खगेन्द्र लामिछानेको ‘फुर्के’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगमञ्च, फिल्म र साहित्यमा सक्रिय लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ सार्वजनिक भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक लामिछानेसहित कवि विप्लव प्रतीक, नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, गायक लोचन रिजाल लगायतले उपन्यासको लोकार्पण गरे ।


सरल भाषाशैलीमा लेखिएको उपन्यास एउटा कुकुरको आत्मकथा हो । लेखक लामिछानेका अनुसार उपन्यासमा कुकुर र मान्छेबीचको सम्बन्ध, कुकुले मान्छेलाई हेर्ने दृष्टिकोण र उसले भोग्ने भोगाई र संवेदनालाई उसैको भाषामा प्रस्तुत गरिएको छ । कुकुरको आँखाबाट समाज नियाल्न र कुकुरको जीवनमा मान्छेको भूमिका कति छ भनेर बुझ्नका लागि उपन्यास निकै उपयोगी हुने लामिछानेको भनाइ छ ।

उपन्यासबारे बोल्दै कवि प्रतीकले ‘फुर्के’ एउटा कुकुरमार्फत भनिएको समकालीन मानिस, वर्ग र समाजको कथा भएको सुनाए । ‘हरेक मानिसको कथा हुन्छ र प्राणीको पनि कहानी हुन्छ’, उनले भने,‘फुर्केले हामीलाई जनावरप्रति संवेदनशील हुन सिकाउँछ ।’ हरेक प्राणी मायाको भोको भएको सुनाउँदै उनले फुर्केको आँखाबाट यो समाजलाई हेर्न आग्रह गरे ।

कप्तान खड्काले आफू कुकुरप्रेमी भएको सुनाउँदै कुकुरबाट पाउने स्नेह, ममता मान्छेबाट नपाउने ठहर गरे । उनले भने, ‘कुकुरप्रति हाम्रो समाज अवेरनेस छ जस्तो मलाई लाग्दैन । कुकुर भनेको कुकुर मात्र होइन । कुकुरप्रतिको अट्याचमेन्ट, यसबाट पाउने स्नेह, ममता अरुबाट पाउन सकिँदैन ।’ कुकुरबाट मानिसले करुणा, मित्रताको भाव सिक्न सक्ने गायक रिजालले बताए ।

एउटा प्राणीको मनोविज्ञान अर्काे प्राणीले लेखिनु करुणाको उत्थानका रुपमा लिँदै उनले साहित्य, संगीतमा प्राणी जगतको विषय आउनालाई संसारमा करुणाको भाव पैदा हुने जनाए ।

प्रकाशित : आश्विन १, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

डल्लु आवासमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिका १५ डल्लु आवास क्षेत्रले बहुउद्देश्यीय कभर्डहल पाउने भएको छ । जहाँ राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता नै गर्न सकिनेछ ।

शनिबार मात्रै शिलान्यास भएको यस हलको नाम छ, अर्थक्वेक मेमोरियल मल्टिप्रपोज कभर्डहल । यसमा ब्याडमिन्टन, बास्केटबल, भलिबल र मार्सल आर्टसका सबै विधालगायत अधिकाश इन्डोर खेल सञ्चालन गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सहयोग तथा सोलिडारिटी कार्यक्रमअन्तर्गत कभर्डहल निर्माण हुन लागेको हो । आईसीसीले ०७२ सालमा आएको विनाशकारी भूकम्पपछि त्यसकै सम्झनामा कभर्डहल बनाइदिने प्रस्ताव स्वीकृत गरेको थियो । कभर्डहल निर्माणका लागि डल्लु आवास सामुदायिक उपभोक्ता समितिले कुल ६ रोपनी ५ आना र २ पैसा जग्गा उपलब्ध गराएको छ ।

त्यसमा कभर्डहलसहित पार्किङ र खुला स्थान रहनेछ । करिब एक हजार दर्शक क्षमताको यस कभर्डहलमा कार्यालयसहित पत्रकार सम्मेलनका लागि आवश्यक कोठा पनि बन्ने छ । भूकम्पलगत्तै आईओसीले कभर्डहल बनाइदिने भएको भए पनि टेन्डर प्रक्रियाका कारण लामो समय लागेको एनओसीले जनाएको छ । ठेक्काको टेन्डरका लागि विभिन्न विधि अपनाइसकेपछि अन्त्यमा ई–बिडिङबाट निर्माण कम्पनी चयन गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले शनिबार कभर्डहलको शिलान्यास गरे । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार कभर्डहलको निर्माण ९ महिनामा सकिनेछ । त्यसपछि व्यवस्थित सञ्चालनका लागि व्यावसायिक प्रयोग पनि हुनेछ । यसअघि महासचिव श्रेष्ठले हल निर्माणका लागि साङदोर्जे निर्माण सेवासँग ठेक्का सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

प्रकाशित : आश्विन १, २०७९ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×