कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कलामा प्रकृति र सम्पदाको सौन्दर्य

सुशीला तामा‌ङ

काठमाडौँ — ‘एकपटक आत्मैदेखि प्रकृतिलाई सुनौं त । प्रकृतिले प्रत्येक समयमा बोलिरहेको हुन्छ र अनेक रंगहरुमार्फत आफ्ना भावहरु पोखिरहेको हुन्छ, ’ चित्रकार विनोद प्रधान प्रकृतिको आवाज सुन्न आग्रह गर्छन् । उनका लागि प्रकृति र यसैमा सिर्जित हिमाल, पहाड, खोलानाला, हरिया वनजंगल केवल सौन्दर्यका लागि मात्र होइनन् । मानव जातिका लागि प्रकृति आफैंमा सर्वाेच्च छ ।

कलामा प्रकृति र सम्पदाको सौन्दर्य

प्रकृतिमै मानिसका लागि भगवान्, सिर्जनाका लहर, सभ्यता, संस्कृति र ज्ञानका भण्डार रहेको विश्वास राख्ने प्रधानले प्रकृति र सम्पदालाई एक पवित्र संसार, लोकका रुपमा कलामा चित्रण गरेका छन् । उनका लागि प्रकृति र यसैभित्र रहेका धार्मिक सम्पदाहरु पवित्र सम्पदाहरु हुन् । यी दुवै सुरक्षित र संरक्षित हुनुपर्छ भन्ने आवाज उनले कलामार्फत नै उठान गरेका छन् । प्रकृति र सम्पदाको सौन्दर्य, मर्म र अस्तित्वलाई झल्काउने उनका ढेड दर्जनभन्दा बढी कलाकृतिहरु अहिले बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । उनको यो ११ औं एकल कला प्रदर्शनी हो ।

विकासका नाममा विनाशकारी नीतिको अभ्यास भइरहेको अहिलेको समयमा प्रकृति र सम्पदा कसरी जोखिममा परिरहेका छन् भन्ने तथ्यलाई प्रधानका कलाकृतिहरुमा देख्न सकिन्छ । काठमाडौं यंगालमा जन्मेका उनको बाल्यकाल मरु गणेशथान र बसन्तपुर वरपर नै खेलेर बित्यो । खेल्दाखेल्दै धार्मिक सम्पदाहरुप्रति उनको मोह पलायो । यता सम्पदाप्रेम पलाएकै बेला साँखु पौवास्थित मामाघर आउजाउ गर्दा उनी प्रकृतितिर पनि आकर्षित भए । उनको कलायात्राको तीन दशकमा उनले कला सिर्जनाको केन्द्रीय विषय नै सम्पदा र प्रकृति चित्रण गरिरहेका छन् । बितेका तीन दशकमा उनले देखेको प्रकृति र काठमाडौं उपत्यकामै रहेका धार्मिक सम्पदाहरु कति नासिए र कतिपय चोरी भए ।

ती सम्पदाहरुलाई स्मरणमा राखेर कला मार्फत संरक्षण गरौं भन्ने भाव आफ्नो सिर्जनाले बोलेको उनी बताउँछन् । ‘म यंगालमा जन्मेकोले बसन्तपुरतिर खेलेरै हुर्किएँ,’ उनले भने, ‘मैले सानोमा देखेको भगवान्‌हरू धेरै चोरी भए । कति त संरक्षण नभएर बिग्रिए । त्यसैले यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश कलामा देखाउन थालेँ ।’ मामाघर र त्यहाँको प्रकृतिले समेत आफूलाई प्रभाव पारेकाले कलामा कतै न कतै विम्बात्मक रुपमा प्रस्तुत हुने उनको मत छ ।

