कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कचहरी नाटक ‘अभिप्सा’ मञ्चन

काठमाडौँ — महिला हिंसाविरूद्धको कचहरी नाटक ‘अभिप्सा’ मञ्चन भएको छ । ओरेक नेपालको सहकार्यमा दृश्य सादृश्यले महिला हिंसाविरूद्ध हुने विभिन्न सामाजिक घटनाहरूलाई कचहरी नाटकमार्फत प्रस्तुत गरिएको हो ।  

कचहरी नाटक ‘अभिप्सा’ मञ्चन

सालिकराम भण्डारीको लेखन र रंगकर्मी सरस्वती अधिकारीको निर्देशन रहेको नाटकलाई यही सोमबार र मंगलबार बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयहरूमा मञ्चन गरिएको थियो ।

नाटकमा मुख्य पात्र अभिप्सा हुन्छिन् । जेहेन्दार तथा मिहनती विद्यार्थीका रुपमा परिचित उनलाई सहकर्मी केटाहरूले पछ्याउनु, त्यही कारणले उनको सानैमा विवाह हुनु, श्रीमान्ले विदेशमा बेचिदिनु, उनको आमाबुबा र दाइबाट उनको उद्धार हुनु र समाजले गर्ने अवहेलनाकै बीच पनि परिवारले समाजमै स्थापित गर्न खोजेको संघर्षलाई नाटकमा देखाइएको छ ।

नाटकले हाम्रो समाज र परिवारभित्रै हुने हिंसाका विभिन्न किस्साहरूलाई प्रस्तुत गर्ने जमर्काे गरेको लेखक भण्डारीले बताए । उनले भने, ‘सामाजिक विषयवस्तुमा आधारित नाटकमा हाम्रै समाजको कथा र विषयवस्तु छन् । जहाँ हामीले देखेका भोगेका कथा नै नाटकमा प्रस्तुत गरिएको हो ।’

निर्देशक अधिकारीले महिलामाथि हुने विभेदलाई नाटकमार्फत प्रस्तुत गरेर महिला हिंसा र विभेदका घटना न्यूनीकरण गर्न समूहको उद्देश्य रहेको सुनाइन् ।

४० देखि ४५ मिनेटको नाटकमा निर्देशक अधिकारीसहित सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, अस्मिता ढकाल, कुलदीप अधिकारी, राजकुमार धामी, उन्नत भट्टराईलगायत कलाकारहरू सहभागी थिए ।

प्रकाशित : मंसिर १५, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?