कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गीतसंगीत चोरीको बिगबिगी

प्रतिलिपि अधिकार ऐन हननका मामिला जाँच्ने गर्ने निकाय नहुँदा चोरीका मुद्दा बढे पनि स्रष्टाकै संस्था भएनन् गम्भीर 
उस्तै सुनिने गीतहरू बजारमा छ्याछ्याप्ती छन् । सुन्ने–हेर्नेले कुनको चोरी तथा नक्कल कसले गरेको हो भनेर खुट्याउन सजिलो छैन ।
सुशीला तामा‌ङ

काठमाडौँ — तेजश रेग्मीको ‘पिँडालु’ बोलको लोकगीत र प्रकाश सपुतको ‘लुरुरु हुरुरु’ गीत उस्तैउस्तै सुनिन्छन् । हालै सार्वजनिक मेलिना राई र किरण गजमेरको स्वरको ‘हे दैव’ बोलको गीतको सुरुको हरफ नै कर्ण दासको ‘भेटिएर छुट्नुभन्दा’ गीतबाट टिपिएको छ ।

गीतसंगीत चोरीको बिगबिगी

उस्तै सुनिने गीतहरू बजारमा छ्याछ्याप्ती छन् । सुन्ने–हेर्नेले कुनको चोरी तथा नक्कल कसले गरेको हो भनेर खुट्याउन सजिलो छैन ।

‘गीतसंगीत चोरीलाई ठूलो मुद्दा बनाइराख्नु त्यति जरुरी छैन, पुरानाले नयाँलाई माया गर्नुपर्छ, पुराना गीतसंगीतलाई अग्रजले आफूमा मात्र सीमित राख्ने होइन, नयाँ पुस्ताको सिर्जनामा आउनु राम्रै हो ।’ नेपाली गीतसंगीत फाँटमा चोरी खुलेआम चलिरहँदा पनि सजर्कहरूको प्रतिलिपि अधिकार सुरक्षित गर्न यिनै माथिकै भनाइहरू राख्दै सिर्जना तथा स्रष्टाको संरक्षण, सम्बर्द्धन गर्न स्थापित सम्बन्धित निकायहरूले मौन स्वीकृति प्रदान गरिरहेको देखिन्छ ।

सिर्जनाहरू चोरी भएको विषयमा केही सर्जकहरू सम्बन्धित निकायमा उजुरी त गर्छन् तर ती मुद्दालाई मौखिम रूपमै थामथुम गरेर त्यसै टुंग्याइन्छन् । कडा कारबाही नहुँदा गीतसंगीत क्षेत्रमा यो प्रवृत्ति स्वाभाविक भएको भान पर्न थालेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी गीतसंगीत चोरिएका विषयमा सर्जकका गुनासा दैनिकजसो प्रतिष्ठानमा आउनले गरेको बताउँछन् । प्रतिष्ठानले दुवै पक्षलाई राखेर मौखिक तथा लिखित सहमति गराएर सचेत गराउँदै आएको छ ।

प्रतिष्ठानमा हालसम्ममा लिखित रूपमै एक सयको हाराहारीमा उजुरीहरू भएको उनले बताए । ‘अधिकांश उजुरीहरू लिखितभन्दा पनि मौखिक रूपमै हुन्छन्,’ उनले भने, ‘हामीले दुई पक्षलाई राखेर सकेसम्म सिर्जनाहरू बुझ्ने, दुवै पक्षलाई समझदारीमा ल्याउने प्रयास गरिरहेका छौं ।’ मुद्दा मामिला तथा कानुनी लडाइँको हिसाबमा जान प्रतिष्ठानको अधिकारभित्र नपर्ने र मध्यस्थकर्ताको भूमिका मात्र निर्वाह गर्न सक्ने बिजीले सुनाए ।

नयाँदेखि स्थापित स्रष्टाहरूले नै पुरानाका गीतहरू बिनाअनुमति प्रयोग गरिरहेका छन् । कुनै गीतमा लय, शब्द तथा भाकाहरू मिलेका गीतहरू सार्वजनिक हुनु संगीत बजारमा अहिले सामान्य जस्तै बनेको छ । चोरी गर्नेहरूलाई ‘कभर सङ’ गतिलो बहाना बनेको छ । यसबाट पूरै संगीत क्षेत्र आक्रान्त छ । बिजीकै लोकभाकाको गीत ‘अब त आँटम भो’ को लय संगीतलाई अर्का गायक रोशन सिंहले हुबहु नक्कल गरेको आरोप लाग्यो । यसमा बिजीले मुद्दा मामिलाको झमेला गरेनन् । मौखिक रूपमै सचेत गराउने मात्र काम भयो ।

प्रतिष्ठानको नेतृत्व गर्ने पदमा बसेको व्यक्तिले विषयलाई यसरी हलुका लिन मिल्छ ? प्रश्नको उत्तरमा उनले भने ‘खासमा अहिलेका स्रष्टामा नैतिकता भन्ने कुरा नै भएन । आएका नयाँ भाइहरूको लगानी र उनीहरूको मुख हेरेर त्यतिकै छोडिदिएँ । बजारै चोरीको बाटोमा गयो । यो साह्रै दुःख लाग्दो पक्ष भयो ।’ गीतसंगीतका कति प्रतिशत मिलेकोलाई कति सजाय दिने भन्ने नाप्ने मापदण्ड नभएर विकृति बढ्दै गएको उनको भनाइ छ । जसरी कुनै फिल्म रिलिज हुनुभन्दा अगाडि चलचित्र विकास बोर्डअन्तर्गत सेन्सर बोर्डबाट पारित हुन्छ त्यसरी नै राज्यबाट निश्चित मापदण्ड गर्ने निकाय हुनुपर्ने उनको सुझाव छ ।

