इरानी धार्मिक प्रहरी खारेज- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इरानी धार्मिक प्रहरी खारेज

हिजाबसम्बन्धी कानुन पुनरावलोकन गर्ने तयारी भइरहेको महान्यायाधिवक्ताको भनाइ
एजेन्सीहरू

तेहरान — विरोध प्रदर्शन चर्कंदै गएपछि इरानले धार्मिक प्रहरी खारेज गरेको छ । इरानका महान्यायाधिवक्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले धार्मिक प्रहरीको खारेजी गरिएको र हिजाबसम्बन्धी कानुनमा पुनरावलोकनको तयारी गरिएको जनाएको छ । ‘कानुनमा हेरफेर गर्नुपर्ने विषयमा संसद् र न्यायपालिका दुवैले यसबारे आवश्यक काम गरिरहेका छन्,’ महान्यायाधिवक्ता मोहम्मद जफर मोन्टाजेरीले भने ।

यद्यपि, उनले कानुनमा के कस्तो परिवर्तन हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेनन् । यसबारे गृहकार्य गरिरहेको टोलीले बुधबार संसद्को सांस्कृतिक आयोसँग छलफल गर्ने उनले बताए । शनिबार राष्ट्रपति इब्राहिम राइसीले इरानको गणतान्त्रिक र इस्लामिक आधारस्तम्भमाथि प्रहार भएको बताएका थिए । इरानमा महिलाहरू घरबाहिर निस्किँदा टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोप्ने परम्परागत वस्त्र हिजाब लगाउनुपर्ने नियम छ । उक्त वस्त्र लगाउँदा अनुहार भने खुला रहन्छ । इरान घुम्न जाने अन्य देशका महिलाले पनि हिजाब लगाउन अनिवार्य छ ।

इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको हो । इस्लामिक कानुनअनुसार महिलाहरू घरबाहिर निस्कँदा वा सार्वजनिक स्थानमा रहँदा आफ्नो अनुहार र हातबाहेक सम्पूर्ण अंग छोप्नुपर्छ । इरानमा उक्त कानुन लागू गरिएसँगै महिलाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसका साथै, बेलाबेलामा कानुनको विरोधमा प्रदर्शनहरूसमेत हुने गरेका छन् ।

गत सेप्टेम्बरमा धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीय युवती महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा विरोध प्रदर्शन चर्केको हो । कुर्दिस्तानस्थित आफ्नो घरबाट तेहरान जाने क्रममा हिजाबसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा अमिनीलाई धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि हिरासतमा उनको ज्यान गएको थियो । तर प्रहरीले हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा हृदयाघात भएका कारण अमिनीको ज्यान गएको दाबी गरेको थियो । तर उनको परिवारका सदस्यका अनुसार अमिनीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या नरहेको र पक्राउपछि उनलाई कुटपिट गरिएको बताएका थिए । अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शन तेहरानबाट अन्य सहरहरूमा फैलिएको थियो । प्रदर्शन नियन्त्रणका लागि सरकारी फौजले गरेको चरम दमनका कारण कम्तीमा ४ सय जनाको मृत्यु भइसकेको अधिकारकर्मीहरूले जनाएका छन् । १७ हजार जनाभन्दा बढी पक्राउ परेका जनाइएको छ । ‘इरानी महिलाले लामो समयदेखि नरुचाएको कानुन’ विरुद्ध प्रदर्शन चर्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । त्यसका साथै हिजाब कानुन पालना गराउने क्रममा ‘धार्मिक प्रहरीले गरेको ज्यादती र दण्ड सजाय’ विरुद्ध पनि उनीहरू आक्रोशित भएका हुन् । महिलाहरूको अगुवाइमा सुरु भएको प्रदर्शनलाई हाल पुरुषले पनि साथ दिएका छन् । उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन् । महिलाहरूले सार्वजनिक स्थानमा अनुहार र हातबाहेक सबै अंग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् ।

बासिज अर्धसैनिकले सहयोग गर्ने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले हिजाबसम्बन्धी कानुन कार्यान्वयन गर्दै आएको छ । यसले तोकिएको नियमअनुसार हिजाबको प्रयोग भए/नभएको हेर्ने, महिलाले आफ्नो केश तथा शरीर ढाके/नढाकेको हेर्ने र शृंगारका सामग्रीको प्रयोगलाई दुरुत्साहन गर्ने काम गर्छ । हिजाबको प्रयोग सही तरिकाले नभएको खण्डमा चेतावनी दिने, जरिवाना लिने र पक्राउसमेत गर्नका लागि गस्त–इ–इरसादलाई गठन गरिएको थियो ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा विरोधपछि लकडाउन खुकुलो

एजेन्सीहरू

बेइजिङ — चीनले विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ ।

सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लकडाउन हटाइएका जिल्लामा पछिल्ला केही दिनमा भने भाइरसको संक्रमण बढेको जनाइएको छ । त्यसैगरी चोङकिङ्गमा पनि लडाउन खुकुलो बनाइएको छ ।

चीनका उपप्रधानमन्त्रीले देशले ‘नयाँ परिस्थिति’ को सामना गरेको जनाएका छन् । उपप्रधानमन्त्री सन चुनलानले ‘भाइरसका कारण हुने मृत्युदर निकै कममा झरेको’ भन्दै कोभिड नीति खुकुलो पारिएको बताएका बीबीसीले उल्लेख गरेको छ । पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला गत साता एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । भाइरससम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले चीनको शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन सुरु गरेका थिए । पछि उक्त प्रदर्शन देशका अन्य सहरहरूमा पनि फैलिएको थियो ।

चिनियाँ अधिकारीहरूले भने भाइरससम्बन्धी प्रतिबन्धका कारण उरुम्चीमा दस जनाको ज्यान गएको अस्वीकार गर्दै आएका छन् । तर आवासीय क्षेत्रमा जारी कडा लकडाउन मृत्युको कारक भएको भन्दै इन्टरनेट प्रयोगकर्ताहरूले चिनियाँ अधिकारीको भनाइको प्रतिरोध गर्दै आएका छन् ।

सांघाई सहरमा सयौं स्थानीयले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका थिए । त्यस्तै, राजधानी बेइजिङ, नान्जिङ, गोङजाउ, चोङकिङ्गलगायतका स्थानमा प्रदर्शहरू चर्केका थिए । चीनमा भएका पछिल्ला प्रदर्शनहरू चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएका निकै दुर्लभमध्येका भएका जनाइएको छ । चिनियाँहरूले खुला रूपमै राष्ट्रपति सीको राजीनामा माग्दै प्रदर्शन गर्नुलाई उनीविरुद्ध बाहिर देखिएको हालसम्मकै कडा आलोचना हो । प्रदर्शनकारीले ‘सी चिनफिङ राजीनामा देऊ, पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ भन्दै नाराबाजीसमेत गरेका थिए । लकडाउनले दैनिक जनजीवन निकै कष्टकर बनेको प्रदर्शनकारीको भनाइ छ ।

चीनले कोरोना भाइरसविरुद्ध सुरु देखि नै ‘शून्य सहनशीलता’ नीति अख्तियार गर्दै आएको छ । विश्वका अधिकांश देशले कोभिडसँगै जीउने नीति लिइरहेका बेला पनि चीनका दर्जनौं सहरमा दसौं लाख मानिसहरू लकडाउनमा छन् । जसका कारण सरकारको ‘शून्य कोभिड’ नीति र यसका सूत्रधार राष्ट्रपति सीविरुद्ध आन्दोलन चर्केको हो ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×