कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’

‘हामीले जे सिक्यौं, जे गर्दै आएका थियौं त्यही मात्र गर्नुपर्छ भन्ने छैन । केही अभ्यास गरौं र अनुभव बटुलौं ।’
सुशीला तामा‌ङ

काठमाडौँ — कालो पृष्ठभूमिमा नीलो रङको प्रकाशमा गुञ्जिरहेको संगीतको अनौठो धून । त्यसैमा रुमलिरहेको मानव अस्तित्व । प्रकाश केही उज्यालो हुन्छ र दर्शकले भुँइमै लडेका तीन जना मानवरूपी शरीरहरू अझै प्रस्ट देख्छन् । ढाकिएको गोप्य अंगबाहेक पूरै 'न्युड' शरीरमा पोतिएका सेता रङले अझै दर्शकको ध्यान तानिन्छ ।

रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’

यी सबै थापागाउँस्थित मण्डला थिएटरमा जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार मञ्चन भएको प्रस्तुति ‘इम्ब्रिओनिक’का दृश्य हुन् । केदारनाथ पौडेलद्वारा लेखन तथा निर्देशन गरिएको यसलाई नेपाली प्रयोगात्मक प्रस्तुतिका रुपमा हेरिएको छ ।

झन्डै आधा घण्टासम्म संगीतको तालमा तीन मानवरूपी शरीरहरु संगीतको तालमा आफ्नै अस्तित्वको लागि संघर्षरत गरेजस्तै देखिन्छ । जब दुई मानव अस्तित्वहरु निकै कष्टपूर्ण तरिकाले उभिएर पाइला अगाडि चाल्छन्, तब भुँइमा सेतै प्लास्टिकभित्र गुम्सिएको अर्काे मानवरूपी अस्तित्व चलमलाउँछ । निकै छलमलावट, छटपट्टीपछि तिनै अस्तित्व पनि बाहिर संसारमा आइपुग्छ र आफूसँगै सम्पूर्ण चिजबिजलाई नियाल्दै अगाडि बढ्छ । सँगसँगै मन्ददेखि तीव्र गतिमा बजिरहेको संगीतको धुन, तिनै जनाको सुस्त गति, तिनको मौनता र अभिव्यक्तिले दर्शकको मनमा एक ब्रह्माण्डको झलक दिँदै जान्छ । जहाँ संगीत र जीवात्माको स्वासको गतिबाहेक केवल शून्य र मौनता भरिएका हुन्छन् ।

शब्द, बोली र संवादबिना नै ती अस्तित्वहरूले केवल खोजी जारी राख्छन्, आफ्नो पाइला अगाडि बढाइराख्छन् र शून्य भावले संसार नियाली राख्छन् । नीलो रङमा तुवाँलोले भरिन्छ । कालो पृष्ठभूमि, नीलो प्रकाश र सेतो रङको तुवाँलो भरिएको परिवेशले ठ्याक्कै चन्द्र, सूर्य, तारा र त्यसैमा बाँचिरहेको एक जीवित प्राणीको झलक दिन्छ । दर्शक पूर्ण शून्य हुन्छन् । मन र मस्तिष्कमा अनेक तर्कना चल्छन् । त्यही क्रममा प्लास्टिकभित्र संसार नियाल्न आएको मानवरूपी अस्तित्वको दर्दनाक आवाजले दर्शकको ध्यान भंग हुन्छ । उसको रुवाइ, छटपटीले शून्य समयमा भावुकता थपिन्छ । लाग्छ सम्पूर्ण ब्रह्माण्डकै अस्तित्व संकटमा छ । संगीतको धून झनै कारुणिक र अप्रिय बन्दै द्रुत गतिमा चल्छ । सोही गतिमा तीन मानवरुपी अस्तित्व ढलेसँगै प्रस्तुतिले बिट मार्छ । हलमा तालीको गडगडाहट निकै लामो समयसम्म चल्छ ।

झट्ट हेर्दा अमूर्त फर्ममा प्रस्तुत भएको यस प्रस्तुति फर्ममेन्स कलाझैं लाग्छ । जहा कुनै संवाद छैन तर कलाकार, विचार, दृष्टिकोण, संगीत र शरीरका हाउभाउ सम्मिलित छन् । प्रस्तुति हेर्दै गर्दा दर्शकको दिल र दिमागमा अनेक प्रश्न र तिनैमा सवालजवाफ हुँदै जान्छन् । प्रस्तुतिले ‘मानव तथा सम्पूर्ण प्राणीको जीवन चक्रलाई त इंगित गरिरहेको छैन’, ‘के यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षलाई बताइरहेको छ’, ‘के यो पृथ्वी र सम्पूर्ण बह्माण्डको परिवेश हुन सक्ला ?’ यिनै प्रश्नहरु प्रस्तुति हेर्दै गर्दा आम दर्शकको मस्तिष्कमा जोडले चल्न सक्छ ।