गीतसंगीत संरक्षणमा स्थापित संगीतकार तथा गीतकार संघले पनि हालसम्म मौखिक रूपमा नै सुनुवाइ तथा मिलापत्र गराउँदै आएका छन् । यी दुवै संघका अनुसार संस्थामा उल्लेख्य मात्रामा उजुरीहरू आएका छैनन् । आएका दुईचारवटा उजुरीहरू पनि मौखिक सहमतिमा मिलाएको गीतकार संघका अध्यक्ष शुभ मुकारुङले सुनाए । संगीतकार संघको भनाइ पनि खासै फरक छैन । संगीतसम्बन्धि परेका उजुरीहरूविरुद्ध लड्ने हक संघलाई नभएको अध्यक्ष पारस मुकारुङको भनाइ छ । स्रष्टाले आफ्नो सिर्जना दाबी गर्ने हो भने प्रतिलिपि प्रमाणित गर्न आफैं जुझारु हुनुपर्ने उनको अर्को सुझाव छ । संघहरूले चोरीका घटना र परेका उजुरीहरूको दुरुस्त अभिलेखसमेत राख्ने गरेका छैनन् ।

प्रतिलिपि अधिकार ऐन २०५९ तथा नियमावली २०६१ अनुसार प्रतिलिपि अधिकारको संरक्षण तथा सम्बर्द्धनसम्बन्धी आवश्यक कामकारबाही गर्न स्थापित संस्था नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयसँग समेत उजुरीको यकिन विवरण छैन । कार्यालय प्रमुख विष्णुकुमारी भट्टराई भन्छिन्, ‘उजुरीका निवेदनहरू थोरै आउँछन् । अधिकांश मौखिक रूपमा नै सहमति भएकाले हामीसँग ठ्याक्कै यति नै भनेर विवरण छैन ।’

संघ र सम्बन्धित निकाय गम्भीर नबनेपछि लोकबहादुर क्षेत्री, तीर्थकुमारी थापा, गोपाल योञ्जनका सन्तानहरू अभिभावकको सिर्जनाको प्रतिलिपि अधिकारी सुरक्षित गर्न आफैं लडिरहेका छन् । स्रष्टाका सन्तानभन्दा यसमा राज्यले संरक्षण गर्नुपर्ने लोकगायिका थापाका छोरा संगीतकार सुरजकुमार थापाको भनाइ छ ।

केही सर्जक प्रतिलिपि अधिकारका लागि लडेका छन् । झन्डै चार वर्षअघि निर्माता शम्भु प्रधानले फिल्म सम्झनाको गीत ‘उकालीमा पछिपछि’ गीत फिल्म ‘कृ’ मा अनुमतिबिना समावेश गरिएपछि जाहेरी दिए । लामो विवादपछि निर्माता सुवास गिरीले गल्ती स्विकार्दै क्षतिपूर्तिबापत ११ लाख रुपैयाँ दिए । फिल्मबाट गीत पनि हटाइयो ।

प्रकाश सपुत र शम्भु राईबीच पनि गीत चोरी विवाद निकै चर्कियो । राईले सपुतको ‘गलबन्दी’ गीत ‘देउसीभैलो’ गीतको लयसँग मिलेको दाबी गर्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गरेका थिए । पछि राईको नाम उक्त गीतमा राखेपछि विवाद साम्य भयो । बजारमा गीत तथा संगीत चोरीको प्रवृत्ति भने रोकिएन । अग्रज स्रष्टा तथा सम्बन्धित निकायले यसलाई समान्य विषय बनाएकाले विकृति मौलाएको गीतकार दिनेशराज पुरी बताउँछन् ।

सिर्जना चोरीका घटना बढे पनि त्यसविरुद्ध उजुरी कमै पर्ने गरेको छ । प्रहरी प्रशासनदेखि अदालतसम्म जाने यस्ता विषयका मुद्दा नगन्य मात्रामा रहेको प्रहरी प्रधान कार्यालय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । उजुरीहरू विरलै आउने भएकाले कार्यालयले संगीत, साहित्यलगायतका विधालाई एकै ठाउँमा तथ्यांक बनाएको छ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ मंसिरसम्ममा महानगरीय प्रहरी कार्यालय (उपत्यका) सहित देशभरि जम्मा १४ वटा प्रतिलिपि अधिकार उल्लंघनसम्बन्धी उजुरी आएका छन् ।

यो वर्ष मंसिरसम्ममा प्रदेश नम्बर २ बाट एउटा मात्र उजुरी आएको छ । काठमाडौं जिल्ला अदालतमा चार वर्षमा ६ वटा मात्रै प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा छन् । तीमध्ये दुई वटाको फैसला भएको देखिन्छ भने चारवटा विचाराधीन छन् । आफ्नो अधिकार सुरक्षित गर्न खोज्दा पनि कानुनी प्रक्रिया झन्झटिलो रहेको सिनेकर्मी प्रधानले बताए ।

प्रकाशित : पुस २१, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?