रंगमञ्चमा दुई युगको संवाद

काठमाडौँ — अल्बर्ट आइन्स्टाइन, महात्मा गान्धी, एडल्फ हिटलर र चार्ली च्याप्लिन विश्वले सम्झने नामहरु हुन् । जसले आफ्नो समयमा आ–आफ्नै कार्य क्षेत्रबाट आफूलाई अब्बल राख्दै विश्वमा नै हलचल मच्चाए ।

वर्तमानमा यी महापुरुषहरुलाई संसारले कसरी स्मरण गर्छन्, आजको यथास्थितिमा यिनीहरुको भूमिका कसरी तुलना हुन्छ, उनीहरुको परिकल्पनाको संसार कस्तो थियो, भविष्यवाणी कस्ता थिए भन्ने दुई युगको समय संवादलाई नाटक ‘समय : दुई युगको संवाद’ ले पस्कने जमर्काे गरेको छ ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा आइतबारदेखि मञ्चन सुरु भएको नाटकलाई सर्वनामकै १८ औं ब्याचका प्रशिक्षार्थी समूहले प्रस्तुत गरेको हो । नाटकको लेखन समूहकी सुजता पन्तले गरेकी हुन् ।
नाटकले मूलत: समयको महत्त्वलाई दर्साउँदै समयअनुसार नै जन्मेका महान् पात्रहरु र तिनले गरेका कामहरु इतिहास बनेर वर्तमानमा उभिन्छन् भन्ने तथ्यलाई प्रस्ट्याएको छ । नाटकको सुरुवाती दृश्यले नै वर्तमान समयको ज्ञात गराउँदै अन्त्यमा पनि जोड्दै आजै, अहिले नै र तत्कालको समयमा मान्छेलाई जिउन आह्वान गर्छ ।
नाटकले २०२० को समयबाट १९४० को समयतिर डोर्याउँछ । सुरुवाती दृश्यतिर नै घडीको आवाजले दर्शकलाई समयको बोध गराउँछ । वर्तमानकालीन स्थितिमा नाटक केन्द्रित हुन्छ । जुन समय कलियुगको छ । जहाँ ईश्वरभन्दा दानवको अस्तित्व हाबी छ, जताततै कोलाहल छ र कोरोनाजस्ता महामारी रोगले मानिस ग्रसित छन् भन्ने तथ्यलाई नाटकका पात्रहरुले बोल्छन् । मान्छले स्वार्थका लागि तेल, जमिन र पानीलाई आफ्नो बनाउँदै राजनीतीकरणले नै हावालाई नियन्त्रण गरी महामारी भित्र्यायो भन्ने विषयलाई उठान गर्छ । मान्छे चाहिनेभन्दा बढी स्वतन्त्रतातिर हाबी भएर अराजकतातिर गएको संकेत गर्दै नाटकले तानाशाही हिटलरको समयको पुकार गर्छ । अशान्तिलाई शान्त बनाउन गान्धीको समय चाहन्छ, पीडादायी अवस्थामा खुसी ल्याउन चार्लीको समयमा पुग्न चाहन्छ र विज्ञान तथा प्रकृतिको हिस्सा जान्न आइन्स्टाइनतिरै पुन: फर्कने प्रयत्न गर्छ । नाटकले बोल्छ, ‘पृथ्वीको यो कोलाहल भूतमा जानु छ । सबैको ग्रह, राहु, नक्षत्र फेर्नु छ ।’
कलियुगको समयमाथि बहस गर्ने नेता, साधु, वैज्ञानिक र ज्योतिष छन् । उनीहरुकै बहसका क्रममा समय १९४० तिर मोडिन्छ । यही समयमा आइन्स्टाइन, गान्धी, हिटलर र चार्ली जोडिन्छन् र सबैले आफ्नो समयको तर्क राख्छन् ।
८० वर्षपछिको भविष्यवाणी गर्ने पात्र खडा गरेर नाटकले अहिलेको समय संवादलाई निकै सूक्ष्म तरिकाले प्रस्तुत गरेको छ । आइन्स्टाइनको वैज्ञानिक चमत्कार, परमाणु बमको निर्माण र यसले विश्व मानव जगत्मा पारेको प्रभावसम्मलाई नाटकले केलाउँछ । स्वतन्त्र भारतको लागि गान्धीको अहिंसावादी आन्दोलन, जर्मन साम्राज्यका लागि हिटलरको हिंसात्मक पथ, मानिसका खुसीका लागि चार्लीको अभिनयसम्मको विषय नाटकभित्र समेटिएका छन् ।
