अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लगायत विश्वभरका लोकसंगीतलाई समेट्ने गरी अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु गरिएको छ । ‘जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबारदेखि सुरु गरिएको महोत्सवमा १० देशका १० वटा लोकसंगीतलाई चिनारी दिने चलचित्र तथा भिडियो डकुमेन्ट्रीहरू प्रदर्शन गरिएका छन् ।


नेपाली संगीत तथा संस्कृतिको विश्वव्यापी संरक्षण तथा विश्वका लोक संगीत एकै ठाउँमा बसेर अध्ययन/अवलोकन गरी देशमा सांगीतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरस्थित रहेको लोकबाजा संग्रहालयले अन्तर्राष्ट्रिय स्तरको लोक संगीत चलचित्र महोत्सव गर्दै आएको छ । महोत्सवको यो १२ औं संस्करण हो ।

लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानको सहकार्यमा गरिएको पछिल्लो महोत्सव लोक गायक कुमार बस्नेतको सम्मानमा समर्पित गरिएको महोत्सवका संयोजक रामप्रसाद कँडेलले बताए । यस वर्ष पहिलो दिन दीवंगत लोकसंगीतका सर्जकहरूप्रति श्रद्धा अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनपछि पहिलो र दोस्रो दिन छनोटमा परेका नेपाल लगायत विभिन्न देशका ‘विशुपति’, ‘भयाली’, ‘नोयम’ लगायत चलचित्रहरु प्रदर्शन गरिएका थिए । कँडेलका अनुसार आइतबार र सोमबार उपत्यकाका रहेका महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरूको अवलोकन तथा भ्रमण गरी महोत्सव समापन गरिने छ ।

महोत्सवमै संग्रहालयले यस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ वरिष्ट लोकसंगीत अनुसन्धाता रामकृष्ण दुवाललाई समर्पण गरेको छ ।

यस वर्ष समाजशास्त्र तथा मानवशास्त्र अध्ययन, अनुसन्धानमा लागेका युवा जमात तथा संगीतकर्मीहरूको सहभागिता उत्साहजनक रुपमा रहेको कँडेलले बताए । विश्वभर लोकसंगीतको अध्ययन, अनुसन्धान तथा संरक्षणको कार्य न्यून रहेकाले यस्ता खाले महोत्सवले विश्वमा लोकसंगीतको अवस्था, अभ्यास तुलनात्मक रुपमा बुझ्न अवसर मिल्ने उनको विश्वास छ ।

‘विश्वभरका लोकसंगीत कस्ता छन् भनेर हामीले महोत्सवमा हेर्न पाएका छौं’, उनले भने,‘लोकसंगीतको अध्ययनले हाम्रो सांगीतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ उनका अनुसार प्रत्येक महोत्सवको अहिलेसम्मको संस्करणमा तीन सयको हारहारीमा फिल्महरू प्रदर्शन गरिएका छन् । लोकबाजा संग्रहालयसँग हाल एक सय वटा लोकसंगीत सम्बन्धी फिल्महरू संग्रहीत छन् । यसले हाम्रा पूर्खाले गरेका प्राचीन संगीतका धुनहरू भावी हजारौं पुस्तासम्म लैजान सकिने उनको भनाइ छ ।

नेपालसहित भारत, अर्जेन्टिना, अमेरिका, क्यानडा, बेलायत लगायत देशहरूको सहभागिता रहेको महोत्सवमा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : मंसिर ११, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङमा सबैभन्दा बढी समानुपातिक मत एमालेलाई

डम्बरसिं राई

खोटाङ — खोटाङमा प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले मत प्राप्त गरेको छ । एमालेको २४ हजार २७१ मत खसेको हो । दोश्रोमा कांग्रेसले १८ हजार छ सय ७२ मत पाएको छ।


नेकपा माओवादी केन्द्रको ११ हजार आठ सय ४५, नेकपा (एकीकृत समाजवादी) को तीन हजार ३६, जनता समाजवादी पार्टीको दुई हजार दुई सय ४८ र राप्रपाको एक हजार दुई सय ५५ मत खसेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार चार सय ९७, आमूल परिवर्तन मसिहा पार्टीको एक सय ५३, मंगोल नेशनल अर्गनाइजेसनको एक सय २१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको ३, नेपाल समावेसी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशीलको ९, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीको ८, राष्ट्रिय नागरिक पार्टीको २ मत आएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीको २१, नेपालका लागि नेपाली पार्टीको १५, राप्रपा नेपालको १५, मितेरी पार्टी नेपालको २, बहुजन एकता पार्टी नेपालको १४, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)को एक सय २१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ९, नेश्नलिष्ट पिपल्स पार्टीको ९, नेपाल लोकतान्त्रिक पार्टीको ६, राष्ट्रिय जनमुक्ति पार्टीको ४, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)लाई ८, नेपाली कांग्रेस (बीपी)को १४, तराई मधेश लोकतान्त्रिक पार्टीको ११ मत आएको छ ।

नेपाल जनता पार्टीको ५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालको १९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको २०, पिछडावर्ग निषाद दलित जनजाति पार्टीको ४, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनको १०, नेपाल कम्युनिस्ट पार्टीको १२, बहुजन शक्ति पार्टी १, विवेकशील साझा पार्टीको १०, एकीकृत शक्ति नेपालको ५, नेपाल संघीय समाजवादी पार्टीको ३८, जनजागरण पार्टी नेपालको १३ मत आएको छ । एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये प्रतिनिधिसभा समानुपातिकतर्फ ४७ दललाई ६७ हजार नौ सय ८९ मत खसेको थियो ।

प्रकाशित : मंसिर ११, २०७९ १५:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×