्रस्ट देखिन्छ । अनागरिक हुनुको पीडा, आफ्नो पहिचान खोज्दाको संघर्ष अनि माटोसँगको मायालाई मन छुने ढंगमा प्रस्तुत गरिएको छ ।
रीना मोक्तान

काठमाडौँ — उनी ढाका टोपीलाई जबर्जस्ती आफ्नो शीरमा पहिरने कोसिसमा देखिन्छन् । तर, शीरमा टोपी अडिए पो !दुई हातले तन्काएर लगाउन खोज्छन् तर टोपी अडिदैन । हातले नभएपछि खुट्टाको सहारा लिन्छन् । शीर ठूलो भयो वा ‍टोपी सानो,हर प्रयास असफल बन्दैछ । शरीरको सबै बल प्रयोग गर्छन्,शीरमा टोपी अट्दैन ।

देश खोज्दै जाने यात्रा : 'थ्री कन्ट्री, वान मदर'

असिनपसिन भइसके,आँखा रसाउन थालिसक्यो । टोपीले शीरलाई आफ्नो माने पो ! त्यसपछि रिसले टोपी च्यात्न खोज्छन् । नाटक 'थ्री कन्ट्री वान मदर'मा प्रस्तुत गरिएको बिम्बात्मक यो दृश्यले नेपाली नागरिक बन्न चाहने नेपालीभाषी भुटानी शरणार्थीहरूको हुटहुटीलाई शसक्त रुपमा प्रस्तुत गरिदिन्छ । अनागरिकहरूको नागरिक हुने उत्कट इच्छा यही दृश्यले बोलिदिन्छ । मन, मस्तिष्क र भावनासँग जोडिएको माटोलाई आफ्नो बनाउन खोज्नेहरूको यो कथा'दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव'मा मञ्चन भएको नाटक हो ।

मञ्चमा देखिएका निमाले एकल प्रस्तुतिमार्फत भुटानी शरणार्थीका मुद्दालाई नाटकमार्फत उठाइदिएका छन्। शरणार्थीले भोगेका विगत, बाँचेको वर्तमान अनि आशा गरेको भविष्य'थ्री कन्ट्री वान मदर'मा प्रस्ट देखिन्छ । अनागरिक हुनुको पीडा, आफ्नो पहिचान खोज्दाको संघर्ष अनि माटोसँगको मायालाई मन छुने ढंगमा प्रस्तुत गरिएको छ । कला सँस्कृतिसँग जोडिएको प्रेम, छुटेका याद अनि आफ्नो बनाउन खोज्दा-खोज्दै टाढिएकोभविष्यलाई निमाको परिवारमार्फत मञ्चमा उभ्याइएको छ । निमा नाटकका एक्ला कलाकार ।‍नाटकको कथा निमा आफैंले सुनाउँदै जान्छन् ।

उनकी आमा र आप्पाको बिहे भुटानमै भयो । उनीहरूले विस्तारै सन्तानका लागि सुन्दर भविष्य कल्पन थाले । तर, 'वान नेसन, वान पिपुल'को नीतिले नेपालीभाषी भुटानी सताइए । निमाका परिवार भुटान छोड्न बाध्य पारिए । मातृभूभिको माया मनमा लुकाएर हजुरबुवा, आमा र आप्पा नेपाल आइपुग्छन् । निमाको जन्म भने मोरङको शनिश्चरे शरणार्थी शिविरमा हुन्छ । हुर्कँदै जाँदा थाहा पाउँछन्,आफू नेपाली होइन भन्ने सत्य पनि । तर, उनीसँगै हुर्कँदै हुन्छ नेपाली नागरिक बन्ने चाहना । अग्ला रुखबाट झरेका पातलाई भुईंमा खस्न नदिई हत्केलामा राखेर नेपाली हुने कामना गर्दैमा बाल्यकाल बित्छ । त्यसपछि शरणार्थी पुनर्बसोबासले निमालाई नेपाली भूमिबाट अलग्याउँछ ।

