कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नाटक ‘पुतलीको घर’ मार्फत पुनरागमन हुँदै गुरुकुल

काठमाडौँ — नाटक ‘पुतलीको घर’मार्फत आरोहण गुरुकुलले औपचारिक पुनरागमन गर्न लागेको छ । गुरुकुल बन्द भएको एक दशकपछि थापागाउँस्थित कुञ्ज नाटकघरमा ‘पुतलीको घर’ मञ्चनसँगै गुरुकुल पुनः सञ्चालनमा आउन लागेको हो । 

नाटक ‘पुतलीको घर’ मार्फत पुनरागमन हुँदै गुरुकुल

यही पुस ३० गतेदेखि माघ २२ गतेसम्म हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’ नेपाली रुपान्तरण ‘पुतलीको घर’ नियमित मञ्चन हुने रंगकर्मी तथा गुरुकुलका संस्थापकमध्येकी एक निशा शर्माले बताइन् ।

नाटकको नेपाली अनुवाद तथा निर्देशन रंगकर्मी सुनील पोखरेलले गरेका हुन् । गुरुकुलले यो नाटक यसभन्दा अघि देश तथा विदेशमा गरी २१६ औं पटक मञ्चन गरिसकेको छ ।

नाटकघरका लागि स्थायी थिएटर बनाउने जग्गाको अभावमा बानेश्वर हाइटस्थित रहेको गुरुकुललाई सञ्चालन गरेको ९ वर्षपछि सन् २०११ मा बन्द गर्नुपरेको थियो ।

काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा प्रदान गर्ने सहमति भएपछि कुञ्जको एउटा हल एक वर्षका लागि गुरुकुलको नाममा सञ्चालन हुने सम्झौता भएको गुरुकुलका संस्थापक पोखरेलले बताए ।

पोखरेलका अनुसार औपचारिक पुनरागमनकै दिन कुञ्जमा चित्र, कविता र नाटक प्रस्तुत हुनेछन् । कुञ्जमै ‘ताराबाजी लै लै’, ‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ लगायत पाँचवटा नाटकहरू सम्भव भएसम्म पुरानै कलाकारको अभिनयमा गुरुकुलले मञ्चन गर्ने उनले बताए ।

‘पुतलीको घर’ नाटकमा शर्मा लगायत कमलमणी नेपाल, शेखर चापागाईं, अञ्जु देउजाको समेत अभिनय रहेको छ । नेपालको सट्टामा पोखरेलले समेत सुरुको केही दिन अभिनय गर्नेछन् ।

पुराना नाटकहरूलाई नयाँ पुस्ताले र अग्रजले पुनः हेरेर आजको दिनमा गुरुकुलको काम तथा योगदानलाई मूल्यांकन गरिदिऊन् भन्ने शर्मा र पोखरेलको आशा छ ।

प्रकाशित : पुस २७, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?