कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
निटफेस्ट

श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को छैठौं दिन बुधबार श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएको छ ।

श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन

राजा र दासको कथा समेटिएको नाटकमा राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा एक दासका रुपमा हुन्छन् । राजा, राजकुमार अनि प्रेमथिकाले नाटकभित्र तीन फरक कथाहरु सुनाउँछन् । नाटकका दृश्यहरु प्रस्तुत हुँदै जाँदा सबै पात्रहरुले आ–आफ्ना नियतिको कथाहरु भन्दै पर्दाफास गर्छन् । अन्त्यमा यी तीनमध्ये श्रेष्ठ नायक ‘को हुन्छन्’ भन्ने खुट्याउने जिम्मा नाटकले दर्शकलाई दिएको छ । नाटकलाई लोक तथा सांगीतिक शैलीमा प्रस्तुत गरिएको थियो ।

बुधबार नै छाया र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको भारतबाट इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’ मञ्चन भएको थियो ।

महोत्सवको सातौं दिन बिहीबार भने इटालीको मजदुरको कथा बोकेको नाटक ‘मेड इन इल्भा’ मञ्चन हुने भएको छ । अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला नाटक मध्याह्न १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

बिहीबार नै साँझ ५ बजे ‘थिएटर शिक्षा: अवसर र चुनौती’ शीर्षकमा प्यानल डिस्कसन हुने महोत्सवका सञ्चार संयोजक केदार श्रेष्ठले बताए । यसमा विश्वविद्यालय र थिएटर व्यक्तित्वबीच सम्बन्धित अन्तरक्रिया हुनेछन् । श्रेष्ठका अनुसार बिहीबार कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चालन हुँदैछ । यसमा मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिँदैछ ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा मंसिर १७ गतेसम्म जारी रहनेछ । १८ नाटकको २५ मञ्चन हुने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

प्रकाशित : मंसिर १५, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?