कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शताब्दीअघिको नेपाल चिनाउने तस्बिर

१२० देखि १२५ वर्षअघि काठमाडौं उपत्यका कस्तो थियो होला ?
सुशीला तामा‌ङ

काठमाडौँ — १२० देखि १२५ वर्षअघि काठमाडौं उपत्यका कस्तो थियो होला ? तत्कालीन शासक र जनताबीचको लवाइखवाइमा कस्ता भिन्नता थिए ? झन्डै एक सय वर्षअघि काठमाडौं उपत्यकाको मुहार, उपत्यकाबाट देखिने स्वयम्भू, बौद्धनाथको दृश्य कस्ता होलान् ? शताब्दीअघिका नेपाल चिनाउने गरी संग्रह गरिएका ऐतिहासिक तस्बिरहरुलाई किरणमान चित्रकारले अहिले पुस्तकका रूपमा ल्याएका छन् । 

शताब्दीअघिको नेपाल चिनाउने तस्बिर

किरणमानले दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा अघिल्लो बिहीबार ‘नेपाल रिमेम्बर्ड हिस्टोरिकल इमेजेज फ्रम दीर्घमान चित्रकार एन्ड गणेशमान चित्रकार’ शीर्षकको पुस्तक सार्वजनिक गरे । पुस्तकमा किरणमानको संग्रहमा रहेका उनका हजुरबुबा दीर्घमान र बुबा गणेशमान चित्रकारका शताब्दीभन्दा बढी इतिहास बोकेको २ सय वटा तस्बिर र तिनका बारेमा विवरणहरु उल्लेख गरिएका छन् ।

पुस्तकमा किरणमान र उनका परिवारका केही ऐतिहासिक तस्बिरसमेत संगृहीत छन् । विवरण भने किरणमानकी छोरी क्रिस्टिना चित्रकारले लेखेकी हुन् । उनलाई लेखनमा वस्टन र डेभिड एनले साथ दिएका छन् । पुस्तकमै संग्रह गरिएका साढे दुई दर्जनभन्दा बढी तस्बिरसमेत गरिएको थियो ।

सन् १९५५ मा गणेशमान चित्रकारले खिचेको काठमाडौंको एरियल भ्यू ।

आफ्नो परिवारको संग्रहमा रहेका पुराना तस्बिर तथा कलाकृतिलाई बाहिर ल्याउने जमर्काेस्वरूप पुस्तक तथा फोटो प्रदर्शनी गरिएको किरणमानले बताए । ‘मसँग मेरो बाजे दीर्घमान चित्रकार र बुवा गणेशमान चित्रकारले खिच्नुभएको हजारौं फोटाहरू छन्’, उनले भने,‘राख्ने ठाउँ नभएर कति फोटोहरु बिग्रिएर गइरहेका छन् । यसलाई पब्लिकमा ल्याउन सके केही म्यासेज जान्छ भन्ने लागेको छ ।’ उनका अनुसार उनका बाजेले चलाएका क्यामेरा, सिसाका नेगेटिभ जोगाउनै उनलाई हम्मेहम्मे छ । छोरा स्वराज र छोरी क्रिस्टिनाको प्रयासले पूर्खाका कलाकृति अहिले पुस्तकका रूपमा संग्रह हुन सकेको उनले सुनाए ।

किरणमानका हजुरबुवा दीर्घमान चित्रकार एवं फोटोग्राफरसमेत हुन् । चित्रकार समुदायको कलाकारिता पेसालाई दीर्घमानले पनि निरन्तरता दिएका दिए । राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग सन् १९०८ मा बेलायत भ्रमण गएका दीर्घमानले युरोपेली कलालाई समेत नेपाल भित्र्याए । तीनताक दीर्घमानले दरबार र तत्कालीन नेपालको परिवेशलाई कैयौं तस्बिरमा कैद गरे ।

जंगबहादुर र उनकी श्रीमती हिरण्यगर्भकुमारीको सन् १८६०-८० तिर खिचिएको तस्बिर ।

काठमाडौं उपत्यकासँगै नेपालको मुक्तिनाथसम्म पैदलै हिँडेका उनले यात्रामा देखिएका दृश्यलाई तस्बिरमा उतारेका थिए । शताब्दीभन्दा बढी समयको इतिहास बोकेका ती समग्र कलाकृति उनको देहान्तपछि संरक्षणको जिम्मा उनका छोरा गणेशमानमा आयो । गणेशमानले पनि आफ्नो पूर्खाको पेसालाई निरन्तरता दिँदै कलाकृतिलाई पनि संरक्षण गर्दै गए ।

सन् १९१० को दशकमा दीर्घमान चित्रकारले खिचेको चन्द्र शमशेर उनकी श्रीमती बालकुमारी देवीको तस्बिर ।