प्रधानका क्याभासमा चित्रित भएका अधिकांश सिर्जनाहरुमा अग्ला–अग्ला विविध सुन्दरता इंगित पहाडहरुको अलग्गै स्थानहरुमा मठमन्दिर, गुम्बा, चैत्य जस्ता धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । झट्ट हेर्दा पहाडको टुप्पोबाट झर्नै लागेका, पहाडको फेदीले थिच्नै लागेका र कतै बस्तीबाट अलग्गिएका जस्तो भान हुन्छ । उनका अनुसार हाम्रा सम्पदाहरुको स्थान नै अलग्गै हुनुपर्छ । मानव बस्तीसँगै भन्दा अलग्गै र कठिन ठाउँमा रहेका हाम्रा सम्पदाहरु त्यसै सुरक्षित अनि संरक्षित छन् । ती सम्पदा मात्र होइन, त्यससँग जोडिएका प्रकृति गरिमा समेत उच्च रहेको उनी प्रस्ट्याउँछन् ।

अर्काेतिर उनको सिर्जनाको अर्थ हाम्रा जोखिममा रहेका सम्पदाहरुलाई जोगाऔं भन्ने सन्देश पनि हो । ग्यालरीमा प्रदर्शित उनले एउटा क्यानभासमा फेवातालको बीचमा अवस्थित तालबारही मन्दिरलाई इंगित गरेका छन् । जहाँ फेवाताल संकटमा पर्दै गरेको पत्रिकाको समाचारलाई काटी डुंगाको आकृतिमा क्यानभासमा टाँसेका छन् । प्रकृति मासिँदै जाँदा हाम्रा सम्पदाहरु पनि मासिन्छन् भन्ने उनको कलाको अभिव्यक्ति हो ।

राज्य तथा सरकारका नीति र योजनामा कला संरक्षण र संवद्र्धनका बुँदाहरु समेटिरहन्छन् । विभिन्न राजनीतिक दलगत घोषणापत्रहरुमा कला संरक्षण र विस्तारका कुराहरु छुट्दैनन् । यद्यपि नेपालमा राज्यबाट भन्दा कलाकारहरुको समूह तथा व्यक्तिगत रुपमै कला सिर्जना आजको स्थितिसम्म आइपुगेका प्रधानको ठम्याइ छ । जतिबेला उनले कला सिर्जना सुरु गरेका थिए, तीनताक प्रधान समुदायमा कलाकारितालाई तल्लो स्तरका रुपमा लिइन्थ्यो । र पनि उनले कला सिर्जनालाई नै निरन्तर अगाडि बढाए ।

‘मैले परिवार र साथीभाइलाई म आर्टिस्ट हुँ र म चित्र कोर्छु भन्न नै १५ वर्ष संघर्ष गरेँ,’ उनले सुनाए । उनका अनुसार आजको समयमा कलाकारिता र कलाकार दुवै सिर्जना गरेर बाँच्न सकिने वातावरण बनेको छ । कलाले देशको सभ्यता, संस्कृति, धर्म र इतिहासलाई सँगसँगै डोर्‍याउँदै लगेपनि यसको मूल्य राज्यले नबुझेको उनको गुनासो छ । कलाकारले सिर्जनामा देखाउन चाहेको विषयवस्तु र मर्म अझै पनि आम मानिस समक्ष पूर्णरुपले पुग्न नसकेको कुरा भने उनी स्विकार्छन् ।

कला विस्तार र विकासको माहोल जगदेखि नै बसाल्न प्रत्येक कलाकार तथा विद्यालयहरुले सुरुवात गर्नुपर्ने उनको भनाइ छ । सर्जकले कलाको धर्म, मर्म र सिर्जनालाई निरन्तरता दिएर आफ्नो कर्तव्य निर्वाह गरिहनुपर्ने उनको सुझाव छ । उनी थप्छन्,‘हाम्रो कला, सम्पदा र प्रकृति रहे मात्र हामी कलाकार र हाम्रो सिर्जना बाँचिरहन सक्छ ।’

प्रधानको कला प्रदर्शनी मंसिर ९ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : कार्तिक २५, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?