कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि महोत्सवको थालनी गरिएको हो ।

सुरु भयो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायत रंगकर्मीहरू तथा नाट्यप्रेमीहरू सहभागी थिए ।

महोत्सवको सफलताको कामना गर्दै मन्त्री श्रेष्ठले महोत्सवबाट नेपाल र विश्वको सांस्कृतिक विविधतालाई प्रभावकारी बनाउने धारणा राखे । हाम्रो देश नेपाल आफैंमा विविधताले भरिपूर्ण छ,’ उनले भने, ‘यहाँको सौन्दर्यमा विभिन्न जातजातिको भाषा, धर्म, परम्पराहरूको हिस्साले भरिएको छ । ती हिस्साहरूमा हाम्रा पूर्खाको जीवनपद्धति र पहिचान मिसिएको छ ।’

कला, साहित्य, संगीत, नाट्य क्षेत्रले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताउँदै उनले महोत्सवले सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशसँग मानवीय र कूटनीतिक सम्बन्ध बनाउन सघाउ पुर्‍याउने ठहर गरे । नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा नाट्य क्षेत्रको भूमिका समेत रहेको उल्लेख गरे । उनले नेपालको कला तथा संस्कृति क्षेत्रलाई विस्तार गर्ने यस्ता खाले कार्यक्रमको निरन्तरताका लागि सहकार्य र सहयोग गर्न संस्कृति मन्त्रालयको ढोका सदैव खुल्ला रहने प्रतिबद्धता जाहेर गरे । नाट्य क्षेत्र विकास र विस्तारका लागि भनेर महानगरले समेत अहिलेसम्म नीति तथा कार्यक्रम नछुटाएको अहिलेको परिस्थितिमा आगामी वर्षदेखि बजेट नीतिमा रंगमञ्चलाई समेत समावेश गरिने महानगरका प्रमुख शाहले प्रतिबद्धता व्यक्त गरे । कालो कोट पाइन्टमा सजिएका प्रमुख शाहको प्रशंसा गर्दै आजमीले सामाजिक रुपान्तरण र विविधिताको उत्सवका रुपमा भएको महोत्सवमा आफू सहभागी भएकोमा निकै उत्साहित भएको बताइन् । ‘सामाजिक रुपान्तरण र विविधिता आजको आवश्यकता हो । कला, थिएटरमा परिवर्तन ल्याउने शक्ति हुन्छ,’ उनले भनिन् । थिएटरकै मानिसहरू एकबद्ध भएर नाट्य क्षेत्रको विकासका लागि मन्डलामा बनेको संरचना हेर्दै उनले खुसी प्रकट गर्दै समूहलाई बधाई दिइन् । महोत्सवमा सात नाटकहरूको संग्रह ‘इन्द्रधनुष’ को समेत विमोचन गरिएको थियो ।

९ दिनसम्म चल्ने महोत्सवमा हरेक दिन बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया तथा विमर्शहरू हुनेछन् । महोत्सवमा विश्वभरिबाट २०० भन्दा बढी नाट्य कलाकारहरू तथा विभिन्न देशका नाट्य टोली, निर्देशकहरू काठमाडौं आइसकेका छन् । महोत्सवको दोस्रो दिन शनिबार भने अभिनेत्री आजमीबाट रंगमञ्चकै सेरोफेरोमा रहेर साँझ ७:३० बजे मन्डलामा मास्टर क्लास हुनेछ ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।

प्रकाशित : मंसिर ९, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?