कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाको नाममा ग्यालरी

‘धेरैले आमाबुबा मरेपछि मात्र उहाँहरूको नाममा केही गर्ने गर्छन् । मेरो आमा हुँदै मैले उहाँको खुसीका लागि आफ्नै घरमा ग्यालरी बनाएँ ।’
सुशीला तामा‌ङ

काठमाडौँ — काठमाडौं मखन टोलस्थित कला र सांस्कृतिक सम्पदाको काखैमा खेलेर सुजन सिद्धि बज्राचार्यको बाल्यकाल बित्यो । आफ्नै वरपर मूर्त तथा अमूर्त कलालाई नजिकैबाट नियालेका उनले कला र सिर्जनाबारे बाल्यकालमा नै केही बुझेका थिए ।

आमाको नाममा ग्यालरी

केही स्केच र रेखामार्फत उनी सम्पदाहरुलाई कागजमा उतार्थे । तर उनी कला सिर्जनामा कलाकारकै रूपमा बाहिर आएका थिएनन् । यद्यपि काठमाडौं उपत्यकाको कला र पुराना अग्रजका ललितकलाहरूप्रति उनको मोह भने थियो । पुराना कलाकृतिलाई बाहिर ल्याएर त्यसको संरक्षण गरी नयाँ पुस्तासम्म ल्याउनुपर्छ भन्ने हेतुले बज्राचार्यले अहिले आफ्नै घरमा आमाको नाममा ग्यालरी स्थापना गरेका छन् ।

बिहीबार मखन ब:हीस्थित सिद्धिचोकमा आमा विशाखा शाक्यको नाममा ‘विशाखा ग्यालरी’ नाम दिइएको ग्यालरीलाई चित्रकार उदयचरण श्रेष्ठ र उनकै आमाले सामूहिक कला प्रदर्शनीसहित उद्घाटन गरे । ग्यालरी आफ्नी ६८ वर्षीय आमाका लागि विशेष उपहारका रूपमा रहेको उनले बताए । ‘धेरैले आमाबुबा मरेपछि मात्र उहाँहरूको नाममा केही गर्ने गर्छन्’, उनले भने,‘मेरो आमा हुँदै मैले उहाँको खुसीका लागि आफ्नै घरमा ग्यालरी बनाएँ ।’ ग्यालरीसँगै आमाको नाम र कला सिर्जना चीरकालसम्म रहोस् भन्ने उनी चाहन्छन् ।

प्रदर्शनीमा बज्राचार्य परिवारको संग्रहमा रहेका दीवंगत चित्रकार मणिकमान चित्रकारका पुराना चित्रकलाहरूसहित एरिना ताम्राकार, आशा डंगोल, सपना पौडेल, विभुविक्रम पन्तलगायतका चित्रकारहरूका कलाकृति प्रदर्शनरत छन् । प्रदर्शनीमा परम्परगत ढुंगेधारा, भगवानका मूर्तिहरू झल्काउने बज्राचार्यले बनाएका चित्रसमेत अवलोकन गर्न सकिन्छ । साढे दुई दर्जनभन्दा बढी कलाकृतिहरूमा प्रकृति, धर्म, सम्पदा, संस्कृति तथा समाजलाई प्रतिबिम्बित गरिएका छन् ।

मणिकमान चित्रकारका कलाकृतिहरू नै प्रदर्शनीमा विशेष रहेको बज्राचार्यले सुनाए । प्रदर्शनीमा चित्रकारका चार वटा कलाकृति समावेश गरिएका छन् । जुन चित्रहरूमा तीनताकको समकालीन समाजको झलक देखिन्छ । २०२३ सालमा बनेको एक चित्रमा मानिसको गर्भावस्था, जन्मदेखि मृत्यु प्रक्रियासम्म देख्न सकिन्छ । बाल्यकालदेखि वृद्धावस्थासम्मको शारीरिक तथा विभिन्न मानसिक अवस्था चित्रण गरिएका छन् । यसमा चित्र निर्माताको नाम योगसिद्धि : मखंबहि भनी लेखिएको छ भने कलाकारको नाम मणिकमान उल्लेख गरिएको छ । त्यतिबेला मानिसले जीवन, मरण र समाज चित्रमार्फत नै बुझ्न आफ्नो बुबाको हजुरबुबाले चित्रकार मणिकमानलाई कलाकृति तयार गर्न लगाएको हुन सक्ने बज्राचार्यको ठम्याइ छ ।

