गुरुकुलमा ‘सेमुना’ मञ्चन- कला - कान्तिपुर समाचार

गुरुकुलमा ‘सेमुना’ मञ्चन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा शनिबारदेखि नाटक ‘सेमुना’ मञ्चन गरिएको छ । असार ११ गतेसम्म मञ्चन हुने नाटकमा पूर्वी नेपालमा फैलिएर रहेका किँरात समुदायको संस्कार, संस्कृति, जीवनपद्धतिको पृष्ठभूमिसहित साकेला/साकेन्वालाई करिब तीन दशक पुरानो प्रेमकथासँग जोडेर प्रस्तुत गरिएको छ । 

कथाकार दिलीप बान्तवाको कथामा आधारित रहेको नाटकको निर्देशन रंगकर्मी नीता राईले गरेकी छन् ।

बान्तवाका अनुसार सेमुना विशेष गरी माझकिँरात, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ् क्षेत्रतिर नै नाचिने साकेन्वार/साकेलानाचको नाम हो ।

उनले भने, ‘हरेक उभौली र उद्यौलीमा पितृ तथा प्रकृतिको पुजा गर्दै नाचिने साकेलार/साकेन्वा किँरातीहरूको जीवनदर्शन हो ।’

तत्कालीन समयमा सप्तकोशी (अरुण)नदीको किनारमाथी अजंगको भिर, त्यही भिरमा असंख्य मान्छेहरूले जोखिमपूर्ण यात्रा, साहुको भारीसँगै अरुण नदीमा खसाएका यात्रीहरूको जिन्दगीको कथा नै सेमुनाको सार रहेको उनले सुनाए । कथाको यही सारलाई नाटकमा रुपान्तरण गरिएको निर्देशक राईले बताइन् ।

प्रकाशित : जेष्ठ ३०, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

धमाधम योजना संकलन गर्दै पालिका

टोलटोलबाट आएका योजनालाई एकीकृत गरेर बजेट बनाउने चटारो
नवीन पौडेल

परासी — स्थानीय तहलाई अहिले बजेट निर्माणका लागि भ्याईनभ्याई छ । टोलटोलबाट आएका योजनालाई एकीकृत गरेर वडाले केन्द्रमा पठाएका योजनाको छनोट भइरहेको छ । केही स्थानीय तहले बजेटलाई अन्तिम रूप दिन लागिरहेका छन् भने केहीमा अझै पनि टोल विकास संस्थाहरूमा छलफल भइरहेको छ ।

रामग्राम नगरपालिकाका वडा–वडामा टोल विकास संस्थाका अध्यक्ष र पदाधिकारीले टोलटोलबाट बजेटको प्राथमिकताबारे छलफल गरेर योजना तयार गर्दै छन् । पहुँचको भरमा बजेट विनियोजन गर्न नहुने र आवश्यकताअनुसार विकास निर्माणका गतिविधिलाई स्थानीयस्तरसम्म पुर्‍याउनुपर्ने विषयमा स्थानीयको जोड छ । नगर प्रमुख धनपत यादवले नगरको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताए । ‘अहिले पनि सडक कालोपत्र, ढल निकासका योजना बढी आएका छन्,’ उनले भने, ‘भौतिक निर्माणसँगै सामाजिक, आर्थिक विकास र सुशासनका लागि पनि हामीले ध्यान दिन आवश्यक छ । सोहीअनुसार काम हुँदै छ ।’ चालु आर्थिक वर्षको बजेटमा रामग्राम नगरपालिकाले नयाँ उद्योगलाई दर्ता शुल्क मिनाहाजस्ता कार्यक्रम ल्याएको थियो ।

सुनवल नगरपालिका पनि बजेटको तयारीमा जुटेको छ । बजेटको आकार यसअघिको भन्दा बढाउने वा सोहीअनुसारको सिलिङमा काम गर्ने भन्नेबारे छलफल भइरहेको छ । राजस्व परामर्श समिति र कार्यपालिकाबाट बजेटको आकारबारे छलफल गरेर बजेटलाई अन्तिम रूप दिने नगर प्रमुख विमला अर्यालले बताइन् । ‘यसअघिका लोकप्रिय कार्यक्रम र बहुवर्षीय विकास योजनालाई निरन्तरता दिएर जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बजेट ल्याउने तयारी गरेका छौं,’ उनले भनिन्, ‘बजेटको आकार ठूलो भन्दा पनि कार्यान्वयन गर्न सकिने र नगरवासीले अनुभूति गर्ने कार्यक्रम ल्याउने छौं ।’ नगरपालिकाले यसअघिको बजेटमा सुत्केरीलाई ५ हजार भत्ता, मृत्यु संस्कारमा किरिया खर्चलगायतका लोकप्रिय कार्यक्रम ल्याएको थियो ।

सर्वसाधारणले भने नगर प्रमुख, उपप्रमुख र टाठाबाठाले बजेट आफूअनुकूल निर्माण गर्ने गरेको आरोप लगाउने गरेका छन् । वडामा विनियोजन हुने बजेट पनि पहुँचका आधारमा विनियोजन हुने गरेको उनीहरूको भनाइ छ । बर्दघाट नगरपालिका–४ का शिशिर लुर्इंटेलका अनुसार आफ्ना पार्टी र आसेपासेका योजना समावेश गरेर दिगो विकासलाई ध्यानमा नराखी बजेट निर्माण गर्दा समस्या बढ्दो छ ।

‘बजेट निर्माणको वैज्ञानिक पद्धति हुन्छ । केन्द्र, प्रदेश र स्थानीय तहको आर्थिक हैसियतअनुसार बजेट निर्माण गर्ने हो तर त्यस्तो भएको पाइँदैन,’ उनले भने, ‘बजेटलाई कनिका छरेजस्तो गरेर स–साना योजना बढी बनाउँदा समस्या छ । दिगो विकासभन्दा पनि कार्यकर्ता रिझाउन जनप्रतिनिधि तल्लीन छन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७९ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×