‘यसलाई नाटक मान्ने कि फर्ममेन्स कला ?’ प्रस्तुतिमा समेत देखिएका यसका लेखक तथा निर्देशक पौडेललाई प्रश्न गर्दा यसको नाम र परिभाषा दिन आम दशर्कलाई छोडेको सुनाउँछन् । उनका अनुसार नेपाली रंगमञ्चमा नयाँ किसिमको प्रस्तुति दिने उनको यो सानो प्रयास हो । ‘अहिले नाट्य महोत्सवलाई विविधताको उत्सवका रूपमा समेत लिइएको छ’, उनले भने,‘अहिलेसम्म निर्देशकको रुल, डाइलगलाई फलो गरेर चलेको हाम्रो रंगमञ्चमा केही नयाँ गरौं न भन्ने मेरो यो प्रयोगात्मक प्रस्तुति हो ।’

गत मार्च महिनामा इटलीस्थित पिसामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसिया लगायतका साहित्य, संगीत, रंगमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट रंगकर्मी पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति तयार भएको पौडेलले बताए । उनले भने,‘हामीले एकैपटक मात्र पहिलो र अन्तिम हुने गरी प्रस्तुति दिने सोचेका थियौं तर नाट्य महोत्सव र रंगमञ्चमै फरक कुरा किन नगर्ने भन्ने विचारले प्रस्तुति दिएका हौं ।’

विगत १३ वर्षदेखि उनी रंगकर्ममा नै छन् । नाट्य क्षेत्रमा केही फरक ल्याउनुपर्छ र सम्पूर्ण रंगकर्मीहरूले केही न केही नयाँपन सिर्जना गर्नेतिर उन्मूख हुनुपर्छ भन्ने उनको बुझाइ छ । पृथ्वी तथा सम्पूर्ण ब्रह्माण्डमै सबैको जीव तथा वस्तुको आ–आफ्नै अस्तित्व छ । सुरुवात र अन्त्यपनि सबैमा निहित हुन्छ र यसैलाई पौडेलले कलामा प्रतीकात्मक रूपमा प्रस्तुत गरेका थिए । केही समयअघि पोखरास्थित विन्धवासिनी मन्दिरमा कमल तथा विभिन्न प्रजातिका फूलहरुसँगै ढुंगामुनि फूलेको प्याउली फूल उनले देखेका थिए । प्याउलीको सौन्दर्य र त्यसको अन्त्यसम्मको दृश्यले पछिल्लो प्रस्तुतिका लागि अझै उत्साह थपिएको उनले प्रस्ट्याए ।

प्रस्तुतिमा उनीसहित दुई जना कलाकारहरु अनिल तिमिल्सिना र अर्जुन गुरुङ सहभागी थिए । प्रस्तुतिपूर्व प्रकाश, कलाकारको स्थान, गति, शरीरको चालको तिव्रता, प्रयुक्त संगीतको छनौट कुनै पनि कार्य नगरिएको पौडेलले सुनाए । ‘कलाकारहरुले जे सोच्छन्, जे गर्छन् त्यो मनबाट गरियो भने प्राकृतिक र अर्काे नयाँ अनुभव बटुल्न सकिन्छ । मेरो उद्देश्य त्यही नयाँ चिज खोज्नु हो’ उनले थपे । परम्परागत रूपमा चलेका थिएटर र नाटकको अभ्यासमा यसले केही नौलो कुरा सिक्न सघाउ पुर्‍याउनेमा उनी विश्वस्त छन् । उनको आग्रह छ, ‘हामीले जे सिक्यौं, जे गर्दै आएका थियौं त्यही मात्र गर्नुपर्छ भन्ने छैन । केही अभ्यास गरौं र अनुभव बटुलौं ।’

संगीत प्रयोगमा बिमल दाहाल थिए । केही न केही खोज गरिरहेको जस्तो देखिने कलाकारहरुको शरीरको चाल र मुहारको भावभंगी सुन्दर थिए ।

प्रकाशित : मंसिर १५, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?