निमाको परिवार कसरी भुटान, नेपाल हुँदै अमेरिका पुग्छ ? 'थ्री कन्ट्री, वान मदर'ले एउटा परिवारले आफ्नो पहिचान, स्वतन्त्रताका लागि गर्ने तीन देशको यात्रालाई समेटेको छ । जति रमाइलो शैलीमा कथ्य वाचन गर्दै निमाले आफ्नो परिवारको कथा सुनाउँछ, त्यतिकै मर्माहित बनाउने उनको परिवारको यात्राले दर्शकको मन हुँडल्न थाल्छ । यो नाटकमा भुटानी शरणार्थीका तमाम समस्या र चुनौती त समेटिएका छैनन् । तर, जुन परिवारको कथा नाटकले भन्न खोजेको छ त्यससँग जोडिएका जीवनमार्फत भुटानप्रतिको प्रेम, नेपालप्रतिको सद्भाव, नेपाली सँस्कृतिसँगको माया, शरणार्थी जीवनका दु:ख र कष्टलाई नजिकबाट अनुभव गराइदिन्छ ।

निमाले शनिश्चरे शिविर छोड्दै गर्दाको दृश्यले भावनात्मक सम्बन्ध जोडिएको माटोबाट टाढिनुको वियोगलाई बलियो प्रस्तुत गरिदिएको छ । शिविर छोड्नुअघि नयाँ भविष्य कल्पँदै निमाले सजहै पोकोपन्तुरा बाँध्छन् । तर, जब आफू चढेको गाडीबाट शिविर टाढिँदै जान्छ, उनको मुटु काँप्न थाल्छ । पर-पर सर्दै गएको शिविरका छाप्रो, ठूला-ठूला रुखहरू हेर्दै अन्तिम पटक बिदा माग्दै गरेको दृश्यले दर्शकको आँखामा पनि आँसु ल्याइदिन्छ । नाटकमा एउटा परिवारले तीन देश चहार्दै गर्दाका बाध्यता, पीडा अनि अन्यौलतासँगै बाँचेको जीवनमार्फत शरणार्थीका भोगाइलाई प्रस्तुत गर्छ ।

सन् १९९० देखि २००० बीचको घटनाक्रममा एउटा परिवारले गरेको यात्रामार्फत शरणार्थीका भोगाइलाई बलियो ढंगले प्रस्तुत गर्न निर्देशक केटी ब्याकको मिहेनत देखिन्छ । निमाको परिवारको कथालाई जसरी मिहीन ढंगबाट नाटकमा प्रस्तुत गरिएको छ त्यसले विषयवस्तुप्रतिको उनको अध्ययन, लगनशीलता र गाम्भीर्य देखाउँछ । कलाकार निमा बल आफ्नो अभिनयमार्फत दर्शकलाई झन्डै ५० मिनेट बाँधेर राख्न सफल छन् ।

वास्तविक कथामै नाटक

नाटकमा प्रस्तुत गरिएको कथा निमाको वास्तविक जीवनमा आधारित हो । ३ वर्ष लगाएर तयार पारिएको यो नाटकलाई पहिलो पटक नेपालमा प्रस्तुत गर्न पाउँदा निमा खुशीले गद्ग द् छन् । सन् २०१३ मा अमेरिका पुगेका उनी यसअघि कहिल्यै काठमाडौं आएका थिएनन् । यही नाटकले काठमाडौं ल्याइपुर्योस । 'सुरुमा नाटक गर्दा डरले हो वा के-ले हो, एकदम साँघुरो अनुभव भयो । तर, दोस्रो प्रस्तुतिमा निकै मज्जा आयो,'मण्डला थिएटरमा भेटिएका निमाले सुनाए ।

नाटक लिएर काठमाडौं आइपुगेकी केटी नेपाली रंगमञ्चमा दर्शकको झुकाव देखेर दंग छिन् । 'नाटकको विषयवस्तुलाई आफूसँग नजिक पाएर होला धेरै दर्शक नाटक हेरेर रुँए,'मण्डला थिएटरमा इकान्तिपुरसँग गफिन बसेकी उनले भनिन्,'व्यावसायिक रंगमञ्चमा यस्तो विषय खासै उठाइँदैन । यो लुकिएको कथालाई भन्न यस्तो प्लेटफर्म पाएकोमा हामी खुशी छौं । यति धेरै दर्शक पाउँछौं भनेर सोचेका थिएनौं ।'

