कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जर्मनीमा ‘कु’ प्रयास

एजेन्सी

बर्लिन — सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मन प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।जर्मन अधिकारीहरूले सरकारविरुद्धको ‘कु’ को प्रयासमा उग्रदक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरू समूह सक्रिय बनेको जनाएका छन् । उक्त समूहले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको अधिकारीहरूको भनाइ छ । 

जर्मनीमा ‘कु’ प्रयास

जर्मन अधिकारीलाई उद्धृत गर्दै बीबीसीले ‘राजकुमार हेइनरिच १३ औं’ का नामले परिचित ७१ वर्षीय जर्मन पुरुष षड्यन्त्रको मुख्य योजनाकार रहेको जनाएको छ । संघीय अभियोजनकर्ताहरूले उनी दुईमध्ये एक सक्रिय योजनाकार रहेको बताएका छन् ।

जर्मनीमा हिंसात्मक आक्रमण तथा जातियतावादी षड्यन्त्रका हल्ला फैलाउने उग्रपन्थी राइक्सबर्गर अभियानका सदस्यहरू ‘कू’ को षडयन्त्रमा सहभागी भएका जनाइएको छ । जर्मन प्रहरीले आधुनिक जर्मन राज्यलाई अस्वीकार गर्दै आएको उक्त समूहलाई लामो समयदेखि निगरानी गर्दै आएको जनाएको छ ।

त्यसका साथै ‘कु’ प्रयासमा क्यूएनन आन्दोलनका सदस्यहरू समेत संलग्न रहेका बताइएको छ । उक्त आन्दोलनले आफ्नो देश अनधिकृत रूपमा चुनिएको राजनीतिक नेतृत्वले सञ्चालन गरेको दाबी गर्दै आएको छ । घटना सार्वजनिक भएपछि जर्मन आन्तरिक मन्त्री नान्सी फिजरले ‘लोकतन्त्रका विरोधीहरू विरुद्ध अधिकारीहरूले पूर्ण रूपमा कानुन कार्यान्वयन गर्ने’ बताएकी छन् ।

हालको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माण गर्नुपर्ने भन्दै गरिएको षड्यन्त्रको तयारीमा कम्तीमा ५० जना संलग्न भएका हुन सक्ने अधिकारीहरूको भनाइ छ । ‘हामीसँग अझै उक्त समूहको नाम छैन,’ संघीय अभियोजनकर्ताको कार्यालयकी प्रवक्ताले भनेकी छन् ।

जर्मन प्रहरीले बुधबार गरेको ‘उग्रपन्थीहरूविरुद्धको कारबाही’ आधुनिक जर्मनीको इतिहासकै ठूलो र प्रभावकारी भएको बताइएको छ । कारबाहीमा जर्मनीका १६ मध्ये ११ राज्यमा करिब ३ हजार प्रहरी अधिकारी परिचालन गरिएको थियो । दुई जनालाई इटाली र अस्ट्रियबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जर्मनीका न्यायमन्त्री मार्को बुस्चमानले प्रहरीले संवैधानिक निकायमाथिको सम्भावित ‘आतंकवादविरुद्धको कारबाही’ गरेको बताएका छन् । उक्त समूहले सन् २०२१ को नोभेम्बरदेखि विभिन्न षड्यन्त्रका लागि तयारी गरिरहेको अधिकारीहरूको दाबी छ ।

प्रकाशित : मंसिर २२, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?