कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे

गोकुल थोकर

सोल, दक्षिण कोरिया — सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार 'केपप कन्सर्ट' भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ ।
 

विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे

राजधानी सोलदेखि २ सय ६० किलोमिटर दक्षिणको छल्लाबुक्दो सेमानगुममा अगष्ट १ मा कोरियाली राष्ट्रपति युन सुक यलले भव्य समारोहका विचमा कार्यक्रमको उद्घाटन गरे । अध्याधिक गर्मी हुने समयमा कार्यक्रम भएपछि गर्मीका कारण धेरै सहभागीहरु विरामी परे । क्याम्प गरिएको ठाउँमा बाढी आयो । शौचालय पर्याप्त नभएको र भएको पनि अध्याधिक फोहोर भएको भन्ने गुनासो आयो । लामखुट्टेले अध्यधिक टोक्नु, खानाको अभाव हुनु जस्ता अनेक समस्या देखिए । ज्याम्बोरीमा सहभागीका लागि ल्याएको अन्डाभित्र चल्ला भएको भिडियो सामाजिक सञ्जालमा छ्याप्प छ्याप्ती भए । सुत्नका लागि तयार पारिएका फोहोर कपडा पनि सहभागीहरुले सामाजिक सञ्जालमा राखे ।

विश्व भरिका युवा सहभागी भएको कार्यक्रममा सकारात्क चर्चा भन्दा धेरै नकारात्मक चर्चा धेरै भयो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम मात्र होइन देशकै सञ्चार माध्यममा पनि सरकार र आयोजकको कडा आलोचना भईरहेको छ ।

समस्या नै समस्या भएकोले अमेरिका र बेलायतले आफ्नो देशबाट आएका युवालाई ज्याम्बोरीबाट अन्तै सार्‍यो । अन्य देशका सहभागीहरुले पनि कार्यक्रमस्थल राम्रो नभएको गुनासो गरे । कार्यक्रम नसकिदै लैंगिक समानता र परिवार मन्त्री किम हृयुन–सुकको राजीनामा मागिएको छ । उनको मन्त्रालय अन्तर्गत यो कार्यक्रम आयोजना भएको थियो । राष्ट्रपति यल पनि कार्यक्रमको उद्घाटन गरेर गर्मी बिदामा बसेकोमा चर्को आलोचना भईरहेको छ । उनले कार्यक्रममा हस्तक्षेप गरेर समस्यालाई कम गर्नुको सट्टा बिदामा बसेकोले देशको छवि नराम्रो भएको विपक्षी र केही सत्तापक्षकै नेताहरुले आरोप लगाईरहेकाछन् ।

कार्यक्रम सकिन ४ दिन बाँकी रहँदा 'खानुन' नामक टाईफून आएपछि क्याम्प साइट छल्लाबुक्दोबाट सहभागी युवाहरुलाई बिभिन्न क्षेत्रमा सारिएको थियो । नेपालबाट सहभागी भएका १ सय ६८ जनालाई राजधानी सोलसँगै जोडिएको आसानसीको विद्यालयमा राखिएको छ ।

सन् २०१७ मै विश्व ज्याम्बोरी गर्ने जिम्मेवारी पाएको कोरियाले कुनै तयारी नगरेको धेरै देशको गुनासो छ । नेपालबाट सहभागी भएका रमेश गौतमले भने नेपालीका लागि कुनै समस्या नभएको बताए । ‘हामीलाई सबै ठीकै थियो । नेपालबाट आएका सहभागीहरुको पनि केही समस्या छैन । हामी सबै ठीक छौ ’ उनले भने । नेपालबाट आएका युवाहरु १४ देखि १६ वर्ष उमेर समूहका छन् । टाइफुनका कारण कुनै समस्या नरहेको र नेपालीहरु सुरक्षित अवस्थमा रहेको नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले विज्ञप्ति नै जारी गरेका छन् । ज्याम्बोरीमा अध्यक्ष भण्डारी समेत सहभागी छन् ।

यो कार्यक्रम कोरोना महामारीपछिको ठूलो विश्वव्यापी जमघट थियो । दक्षिण कोरियाले यस अघि ग्रीष्म, शीतकालीन ओलम्पिक र फिफा विश्वकप आयोजना गरेर ठूला कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा जस पाएको थियो । तर अहिले विश्व स्काउट ज्याम्बोरीले गर्दा अपजस खेपिरहेका छन् । चर्को गर्मी हुने थाहा पाएर पनि आयोजकले क्याम्प साइट विकास गर्नका लागि रूखहरू नभएको मैदान छानेकोमा पनि चर्को आलोचना भईरहेको छ । आयोजकले भने जमिनमा नुनको मात्रा बढी भएको कारण विरुवा नहुर्किएपछि विकल्पमा टनेल बनाएको र त्यस्ता टनेल सबै सहभागीका लागि बनाउन नसकिएको स्वीकारेका छन् ।

बेलायतले सबै भन्दा पहिले आफ्नो टोली शौचालयहरू सफा नभएको, स्काउटहरूले पर्याप्त खाना नपाएको, भएका खाना पनि खान योग्य नभएको भन्दै कार्यक्रम स्थल छाडेको थियो । ज्याम्बोरीमा बेलायतबाट ४५ सय भन्दा बढी सहभागी थिए । त्यसको केही समयपछि अमेरिकाबाट आएका सहभागीले पनि क्याम्प क्षेत्र छाडेका थिए ।

विश्वभरि नै दक्षिण कोरियाले ठूला कार्यक्रम आयोजना गर्न नसक्ने सन्देश गएको यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । आगमी सेम्टेम्बरमा सन् २०३० को वर्ल्ड एक्पोको आयोजना बुसानमा गर्ने तयारी गरिरहँदा यसरी ज्याम्बोरीले देशको प्रतिष्ठालाई धमिलो पार्न सक्ने चिन्ता व्यक्त गर्छन् । कोरियाले एक्पोको लागि तीन बर्ष पहिले देखि नै तयारी थालेको थियो ।

'दक्षिण कोरिया एक विकसित देशको रूपमा परिचित छ त्यसैले यो देशले लामखुट्टे वा शौचालय जस्ता समस्याहरू समाधान गर्न सक्दैन भनेर कसले सोचेको थियो?' इन्चेन विश्वविद्यालयका व्यवसायिक प्राध्यापक हङ की योङले कोरिया हेराल्डसँग भनेका छन् । खाना, शौचालय, गर्मीका कारण यस्तो समस्या भयो । यो कार्यक्रम आयोजना गर्न कोरियाली सरकारले ८८.७ मिलिएन डलर खर्च गरिसकेको जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०८० १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?