कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
दिल्ली नगर निगम चुनाव

भाजपा र आपबीच चर्को प्रतिस्पर्धा

दिल्ली सरकार आम आदमी पार्टीको नेतृत्वमा रहेकाले नगर निगमलाई बलियो बनाउने भारतीय जनता पार्टीको रणनीति
राजेश मिश्र

नयाँदिल्ली — दिल्ली नगर निगमको निर्वाचन आइतबार हुँदै छ । दिल्लीका जनताले आगामी ५ वर्षका लागि आफ्नो वडाका नगर पार्षद् (वडाध्यक्ष) चुन्ने छन् ।

भाजपा र आपबीच चर्को प्रतिस्पर्धा

र, ती नगर पार्षद्हरुबाटै मेयर, वरिष्ठ उपमेयर र उपमेयर चुनिन्छन् । अर्थात मेयर/उपयेयर जनताको प्रत्यक्ष मतबाट नभई नगर पार्षद्हरूबाट चुनिन्छन् । ती पदका लागि उम्मेदवार पनि तिनै निर्वाचित पार्षद् मात्रै हुन पाउँछन् ।

नेपालमा भने मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य सबै जनताको प्रत्यक्ष मतबाट चुनिनन्छन् । दिल्ली नगर निगममा २ सय ५० वडा छन् । यसअघि दिल्लीभित्र उत्तरी, दक्षिणी र पूर्वी दिल्ली गरी तीनवटा नगर निगम थिए । दिल्लीभित्र तीन जना मेयर हुने व्यवस्था थियो । केन्द्र सरकारले गत मे महिनामा कानुनमार्फत तीनवटै नगर निगमलाई गाभेर एउटै बनाएको हो । नगर निगमलाई शक्तिशाली बनाउने तयारी भाजपा नेतृत्वको सरकारले गरेको हो । अघिल्लो पटक सन् २०१७ मा तीनवटा नगर निगमको कुल २ सय ७२ वडामध्ये १ सय ८१ मा भाजपाले जित हासिल गरेको थियो । आपले ४८ र कांग्रेसले २७ वडा जितेको थियो । यसपटक भाजपा र आपबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

दिल्ली सरकार आम आदमी पार्टीको नेतृत्वमा रहेकाले नगर निगमलाई बलियो बनाएर जाने रणनीति भाजपाले लिएको देखिन्छ । किनभने पछिल्लो १५ वर्षदेखि नगर निगममा भाजपाले जित्दै आएको छ । यसपटक भाजपा, कांग्रेस र आम आदमी पार्टी नगर चुनावमा प्रतिस्पर्धी छन् । तीनवटै पार्टी नगर निगमलाई आफ्नो पक्षमा पार्न पूरा शक्ति लगाएर चुनावी मैदानमा उत्रिएका छन् । देशको राजधानी तथा शक्तिशाली निकायका रूपमा स्थापित नगर निगमप्रति दलहरुको आकर्षण देखिएको छ ।

२ सय ५० जना नगर पार्षदका लागि १ हजार ३ सय ३६ उम्मेदवार छन् । दिल्लीमा १ करोड ४६ लाख मतदाता छन् । सरकारी स्कुलहरुमा मतकेन्द्र तोकिएकाले विद्यालयमा तीन दिनका लागि बिदा दिइएको छ । बिहान ८ बजदेखि साँझ साढे ५ बजेसम्म मतदान हुनेछ । दिल्ली चुनाव आयोगले ७ डिसेम्बरमा मतगणना गरिने र त्यही दिन परिणाम घोषणा हुने जनाएको छ ।

चुनावको दिन सार्वजनिक यातायात बन्द गर्ने कुनै सूचना जारी गरिएको छैन । बरु मतदाताको सहजताका लागि मेट्रो तथा सार्वजनिक बसको संख्या थपिएको छ । अरु बेला बिहान ५ बजेपछि मात्रै चल्ने मेट्रोलाई मतदानका दिन बिहान ४ बजेनै सञ्चालनमा ल्यानेछ । त्यस्तै सार्वजनिक बस (डीटीसी) लाई बिहान ३ बजेबाटै चलाउन भनिएको छ ।

चुनावलाई लक्षित गर्दै दिल्ली सरकारले तीन दिनलाई ‘ड्राई डे’ घोषित गरेको छ । शुक्रबारदेखि आइतबारसम्म रक्सी बिक्री वितरणमा पूर्ण रूपमा रोकिएको छ । रक्सीका पसल बन्द गराइएका छन् भने रेस्टुराँ र क्लबहरुलाई रक्सी बिक्रीमा रोक लगाउने सूचना दिइएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?