वि.सं. २०४२ मा बुवा गणेशमानको निधन भएपछि हजुरबुबा र बुबाको कलाकृति सम्हाल्दै किरणमानले पनि पुर्खाकै पेसा फोटोग्राफीलाई नै निरन्तरता दिइरहेका छन् । फोटोग्राफीमा किरणमानको झन्डै चार दशकको अनुभव छ । हजुरबुबा र बुबा मात्र होइन किरणमानले आफ्ना पुस्तैनी कलाकृतिलाई संरक्षण गर्दै आएका छन् । उनको संग्रहमा दीर्घमानदेखि उनका पनि बुबा मोहनलालका सिर्जना गरेका कैयौं मुहार चित्र छन् । ती कलाकृतिलाई किरणमानले भीमसेनथानस्थित घरैमा ‘दीर्घमान र गणेशमान चित्रकार आर्ट फाउन्डेसन’ ग्यालरी स्थापना गरेर संरक्षण गर्ने पहल गरे । कोरोना महामारीका कारण ग्यालरीले निरन्तरता पाउन सकेन ।

अहिले किरणमानले आफ्ना र पुर्खाका कलाकृति भीमसेनथान र शंखमूलस्थित घरैमा थन्काइराख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने,‘आउने पुस्ताका लागि स्थायी संग्रहालयमा नै सबै हाम्रा कलेक्सन रहोस् भन्ने हामी चाहन्छौं । हामी यसैमा लागेको धेरै वर्ष भयो । अझै एउटा संग्रहालय बनाउन सकेका छैनौं ।’ उनको घरमा रहेका ५ हजारभन्दा बढी तस्बिरमध्ये छनौट गरेर पुस्तकमा संग्रह गरिएका छन् ।

सन् १९५५ मा गणेशमान चित्रकारले खिचेको स्वयम्भूनाथको दृश्य ।

आफ्ना पुर्खाका अमूल्य कलाकृति संरक्षण गर्न अब आफ्नो ल्याकतभन्दा बाहिर रहेको उनले दु:खेसो पोखे । ‘फोटोहरू, सिसाका नेगेटिभ र पुराना क्यामेरा अब कहाँ राख्ने भन्ने चिन्ता मलाई मात्र होइन छोराछोरीहरुलाई समेत भइसक्यो । त्यसै फुटेर, च्यातिएर गइरहेको देख्दा ज्यादै छटपटी हुन्छ । अबचाहिँ यो जिम्मेवारी छोराछोरीलाई नै दिएको छु,’ उनले सुनाए ।

पुस्तकमा संग्रह गरिएका केही तस्बिर प्रथम विश्व युद्धभन्दा अघिका छन् । १९औं शताब्दीको सुरुवातमै दीर्घमानले खिचेको आम मानिस र हनुमान दरबार क्षेत्रको उत्सवको दृश्य समेटिएको तस्बिर पुस्तकमा देख्न सकिन्छ । त्यस्तै जंगबहादुर राणा र उनकी बडामहारानी हिरण्यगर्भ कुमारीको तस्बिर सन् १८६०–८० तिर लिइएको छ । जुन तस्बिरको फोटोग्राफरको नाम उल्लेख नभए पनि दीर्घमानको संग्रहमा रहेका थिए ।

सन् १९७० को गणेशमान चित्रकारले दशकमा मतया जात्रामा सहभागी महिलाहरूको तस्बिर ।

गणेशमानले सन् १९५५–७० तिर कैद गरिएका काठमाडौं उपत्यका, वसन्तपुर काष्ठमण्डप क्षेत्र, काठमाडौं उपत्यकाको पर्व र महिलाको त्यतिबेलाको पहिरन झल्कने तस्बिर पुस्तकमा संगृ गरिएका छन् । पुस्तकमा संगृहीत भएका यस्ता तस्बिर पछिल्लो पुस्ताका लागि इतिहास जान्ने महत्त्वपूर्ण आधार हुने स्वराज र क्रिस्टिनाको भनाइ छ ।

बाल्यकालदेखि हेर्दै आएको कलाकृति आफ्नै आँखा अगाडि नासिँदै गएको देखेर संरक्षण गर्ने सानो प्रयास गरिएको दुवैले बताए । बुबा किरणमानको सहायतामा दुवैले झन्डै ६ वर्ष लगाएर पुस्तक बाहिर ल्याउन सफल भए । परिवारको मात्र बलबुताले हजारौं कलाकृति सम्हाल्न नसकिने चित्रकार परिवारको भनाइ छ ।

‘पुराना कुरालाई डिजिटाइज गरेर संरक्षण गर्न निकै गाह्रो छ । बुबाले गर्दै आउनुभएको कामलाई हेरेर संरक्षण गर्नुपर्छ भन्ने त हामीलाई लागेको छ । तर सजिलो छैन,’ क्रिस्टिनाले भनिन् । राज्यबाट नै ऐतिहासिक कलाकृतिहरुलाई संरक्षण गर्ने पहल गर्ला भन्ने आशामा चित्रकार परिवार छन् । किरणमान भन्छन्,‘कलाकृति जोगाउन हामीलाई ठाउँको आवश्यता छ । सरकारबाट नै एउटा स्थायी संग्रहालयको व्यवस्था भयो भने कलाकृतिको संरक्षण र राज्यलाई पनि केही आर्थिक आम्दानी हुने थियो ।’

प्रकाशित : भाद्र २४, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?