धर्म, प्रकृति, मानव र जीवजन्तुहरुसहितको मणिकमानकै अर्को चित्रले पृथ्वीमा एक–अर्काप्रति निर्भरताको संकेत गर्दछ । यिनै कलाकृतिहरुले आफू ग्यालरी स्थापनासम्मको सोचमा पुगेको बज्राचार्यले सुनाए । उनले भने,‘मेरो हजुरबुबाको कलेक्सनमा रहेका चित्रहरु मैले सानैदेखि हेर्दै आए । पछि यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने कुरा दिमागमा आयो र ग्यालरी खोलेर प्रदर्शनीमा राख्छु भन्ने आँट गरेर यहाँसम्म ल्याइयो ।’

तिनै पुराना चित्रले कलाप्रति बेग्लै लगाव बढेको उनको भनाइ छ । काठमाडौं उपत्यकामा नै पुराना कलाकारका कलाकृतिहरु भित्रभित्रै थन्किएर बसको हुन सक्ने सुनाउँदै उनले बाहिर ल्याउने वातावरण र प्रेरणा मिलोस् भन्ने उद्देश्यले ग्यालरी खोलेको बताए । आफ्नो घरको दुई तला उनले ग्यालरीका लागि छुट्याएका छन् । ग्यालरी कला र कलाकारका लागि ‘कला हब’ बनोस् भन्ने बज्राचार्य चाहन्छन् । ‘चित्रकला प्रदर्शनी त भइ नै हाल्छ । कला र कलाकारहरुबारे एक–अर्कामा जमघट र ज्ञान आदानप्रदान भएर सिक्ने थलो बनोस् भन्ने मैले सोचेको छु’, उनले भने ।

कलाकारिताभन्दा पनि बैंकिङ क्षेत्रमा कार्यरत पन्तले आफ्नो चित्र देखाउँदै कलाले एकजना सिर्जना गर्ने व्यक्ति मात्र नभएर सबैलाई प्रभाव पार्ने भएकाले कला प्रदर्शनी गर्ने माहोल अझै बढ्नुपर्ने सुनाए । बज्राचार्य आफैं पनि सिर्जनाभन्दा पनि आइटी क्षेत्रमा बढी संलग्न छन् । विविध क्षेत्रसँगै सिर्जना फाँटका अग्रज, त्यसभन्दा पछिका र अहिलेका पुस्ता ग्यालरीको पहुँचमा पुगोस् भन्ने बज्राचार्यको लक्ष्य छ ।

नेपालमा राज्यबाट भन्दा पनि व्यक्तिगत रुपमा खोलिएका संस्थागत पहलबाट नै कला आज यहाँसम्म पुगेको चित्रकारहरु द्वय डंगोल र ताम्राकारको मत छ । व्यक्तिगत रुपमा ग्यालरी खोल्न जो कसैले आँट गर्न नसकिने ताम्राकारले बताइन् । उनका अनुसार नेपालमा ग्यालरी खोलेर पछिसम्म दिगो हुन अझै कठिन छ । उनले भनिन्,‘हामीले लामो समयदेखि ग्यालरी खोल्छौं भन्ने कुरा मनमा आएपनि आँट गर्न सकेका छैनौं । एक जना व्यक्ति लागि ग्यालरी चलाउन साह्रै गाह्रो छ । उहाँको प्रयासलाई हामीले साथ दिएका हौं ।’

कलाकार सर्कलमा त्यतिसारो नभिजे पनि बज्राचार्य स्वयंले कलाको विस्तार र विकासका लागि आफ्नै घरमा कला ग्यालरी खोलेर निरन्तरता दिन्छु भनी साहस गरेर निकै सह्रानीय कार्यको थालनी गरेको उनले सुनाइन् । प्रदर्शनी शनिबारसम्म रहने निश्चित गरिए पनि दर्शकको प्रतिक्रियाअनुसार केही दिन समय थप गर्न सकिने बज्राचार्यको भनाई छ ।

प्रकाशित : भाद्र १०, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?