अमेरिका हुँदै केटीले निमाको परिवारलाई भेटेर उनीहरुको अमेरिकासम्मको यात्रा सुनेकी थिइन् । तीन देशसँग जोडिएको एउटै परिवारको कथाले उनलाई तान्यो । सुरुमा तीन देशमा छरिएका एउटै परिवारका तीन दाजुभाइको कथा भन्न चाहन्थिन् । तर, कोभिडले त्यो कथा भन्ने मौका दिएन । शरणार्थीहरूकै कथा खोज्ने क्रममा निमाको कथा सुनाउने निर्णय भयो ।'नेपालमा हुँदा भुटानी नै भनेर चिनियो । अमेरिका पुगेपछि कागजमा भुटानी भनेर सीमित भयो । तर, देख्ने, बोल्ने, चिनिने नेपालीका रूपमा । नेपाली भएर चिनिने रहरले नै मलाई नाट्य महोत्सवसम्म डोर्याँएको हो । मलाई नेपाली हुनु मन छ,' मुसुक्क हाँस्दै भने,'म नेपाली भएर किन जिउन सक्दिन त । के ले मलाई रोकिरहेको छ भन्ने प्रश्नले जहिल्यै सताइरहन्छ । त्यही भएर पनि नाटकको जन्म भयो ।म कुन देशको हुँ त भन्ने प्रश्न ममा हुन्थ्यो । त्यही प्रश्नको उत्तर खोज्ने क्रममा हाम्रो परिवारको कथा सुनाउने कुरा भयो ।'

निमाको कुरा सक्न नपाउँदै केटीले थपिन्,'शरणार्थीका विषय एकदमै जटिल छ । आर्थिक, राजनैतिक र सामाजिक परिस्थितिले जसरी त्यो समुदायलाई असर पारेको छ त्यसलाई प्रस्तुत गर्नुपर्छ भन्ने थियो । निमाजस्तो पात्र जो भुटान एक पटक पनि पुगेका छैनन् र त्यही पहिचानमा अर्कै देशमा जन्मिएका छन् । उनी र उनको परिवारको कथा सुनाउन मलाई मन लाग्यो।' उनको परिवारको कथालाई केटीले निमासँग मिलेर नै लेखेकी हुन् । 'म सबै कुरा आफूले भनेको जस्तो हुनुपर्छ भन्ने निर्देशकमा पर्दिनँ । मैले यो विषवस्तुलाई न्याय दिए कि दिएन भन्ने थाहा छैन । तर, हामीले सय प्रतिशत यसमा दिएका छौं,'उनले भनिन् ।

निमाले शिविरमै हुँदा १२/१३ वर्षको उमेरदेखि नाटक गर्न थाले। सन् २०११ तिर 'सुरुवात थिएटर'स्थापना गर्दै समुदायका मुद्दा उठाउन थाले । अमेरिका पुगिसकेपछि पनि उनी रंगमञ्चमै जोडिए ।सन् २०१७ मा 'नेपाली प्लज' भन्ने फेस्टिभलमार्फतकेटीसँग भेट भएपछि उनी दुईले यो नाटकमा काम गरे । नाट्य महोत्सव सुरु हुनु अगाडि निमा शिविर पुगेका थिए । त्यहाँबाट लिएर आएका माटो, ढुंगालाई उनले प्रप्सका रुपमा नाटकमा प्रयोग पनि गरे ।

'म जन्मिएको ठाउँबाट थोरै माटो लिएर आएको थिएँ । माईखोलाबाट ढुंगाहरू बटुलेर ल्याएँ । ती सबलाई प्रप्सका रूपमा प्रयोग गरेको छु,'मलिन आवाजमा सुनाए,'मैले नाटक गर्दै-गर्दामा आफ्नो पुर्खाहरूलाई पनि सम्झेँ । मैले आफ्नो जीवनमा जे अनुभव गरेँ, अभिनयमार्फत त्यसलाई व्यक्त गरेको छु ।'

प्रकाशित : मंसिर १६, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?