कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगमञ्चमा इलामेली लाप्चा

‘हामीले त नाटक भनेको सडकमा गर्ने भन्ने मात्र बुझेका थियौं, यता आएर हलभित्र साँच्चिकै घरजस्तै बनाएर मञ्चन गर्नुपर्ने रहेछ’
सुशीला तामा‌ङ

काठमाडौँ — ‘अहिले इलामको सिजनचाहिँ चिया टिप्ने हो । आफ्नो काम सबै थाती राखेर हामी नाटक देखाउन आएका छौं । काठमाडौंको स्टेजमा फर्स्ट ताल देखा परेको, खोइ कस्तो भयो । हामीलाई त केही पनि थाहा छैन ।’ काठमाडौं थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा ३८ वर्षीया सोङकित लाप्चाले एकै सासमा यी सबै कुरा भन्दै गर्दा हलमा उनको समूहलाई दर्शकले तालीले स्वागत गरे । उनले सुरुमै बुझाइन्, ‘हामी लेप्चा होइन, लाप्चा हौं ।’

रंगमञ्चमा इलामेली लाप्चा

नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र गुरुकुलले आइतबारदेखि सुरु गरेको बहुभाषिक नाट्य उत्सवमा सोङकितकै निर्देशनमा लाप्चा उत्थान मञ्चले लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरेको थियो । नाटककै माध्यममा राज्यले लोपोन्मुख जातिभित्र राखेको आफ्नो समुदायको कथा, भाषा, संस्कृति, परिवेश, इतिहास तथा सभ्यतालाई इलामदेखि राजधानीसम्म पहिलोपल्ट ल्याइपुर्‍याउन भोगेको कष्ट र उनको समूहलाई काठमाडौंसम्मको बाटो देखाउने सूर्योदय नगरपालिका, गणेश रसिक फाउन्डेसन, भुवनराज ढुंगाना, गायत्री वली घिमिरेलगायतलाई उनले पटकपटक सम्झिरहिन् ।

आफ्नो जातिको यथार्थ पक्षलाई नाटककै रूपमा रंगमञ्चमा ल्याउन पाएकोमा सोङकितलाई जीवनमा एउटा युद्ध नै जितेजस्तो भएको छ । अहिले उनले घरतिर टिप्न ठिक्क परेको चिया बगानलाई भुलेकी छन् । ‘हामीले त नाटक भनेको सडकमा गर्ने भन्ने मात्र बुझेका थियौं,’ उनले भनिन्, ‘यता आएर हलभित्र साँच्चिकै घरजस्तै बनाएर मञ्चन गर्नुपर्ने रहेछ । हामीलाई यताको नाटकबारे केही नै थाहा नै रहेनछ ।’

प्रतिष्ठानले सबै भाषाभाषीको नाटक मञ्चन गर्ने भन्ने खबर इलामसम्म पुगेपछि सोङकितको समूहले जम्माजम्मी ९ दिनमा नाटक तयार गरे । दुई वर्ष अगाडि रंगमञ्चसम्बन्धी १२ दिन जति प्रशिक्षण लिएका उनको समूह त्यही आधारमा नै काठमाडौंमा नाटक ल्याउन तयार भएका थिए । राजा श्रेष्ठले समूहलाई थप प्रशिक्षण दिएर अझ बलियो बनाए । सोङकितका अनुसार समूहले लाप्चा समुदाय र इतिहासमा जोडिएको पौराणिक कथालाई नै नाट्य रूपान्तरण गरे । उनीहरूले कथामा आधारित रहेर नै पात्रअनुसारको संवाद मौखिक रूपमा तयार गरे । थोरै समय भएकाले संवाद लेखन र अभ्यासका लागि तयारी पुगेन । जसरी पनि काठमाडौंमा लाप्चा जातिलाई पुर्‍याउने हुटहुटीले गर्दा उनीहरूले नाटक मञ्चन गरेरै छोडे । नाटकका लागि स्क्रिप्ट लेखन र अभ्यास नभएकाले जातिको कथा र संस्कृतिलाई देखाउन असाध्यै कठिन भएको राजाले सुनाए । उनले भने, ‘मैले उहाँहरूलाई नाटकका सामान्य कुरा मात्र सिकाएको थिएँ । नाटकमा प्रयोग हुने लाइट, टुल्सहरू र यसभित्रका अन्य कुराहरू सिक्नै बाँकी छन् । काठमाडौंमा आफ्नो जातिका बारे नाटक देखाउने उहाँहरूको उत्साहले सफल रूपमा मञ्चन भयो ।’

