कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कला नै सहारा

जन्मँदै शारीरिक रुपमा अशक्त अमिर बोम्जन मुखैले चित्र कोर्छन्

काठमाडौँ — ‘भाइ, बहिनी खेलेको देख्दा म आफैं पनि त्यहाँ खेलिरहेको अनुभूति हुन्थ्यो । मेरो मन, मस्तिष्क त्यहाँ पुगेको जस्तो लाग्थ्यो । दिनभरिको प्यास मेटाउन आफ्नै थुक निलेर प्यास मेटाएको मान्छे हुँ म ।’

कला नै सहारा

करुणा फाउन्डेसनले शुक्रबार राजधानीमा शारीरिक तथा मानसिक रूपमा अशक्त भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा रहेर तयार गरिएको वृत्तचित्र सार्वजनिक कार्यक्रममा २२ वर्षीय अमिर बोम्जनले आफ्नो जीवन, संघर्ष र सफलताका कथा सुनाए ।वृत्तचित्रमा उनै बोम्जन र उनकी श्रीमती पुष्पालाई देख्न सकिन्छ । वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनका चित्रकला प्रदर्शन गरिएको थियो ।

मकवानपुर थाहा नगरपालिकास्थित खानी गाउँका बोम्जन जन्मजात शारीरिक रूपमा अशक्त छन् । हातखुट्टा नचल्ने उनी चित्रकार तथा गायक पनि हुन् । उनी मुखैले चित्र कोर्छन् र कुची च्यापेर क्यानभासमा रङ भर्छन् । ‘कला मनोरञ्जन मात्र होइन, मान्छेको मनसँग जोडिने रहेछ,’ उनले भने, ‘कलाकारिता नै मेरा लागि सबैथोक भएको छ । यसैमा सुख, दुःख सबै पोख्छु ।’ आफूले बनाएका चित्रको मूल्य उनले १० हजारदेखि १ लाख रुपैयाँसम्म राखेका छन् ।

२०७२ को भूकम्पछि भने उनको जीवनमा खुसी भित्रियो । शारीरिक तथा मानसिक रूपमा अशक्त भएका व्यक्तिहरूको क्षेत्रमा काम गरिरहेको करुणा फाउन्डेसन र बोम्जनबीच सम्पर्क भयो । फाउन्डेसनले उनलाई काठमाडौं ल्याएर चित्र तथा संगीत प्रशिक्षणको वातावरण बनाइदियो । उनले चित्रकार किरण मानन्धर र संगीत सर्जक न्हु बज्राचार्यसँग चित्र र संगीतबारे केही ज्ञान लिने मौका पाए । फाउन्डेसनकै सहयोगमा उनी चित्रकला प्रदर्शनीका लागि ताइवानसम्म पुगिसकेका छन् ।

मान्छेले सुखमा मात्तिने र दुःखमा आत्तिने स्वभाव राख्नु हुँदैन भन्ने बोम्जनले बुझेका छन् । भन्छन्, ‘रोएर, टाउको फुटाएर सबै कुरा हुने होइन । आफूलाई विश्वास गरी अगाडि बढ्न सकेमा सोचेको जस्तै हुने रहेछ ।’ अहिले बोम्जन गायक तथा व्यावसायिक चित्रकारका रूपमा चिनिएका छन् । उनका ८ महिनाकी छोरीसहितको सुखी परिवार छ । श्रीमतीले उनको हेरचाह गर्छिन् ।

शारीरिक रूपमा अशक्त र फरक क्षमता भएका व्यक्तिहरूमाथि परिवार, समाज र राज्यले हेर्ने दृष्टिकोण नै परिवर्तन हुनुपर्ने फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाको धारणा छ । शारीरिक तथा मानसिक रूपमा अशक्त भएकाको जीवन सहज बनाई उनीहरूलाई आत्मनिर्भर बनाउन राज्यको नीति राम्रो हुनुपर्ने उनले बताए ।

प्रकाशित : असार १७, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?