कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
नाटक ‘खत'

द्वन्द्वका घाउमाथि प्रश्न

सुशीला तामा‌ङ

काठमाडौँ — ‘मेरो कोख जहाँ अनगिन्ती परिवर्तनको आसमा समाहित भएका मेरा सन्तानहरू आज प्रश्न गर्दै छन् । एउटा विडम्बनाको कथा, मेरो कथा, तपाईंहरूको कथा ।’ पृष्ठभूमिमा बजेको मलिन र भावुक धुनसँगै मञ्चमा देखिन्छ दयाको परिवार । १० वर्षे सशस्त्र संघर्षको समयमा युद्धको मारमा परेकामध्ये प्रतिनिधित्व गर्ने एक हुन् दयाको परिवार । जसले सशस्त्र संघर्षलाई नजिकबाट नियाल्यो, मारलाई खेप्यो र आफैंलाई युद्धको महायज्ञमा समाहित गर्‍यो । एउटा सामान्य परिवार, जसले बेहोरेको पीडा, भोगाइ कस्ता थिए भन्ने बताउन नाटक ‘खत’ प्रस्तुत भएको छ ।

द्वन्द्वका घाउमाथि प्रश्न

मुलुकमा १० वर्षसम्म सशस्त्र संघर्ष चल्यो । धेरैको ज्यान गयो । धेरै जना घाइते, अंगभंग र बेपत्ता भए । परिवर्तनका लागि लडेकाहरूको मूल्यांकन के भयो भन्नेमा स्रष्टाहरूले प्रश्न उठाउने गरेका छन् । ‘खत’ ले पनि त्यसलाई देखाएको छ ।

सिनामंगलस्थित पुरानो घर थिएटरमा शुक्रबारदेखि मञ्चन सुरु भएको नाटकमा तत्कालीन द्वन्द्वको दुरुस्तै झल्को दिने जमर्को देखिन्छ । रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार नाटकमा परिवर्तनको आशामा लडेका मानिसहरूको कथा, व्यथा र सपनाहरू समेटिएका छन् ।

नाटकमा राज्य तथा विद्रोही पक्षका फौज छन् । एकअर्कामाथि जित खोज्छन् । दुवैतर्फ आआफ्नै प्रकारका दायित्व, बाध्यता र रुचि छन् । भर्खरै विवाह भएका, बाबुको मृत्युमा घर जान नपाएका पात्रका समस्या एकातिर छन् । अर्कोतिर दलनमा पिल्सिएकाहरूले मुक्तिका लागि उठाएको आवाज छ ।

अन्तरजातीय विवाह गरेकै कारण दया र उनकी श्रीमती परिवार, समाजभन्दा टाढा छन् । सत्ता परिवर्तनपछि उनी जस्ता जनताले न्यायपूर्ण बाँच्न पाउलान् भन्ने आशा राखेर दया दम्पतीले विद्रोहीका लडाकुलाई आश्रय र खानाको बन्दोबस्त गर्छन् । गर्भवती श्रीमतीको चिन्तासँगै दयाले दुवैतर्फका फौजको त्रासलाई झेलेका हुन्छन् । त्रासका कारण नवजात शिशुलाई बोकेर घरै छोडेर एक्ला–एक्लै हिँड्नुपर्ने बाध्यता बोकेका यी दम्पतीको अवस्थाले नाटकका दर्शकलाई भावुक बनाउँछ । युद्धको चपेटामा परेका दम्पतीले के पाउँछन् र के गुमाउँछन् भन्ने नाटकमा निकै गहन छ ।

कमरेड अडिग, विस्फोट, दीप, शिखा, प्रभालगायतका पात्रले सशस्त्र द्वन्द्वका लडाकुका हुलियाको ठ्याक्कै झल्को दिन्छ । रंगकर्मी भारती भन्छन्, ‘नाटकले अधुरो सपना बोकेको मानिस र समयलाई प्रतिबिम्बित गरेको छ ।’

प्रकाशित : चैत्र २८, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?