लाप्चाहरूलाई लोपोन्मुख जाति भनेर राज्यले भत्ता र केही सुविधा दिएर दया देखाउनुभन्दा प्रत्येक क्षेत्रमा अब समान अवसर दिनुपर्ने सोङकितको धारणा छ । उनले भनिन्, ‘हामीलाई कहाँ के भइरहेको छ थाहा नै हुन्न । अहिले लाप्चाहरूमा केही गर्नुपर्छ भन्ने जागरण आएको छ । समान अवसरमा दिएमा हामीले पनि आफ्नो कुरा भन्न सक्ने भएका छौं ।’ २०५८ मा स्थापित रोङ सेजुम ठीं (लाप्चा उत्थान मञ्च) मार्फत जातिको धर्म, संस्कृति, भाषा, वेषभूषा, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका गुम्बा आदि संरक्षण, अध्ययन र अनुसन्धान हुँदै आएको उनले सुनाइन् ।

नाटक ‘स्वर्ग जाने बाटो’ को कथामा भएजस्तै लाप्चाहरू माथि उठ्न नसकेको सोङकितले दुःखेसो गरिन् । कथाअनुसार एक जना आफू घरमूलीले स्वर्ग गएको सपना देख्छ । त्यसपछि गाउँलेहरू बैठक बसी सबै स्वर्गतिर जाने योजना बनाउँछन् । गाउँलेहरू आफ्नो रीतिरिवाजअनुसार प्रकृति, कूल देवताको पूजापाठ गरी माटोको घैलाद्वारा तलैतला बनाएर स्वर्ग जाने बाटो बनाउँछन् । सबैभन्दा माथि पुगेकोले स्वर्ग पुग्नै लाग्यो भनेर अंकुशे माग्दा सबैभन्दा तल बस्नेले ढालिदेऊ भनेको सुन्छ । आवाज नै विपरीत सुनेपछि स्वर्ग जाने बाटो भत्किन्छ र स्वर्ग जाने सपना अपूरो हुन्छ । त्यसैमा थुप्रै लाप्चाहरू मासिन्छन् र अंगभंग हुन्छन् । माटोको घैला यत्रतत्र छरिएको स्वरूपलाई लाप्चाहरू आफ्नो घट्दो जनसंख्याको रूपमा लिन्छन् । लोपोन्मुख भए पनि समाज र राज्यले संरक्षणका लागि गरेको बेवास्तालाई नाटकको कथासँगै प्रस्तुत गरिएको सोङकितको भनाइ छ । लाप्चाहरूले हरेक वर्ष पुस महिनाको औंसीदेखि सात दिनसम्म निकै हर्षोल्लासका साथ मनाउने पर्व, लाप्चाहरूको जीवनपद्धति, सांस्कृतिक पक्षलाई नाटकमा दुरुस्तै उतारिएको थियो ।

लाप्चाहरूले आफ्नो समुदायलाई चिनाउन निकै ढिलो भइसकेको सुनाउँदै नाट्य समूहका ५२ वर्षीय ज्ञानबहादुर लाप्चा अहिलेको प्रयासलाई सुरुवाती नै भएपनि निकै उपलब्धिपूर्ण रहेको मान्छन् । नाटक हेरेपछि प्राध्यापक अभि सुवेदीले सोङकितको समूहबाट अरुले पनि केही सिक्नुपर्ने भन्दै उनीहरूको प्रयासलाई प्रशंसा गरे ।

प्रकाशित : असार १७, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?