इतिहासका यी पात्रहरुले गरेका कामकै आधारमा आजसम्म कसरी विश्व मानसपटलमा यिनीहरु जीवित छन् भन्ने तथ्यलाई दोहोर्याउँदै नाटकले वर्तमानका मानवलाई आफ्नो सत्कर्ममा लाग्न अभिप्रेरित गर्छ । यी पात्रहरुले विश्व परिवर्तन र स्वतन्त्रताका लागि विज्ञान, शान्ति, हिंसा र अभिनयको बाटो रोजे । विज्ञान र हिंसालाई रोजेका आइन्स्टाइन र हिटलरलाई मानवीय समाजले विनाशकारी पाटोमा समेत विश्लेषण गर्दै आएका छन् । नाटकमा चार्ली पात्रलाई मानवीय समाजको एउटा सिर्जनाका रूपमा व्याख्या गरेको छ । कोलाहल र मानवीय दु:खमा चार्ली मान्छेलाई खुसी दिन आएका हुन् । संसारमा चार्ली मात्र एक पात्र छन्, जसको विश्वले कुनै पनि कोणमा निन्दा गरेका छैनन् भन्ने पक्षलाई जोड्दै नाटकले मान्छेलाई उसको कर्मले नै महान् बनाउँछ भन्ने तथ्यलाई बताउँछ । समयले नै मानिसलाई सही/गलत बनाउने पक्षलाई नाटकले इतिहासका यिनै पात्रहरु खडा गरेर कलियुगलाई सतर्क बनाएको छ ।
दुई कालखण्डलाई नाटकले सजिलै जोड्दै दर्शकलाई दुबै समयको बोध गराएको छ । गान्धी, हिटलर, चार्ली पात्रहरुको आवरणले दर्शकलाई इतिहासकै झल्को दिन्छ । रंगमञ्चका लागि प्रशिक्षार्थी नै भए पनि दर्शकलाई त्यसको अनुभूति गर्न दिएका छैनन् । हिटलरको आक्रोश, गान्धीको शान्त रूप, चार्लीको अञ्चलता र आइन्स्टाइनको जिज्ञासु स्वभाव कलाकारहरुको अभिनयमा झल्किएका छन् । नाटक अवधिभर आक्रोश, कोलाहलसँगै हिटलर पात्रको दृश्यमा रातो रंगको प्रकाश परिचालनले क्रान्तिको रूपमा विशेष अर्थ राख्छन् । त्यस्तै गान्धीको समयमा अधिकांश दृश्यमा हरियो प्रकाश देख्न सकिन्छ ।
झकिझकाउ रंगमञ्चीय व्यवस्थापनबिना नै नाटकले दुई युगलाई प्रस्तुत गरेको छ । यसमा पनि सर्वनामको मितव्ययी रंगपद्धति शैलीको निरन्तरता देख्न सकिन्छ । प्रशिक्षार्थीहरु अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, वसन्तबहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापामगर, राम दाहाल, सन्जु तामाङ, सुजता पन्त र सुवास बस्यालले सर्वनाममा तीनमहिने बन्द प्रशिक्षण र करिब दुई महिनाको तयारीमा नाटक प्रस्तुत गरेका हुन् । रंगमञ्चमा आउन चाहनेहरुका लागि सर्वनामले मञ्च प्रदान गर्न प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । १८ औं ब्याचका प्रशिक्षार्थीहरुमा अत्यन्तै सम्भावना रहेको सर्वनामका संस्थापक रंगकर्मी अशेष मल्लले बताए । रंगमञ्च मात्र नभएर अन्य कला फाँटमा उनीहरुले निकै राम्रो गर्ने उनको आशा छ । नाटक यही शनिबारसम्म मञ्चन हुनेछ ।
प्रकाशित : आश्विन ७, २०७९ १२:१०