२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

'कीर्तिमानी जित'सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

हिमाचलमा सत्ताबाट बाहिरिँदै भाजपा, कंग्रेसलाई 'बहुमत'

काठमाडौँ — भारतीय राज्य गुजरातमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) फेरि एकपल्ट सत्तामा आउने भएको छ । यही डिसेम्बर १ र ५ गरी दुई चरणमा भएको गुजरात विधानसभा चुनावको नतिजा बिहीबार आउने क्रम जारी छ ।

'कीर्तिमानी जित'सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

मतगणनाको सुरुवाति परिणामअनुसार भाजपा प्रचण्ड बहुमतसहित पुन: सत्तामा आउने देखिएको छ । गुजरातमा २७ वर्षदेखि भाजपाले सरकार चलाउँदै आएको छ । सन् १९९५ देखि गुजरातमा भाजपाले चुनाव हारेको छैन । गुजरातमा सन् २००२ देखि २०१४ सम्म वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्री बनेका थिए ।

पछिल्लो समय दिल्ली र पञ्जाबमा प्रभाव देखाएको आम आदमी पार्टी(आप) ले गुजरातमा पनि भाजपालाई टक्कर दिने अनुमान गरिए पनि नतिजामा भने परिणाम देखिएन । आप पूर्वपत्रकारसमेत रहेका इसुदान गढवीलाई मुख्यमन्त्रीका चेहराका रूपमा उतार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । भारतीय चुनाव आयोगका अनुसार अहिलेसम्म गुजरातमा ५ स्थानमा जित हात पारिसकेको सत्तारुढ भाजपा १५० भन्दा बढी सिटमा सत्तारुढ भाजपाले अग्रता बनाएको छ । त्यस्तै कांग्रेसले १ सिटमा जित हात पारेको छ भने १५ सिटमा अगाडि रहेको छ । आप भने ५ सिटमा मात्र अगाडि रहेको छ ।

यही 'ट्रेन्ड' अन्तिम नतिजामा रूपान्तरण भए भाजपाले कीर्तिमानी जित हात पार्ने देखिन्छ । गुजरातमा सन् १९८५ को चुनावमा भारतीय कंग्रेसले १४९ सिटमा जित हात पारेको थियो । त्यसयता कुनै पनि दलले १३० सिट कटाउन सकेका थिएनन् । भाजपाले सबैभन्दा बढी सन् २००२ मा १२७ सिट जितेको थियो ।

१८२ सदस्यीय गुजरात विधानसभामा सरकार बनाउन ९२ सिट चाहिन्छ । पछिल्लो पटक सन् २०१७ को चुनावमा भाजपाले ९९ सिट जितेर सरकार बनाएको थियो । कंग्रेस भने ७७ सिट जित्दै सशक्त प्रतिपक्षका रूपमा उभिएको थियो । पछिल्लो चुनावको नतिजा हेर्दा गुजरातमा कंग्रेसले ठूलो क्षति बेहोर्ने देखिन्छ ।

गुजरातमा भाजपाले पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी) को रेकर्डसँग बराबरी गर्ने भएको छ । सीपीआईएमले सन् १९७७ देखि २०११ सम्म लगातार ७ पटकसम्म विधानसभा चुनाव जितेर रेकर्ड कायम गरेको थियो ।

विपक्षमा कंग्रेस र आपबीच भोट बाँडिएकाले त्यसको लाभ सत्तारूढ भाजपालाई पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह प्रदेशमा भाजपाले आफ्नो सत्ता कायम राख्न पूरा शक्ति लगाएको थियो । प्रधानमन्त्री मोदीकै ‘फेस भ्यालु’ का आधारमा मतदाताले पुनः भाजपालाई रोजेको पनि भारतीय सञ्चारमाध्यमको दाबी छ ।

हिमाचलमा कंग्रेसको सरकार बन्दै

त्यस्तै अर्को राज्य हिमाचलको पनि चुनावी नतिजा आइरहेको छ । सुरुवाति मतपरिणामा हिमाचलमा सत्तारुढ भाजपा र कंग्रेसबीच कडा प्रतिस्पर्धा देखिए पनि अहिले पनि कंग्रेसले बहुमतको आंकडा पार गरेको छ । अहिलेसम्मको गणनामा कंग्रेस १ सिटमा जितसहित ४० सिटमा अगाडि देखिन्छ । त्यस्तै सत्तारुढ भाजपा ४ जितसहित २५ सिटमा अगाडि रहेको छ । त्यस्तै हिमाचलका ३ सिटमा स्वतन्त्र उम्मेदवार अगाडि देखिन्छन् । हिमाचलमा ६८ सिटको विधानसभामा सरकार बनाउन ३५ सिट चाहिन्छ ।

सन् २०१७ को चुनावमा हिमाचलमा भाजपाले ४४ सिटमा जित हात पारेको थियो । कंग्रेसले २१ स्थानमा जित हात पार्दा अन्य उम्मेदवार ३ सिटमा विजयी भएका थिए ।

प्रकाशित : मंसिर २२, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?