कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन र साउदीबीच सुरक्षा सम्झौता, तर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

एजेन्सी

काठमाडौँ — चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न सहमत भएका छन् । चीनका राष्ट्रपति सी चिनफिङ र साउदी युवराज मोहम्मद बिन सलमानबीच शुक्रबार यस्तो सहमति भएको हो । तर आपसी घरेलु विषयमा कुनै हस्तक्षेप नगर्ने पनि उनीहरूले सहमति जनाएका छन् ।

चीन र साउदीबीच सुरक्षा सम्झौता, तर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

चिनियाँ राष्ट्रपति सीको साउदी भ्रमणको क्रममा उनीहरूबीच यस्तो सहमति भएको हो । मानवअधिकार हनन, तेल उत्पादन लगायत मुद्दामा अमेरिकासँग चीन र साउदी दुवै देशको तनावपूर्ण सम्बन्धका बीच यी दुई देशबीच नयाँ सम्झौता भएको हो ।

दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले करिब ४ हजार शब्दको संयुक्त विज्ञप्ति सार्वजनिक गरेको थियो । उक्त विज्ञप्ति अनुसार ऊर्जा, सुरक्षा मुद्दा, इरानको आणविक कार्यक्रम, यमनको संकट र युक्रेनमा रूसको युद्ध लगायत विश्वव्यापी मुद्दाहरूमा पनि दुई देशबीच सहमति भएको बताइएको छ ।

यसैबीच दुई देशबीच रक्षा क्षेत्रमा सहयोग र समन्वय विकास गर्नुका साथै आतंकवाद र यसका लागि आर्थिक सहायताविरूद्ध लड्ने कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

तर एकअर्काको आन्तरिक नीति र घरेलु मुद्दाका विषयमा आलोचना नगर्ने पनि उनीहरूबीच सहमति भएको छ । चीन र साउदी अरब दुवै देश मानवअधिकारका विषयमा अन्तर्राष्ट्रिय समुदायमा आलोचित बन्ने गरेका छन् ।

गत जुन महिनामा अमेरिकाले चीनको पश्चिमी सिनजियाङ क्षेत्रमा उत्पादन हुने सबै सामानहरूमा प्रतिबन्ध लगाएको थियो । जहाँ २०१७ यता २० लाख अल्पसंख्यक उइघुर जाति लगायतका मानिसहरूलाई नजरबन्दमा राख्दै दुर्व्यवहार, जबरजस्ती श्रम र मृत्यु जस्ता यातना दिने गरेको बताइन्छ । जसकारण चीनमाथि अमेरिका लगायत देशहरूले मानवअधिकारको प्रश्न बारम्बार उठाउने गरेका छन् ।

अर्कोतर्फ साउदीका राजकुमार मोहम्मद बिन सलमानलाई वासिङटन पोस्टका अमेरिकी पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न रहेको आरोप लाग्ने गरेको छ । यद्यपि सलमानले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित : मंसिर २३, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?