क्यानभासमा मनाङ

कान्तिपुर संवाददाता

लमजुङ — आँखै अगाडि हिमाल । फेदीमा बस्ती, बस्तीमा माटोका छानो हालेका घरहरू । बस्ती आसपासका खेतबारीमा फापर फुलेका छन् । वर्षा थामिएर आकाश गाढा–नीलो देखिएको छ । माथिल्लो मनाङ यति बेला आफैंमा कुनै बिछट्टको चित्र जस्तो देखिन्छ । आन्तरिक र  विदेशी पर्यटकलाई मोहनी लगाएको मनाङमा यति बेला घुमन्तेको आगमन बढ्दै छ । 

क्यानभासमा मनाङ

यही मेसोमा नेपालसहित ६ देशका प्रसिद्ध कलाकार मनाङका दृश्य चित्रमा उतारेर माथिल्लो मनाङमा प्रदर्शन गर्दैछन् । मनाङको सामुदायिक भवनमा प्रदर्शनी छ ।

मनाङको चित्र कोर्न नेपाल, भारत, दक्षिण कोरिया, लिथुवानिया, युक्रेन र अमेरिकाका २८ जना आएका छन् । उनीहरूले आफ्नो देशको प्रकृति र नेपालमा बनाएका चित्र प्रदर्शनीमा राखेका छन् । अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी तथा प्लेन एयर २०२२ मा स्वदेशी विदेशी पर्यटक पनि दर्शक छन् । नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले प्रदर्शनी गरिएको आयोजक धनु आर्ट स्टुडियो काठमाडौंका अध्यक्ष धनबहादुर याखाले बताए ।

चित्रकला प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, प्राज्ञ सुष्मा राजभण्डारी, रवीन कोइराला, रामपुजन ठाकुरलगायत सहभागी छन् । शुक्रबारदेखि सञ्चालन गरिएको उक्त अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आगामी मंगलबारसम्म चल्नेछ । याखाका अनुसार संसारकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि) को चित्र कोर्न कलाकार गएका छन् । उनले अस्ट्रेलिया, अमेरिका र दक्षिण कोरियामा पनि नेपाली चित्रकला प्रदर्शन गर्ने तयारी गरिएको बताए ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?